२५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं । अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा विङक्यानलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ । रासस
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा छुट पाउने योजना सार्वजनिक भएको छ । बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको हो । बैंकका अनुसार फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मुल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छुट पाउनेछन् । बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको छ । यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
काठमाडौंं-दिल्ली-काठमाडौं मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट
काठमाडौं । नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौं-दिल्ली-काठमाडौं मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘विश्व अर्बुदरोग दिवस (विश्व क्यान्सर दिवस) का सन्दर्भमा यो रोग लाग्नबाट बचौँ र बचाऔँ भनी ऐक्यबद्धता जनाउँदै निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनी नेपाल वायुसेवा निगमले डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर राहत समाजको सिफारिसका आधारमा निगमको काठमाडौं-दिल्ली-काठमाडौं सेक्टरको हवाई भाडादरमा अर्बुदरोग भएका बिरामीलाई शतप्रतिशत र कुरुवालाई ५० प्रतिशतसम्म छुट प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौँ’, निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस
‘१९ जिल्लालाई नमूना टेलिकमको घोषणा गरेका छौं’
मुलुकमा दूरसञ्चार सेवाको शुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्थाको रुपमा परिचित र वि.सं. २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो कम्पनी स्थापनाको २०औं वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । विगतका विभिन्न समयमा आइपरेका बाधा अड्चन र कठिन परिस्थितिको समयमा पनि कम्पनीका सेवाहरुलाई अभिछिन्न रुपना गुगुणस्तर कायम राख्दै संचालन गर्नको लागि कम्पनी सञ्चालक समितिबाट प्राप्त निर्देशन, कम्पनीका कर्मचारी मित्रहरुबाट प्रदर्शित जिम्मेवारी बोध एवम् ग्राहकबाट प्राप्त माया र सद्भाव प्रति कम्पनीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु । विगत र वर्तमान २० वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब ४ लाख २२ हजार रहेकोमा आज कम्पनीको ग्राहक आधार २ करोड १८ लाख भन्दा बढी छ । मुलुकका अधिकांश भूभागमा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित फोजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइवरमा आधारित फिफ्थ सेवा सञ्चालनमा ल्याएपछि ग्राहक ३ लाख ३६ हजार पुगिसकेको छ र निकट भविष्यमा समेत ग्राहक आधारमा निरन्तर वृद्धि भइरहने अपेक्षा गरिएको छ । सेवाको गुणस्तर सुधार गर्न माननीय मन्त्री रेखा शर्माज्यूको प्रत्यक्ष निर्देशनमा हाइवे नेटवर्क सुधारको कार्य अगाडि बढाइएको छ । त्यसैगरी जिल्लावाइज नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमूना टेलिकम जिल्ला घोषणा गरी तीव्रताका साथ कार्य अगाडि बढाइएको छ । कम्पनीले आधारभूत टेलिफोन, ताररहित जीएसएम मोबाइल, अति दुर्गम विकट स्थानहरुमा भीएसएटी प्रविधिमा आधारित सेवा, इन्टरनेट/डाटा सेवा तथा अन्य भ्यालु एडेड सर्भिसेस् (भीएएस) उपलब्ध गराउँदै आएको छ । त्यसैगरी