छथरजोरपाटी–३ सिंभुवा गाउँका रामबहादुर पाँचकोटीले गाउँ र सदरमुकाम जोड्ने कच्ची सडकसमेत नभएको अवस्थामा एक्कासी कालोपत्र सडक आउँदा आफूहरूको भारी बोकेर उकाली–ओराली गर्नुपर्ने कष्टपूर्ण दिन सकिएको बताए । साविक ताँखुवा गाविसको यस वडाबाट धनकुटा बजार पुग्न ३५ किलोमिटरभन्दा बढी घुमेर कच्ची सडक पार गरेर जानुपर्दथ्यो अथवा त्यसको विकल्पमा करिब १५ देखि १८ किमी हिँडेर सदरमुकामसम्म कृषि उपज बेच्न जानुपर्ने र चाहिने मालसामान बोकेर ल्याउनुपर्ने हुन्थ्यो ।
तर अहिले ती सबै समस्याबाट मुक्ति पाएको स्थानीयको भनाइ थियो । ‘पहिलाजस्तो भारी बोकेर उकालो हिँड्ने दुःखका दिन सकिएको छ’, उनले भने । गाउँमै कालोपत्र सडक आएपछि कुनै बेला पाँच हजार रोपनीमा बिक्ने जमिनसमेत अहिले बढेर छ लाखभन्दा माथि पुगेको र तराईतिर बसाइँसराइ गएकासमेत फर्केर आउन थालेको उनले बताए ।
साविक परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिका–५ का वडाध्यक्ष डिकबहादुर लिम्बूले कालोपत्र सकडका कारण गाउँमा कृषि उत्पादनमा वृद्धि भइरहेको जानकारी दिए । पहिला गाउँपालिकासम्म जान कच्ची सडकमात्र भए पनि अचानक कालोपत्र सडक गाउँमा आउँदा नागरिक अत्यन्तै उत्साहित भएको उनले बताए ।
सडकको सुगमतासँगै यहाँ उत्पादित तरकारी, अलैँची तथा फलफूल सहजरूपमा बजार जाने वातावरण बनेपछि गाउँमा उत्साहित भएर किसान कृषि पेसामा लागेकाले उत्पादनमा वृद्धि भएको वडाध्यक्ष लिम्बूको भनाइ थियो । सडक बनाउन पहल गर्न भूमिका खेलेका धनकुटा प्रदेशसभा (१)का प्रदेशसभा सदस्य निरन राईले गाउँपालिका क्षेत्रको भौगालिक कठिनाइ समाधान गर्न र बजारबाट बाहिर जाने ठूलो वैकल्पिक बाटोका रूपमा यस सडक आयोजना सुरु गरिएको जानकारी दिए ।
अहिले धनकुटा बजारबाट अन्यत्र जाने कुनै ठूला सडक छैनन् । धरानबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्ला जाने सडकसमेत बजार बाहिरबाट गएको छ । यसका कारण अहिले धनकुटा बजारका केही बजार क्षेत्रमा व्यापारिक चहलपहल ठप्प छ ।
यसलाई तेह्रथुम जिल्लालाई जोड्ने यस सडक पूर्णरूपमा निर्माण भएपछि यी बजारले पुनःजीवन पाउने उनको जिकिर छ । यस सडकलाई निकट भविष्यमा धनकुटा बजारको पूर्वी क्षेत्रलाई तेह्रथुम जिल्लाको दक्षिण–पूर्व शुक्रबारे बजार हुँदै जिल्लाको सदरमुकाम म्याङलुङ बजारसम्म जोड्ने लक्ष्य रहेको उनले जानकारी दिए ।
विसं २०७६ बाट २०८० पुस मसान्तसम्ममा काम सक्ने गरी पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत फिल्ड कार्यालय धनकुटाको अनुगमनमा निर्माण कम्पनी शर्मा भीमेश्वर जेभी भक्तपुरले सडकको ठेक्का पाएको थियो । कोशी प्रदेश सरकारको रु ५६ करोड ५२ लाख लागतमा निर्मित उक्त धनकुटाबिहीबारे हटिया–कर्मिटार–ताँखुवा–बन्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडक निर्माणको ९५ प्रतिशत काम सकिएको जेभीका प्रतिनिधि अपलेन्द्र अधिकारीले जानकारी दिए । रासस