काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन बरामद गरिएको छ । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
बिहीबार राति ११ः५६ बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले घलेबाट बरामद भएको सुन जोखेर गुणस्तर परीक्षण गरिने सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । घलेको कल डिटेलका आधारमा उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको महानिर्देशक पौडेलले बताएका छन् ।