काठमाडौं । लुम्बिनी प्रदेश प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको बताएका छन् । पश्चिम नवलपरासीको सुनवलमा बिहीबारदेखि सुरु तेस्रो सुनवल महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ता लगानी गर्न चाहेको बताएका हुन् ।
त्यसका लागि जग्गा व्यवस्थापनको काम भइरहेकाले निजी क्षेत्र र सरोकारवालासँग संवाद गरी वातावरण तयार गरिने उनको भनाइ छ । मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न प्रदेश सरकार तयार रहेको बताए ।
विश्वभरिका पर्यटकलाई लुम्बिनीमा भित्र्याई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको बातावरण तयार गर्न प्रदेश सरकार अघि बढेको उनको भनाइ थियो । मुख्यमन्त्री चौधरीले स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवले स्थानीय कला, संस्कृतिको पहिचानलाई प्रवद्र्धन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए ।
“हामीले सधैँ ठूला उद्योगका मात्र कुरा गर्यौँ तर आफ्नै उत्पादनलाई चिन्न सकिरहेका छैनौँ, अब बजारमा गाउँका उत्पादन आउनुपर्छ, साना–साना लघुउद्यमले मात्र स्थानीय तहमा आर्थिक समृद्धि ल्याउन सक्छ, हामीले के सहयोग गर्नुपर्छ हामी तयार छौँ, तीन तहका सरकार र निजी क्षेत्र हातेमालो गर्न तयार हुनुपर्छ”, चौधरीले भने ।
पहाडमा उत्पादित सामग्री नाकासम्म ल्याउनका लागि पर्यटकीय स्थलमार्गको विकासमा जोड दिन सकेमात्र आर्थिक समृद्धिको बाटोमा हिँड्न सकिने उनको भनाइ थियो । लुम्बिनी प्रदेश सरकारले वार्षिक दुई लाख युवालाई रोजगारी दिनेगरी सोहीअनुरुपका योजनामा प्रदेश सरकार लागिरहेको मुख्यमन्त्री चौधरीले जानकारी दिए ।
बुद्ध सर्किटलाई जोड्ने गरी पर्यटन प्रवद्र्धनका लागिसमेत लगानीका लागि विश्व बैंक र एसियाली विकास बैंकसँग निरन्तर छलफल गरी ठूलो लगानीको योजना बनाएको चौधरीले उल्लेख गरे । उनले प्रदेश सरकारले पर्यटन प्रवद्र्धन, उद्योगको विकास र रोजगारी सिर्जनाको उद्देश्य अनुरुप काम गरिरहेको बताए ।