विकासन्युज

सडकले पदमार्ग मासिएपछि धुलो र धुवाँले पर्यटकलाई सास्ती

बेनी ।  केही वर्षअघिसम्म विदेशी पर्यटकले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीयस्थल पुनहिल क्षेत्रमा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक तीन सय ५० जनाको हाराहारीमा विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो वर्षको पर्यटकयाममा एक सय ५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए । पछिल्ला वर्षमा घोडेपानीका होटल व्यवसायीले पर्यटकलाई लक्षित गरेर सुविधासम्पन्न होटल खोल्ने लहर नै चलेको छ । पुराना होटल व्यवसायीले होटलको क्षमता र सुविधा बढाएका छन् । पहिले छाप्रोबाट होटल सुरु गरेका व्यवसायीले अहिले घोडेपानीमा पक्की घर नै बनाएर सुविधायुक्त होटल सञ्चालन गरिरहेका छन् । होटलको क्षमता र सुविधा विस्तारले पर्यटकलाई सुविधा पुगे पनि पुनहिल क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या घट्दै गएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताए। ‘घोडेपानीमा एक दिनमा एक हजार दुई सय जनालाई सहजैरूपमा खाना  र बसोबासको प्रबन्ध मिलाउन सक्ने क्षमता छ, व्यवसायीले पनि होटल क्षेत्रमै सुविधा बढाउन र स्तरीय बनाउन लगानी गरिरहेका छन्, तर विदेशी पर्यटक आउने सङ्ख्या हरेक वर्ष घट्दै गएको छ’, उनले भने । गत साउनदेखि मङ्सिर दोस्रो सातासम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । विगतका वर्षको तुलनामा यस वर्षको विदेशी पर्यटकको सङ्ख्या कम रहेको होटल व्यवसायी बताउँछन् । घोडेपानी पुनहिल क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नुलाई मानिएको छ । जर्मनका १२ पर्यटकलाई पुनहिल क्षेत्रको भ्रमणमा ल्याउनुभएका मल्टि एडभेन्चर कम्पनीका डाइला शेर्पाले अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोको कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको बताए। विगत २० वर्षदेखि अन्नपूर्णलगायतका मुलुकका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने काममा सक्रिय शेर्पाले पदमार्गलाई मास्ने र विस्थापित गर्नेगरी खनिएका सडकका कारण पुराना स्थापित पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकको रोजाइ घट्दो रहेको बताए । ‘विदेशी नेपालको रमणीय डाँडाकाँडा र पहाडमा पदयात्रा गर्न आउने हुन्, अब सडकले सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकलाई धुलो धुँवा खुवाएर हिँडाउनुपर्छ, यो उनीहरूलाई मन पर्ने कुरा भएन, त्यसैले सडकले विस्थापित भएका ट्रेकिङ ट्रेललाई सडकले नछुने गरी पुनःनिर्माण गर्न जरुरी छ’, उनले भने । उनका अनुसार चक्रीय अन्नपूर्ण पदमार्ग क्षेत्रमा सडक विस्तारले पदमार्ग विस्थापित भएका छन् भने पर्यटकको यात्रा अवधिसमेत छोटिएको छ । पुनहिलबाट सूर्योदय र हिमशृङ्खलाको अवलोकन गरी फर्कँदै गरेकी अमेरिकी पर्यटक ग्योरीले प्राकृतिक सुन्दरताले भरिएको यो क्षेत्रलाई पदमार्ग मासेर खसेका सडकको धुँवा र धुलो समस्याका रूपमा देखिएको अनुभूति सुनाइन्। ‘हामी पहिलोपटक यहाँ आएका हौँ, पुनहिल साँच्चिकैको रमणीय रहेछ, यहाँबाट देखिने हिमशृङ्खला र सूर्योदयले मनै लोभ्याएको छ, तर यहाँ आइपुग्दा पदयात्रामा सडकको धुलो र धुँवाले हामीलाई नमज्जा लाग्यो’, उनले भनिन् । सडकको पहुँचले आन्तरिक पर्यटकको आगमन भने बढ्दो छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–शिख–चित्रे हुँदै घोडेपानीसम्म सडक पुगे पनि देशका विभिन्न स्थानका विद्यालय, कार्यालय, सङ्घसंस्था, समूहबाट पुनहिल क्षेत्रको भ्रमणमा पुग्ने बढेका छन् । आन्तरिक पर्यटक बढे पनि समग्रमा पर्यटन क्षेत्रको प्रभाव विदेशी पर्यटकमै निर्भर हुने भएकाले विदशी पर्यटकको आगमन घट्दै जाँदा पर्यटन व्यवसायी चिन्तित छन् । पुनहिल घोडेपानी पुग्ने पुरानो पदमार्गमध्येमा पर्ने पोखरेबगर–घार–शिख–चित्रे–घोडेपानी पदमार्ग पूर्णरूपमा सडकले विस्थापित गरेको छ । यो पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी दूरविनडाँडा, घार, शिखलगायतका क्षेत्रमा खोलिएका होटल पूर्णरूपमा बन्द भइसकेका छन् । घोडेपानी पुनहिल पुग्ने मुख्य पदमार्गमध्ये कास्कीबाट उल्लेरी हुँदै आउने पदमार्गसमेत अधिकांश सडकले मासिएको भन्दै पथप्रदर्शक चिन्तित छन् । सडक विस्तार गर्दा पदमार्गलाई जोगाउने गरी सडकको नक्सा¬ङ्कन र विस्तार गर्न उनीहरूले माग गरेका छन् । घोडेपानीमा कास्कीको घान्द्रुक भएर आउने पदमार्गका साथै अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्ग हुँदै मोहरेडाँडा र फूलबारी हुँदैसमेत पर्यटक पुग्ने गर्छन् । रासस