हाल कम्पनीले बबरमहल, सुन्धारा, पोखरा तथा वीरगन्जमा फाइभजी उपकरणहरु जडान सम्पन्न गरी परीक्षण कार्य समेत सम्पन्न गरेको छ । बाँकी चार प्रदेशमा समेत उपकरण जडान गर्नका उपकरण आयातको अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरिसकेको छ । आगामी दिनमा फोरजी सेवा विस्तार र फाइभजी पनि क्रमशः परीक्षण र विस्तार गर्ने कम्पनीको योजना छ । कम्पनीको प्रगति आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कुल आय रु ४४ अर्ब ४२ करोड पुगेको छ भने कम्पनीको खुद मुनाफा ७ अर्ब ९२ करोड भएको छ । चालु आ.व. को पौष मसान्त सम्म कम्पनीले करिब२० अर्ब ५३ करोड रूपैयाँ राजश्व प्राप्त गरेको छ । मुलुकको अर्थतन्त्रमा कम्पनीले पुरÞ्याएको योगदान हेर्ने हो भने आ.व. २०७९/८० मा कर तथा गैरकर गरी कम्पनीले २८ अर्ब ४६ करोड रकम योगदान गरेको छ भने यस आ.व. मा उक्त योगदान झन् बढ्ने अपेक्षा गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतः रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट जिल्लामा गत कात्तिक १७ गते गएको शक्तिशाली भूकम्पबाट प्रभावितहरुलाई टेन्ट, ब्लांकेट तथा म्याट्रेस उपलब्ध गराईनुका साथै त्यस क्षेत्रमा नेपाल टेलिकमको सिमकार्डमा ५ दिनसम्म निःशुल्क भ्वाईस सेवा उपलब्ध गराईएको थियो । हरियाली प्रवर्द्धन अन्तर्गत माइतीघर तीनकुने सडकखण्डमा हरियाली संरक्षण तथा सौन्दर्यता अभिवृद्धि कार्य गरिँदै आएको छ । सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याबको स्थापना गरिनेछ । सरकारी तथा सामुदायिक विद्यालयहरुमा फिफ्थ डाटा तथा नमस्ते वाईफाई उपलब्ध गराइनेछ । वीर अस्पतालमा बिरामी तथा कुरुवाहरुको लागि बेड कुम चेयर उपलब्ध गराइनेछ । कम्पनीको २० औं वार्षिकोत्सवको अवसरमाः कम्पनीका कर्मचारी ग्राहकको घरदैलामै पुगी टेलिकमका सेवा प्रदान गर्ने गरी माघ २१ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट नेपाल टेलिकम अन व्हिल कार्यक्रम शुभारम्भ भई देशभर विस्तार हुने क्रममा रहेको छ । सेवा शुरु भए पश्चात सेवा लिई हालसम्म निरन्तर सेवा प्रयोग गरिरहनुभएका ३०० पोष्टपेड र ३०० प्रिपेड ग्राहकलाई लोयालिटी प्याकेज उपलब्ध गराईएको छ । हाल सञ्चालनमा रहेको च्याटबोटलाई स्तरोन्नति गरी एआई प्रविधिको एलएलएम (लार्ज ल्यांग्वेज मोडल) मा आधारित च्याटबोट सञ्चालनमा ल्याउने तयारी कार्य अन्तिम चरणमा रहेको छ । गत वर्षको यानिभर्सरी अफर अन्तर्गतको फिफ्थ कम्बो प्याकेज (२० एमबीपीएस प्लस एक टेलिफोन प्लस एक एनटीटीभी प्याकेज) खरिद गर्नुभएका ग्राहकले साविककोभन्दा करिब १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको फिफ्थ प्याकेज रिन्यु गर्न सक्नुहुनेछ । नयाँ ग्राहक एवं अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पीड अभिवृद्धि गरी २५० प्रतिशतसम्म पुर्याइएको कम्बो प्याकेज खरिद गर्न सक्नुहुनेछ । नयाँ फिफ्थ सेवा खरिद गर्दा एक थान प्रिपेड सीम कार्ड निःशुल्क प्रदान गरिनेछ । नेपाल टेलिकमको एपीपी पहिलो पटक डाउनलोड गर्दा वान जीबी डाटा प्राप्त गर्न सकिनेछ । आगामी योजनाः हाल दूरसञ्चार बजारमा विभिन्न चुनौतीहरु छन् । यद्यपि हरेक चुनौतीलाई अवसरमा परिणत गर्दै गएको खण्डमा मात्र कम्पनीको प्रगतिमा दीर्घकालीन रुपमा स्थायित्व कायम गर्न सकिन्छ । आगामी दिनमा यसैअनुसार कार्य अगाडि बढाइने छ । दूरगामी प्रभाव पार्ने रणनीतिक आयोजनाहरु जस्तैः मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर, डाटा सेन्टर, अत्याधुनिक तालिम तथा अनुसन्धान केन्द्र, फोरजी विस्तार, फाइभजी परीक्षण, डिजिटल मार्केटिङ, नयाँ भ्यालु एडेड सर्भिस, नमूना टेलिकम सेवा आदिलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा लगिने छ । सबै राजमार्गहरुमा हाइवे कभरेजलाई थप परिष्कृत तथा गुणस्तरयुक्त बनाइने छ । एफटीटीएच विस्तार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने छ । आई एनओसीलाईलाई अझ बढी परिष्कृत बनाइने छ । कम्पनीको मोबाइल सेवा अन्तर्गत सञ्चालनमा रहेको म्यानेजड सर्भिस कार्यलाई व्यवस्थित गरिनेछ । मोबाइल सेवाको कार्पेट कभरेज गर्नका लागि फोरजी एलटीई लगायतका नयाँ आरएएन विस्तार परियोजना कार्यान्वयनमा जोड दिइने छ । अन्त्यमा, वर्तमान चुनौतीपूर्ण अवस्थामा संस्था प्रमुखको जिम्मवारी बहन गर्नु निकै कठिन कार्य भए तापनि सम्पूर्ण नेपाल टेलिकम परिवार तथा सरोकारवालाहरुको सहयोगले हरेक चुनौतीलाई सामना गर्दै संस्थालाई अगाडि बढाउने मेरो हरसम्भव प्रयत्न रहने छ । कम्पनीको प्रगतिमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्नु हुने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि साथ र सद्भाव प्राप्त भइरहने विश्वासका साथ कम्पनीको प्रगतिका लागि सकारात्मक सुझाव तथा मार्गदर्शनको अपेक्षा गर्दछु । ( नेपाल टेलिकमको प्रबन्ध निर्देशक पहाडीले कम्पनीको २०औं वार्षिकोत्सव २०८० को अवसरमा राखेको मन्तब्यको सम्पादित अंश)
विदेश पठाउने भन्दै ३ करोड ९३ लाख ठग्ने लामालाई थुनामा पठाउन आदेश
काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक रोजगार कसुर मुद्दामा स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर प्रालिका निर्देशक लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । लामाविरुद्ध आङपासाङ शेर्पासमेत आठ सय ४५ जनाले तीन करोड ९३ लाख १४ हजार तीन सय ३३ रूपैयाँ र त्यसको ५० प्रतिशत हर्जनासमेत माग गरी उजुरी दिएका थिए । ‘प्रतिवादीबाट हुनसक्ने जोखिम विश्लेषण गर्दा हाल यी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने गरी यो आदेश गरिदिएको छ’, जारी आदेशमा भनिएको छ । लामाले न्यायाधिकरण समक्ष दिएको बयान, मिसिल संलग्न नगद बुझिएको रिसिप्ट र चेकसमेतका कागजात र यी प्रतिवादीको बैंक खातामा जाहेरवालाहरुले रकम बुझाएको देखिने बैंक भौचर समेत प्रमाणका आधारमा तत्काल कसुरदार होइनन् भन्ने नदेखिएको आदेशमा उल्लेख छ । वैदेशिक रोजगार कसुरमा २०७९ साल पुस २४ मा आङपासाङ शेर्पा, हरिबहादुर थापा समेतले लामाले लिथुनिया, कोरिया, न्युजल्याण्ड, क्यानाडा समेतका देशमा रोजगारीका लागि पढाउने भनी रकम लिई ठगी गरेको भन्दै उजुरी परेको थियो । लामालाई गत पुस १६ गते काठमाडौंको शङ्खमूलबाट पक्राउ गरिएको थियो । प्रहरीले लामाको तालिम सेन्टरबाट पीडितहरु नौ सय ३४ थान राहदानी बरामद गरेको थियो । लामाले बिगो बमोजिमको रकम फिर्ता गर्न आफू तयार रहेको बयान दिएका छन् । रासस
मालढुङ्गा-बेनी सडक : ठेक्का सम्झौता तोड्ने चेतावनी
