विकासन्युज

सामाजिक सुरक्षा कोषमा मधेश प्रदेशका ४७ स्थानीय तह आवद्ध

धनुषा । मधेश प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती तीन जिल्लाका ४७ स्थानीय तहका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आइतबार समझदारीपत्रमा हस्ताक्षरसमेत गरे । सो अवसरमा मन्त्री भण्डारीले भने, ‘स्थानीय तह सेवाप्रवाहको सबैभन्दा प्रभावकारी सरकार हुन् । संविधानमा व्यवस्था भएको जनताको रोजगारीसम्बन्धी हक कार्यान्वयन गर्न र जनतालाई रोजगारी तथा स्वास्थ्य सेवासम्बन्धी न्यूनतम अधिकार सुनिश्चित गर्न स्थानीय तहहरूले सामाजिक सुरक्षा कोषसँग समझदारी गरेर अघि बढेको  छ । कोषबाट प्रवाह हुने सेवा सुविधाको दायरा फराकिलो पार्नलगायतमा कानुनी र व्यवहारिक समस्या समाधान गर्नुपर्ने छ भने त्यसका लागि मन्त्रालय तयार छ ।’ उनले कोषको दायरा फराकिलो पार्न जनकपुर क्षेत्रमा कोषको सम्पर्क कार्यालय तत्काल स्थापना गर्न लागिएको जानकारी दिए । ‘कोषमा स्थानीय तहको प्रतिनिधित्व बढिरहेको छ ।  कोषमा स्थानीय तहको प्रतिनिधित्वको व्यवस्था छैन । अब कानुनमा संशोधन गरेर गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घको पनि प्रतिनिधित्व रहने व्यवस्था गर्नुपर्नेछ’, मन्त्री भण्डारीले भने । कोषका कार्यकारी निर्देशक अधिकारीले कोषले सञ्चालन गर्ने योजनाका बारेमा स्थानीय तहसहितका सरोकारवालाको समान धारणा आएकोमा आफूलाई खुसी लागेको बताए । असुरक्षा भएको ठाउँमा नै सामाजिक सुरक्षा कोष हुनुपर्ने जनाउँदै उहाँले स्थानीय तहहरूले देखाएको तत्परताबाट आफू थप उत्साही भएको उल्लेख गरे । ‘जहाँ असुरक्षा छ, त्यहाँ सुरक्षा कोष चाहिन्छ । सामाजिक सुरक्षा कोषले जुनसुकै अवस्थामा पनि आयको निरन्तरताको परिकल्पना गरेको छ । स्थानीय तहले कोषका योजनामा सहभागी भएर कार्यान्वयनमा जुन तत्परता देखाउनुभएको छ, त्यसले हामीलाई थप उत्साही बनाएको छ’, कार्यकारी निर्देशक अधिकारीले भने । सो अवसरमा कोषका निर्देशक कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सुरक्षा कोषका विभिन्न योजनाका बारेमा जानकारी गराएका थिए । कोषका निर्देशक उत्तम नेपालले यसअघि नै देशभरका ४३ स्थानीय तहले कोषसँग समझदारी गरेर काम अघि बढाइसकेको जानकारी दिए । सो अवसरमा धनुषाको क्षीरेश्वरनाथ नगर प्रमुख सुखदेव यादवले कोषबाट प्राप्त हुने योजना आफ्नो नगरपालिकाभित्रका जनताको लागि उपयुक्त हुने ठानेर आफूले समझदारी गरेको जानकारी दिए । महोत्तरीको बर्दिबास नगर प्रल्हादकुमार क्षेत्रीले अनौचारिक क्षेत्रका श्रमिकको लागि कोषका कार्यक्रम निकै नै उपयोगी हुने देखिएपछि आफ्नो नगरपालिकाले पनि कोषसँग समझदारी गरेको जानकारी दिए । सामाजिक सुरक्षा कोषसँग समझदारी गरेपछि स्थानीय तहहरूले विशेष गरेर तीन प्रकारले कोषका कार्यक्रम कार्यान्वयनमा अघि बढ्न सक्छन् । स्थानीय तहले आफ्ना करारका कर्मचारीलाई कोषमा योगदान गर्ने ,पालिकाभरिका श्रम ऐन लागू हुने क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गर्ने पर्ने गरी बाध्यकारी व्यवस्था गर्न सक्छन् । यस्तै स्थानीय तहले आफ्नो पालिकाभरिका अनौपचारिक क्षेत्रका श्रमिकलाई सम्बन्धित पालिकाले रकम नै हालेर पनि कोषमा आवद्ध गराउन सक्छन् । कोषका अनुसार सम्झौताबमोजिम कृषि, निर्माण, यातायात र घरेलु श्रमिकसहित स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिक १० हजार आठ सय २० को ११ प्रतिशत हुन आउने रु एक हजार एक सय ९०मासिक रूपमा योगदान गर्नुपर्छ । यसमा स्थानीय तहले उक्त रकमको ९ दशमलव ३७ प्रतिशतअर्थात् रु एक हजार १३ को योगदान गर्नेछन् । यसबाट विभिन्न योजनामा श्रमिकले सुविधा पाउने छन् । औषद्योपचार, स्वास्थ्य र सुरक्षित मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले सुविधा पाउने छन् । रासस