दुर्गम गाउँहरू सुगम हुँदा…

धनकुटा । आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् । धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा  नगरपालिकाबाट छथरजोरपाटीसम्म निर्माणाधीन २३ किलोमिटर कालोपत्र सडक अन्तिम चरणमा छ । स्थानीय मार्से गाउँका शङ्कर ओझाले भने ‘यस सडकले  गाउँपालिका वडा नं ५ साविक तेलिया गाविसलाई सबैभन्दा धेरै गुन लागेको छ । यो सडक हाम्रो गाउँका लागि कोशेढुङ्गा सावित भएको छ । सडक नहुँदा हाम्रो ठाउँ जिल्लाको कर्णाली भनेर चिनिन्थ्यो ।’ पहिला कच्ची सडक हुँदा सवारी साधनलाई आवत जावत गर्न समस्या थियो । सो समयमा यहाँका नागरिकले भौगालिक कष्ट र पानीको अभाव झेल्न नसकेर बसाइँसराइ गर्न वाध्य थिए । उनले पछिल्लो समय कालोपत्र सडक बनेपछि यहाँबाट बसाइँसराइ जान छाडेको र मानिसले सब्जी तथा पशुपालन फार्म खोलेर उद्यामतिर लाग्न थालेको बताए । उनले भने ‘पहिला सितैमा लैजाउ भनेरसमेत कसैले नलाने यस क्षेत्रको फलफूलसमेत सडक सुविधाका कारण अहिले किसानले राम्रो मूल्यमा बेचिरहेका छन् ।’ यस क्षेत्रका मानिस धनकुटाको सदरमुकाम धनकुटा बजारसम्म पुग्न छथरजोरपाटी–हिलेबजार हुँदै ३४ किमी घुमेर जानुपर्ने बाध्यताको अन्त्य भएको उनले जानकारी दिए । छथरजोरपाटी–३ सिंभुवा गाउँका रामबहादुर पाँचकोटीले गाउँ र सदरमुकाम जोड्ने कच्ची सडकसमेत नभएको अवस्थामा एक्कासी कालोपत्र सडक आउँदा आफूहरूको भारी बोकेर उकाली–ओराली गर्नुपर्ने कष्टपूर्ण दिन सकिएको बताए । साविक ताँखुवा गाविसको यस वडाबाट धनकुटा बजार पुग्न ३५ किलोमिटरभन्दा बढी घुमेर कच्ची सडक पार  गरेर जानुपर्दथ्यो अथवा त्यसको विकल्पमा करिब १५ देखि १८ किमी हिँडेर सदरमुकामसम्म कृषि उपज बेच्न जानुपर्ने र चाहिने मालसामान बोकेर ल्याउनुपर्ने हुन्थ्यो । तर  अहिले ती सबै समस्याबाट मुक्ति पाएको स्थानीयको भनाइ थियो । ‘पहिलाजस्तो भारी बोकेर उकालो हिँड्ने दुःखका दिन सकिएको छ’, उनले भने । गाउँमै कालोपत्र सडक आएपछि कुनै बेला पाँच हजार रोपनीमा बिक्ने जमिनसमेत अहिले बढेर छ लाखभन्दा माथि पुगेको र तराईतिर बसाइँसराइ गएकासमेत फर्केर आउन थालेको उनले बताए । साविक परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिका–५ का वडाध्यक्ष डिकबहादुर लिम्बूले कालोपत्र सकडका कारण गाउँमा कृषि उत्पादनमा वृद्धि भइरहेको जानकारी दिए । पहिला गाउँपालिकासम्म जान कच्ची सडकमात्र भए पनि अचानक कालोपत्र सडक गाउँमा आउँदा नागरिक अत्यन्तै उत्साहित भएको उनले बताए । सडकको सुगमतासँगै यहाँ उत्पादित तरकारी, अलैँची तथा फलफूल सहजरूपमा बजार जाने वातावरण बनेपछि गाउँमा उत्साहित भएर किसान कृषि पेसामा लागेकाले उत्पादनमा वृद्धि भएको वडाध्यक्ष लिम्बूको भनाइ थियो । सडक बनाउन पहल गर्न भूमिका खेलेका धनकुटा प्रदेशसभा (१)का  प्रदेशसभा सदस्य निरन राईले गाउँपालिका क्षेत्रको भौगालिक कठिनाइ समाधान गर्न र बजारबाट बाहिर जाने ठूलो वैकल्पिक बाटोका रूपमा यस सडक आयोजना सुरु गरिएको जानकारी दिए । अहिले धनकुटा बजारबाट अन्यत्र जाने