पर्वत । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडिने भएको छ । सम्झौता अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको प्रगति नदेखिएपछि सम्झौता रद्द गर्ने तयारी भएको हो । सडक निर्माणमा भएको ढिलासुस्ती र निर्माण सामग्रीको अभावको विषयमा दुई हप्ताअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगतरूपमा अनुगमन गरेका थिए । अनुगमनका क्रममा मन्त्री ज्वालाले एक हप्ताभित्र समस्या समाधान गरेर सडक निर्माणलाई गति दिने आश्वासन दिएको भए पनि सडक निर्माणले गति लिन भने सकेको छैन । मन्त्री ज्वालाको निर्देशनपछि कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलका क्रममा एक साताभित्र मजदुर र उपकरण थप गरेर निर्माण कार्यलाई तीव्रता दिने सहमति भएको आयोजनाका इञ्जिनियर अच्युत विलास पन्तले जानकारी दिए । उनकाअनुसार अबको एक महिनाभित्र योजनाको प्रगति नदेखिए ठेक्का तोड्ने गरी छलफल भएको हो । आयोजना कार्यालयले तत्काल कामको प्रगति देखिने गरी निर्माणको काम सुरु नभए ठेक्का रद्द गर्ने र पुनः नयाँ ठेक्का प्रक्रियामा जाने चेतावनी दिएको इञ्जिनियर पन्तले जानकारी दिए । ‘निर्माण सामग्रीको अभाव देखाएर ठेकेदारले योजना अलपत्र पार्दै आएका छन्’, इञ्जिनियर पन्तले भने, ‘अन्तिम पटक अब एक महिनासम्म योजनाको प्रगति नदेखिए ठेक्का तोड्नेछौँ र नयाँ प्रक्रिया सुरु गर्नेछौँ ।’ सडकको किनारबाट बग्ने कालगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न अदालतले रोक लगाएका कारण सडक निर्माणमा प्रयोग हुने सामग्रीको अभाव देखाउँदै ठेकेदारले धिमा गतिमा काम गरिरहेको छ । सम्झौतामा ३० महिनाभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने उल्लेख भए पनि तीन वर्षमा जम्मा ४५ प्रतिशत मात्र प्रगति भएको छ । दोस्रो पटक थपिएको म्याद गत आर्थिक वर्षको असारमा सकिएको थियो भने पुनःतेस्रो पटक छ महिना थप गरेको समय पुस मसान्तमा सकिएको छ । ठेकेदार कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वर कन्ट्रक्सनका प्रतिनिधि अमृत भट्टराईले ठेक्का सम्झौतामा कालीगण्डकी नदीबाटै निर्माण सामग्री उत्खनन गर्ने उल्लेख भए पनि अदालतको आदेशका कारण सामग्री प्रयोग गर्न नपाएको भन्दै अब छिमेकी जिल्ला वा अन्य वैकल्पिक उपाय अपनाएर भए पनि सामग्री उपलब्ध गराएर निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १३ किमी दूरीको मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स-खड्का-कृष्ण जेभीको पेटी ठेकेदार कम्पनी ओमकारेश्वर कन्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको छ । कालोपत्रसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ । ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अहिले मालढुङ्गा-बेनी सडकमा यात्रा गर्न सकस हुँदै आएको छ । हिउँदमा धुलो र वर्षामा हिलाम्मे सडकमा यात्रा गर्न नागरिक बाध्य भएका छन् । म्याग्दी र मुस्ताङ तथा पर्वतकै जलजला क्षेत्रमा सञ्चालन हुने दैनिक सयौँको सङ्ख्याका सवारीसाधनले उडाएको धुलो बस्तीसम्म पुग्दा स्थानीयको जीवनयापनमा समस्या भएको छ । सडकमा गुडेका सवारीसाधनले उडाएको धुलो बस्तीमा पुग्दा सर्वसाधारणको स्वास्थ्यमा असर पुगेको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताए । सो सडकखण्डअन्तर्गत पर्ने पर्वतको खनियाघाट, फर्से, लस्ती, मिलनचोक र लामाखेतका स्थानीयले सडक निर्माण अलपत्र पर्दा धुलो र हिलोको समस्या भोग्नुपरेको गुनासो गरेका छन् । रासस
प्रतिफल पाइने क्षेत्रमा प्रयोग हुन सकेन वैदेशिक ऋण, १०० रुपैयाँ लिएर ३९ तिर्दा पनि सकसमा सरकार
