नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता
काठमाडौं । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले दुवै मुलुकबीच सातामा २८ उडान हुनेगरी हवाई सेवा सम्झौता भएको बताए । उनका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नुपर्नेछ । द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ । ‘अहिलेलाई दुई–दुई वटा एयरलाइन्स तोकिएका छन्, आवश्यकताअनुसार थप्न सकिने प्रावधान छ, तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ’, सहसचिव लामिछानेले भने । नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मंसिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । अन्य केही मुलुकसँग यस्ता द्विपक्षीय हवाई सेवा सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ । सरकारले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । उक्त मुलुकसँग पनि हवाई सम्झौताका लागि समन्वय भइरहेको मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिए । त्यसैगरी रुसलगायत मुलुकसँग पनि हवाई सेवा सम्झौताका लागि छलफल भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।
खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान
काठमाडौं । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ९६ खानीलाई उत्खननका लागि अनुमति दिएको महाशाखाका प्रमुख घिमिरेले जानकारी दिए। उनका अनुसार अनुमति प्रदान गरिएकामा टुर्मालिन तीन, टल्क १३, क्वार्ज दुई, काइनाइट पाँच, मार्वल एक, रातोमाटो दुई, फलाम एक, जिङ्क एक, क्वार्जजाइट १३, म्याग्नेसाइट दुई, डोलोमाइट तीन र तामाका दुई खानी रहेका छन् । घिमिरेले पछिल्लो समय चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि ९६ खानीलाई अनुमति प्रदान गरिएको जानकारी दिए । पछिल्लो समय नेपालमा उत्पादित सिमेन्टसमेत विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । ‘नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्यधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चापदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो’, उनले भने । यस्तै विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका विभिन्न कम्पनीलाई उत्खनन कार्य समयमा सुरु नगरेको भन्दै रद्द गर्दै आएको छ ।
सिएनआई बजेट वाच : निजी क्षेत्र सम्बन्धित एजेन्डा कार्यान्वयनमा सरकारको सक्रियता बढ्दो
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)ले सरकार निजी क्षेत्रसँग सम्बन्धित एजेन्डा कार्यान्वयनमा विगतको तुलनामा सक्रिय देखिएको जनाएको छ । शुक्रबार सरकारले बजेटमा अगाडि बढाएका निजी क्षेत्रसँग सम्बन्धित ७३ बुँदाको अवस्थाको विषयमा तथ्यांक सार्वजनिक गर्दै सिएनआईले गत आर्थिक वर्षको तुलनामा सकारात्मक प्रगति देखिएको जनाएको हो । सिएनआईका अनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा बजेटमा रहेका निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु मध्ये ६.८ प्रतिशत पूर्ण कार्यान्वयन गरेको, ४९.३ प्रतिशतलाई कार्यान्वयनमा अगाडि बढाएको र ४३.८ प्रतिशत कार्यक्रमको शुरुवात नै गरेको थिएन । तर, दोस्रो त्रैमासिक अवधि पूरा हुनेबेलासम्म सरकारले बजेटमा रहेका निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रममध्ये ७ वटा कार्यक्रम अर्थात १० प्रतिशत पूर्ण कार्यान्वयन गरेको, ५४ वटा कार्यक्रम आंशिक कार्यान्वयनमा गएको र १२ वटा कार्यक्रम अगाडि बढाउन सकेको छैन । सिएनआईका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा बजेटमा भएका निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रम मध्ये सरकारले ११ वटा कार्यक्रमको पूर्ण कार्यान्वयन, २९ वटा कार्यक्रमको आंशिक कार्यान्वयन गरेको थियो भने २२ वटा कार्यक्रमको शुरुवात नै गरेको थिएन । सरकारले गत आर्थिक वर्षमा निजी क्षेत्रसँग सम्बन्धित ६२ वटा कार्यक्रम मात्रै बजेटमार्फत अगाडि सारेको थियो । सिएनआईको प्रतिवेदनअनुसार सरकारले चालु आवको दोस्रो त्रैमास अवधि पूरा गर्ने बेलासम्म जग्गा, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण र पुँजी बजार सम्बन्धित एक/एक वटा कार्यक्रम र करसँग सम्बन्धित ४ वटा कार्यक्रमको पूर्ण कार्यान्वयन गरेको छ । त्यस्तै, सरकारले समीक्षा अवधिमा वन तथा वातावरण, सार्वजनिक खरिद, औद्योगिक विकास, निर्यात प्रवद्र्धन तथा व्यापार सहजीकरण लगायतका ५४ वटा कार्यक्रमलाई आंशिक कार्यान्वयनमा लैजाने काम गरेको छ । सिएनआईका अध्यक्ष राजेश अग्रवालले बजेट कार्यान्वयनको अवस्था हेर्दा गत आर्थिक वर्षको तुलनामा सकारात्मक रहेको बताए । तर, बजेटको लक्ष्य