कुनै ठूला सडक छैनन् । धरानबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्ला जाने सडकसमेत बजार बाहिरबाट गएको छ । यसका कारण अहिले धनकुटा बजारका केही बजार क्षेत्रमा व्यापारिक चहलपहल ठप्प छ । यसलाई तेह्रथुम जिल्लालाई जोड्ने यस सडक पूर्णरूपमा निर्माण भएपछि यी बजारले पुनःजीवन पाउने उनको जिकिर छ । यस सडकलाई निकट भविष्यमा धनकुटा बजारको पूर्वी क्षेत्रलाई तेह्रथुम जिल्लाको दक्षिण–पूर्व शुक्रबारे बजार हुँदै जिल्लाको सदरमुकाम म्याङलुङ बजारसम्म जोड्ने लक्ष्य रहेको उनले जानकारी दिए । विसं २०७६ बाट २०८० पुस मसान्तसम्ममा काम सक्ने गरी पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत फिल्ड कार्यालय धनकुटाको अनुगमनमा निर्माण कम्पनी शर्मा भीमेश्वर जेभी भक्तपुरले सडकको ठेक्का पाएको थियो । कोशी प्रदेश सरकारको रु ५६ करोड ५२ लाख लागतमा निर्मित उक्त धनकुटाबिहीबारे हटिया–कर्मिटार–ताँखुवा–बन्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडक निर्माणको ९५ प्रतिशत काम सकिएको जेभीका प्रतिनिधि अपलेन्द्र अधिकारीले जानकारी दिए । रासस

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा नौ किलोमिटर कालोपत्रे सम्पन्न

दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ४१ दशमलव पाँच किलोमिटर खण्डमध्ये हालसम्म नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको उनले जानकारी दिए । त्यस्तै थप पाँच किलोमिटर कालोपत्र गर्ने काम बुधबारदेखि सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकबाट मार्कीचोकसम्म जोड्ने गरी अल्स्फाट प्रविधिको कालोपत्र सुरु गरिएको उनले बताए । उनले भने, ‘गाउँपालिका चोकबाट सुरु गरेर गत असार महिनामा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी बुधबारदेखि कालोपत्रको काम अगाडि बढेको छ ।’ यसअघि आँबुखैरेनी –१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी तीन दशमलव पाँच किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ । अहिले १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कालोपत्रको काम काम अघि बढेको आयोजनाले जनाएको छ । उनका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालाबाट छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी –१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । उनले भने, ‘दुई ठाउँमा एकतर्फीरूपमा नौ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।’ पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्रगतिमा अगाडि बढेको उनको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइने छ । त्यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशतमात्रै सकिएको बताइएको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडकसीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने जनाइएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकाले ल्यायो छोरी जन्मिएपछि पाँच हजारमा बैंक खाता खोलिदिने कार्यक्रम