निर्माण सम्पन्न नभई सेतो टावर उद्घाटन गर्नु भ्रष्टाचार हाे, केपी ओलीलाई पत्र काट्नु-बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहरामा पार्किङ्ग खुला रहेको बताउँदै निर्माण सम्पन्न नभएकोमा आक्रोश व्यक्त गरेका छन् । न्यूरोडको पार्किङ बन्द गराएर धरहरामा निशुल्क पार्किङ्गको व्यवस्था गराएका बालेनले २ वर्ष ९ महिनामा पनि निर्माण सम्पन्न नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । निर्माणको चरणमा रहेकाले पार्किङ बन्द गराउनु पर्ने पत्र आएपछि उनले धरहरालाई सेतो टावर र केपी ओली टावरको संज्ञा दिएका हुन् । ‘२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । सोही उद्घाटन क्रममा काठमाडौंका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भनेका थिए, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे’ ।’ उनले भने, ‘तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? भनेर उनले प्रश्न गर्दै भने, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’ तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन उनले आग्रह गरे । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गर्ने नीति ल्याउनु पर्ने उनको भनाइ छ । सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न उनले आग्रह गरेका छन् । साथै, उक्त स्थानमा पार्किङ बन्द नरहेको समेत उनले जानकारी दिए । ‘महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन हुँदैछ, अझै व्यवस्थापन गर्दै लग्नेछौ, अहिले धेरैको नजर यहाँ को पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथि रजाइ गर्ने मनसाय देखिएको छ, हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौ,’ उनले भने ।

सिद्धार्थ बैंकका संस्थापक गोयल र चुके आफ्नो स्वामित्वको सेयर बेच्दै

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापक सेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता र पवित्र लाल चुकेको ४३ हजार १८६ कित्ता सेयर गरी कूल २ लाख ४० हजार ६२५ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।

६ महिनामा क्रेष्ट माइक्रो लाइफको नाफा ११ लाख ७५ हजार रुपैयाँ

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा ११ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ । पुस मसान्तसम्म कम्पनीले १ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै, ६ महिनाको अवधिमा कम्पनीले २ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्स ५० लाख ६७ हजार रुपैयाँ, महाविपत्ति कोष ५ लाख ५६ हजार रुपैयाँ र जीवन बीमा कोष ८२ लाख ९६ हजार रुपैयाँ छ । यस अवधिमा कम्पनीले ८ हजार ५३२ बीमा लेख बिक्री गरेको छ ।

सूर्यज्योति लाइफको नाफामा ६३ प्रतिशत छलाङ, जीवन बीमा कोष साढे ३० अर्ब पुग्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ६३ प्रतिशत बढेर २३ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ५९.७३ प्रतिशत बढेर ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ६२ करोड २६ लाख रुपैषँ दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ १ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ति कोष ३३ करोड १३ लाख रुपैयाँ र जीवन बीमा कोष ३० अर्ब ५१ करोड रुपैयाँ रहेको छ । कम्पनीको नाफा नाफा बढेसँगै प्रतिसेयर आम्दानी ४.०२ रुपैयाँ बढेर १०.४१ रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १६५.१५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५१.८७ गुणा छ । यस अवधिमा कम्पनीको कुल लगानी २९.२४ प्रतिशत बढेर ३३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

चिलिमे हाइड्रोको विद्युत बिक्री आम्दानी र नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ५.५१ प्रतिशत घटेर ३७ करोड ८१ लख रुपैयाँ गरेको छ । गत वर्षके सोही अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो । ६ महिनामा कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत घटेर ६१ करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्याको सोही अवधिमा कम्पनीले ६२ करोड ४८ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । पुस मसान्तसम्म कम्पनीको वित्तीय आम्दानी १०.१५ प्रतिशत ८ करोड २० लाख रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ करोड १२ लाख रुपैयाँ थियो । यस्तै, कम्पनीको सञ्चालन नाफा ४ प्रतिशत घटेर ४० करोड ६४ लाख रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर ७ अर्ब ९८ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । नफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५६ रुपैयाँ घटेर ९.५० रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५५.२० गुणा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगाले फागुन १ गतेदेखि ४.४० अर्बको ऋणपत्र बिक्री गर्ने, १० % ब्याज दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले फागुन १ गतेखेदि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् १६ लाख १६ हजार कित्ता सर्वसाधारणलाई र ६० प्रतिशत अर्थात् २४ लाख २४ हजार कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