काठमाडौं । नेपालको वैदेशिक ऋणको ग्राफ बढ्दै गएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म सरकारले विभिन्न देश तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ तिर्न बाँकी छ । चालु आर्थिक वर्षको सुरुमा ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैयाँ वैदेशिक ऋण रहेकोमा पुस मसान्तसम्म मात्रै सरकारले २३ अर्ब थप ऋण लिएपछि ऋणको ग्राफ बढेको हो । पछिल्लो तथ्यांक अनुसार सरकारले ९ खर्ब ६२ अर्ब ९८ करोड २४ लाख ६७ हजार रुपैयाँ अर्थात् अमेरिकी ७ अर्ब २४ करोड ४ लाख ६९ हजार डलर सावाँ ब्याज भुक्तानी गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म अर्थात ६ महिनाको अवधिमा नेपालले १८ अर्ब बढी सावाँ र ४ अर्ब रुपैयाँभन्दा बढी ब्याज वैदेशिक ऋणको भुक्तानी गरिसकेको बताएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालले विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायहरूसँग बहुपक्षीय र द्वीपक्षीय समझदारी गरेर विभिन्न तीन सय ६७ वटा आयोजना तथा कार्यक्रमको लागि ऋण लिएको छ । त्यसरी नेपालले अन्तर्राष्ट्रिय निकायहरूबाट लिएको ऋणको ब्याज ०.७५ प्रतिशतदेखि साढे दुई प्रतिशतसम्म रहने गरेको छ । वैदेशिक ऋणको लगानीका क्षेत्र सरकारले द्वीपक्षीय र बहुपक्षीय ऋण लिएर विभिन्न विकास तथा अन्य आयोजना सञ्चालन गर्दै आएको छ । गत आवमा सरकारले एक खर्ब २३ अर्ब बढी वैदेशिक ऋण लिएको थियो । सरकारले वैदेशिक ऋण लिएर त्यसको ठूलो हिस्सा तत्काल आम्दानी गरेर प्रतिफल लिने भन्दा पनि दीगो विकासको क्षेत्रमा लगानी गरेको देखिन्छ । सडक, पुल, सिचाइँ, वातावरण र शिक्षा लगायतका दीगो विकासका क्षेत्रमा सरकारले वैदेशिक ऋणको ठूलो हिस्सा लगानी गरेको छ । यसका साथै सरकारले प्रत्यक्ष आम्दानी दिने जलविद्युत आयोजनाको क्षेत्रमा पनि वैदेशिक ऋण लगानी गरेको देखिन्छ । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा सरकारले विश्व बैंक र एशियन विकास बैंकबाट विभिन्न तीनवटा शिर्षकमा ऋण लियो । जसमध्ये विश्व बैंकसँग लिएको १० करोड अमेरिकी डलर नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर सुधार गर्न, एशियन विकास बैंकसँग लिएको १० करोड अमेरिकी डलर ग्रामिण कनेक्टीभिटी सुधार परियोजना र सोही बैंकसँग लिएको थप १० करोड अमेरिकी डलर सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाहमा सुधार योजनामा खर्च गर्ने जनाइएको छ । अघिल्लो आर्थिक वर्षमा पनि सरकारले लिएको ऋणको अधिकांश हिस्सा आन्तरिक स्रोतबाट परिचालन गर्नुपर्ने विषयहरूमा खर्च गरेको देखिन्छ । सार्वजनिक वित्तीय सुधार, ग्रामिण उद्यम तथा विप्रेषण, नवीकरणीय उर्जा, खाद्य तथा पोषण सुरक्षा, समृद्धिका लागि वन, महिला उत्थान कार्यक्रम जस्ता कार्यक्रमहरू सरकारले वैदेशिक ऋण मार्फत गत आवमा सञ्चालन गरेको देखिन्छ । नेपालले सबैभन्दा धेरै पटक विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास महासंघ (आईडीए )बाट एक सय ४५ पटक लिएको ऋण तिर्न बाँकी छ । त्यस्तै, एशियाली विकास बैंक (एडीबी) बाट एक सय २५ पटक, इन्टरनेशनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) बाट १८ पटक र ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफआइडी) बाट १० पटक लिएको ऋण तिर्न बाँकी छ । सरकारले विभिन्न कार्यक्रम तथा परियोजनाहरूको लागि बेल्जियम, कुबेत र साउदी अरबसँग क्रमशः ५, ३ र ४ पटक ऋण लिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै, अन्य अन्तर्राष्ट्रिय स्तरका विभिन्न १० वटा फन्डबाट पनि नेपालले ५७ वटा शिर्षकमा ऋण लिएको छ । सन् १९८४ देखिको ऋण तिर्न बाँकी नेपालले विकास निर्माण