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । गल्याङभित्रका एघार वडामा चालु आर्थिक वर्षमा जन्मिएका छोरीहरूको नाममा गल्याङस्थित गरिमा विकास बैंकमा खाता खोलिदिने र सो खातामा नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिने उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन् । ‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भनिन्, ‘चालु आर्थिक वर्षबाट सुरु भएको यो कार्यक्रमलाई अब निरन्तरता दिँदै जाने छौँ ।’ छोरी जन्मिनासाथै जनप्रतिनिधि, नगर तथा बैंकका कर्मचारी घरमै पुगेर प्रक्रिया पूरा गरी छोरीको नाममा बैंक खाता खोलिदिएको उनले बताइन् । बिहीबार गल्याङ–३ स्थित एक दलित समुदायकी सुत्केरी आमाले छैटौँ छोरीका रूपमा जन्मदिएकी नवजात शिशुको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी भएको हो । ‘हाम्रो गाउँ समाजमा छोराछोरीप्रतिको विभेद न्यूनीकरण हुँदै गए पनि आंशिकरूपमा कायमै छ’, उपप्रमुख न्यौपानेले भनिन्, ‘नगरपालिकाले सुरु गरेको ‘नगरकी छोरी’ कार्यक्रम विशेषगरी छोरीलाई प्रोत्साहन र हौसला दिनका लागि बढी महत्त्वपूर्ण हुने विश्वास लिएका छौँ ।’ नगरपालिकाले छोरीको नाममा खोलिदिएको खातामा रहेको रकम १८ वर्ष उमेर नपुग्दासम्म झिक्न पाइँदैन । छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गरेको उनले बताइन्। ‘नगरपालिकाले सुरुमा खाता खोलेर रकम जम्मा गरिदिन्छ, पछिका दिनमा छोरीको नाममा घरपरिवारले थप रकम जम्मा गरिदिँदै जाँदा १८ वर्षमा ठूलो रकम प्राप्त हुन्छ’, उनले भनिन्, ‘तत्काल छोरीको प्रोत्साहनका लागि भए पनि पछि गएर आर्थिकरूपमा पनि सवलतातर्फ लैजान्छ ।’ नगरपालिकामा ‘उपप्रमुखसँग सुत्केरी पोषिलो झोला कार्यक्रम’ र ‘गर्भवतीलाई अण्डा वितरण’ कार्यक्रम सञ्चालनमा छन् ।

लाभांश पारित गर्न नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले ३०औँ वार्षिक साधारणसभा पुस १३ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ । त्यस्तै, सामाजिक उत्तरदायित्व कार्यक्रममा भएको ८२ लाख ८० हजार २६ रुपैयाँलाई सभाले अनुमोदन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद गरिएको छ । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले घलेबाट बरामद भएको सुन जोखेर गुणस्तर परीक्षण गरिने सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । घलेको कल डिटेलका आधारमा उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको महानिर्देशक पौडेलले बताएका छन् ।

कामना सेवा विकास बैंकले डाक्यो १७औँ वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । कामना सेवा विकास बैंकले वार्षिक साधारसभा डाकेको छ । बैंक सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले १७औँ वार्षिक साधारणसभा पुस १७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २९ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।

२२० रुपैयाँमा सिद्धार्थ प्रिमियरले साढे ५ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । सिद्धिार्थ प्रिमियर इन्स्योरेन्सले साढे ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले संस्थापक समूहतर्फको साढे ५ लाख ३३ हजार ८६५ कित्ता सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार आज मंसिर २२ गतेदेखि संस्थापक समूहतर्फको सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनी तथा अन्य जोकोही लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले मंसिर २८ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।