लाखौं लगानीको वडा कार्यालय भत्काएर आफ्नै घर नजिक सार्दै वडाध्यक्ष विष्ट

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर विष्टले वडा कार्यालय सार्ने निर्णय गरेका छन् । हाल काँकरतोला (जुणेढुङ्गा)मा रहेको वडा नम्बर २ को कार्यालय सारेर विष्टले आफ्नै घर नजिक पर्ने सुङ्ग्रेखाली (कोटीगाउँ)मा सार्ने निर्णय गरेका हुन् । स्थानीयका अनुसार उनले हालको वडा कार्यालय आफ्नो घरभन्दा टाढा रहेको भन्दै एकलौटीरूपमा निर्णय गरेर कार्यालय सार्ने योजना बनाएका हुन् । हालको वडा भवन तीन वर्षअघि मात्रै निर्माण भएको हो । स्थानीय रमेश रावलले तीन वर्षअघि मात्रै ३५/४० लाख रुपैयाँको लगानीमा निर्माण भएको भवन अहिले एक्कासी भत्काउन खोज्दा स्थानीयले विरोध गरिरहेको बताए । उनका अनुसार अहिले स्थानीयहरू वडाअध्यक्ष विष्टविरुद्द नारावाजीमा पनि उत्रिएका छन् । वडाध्यक्ष विष्टले वडा सदस्यहरूसँग हाल रहेको कार्यालयमा खेल मैदान निर्माण गर्ने भनेर झुक्याएर माइन्युटमा हस्ताक्षर गर्न लगाएको एक सदस्यले बताए । ‘हामीले यही भवन नजिक खेल मैदान निर्माण गर्ने भनेर माइन्युटमा हस्ताक्षर गरेका थियौं । तर, उहाँले कार्यालय नै अन्तै सारेर यहाँ खेल मैदान निर्माण गर्ने योजना बनाउनु भएको रहेछ, हामी पनि अहिले यसको विरोधमा छौं,’ ती सदस्यले नाम नराख्ने सर्तमा भने । अहिले स्थानीयले वडा कार्यालयमा ताला समेत लगाएका छन् । उनीहरूले वडाध्यक्ष यो निर्णयबाट पछि नहटे थप कदम चाल्ने पनि बताएका छन् । स्थानीय भानुभक्त रावलले आफूहरू वडा कार्यालय सार्ने निर्णयविरुद्द रहेको बताएका छन् । ‘अहिले सञ्चालन भइरहेको वडा भवन बनेको तीन वर्ष मात्रै भयो, अध्यक्षले वडा सदस्यहरूलाई नै झुटो निर्णयमा हस्ताक्षर गर्न लगाएर अहिलेको भन्दा तीन किलोमिटर पर सार्ने योजना बनाउनु भएको छ,’ उनले भने । वडाध्यक्ष विष्टले वडाभित्रको खानेपानी, बिजुली, सिचाइँ तथा अन्य भौतिक पूर्वाधार निर्माणमा जोड नदिएर आफ्नो गाउँ नजिक पर्ने ठाउँमा वडा भवन सार्नका लागि जोड गरिरहेको गुनासाे उनकाे छ । वडा अध्यक्ष विष्ट भने हालको वडा कार्यालयको भवन मापदण्ड विपरित रहेकोले सार्नु परेको धारणा राख्छन् । उनले आफ्नो घर नजिक सार्न लागेको विषय पनि अस्वीकार गरे । वडा कार्यालयका लागि चार रोपनी जग्गा आवश्यक भएको र अहिलेको ठाउँमा जग्गा अपुग भएपछि आफूले सार्न खोजेको उनको भनाइ छ । ‘हामीले यसअघि जग्गा प्राप्तिको लागि पटक-पटक सूचना निकाल्यौं । तर, जग्गा उपलब्ध भएन, वडा भवन बनाउनको लागि ठूलो बजेट पर्याे भने भवन निर्माणमा बजेट अभाव हुन्छ, अहिलेको ठाउँमा थप जग्गा उपलब्ध नभएकै कारण सार्न लागेका हौं, यसलाई अन्यथा लिनु हुँदैन,’ उनले भने । उनका अनुसार हाल वडा कार्यालय भएको ठाउँमा पनि कुनै व्यक्तिले जग्गा दान दिन चाहेमा त्यहीँ बन्छ । तर, त्यसका लागि कोही तयार नभएको उनको भनाइ छ । तर, स्थानीयहरूले भने हाल कार्यालय भएकै ठाउँमा पनि थप जग्गा दान गर्न तयार भएको बताएका छन् । उनीहरूले संयुक्तरूपमा पत्र बुझाउँदै आफूहरू थप जग्गा दिन तयार भएको तर वडा कार्यालय नसार्न वडाध्यक्ष विष्टलाई आग्रह गरेका छन् । सो वडाका पूर्व अध्यक्ष चक्रबहादुर बिकले अहिलेको वडा कार्यालय रहेको ठाउँमा स्थानीयले जग्गा दिन तयार रहेकाे भएपनि बिष्टको एकलौटी निर्णयले सार्न खोजिएको धारणा राखे । भवन सार्नका लागि नयाँ जग्गा पनि खोजिसकेको उनको भनाइ छ ।