नेप्सेमा साढे ९ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे ९ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमाससम्म विभिन्न कम्पनीहरूको ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । ६ महिनामा ६४ अर्ब ९५ करोड रुपैयाँ बराबरको आईपीओ सूचीकृत भएको छ भने ६ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल ८० अर्ब ६१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । पुससम्म नेप्सेमा सूचीकृत ८ अर्ब १७ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ९ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको आईपीओ, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
नेपाली बजारमा ५९ लाख ४९ हजारको ओमोडा ई५ सार्वजनिक
काठमाडौं । नेपाली बजारमा ओमोडा ई५ सार्वजनिक गरेको छ । एसपिजी अटोमोबाइल्सले ओमोडा ई५ गाडी नेपालमा सार्वजनिक गरेको हाे । कम्पनीका अनुसार यसमा ६१ केडब्ल्यू (किलोवाटआवर) को ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री छ जसले ४३० किलोमिटरको (डब्ल्यूएलपिटी मानक) रेन्ज प्रदान गर्दछ। ओमोडा ई५ गाडी फ्रन्ट-माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्यूटनमिटर टर्कद्वारा सञ्चालित हुन्छ । ५९ लाख ४९ हजार रूपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको ओमोडा इ५ अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ । एलइडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४.६ इन्चको डुअल स्क्रिन जस्ता विशेषताहरूद्वारा यो गाडी सम्पन्न रहेको छ । यसमा विभिन्न उन्नत ड्राइभर असिस्टेन्स सिस्टम सुविधा पनि रहेको कम्पनीले बताएको छ । जसमध्ये लेन डिपार्चर वार्निङ र प्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमरजेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सि ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा १७ वटाभन्दा बढी अन्य एडिएएस सुरक्षा सुविधाहरू पर्दछन् । यसको बाहिरी एक्स्टेरियरमा, एक्स–आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्रड मेट्रिक्स टेललाइट, टी–आकारको डेटाइम रनिङ हेडलाइटसहित अत्याधुनिक र मनमोहक डिजाइन छ । भित्र इन्टेरियरमा, २५६ रङको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटको वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ वटा एयरब्याग जस्ता सुविधा पाइन्छ, जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी र समृद्ध यात्रा अनुभव प्रदान गर्दछ । यसको अर्को आकर्षण, २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको कम्पनीको भनाइ छ ।
लगानीकर्ताहरूको सम्पत्ति सवा दुई खर्ब बढ्यो
काठमाडौं । एक वर्षमा लगानीकर्ताहरूको सम्पत्ति सवा दुई खर्बले बढेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुँजी बजारमा लगानीकर्ताहरूको सम्पत्ति पुस मसान्तसम्म २ खर्ब २७ अर्ब ५९ करोड रुपैयाँ बढेर ३३ खर्ब ३० अर्ब ७५ रुपैयाँ पुगेको हो । गत वर्षको पुसमा ३१ खर्ब ३ अर्ब १६ करोड रुपैयाँ बजार पुँजीकरण थियो । लगानीकर्ताहरूको सम्पत्ति बढेको भएपनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक भने २८.७७ प्रतिशत घटेर २ हजार १२०.६२ अंकमा झरेको छ । गत वर्षको पुसमा नेप्से सूचक २ हजार १४९.३९ अंकमा थियो । गत पुस मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । जसमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २४९ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।
महानगरभित्रकै पीडा : वर्षामा एक घण्टा बढी पैदल, हिउँदमा बाँसको फड्के
