काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमाससम्म सोधनान्तर स्थिति पौने ३ खर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुससम्म शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा छ ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई ३ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ४३ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रुपैयाँले धनात्मक रहेको थियो ।