प्राप्ति गर्न सरकारले पुँजीगत खर्चलाई वृद्धि गर्न सक्नुपर्ने उनको भनाइ छ । ‘बजेटमा घोषणा भएका निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित ७३ वटा बुँदाहरुलाई दृष्टिगत गर्दा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा केही सुधार आएको देखिएको छ । दोस्रो त्रैमासको अन्त्यसम्म आइपुग्दा बजेटमा घोषणा भएका बुँदाहरु मध्ये ७४ प्रतिशत (कुल ५४ बुँदा) नीति तथा कार्यक्रमहरु आंशिक कार्यान्वयन गइसकेको देखिएको छ, यो सकारात्मक छ, किनकी, अघिल्लो वर्ष समग्र आर्थिक वर्षभरिमा नै सीएनआईले प्राथमिकतामा राखेका ६३ मध्ये ४७ बुँदाहरु मात्र आंशिक कार्यान्वयनको चरणमा थिए’, अध्यक्ष अग्रवालले बताए । प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालले कतिपय कानूनमा भएका समस्याले अलिहेको ‘डेभलभमेन्ट मुभमेन्ट’लाई सम्बोधन गर्न नसकेको बताएका थिए । उनले त्यस्ता ऐनहरुको पहिचान गरेर सरकारले संशोधन तयारी गरेको पनि बताए ।
एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआमा अवलोकनकर्ताको आकर्षण
काठमाडौं । भृकुटीमण्डपमा बिहीवारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ । इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । इन्फोटेकको शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ । यी उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ । त्यस्तै नेपाल टेलिकमले इन्फोटेकलाई लक्षित गर्दै फाइबर इन्टरनेटमा विशेष प्याकेज घोषणा गरेको छ । यसअन्तर्गत १२ हजार रुपैयाँमै एक वर्षका लागि ५० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ । जसमा ग्राहकले सेटटप बक्स निःशुल्क पाउनुका साथै ल्यान्डलाइनमार्फत ३०० मिनेट कल र प्रतिदिन ६०० एमबी मोबाइल डेटा पाउनेछन् । अर्को इन्टरनेट सेवाप्रदायक डिशहोम फाइबरनेटले विशेष छुटसहित २०० एमबीपीएस र ३०० एमबीपीएसका प्याकेजमा इन्टरनेट, डीटीएच कम्बो तथा आईटीभी कम्बो अफर ल्याएको छ । इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालिले बैंक तथा वित्तीय संस्थाका लागि उपयोगी ‘बजेट ३६०’ नामको सफ्टवेयर सार्वजनिक गरेको छ, जसमा इन्फोटेक अवधिभर २५ प्रतिशत छुट घोषणा गरिएको छ । प्रदर्शनीमा चर्चित ब्राण्डहरूका ल्यापटप तथा गेमिङ पीसीमा युवा अवलोकनकर्ताको विशेष चासो देख्न सकिन्छ । कम्पनीहरूले पनि यी उत्पादनमा ‘क्यान अफर’ भन्दै विशेष छुट ल्याएका छन् । इन्फोटेकका अवलोकनकर्ताका लागि आईटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले आफ्ना हरेक आईटी कोर्समा १८ प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै नेपाली ब्राण्ड अस्ट उल्फले पनि यही अवसरमा आफ्ना स्मार्टवाच, इयरबड, हेडफोन, स्पिकर, नेकब्यान्ड, चार्जर लगायतका एक्सेसरिजमा २० प्रतिशत छुट दिँदै ग्राहक आधार र बजार विस्तार गरेको छ । साथै अवलोकनकर्तालाई आफ्नो स्टलमा तान्न कम्पनीहरूले विभिन्न गेम तथा लक्की ड्र पनि सञ्चालन गरिरहेका छन् । इन्फोटेककै अवसरमा ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली सार्वजनिक भएको छ । यस प्लेटफर्मबाट केही मिनेटभित्रै नेपालका हरेक घरले आफ्नो घर ठेगाना प्लेट तयार गर्न सक्नेछन् । त्यस्तै नेपालको पहिलो बग बाउन्टी प्लेटफर्मका रूपमा परिचित ‘बगभी’को स्टलमा साइबर सुरक्षा अनुसन्धानकर्मी तथा जिज्ञासुहरूको आकर्षण देखिन्छ । साथै इन्फोटेकमा आफ्नो स्टल भिजिट गर्ने विद्यार्थीले ‘एमएस्सी आईटीएम’ डिग्रीमा विशेष छुट दिने कलेजले जनाएको छ । यसअन्तर्गत ६ लाख शुल्क लाग्ने यो डिग्री अब साढे ४ लाखमै पढ्न पाइनेछ । इन्फोटेककै अवसर पारी एफवन सफ्ट ग्रुपले ‘जुम जुम’ नामको राइड शेयरिङ प्लेटफर्म घोषणा गरेको छ । यसअन्तर्गत ग्राहकले प्रोमोकोड प्रयोग गरी पहिलो तीन राइड सेवा निःशुल्क लिन पाउने भएका छन् । त्यस्तै सीजी डिजिटलले इन्फोटेकका अवसरमा एक्सचेन्ज अफर घोषणा गरेको छ । यसअन्तर्गत जुनसुकै ब्राण्डका विद्युतीय उपकरण दिएर ग्राहकले नयाँ उपकरण खरिद गर्न सक्नेछन् । साथै नयाँ उपकरण किन्दा २० प्रतिशत छुटसमेत पाउनेछन् । त्यस्तै नेपाली स्टार्टअपहरू ठूलो डटकम, यार्सा टेक, कारोबार एप, आकाश एसएमएस, स्किल सेवा लगायतका स्टलमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ । क्यान इन्फोटेकको अर्को आकर्षणमा काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन प्याभिलियन रहेको छ । यसअन्तर्गत काठमाडौं महानगरले १० उत्कृष्ट स्टार्टअपहरूलाई इन्फोटेकमा सहभागी गराएको छ । यसबाट स्टार्टअपलाई आफ्ना ग्राहकसँग जोड्न मद्दत मिल्ने तथा नागरिकहरूमाझ स्टार्टअप र उद्यमशीलता मानसिकता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । त्यसबाहेक