गण्डकी । पोखरा महानगरपालिका वडा नं २४ बास्कोट र वडा नं २३ चापाकोटलाई भएर बग्ने हर्पन खोला यस क्षेत्रका स्थानीयका लागि ठूलै समस्या बनेको छ । वर्षामा खोलाले गर्ने गरेको कटानका कारण स्थानीय समस्यामा छन् नै त्यस समयमा खेतीपाती गर्नका लागि आवतजावत गर्ने पुल नजिकै नहुँदा एक घण्टाभन्दा बढी हिँड्नुपर्ने विवशता यहाँका स्थानीयले वर्षौंदेखि भोग्दै आएका छ । अधिकांश बास्कोटवासी खेतीपातीका लागि चापाकोटमा आउने र चापाकोटवासी बास्कोटतिर जाने भएकाले पुलको अभावमा वर्षौंदेखि समस्या झेल्दै आएको स्थानीय मानबहादुर जिसीले बताए । ‘हर्पन खोलामाथि नजिकै पुल नहुँदा बास्कोटबाट चापाकोट आवतजावत गर्न एक घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता छ’, उनले भने, ‘यहाँबाट माथि वाम्दी पुगेर मात्रै पुल तर्न पाइन्छ भने तल पामे बजार नै निस्कनुपर्छ ।’ पुलको अभावमा वर्षौंदेखि आफूहरू समस्यामा परिरहेको उनले बताए । हिउँदका समयमा बाँसको फड्के हालेर गुजारा गर्ने गरिए पनि वर्षातमा खेती गर्न जानका लागि त्यो पनि सम्भव नरहेको स्थानीयवासी बताउँछन् । बास्कोट तथा चापाकोट यस क्षेत्रका पुराना बस्ती हुन् । नेपालका बाइसेचौबिसे राजाका पालामा कास्कीकोटमा राज्य गरी बस्ने राजाहरू सिकार खेल्न आउँदा यही बास बस्ने भएकाले त्यसै समयदेखि यस ठाउँको नाम बास्कोट रहन गएको हो । हर्पन खोलाको कटानसँगै बास्कोट माथिबाट आउने ढन्डुरा खहरे खोलाका कारण प्रत्येक वर्षातको समयमा यस क्षेत्रका बस्ती जोखिममा परिरहेको जिसीले बताए । खोलाले वर्षातमा तहसनहस बनाउने गरेको बताउँदै उनले यसको प्रभाव नियन्त्रणका लागि पनि राज्यको सहयोग आवश्यक भएको बताए । ढन्डुरा खोला हर्पन खोलामा आएर मिसिन्छ । पोखराको पर्यटकीय गन्तव्य फेवातालको सिरान भएका कारण यसलाई पर्यटनसँग जोड्नका लागि स्थानीयले पहल थालेका छन् । स्थानीय सक्रियतामा गठित सिर्जनशील क्लबको पहलमा बास्कोटस्थित हर्पन खोलाको किनारामा वनभोजस्थल निर्माण गरिएको क्लबका अध्यक्ष शिव जिसीले जानकारी दिए । स्थानीय सक्रियतामा दुई महिनायता वनभोजस्थललाई व्यवस्थित गर्न खोजिएको बताउँदै उनले पोखराका विभिन्न स्थानबाट वनभोजका लागि समूहसमूहमा मानिस आउने गरेको जानकारी दिए । क्लबले वनभोजस्थल उपयोग गरेबापत प्रतिस्थलको रु दुई हजार लिने गरिएको बताउँदै उनले यसबीचमा ५५/५६ समूह वनभोजका लागि आइसकेको जानकारी दिए । ‘हामी वनभोजस्थलका माध्यमबाट यहाँको पर्यटकीय विकासलाई जोड दिएका छौँ’, उनले भने, ‘यसबीचमा वनभोजस्थलबाट आएको रकम सडक बत्ती, सरसफाइआदिमा उपयोग गर्न थालिसकिएको छ ।’ खोलाको किनारमा रहेको फराकिलो फाँटमा विभिन्न प्रजातिका चराको चिरविराहट सुन्दै वनभोज खान पाउनु यहाँको विशिष्टता रहेको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताए । नाट्टा गण्डकी प्रदेशले हालै बास्कोटमा पारिवारिक वनभोज सम्पन्न गरेको बताउँदै उनले यसको प्रवद्र्धन र विकास गरेमा यसबाट यहाँका स्थानीयले अधिकतम लाभ लिनसक्ने देखिएको बताए । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको नजिकै रहेर पनि विकासका दृष्टिले यो क्षेत्र अझै पनि पछाडि परेको स्थानीय भरतबहादुर देवकोटाले बताए । यस क्षेत्रमा विगतमा स्कुल तथा वडाले विभिन्न नाममा वितरण गरिएका ४३ रोपनी क्षेत्रफलका प्रतिजग्गा रहे पनि तिनीहरूको समुदायबाट उपयोग हुने अवस्था नरहेको स्थानीयवासी बताउँछन् । समुदायमा सामुदायिक भवन, मन्दिरआदि संरचना निर्माणका लागि जग्गा उपलब्ध नहुँदा समस्या पर्ने गरेको बताउँदै स्थानीय मानबहादुर जिसीले जग्गाकै अभावमा बाटोलगायत समस्या भोग्नुपरेको बताए । समुदायमा एक वडा एक फुटबल मैदानको अवधारणामा पाँच/छ वर्षअघि फुटबल मैदान निर्माण सुरु गरिए पनि त्यो अहिलेसम्म सम्पन्न हुन नसकेको उनले जानकारी दिए । रासस
कर्जाको ब्याज ११ प्रतिशत र ट्रेजरी बिलको ब्याज ६९ प्रतिशतले घट्यो, निक्षेपकर्ताको आम्दानी पनि घट्दै