लगायत विभिन्न परियोजनाहरूमा धेरै लामो समयदेखि वैदेशिक ऋण लिँदै आएको देखिन्छ । बहुपक्षीय समझदारीमार्फत सन् १९८४ देखि लिएको विभिन्न समयावधी तोकिएका ऋण अहिले भुक्तानी गरिरहेको छ । कार्यालयका अनुसार हालसम्म नेपालले लिएको कतिपय वैदेशिक ऋण भुक्तानी गर्नुपर्ने समयावधि ४० वर्षसम्म अवधिका रहेका छन् । जसमध्ये हाल सबैभन्दा पुरानो आईडीएसँग लिएको सन् १९८३ र ०८४ को एक करोड २० लाख अमेरिकी डलर ऋण भुक्तानी गर्न बाँकी छ । ‘ऋण धेरै होइन, सदुपयोग भएको छैन’ नेपाल सरकारका पूर्व सचिव रामेश्वर खनालले अहिले नेपालको वैदेशिक क्षेत्रसँग भएको ऋण धेरै नभएको बताएका छन् । उनले नेपालले पाउने गरेको ऋण निकै सस्तो भएकोले त्यसले राज्यलाई समेत भार नपार्ने बताउँदै त्यसको सदुपयोग मुख्य रहेको बताए । ‘सरकारले उत्पादकत्व बढाउने शिक्षा, स्वास्थ्य लगायत जे जति क्षेत्रमा खर्च गर्न पाएको छ, सो कारणले आफूसँग भएको पैसा अन्य आवश्यक क्षेत्रमा खर्च गर्न सक्ने अवस्था बनेको छ’, खनालले भने । नेपालले लिएको विदेशी दातृ निकायसँग एक सय रुपैयाँ लिएर ४८ रुपैयाँ मात्रै तिर्ने अवस्था रहेकोले त्यस्तो ऋण लिएर उच्चतम सदुपयोग गर्न सके देशको विकासमा ठूलो टेवा पुग्ने खनाल बताउँछन् । ‘ऋणको भारलाई हेर्ने केही वित्तीय अनुपात छन्, हाम्रो कुल राजस्वको तुलनामा ऋण भुक्तानी गर्नुपर्ने दायित्व कति हो र अर्को विदेशी मुद्राको स्रोत र त्यसको दीगोपनको आधारमा हामीले विदेशी ऋणको दायित्व तिर्न सक्छौं की सक्दैनौ भन्ने हेर्नुपर्छ,’ उनले भने । नेपालले विश्व बैंकबाट एक सय रुपैयाँ ऋण लिँदा जम्मा ३९ रुपैयाँ तिर्नुपर्ने र औसतमा वैदेशिक ऋण लिएर ४८ रुपैयाँ मात्रै तिर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । ‘हामीले विश्व बैंकबाट एक सय रुपैयाँ ऋण लिँदा जम्मा ३९ रुपैयाँ मात्रै तिर्छौं, ६१ रुपैयाँ हामीलाई अनुदान स्वरुप प्राप्त हुन्छ’, उनी भन्छन्, ‘त्यो किनभने एउटा त्यसको भुक्तानी अवधि निकै लामो हुन्छ, अर्को ब्याजदर ०.७५ प्रतिशत मात्रै हुन्छ, त्यसैले आजको दिनमा सय रुपैयाँ लिएर लगानी गर्यौं भने भुक्तानी गर्ने बेलासम्म ३९ रुपैयाँ मात्रै भुक्तानी हुन्छ ।’ देशले सस्तो ऋण लिएर प्रतिफल आउने ठाउँमा लगानी गर्न सकेमा राम्रो हुने तर्क उनी गर्छन् । साथै उनले दक्षिण एशियामा कूल ग्राहस्थ उत्पादनमा नेपालको वैदेशिक ऋणभार कम रहेको बताएका छन् ।
दुई सय ८५ किलो गाँजासहित तीन पक्राउ
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौतीबाट आज प्रहरीले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका-५ आइटी पार्कस्थित पनौती-बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । चौकीबाट खटिएको प्रहरी टोलीले सवारी जाँच गर्दा पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ६ च २९६ नम्बर को डिआई गाडीमा उक्त अप्रशोधित (हालै काटेको जस्तो देखिने हरियो) गाँजा ल्याइएको आवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको दक्षिणी (डाँडापारी) क्षेत्रबाट उक्त परिमाणको गाँजा ल्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रकाउ पर्नेमा गाडी चालक नुवाकोट विदुर नगरपालिका–११ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप-८ घर भई हाल काठमाडौं बालाजु बस्ने २० वर्षीय सञ्जीव तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन् । उनीलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।