नेपाली सफ्टवेयर कम्पनीहरू, आईटी ट्रेनिङ प्रोभाइडर, आईटी कलेजहरूले इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि विशेष स्किम घोषणा गरेका छन् । अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका छन् । यसअन्तर्गत केही कम्पनीहरूले इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएका छन् । त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ । विभिन्न ब्राण्डका केही कम्पनीहरुले अवलोकनकर्ताका लागि भन्दै प्रदर्शनीको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन । छुट धेरै हुने भएकाले् केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । प्रदर्शनीमा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव अधिकारीले जानकारी दिए । उनका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरुलाई निःशुल्क स्टलहरु समेत उपलब्ध गराइएको छ । शुक्रवार विभिन्न कलेज तथा विद्यालयबाटबाट उल्लेख्य संख्या आएका विद्यार्थीले माहोल थप बढाएको थियो । शुक्रबार क्यान इन्फोटेकमा चाइल्ड डेभलपमेन्ट प्रोग्राम नेपाल (सीडीपीएन), महादेवङबेसी, धादिङबाट सयभन्दा बढी विद्यार्थी अवलोकन गर्न आएका थिए । आयोजक क्यान महासंघले क्यान इन्फोटेकका लागि जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । करिब १५० ओटा स्टल सहित सञ्चालन भइरहेको यो प्रदर्शनी सोमवारसम्म चल्ने छ । यसैबीच इन्फोटेक हेर्न शुक्रबार नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसमेत आएका थिए । सो अवसरमा उनले नेपाली युवाले विकास गरेका नयाँ प्रविधिले आफूलाई आकर्षित गरेको प्रतिक्रिया दिए । त्यस्तै शक्रबार नै कोरिया फुड फर द हङ्ग्री इन्टरनेसनल (केएफएचआई) का नेपाल निर्देशक जेम्युन पार्कले पनि क्यान इन्फोटेक अवलोकन गरेका थिए । यो प्रदर्शनीलाई सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीहरू, नीति निर्माता, राजनीतिज्ञ लगायतले अवलोकन गर्ने कार्यक्रम छ । त्यस्तै इन्फोटेकमा शनिबार नेपालमै विकास गरिएको कान्छी रोबोट विशेष सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउदै विश्व बैंक
काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे शुक्रबार छलफल गरेको हो । छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंकलगायत विकास साझेदारहरुका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताए । विकास–निर्माणका परियोजनालाई नयाँ ढङ्गले कार्यान्वन गर्नुपर्नेमा उनले जोड दिए । साथै उनले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताए । ‘पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा पुनःसंरचना गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम बनाउर्नुपर्छ’, उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ ।’ विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औँ योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादात्म्य कायम गर्नुपर्नेमा जोड दिइन् ।
गण्डकी र मधेश प्रदेशमा एनसेलको फोरजी सेवा सुधार
काठमाडौं । एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । यससँगै यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । मधेश प्रदेशमा फोरजी सेवामा सुधार भएका क्षेत्रहरुमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरु रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशको आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि फोरजी नेटवर्क सुधार भएको छ । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । हालैमात्र एनसेलले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरुमा फोरजी सेवा सुधार गरेको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्यांकका आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ। सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ।
मेरोमाइक्रोफाइनान्स लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभा संस्थाका संचालक समितिका अध्यक्ष सुमित बाबु खत्रीको सभाध्यक्षमा सम्पन्न भएको हो । सो साधारण सभामा संस्थाका सेयरधनीहरूले आफ्नो विचार समेत व्यक्त गरेका थिए । संस्थाका सञ्चालक समितिका अध्यक्ष खत्रीले १० वर्षको अवधिमा संस्थाले आफ्नो ब्राण्डको रुपमा स्थापित गराउन सफल भएको बताए । त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले स्वागत मन्तव्य राखी सबैलाई स्वागत गरेका हुन् । सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको संस्थाको देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।