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको ब्याज घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ६ महिनासम्म ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८९ प्रतिशत रहेकोमा २०८० पुसमा ३.३७ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार ट्रेजरी बिलको भारित औसत ब्याजदर ६९ प्रतिशतले घटेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ पुसमा ७.५३ प्रतिशत रहेकोमा २०८० पुसमा २.८६ प्रतिशत रहेको छ । अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर ६० प्रतिशतले घटेको छ । चालु आवको पुससम्ममा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरुको १२.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.९१ प्रतिशत रहेको थियो । बैंकहरूको आधारदर १४.२९ प्रतिशतले घटेको छ । यस्तै, बैंकको निक्षेपको ब्याजदर पनि १४ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरुको ९.६२ प्रतिशत रहेको छ । २०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत कायम भएको थियो । बैंकमा निक्षेप राखेर ब्याजबाट आम्दानी गर्नेहरूको आम्दानी पनि घट्दै गएको देखिन्छ । यस्तै, कर्जाको भारित औसत ब्याजदर २०८० पुसमा वाणिज्य बैंकहरुको ११.३८ प्रतिशत, विकास बैंकहरुको १३.१४ प्रतिशत र वित्त कम्पनीहरुको १४.०९ प्रतिशत रहेको छ । २०७९ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत कायम भएको थियो । राष्ट्र बैंकका अनुसार कर्जाको ब्याजदर औसत ११ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको ३ खर्ब ७७ अर्ब ७ करोड रुपैयाँ (६.६ प्रतिशत) ले निक्षेप बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब १५ अर्ब १४ करोड रुपैयाँले (४.२ प्रतिशत) निक्षेप बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ । यस्तै, यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ (४.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ३७ अर्ब ३३ करोड रुपैयाँ (३.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा वाणिज्य बैंकहरुको २३ खर्ब १६ अर्ब ९८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को २ खर्ब ५७ अर्ब २२ करोड गरी कुल २५ खर्ब ७४ अर्ब २० करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १८ खर्ब ४३ अर्ब ८ करोड र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ८२ अर्ब ४ करोड गरी कुल २० खर्ब २५ अर्ब १२ करोडको अन्तर बैंक कारोबार भएको थियो ।
एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको नेत्रालयमा छुट हुने
काठमाडौं । एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एभरेष्ट बैंक र धनगढी नेत्रालय, धनगढी कैलालीबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा १० प्रतिशत सम्म साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैंकका सुदुर पश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वल कुमार पोखरेलको समेत उपस्थिति रहेको थियो ।
सोधनान्तर स्थिति पौने ३ खर्ब र चालु खाता १ खर्ब ६१ अर्ब रुपैयाँले बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमाससम्म सोधनान्तर स्थिति पौने ३ खर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुससम्म शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई ३ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रुपैयाँले धनात्मक रहेको थियो ।
भारततर्फको निर्यात घट्यो, चीन लगायतका मुलुकमा ३७० प्रतिशतले निर्यातमा वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १२.८ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३७०.९ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले कमी आई ७४ अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३२ प्रतिशतले कमी आएको थियो । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल वस्तु आयात ३.१ प्रतिशतले कमी आई ७६८ अर्ब १७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.४ प्रतिशत र २५.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारी साधान तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले कमी आई ६९३ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ७६ अर्ब २५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६० अर्ब ५६ करोड बराबरको भएको थियो ।