भृकुटीमण्डपमा आवास र निर्माण नेपाल २०२४ को शुरुवात हुँदै
काठमाडौं । आगामी २०८१ साल वैशाख २७ गते देखि ३० गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आवास र निर्माण नेपाल २०२४ को भव्य शुरुवात हुने भएको छ । विगत ३३ वर्ष देखि प्रदर्शनीको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हाउस अफ राजकर्णिकारले आयोजना गर्न लागेको हो । हाउस अफ राजकर्णिकार बीटु बी र बीटुसी आगन्तुकहरूलाई आकर्षित गर्ने हरेक प्रविधिमा पोख्त मात्र नभई आवास र निर्माण क्षेत्रका व्यवसायिक र संस्थागत समुदायसँग चिरपरिचित पनि छ । हाउजिङ, भवन र निर्माण सम्बन्धि एक्स्पो हाउस अफ राजकर्णिकारका लागि कुनै नयाँ विषय भने होइन – यसले विगतमा एनएलएच डिएको स्वामित्वमा २ सफल आवास र निर्माण एक्सपोहरू आयोजना र व्यवस्थापन गरिसकेको छ । आवास, निर्माण र पूर्वाधार क्षेत्र हालै सुस्त भएको देखिए पनि यो नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो अंग हो । यस अत्यन्त महत्त्वपूर्ण उद्योगका बिक्रेताहरूका लागि आवास र निर्माण नेपाल २०२४ बजारमा विश्वास देखाउने र यसरी क्रेताहरूमा विश्वास जगाउने ठूलो अवसर हो । आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट प्रेरित भएको छ । आवास बजारमा सधैं उतारचढाव रहने स्वाभाविक नै हो तर प्रवृत्ति सधैं विस्तारकै देखिएको छ र कोभिड(१९ महामारीमा खुम्चिएको मागको दबाबले यसलाई ठूलो उछालतर्फ धकेलिरहेको छ । नेपाल ल्यान्ड हाउजिङ डेभलपर्स एसोसिएसन (एनएलएचडीए)का अनुसार नेपालमा वार्षिक १ लाख ४० हजार घरको माग रहेको छ तर नेपालले वार्षिक करिब २५ हजार घर मात्र निर्माण गर्न सक्ने अवस्थामा छ । नेपाल राष्ट्र बैंक (२०१८) का अनुसार नेपालमा घरजग्गा र आवास क्षेत्रमा ८८ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । साथै, नेपालको केन्द्रीय बैंकले नेपालको कुल गृहस्त उत्पादनमा उत्पादनमा आवास क्षेत्रको योगदान ८ प्रतिशत रहेको अनुमान गरेको छ । त्यस्तै, एनएलएचडीए ले देशको कुल लगानीको १५–३५ प्रतिशत रकम घर निर्माणमा लगानी हुने पुष्टि गर्दछ ।
नेपालमा मानवीय सहयोग जारी रहन्छ, विपद् पीडितलाई नगदै सहयोग : आइएफआरसी
काठमाडौं । बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो । उनले भनिन्, ‘भूकम्पले घर ढाल्यो । छ छोरीको भविष्य र घर कसरी उठाउने भन्ने चिन्ताले भूकम्प गएको एक महिना नबित्दै जीवनको सहरा श्रीमान् बित्नुभयो । न जीवनको सहारा रह्यो, न बास । नेपाल रेडक्रसका स्वयंसेवकले त्रिपाल र कम्बल दिए । यसले केही सहयोग पुग्यो । तत्कालै रु १५ हजार नगद पाएँ । छोरीहरुलाई चिसो छल्न न्यायो लुगा किन्न र खानामा खर्च गरेँ । रेडक्रसले टहरो हाल्न (अस्थायी आवास निर्माण) शौचालय र खानेपानी ट्याङ्की बनाउन सहयोग गर्यो ।’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले विपद्पछि संकटासन्न समुदायको तत्काल उत्थानका लागि उपलब्ध गराउने नगद सहयोगले समुदायमा सकारात्मक प्रभाव पारेको छ । पछिल्लो समय परोपकारी सस्था आइएफआरसी विपद्पछि संकटासन्न समुदायलाई उत्थान गर्न तत्काल नगद सहयोग गर्ने नीति अवलम्बन गरेको छ । सोही नीतिअनुसार उसले गत वर्षको सुदूरपश्चिम र यस वर्षको कर्णाली भूकम्प पीडितलाई पहिलो चरणमा नगद सहयोग नै उपलब्ध गराएको थियो । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ केन्द्रविन्दु बनाएर विसं २०७९ कात्तिक २३ गते बिहान ६ दशमलव ६ म्याग्नेच्युड, बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर विसं २०८० असोज १६ गते अपराह्न ६ दशमलव ३ म्याग्नेच्युड तथा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर विसं २०८० कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युड भूकम्प गएको थियो । ती भूकम्पले अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्याएको छ । नेपाल सरकारको नीति अनुसार आइएफआरसीले नेपाल रेडक्रस सोसाइटी मार्फत डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका भूकम्प अतिप्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ५० हजार, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १५ हजार, पानी ट्याङ्की रु सात हजार गरी जम्मा रु ८७ हजार प्रदान गरिरहेको छ । यहाँस्थित आइएफआरसीका देशीय प्रतिनिधि अजमद उल्लाले भने, ‘सङ्कटासन्न समुदायलाई विपद्को सामना गर्न सानो नगद सहयोगले ठूलो सहयोग पुग्ने हुनाले आइएफआरसीको विश्वव्यापी नीतिअनुसार हामीले पनि नेपाल सरकार, नेपाल रेडक्रसको समन्वयमा नगद सहयोग गर्ने नीति लिएका हौँ । यसबाट सङ्कटासन्न समुदायलाई तत्काल स्रोतको अभाव हुन दिँदैन । यसबाट सङ्कटासन्न समुदाय खुसी छन् ।’ आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि मानवीय सहयोग जारी रहने उहाँले जानकारी दिनुभयो । उसले भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक परामर्श) सरसफाइ, जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ । आइएफआरसीले जाजरकोट भूकम्प प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको थियो । स्वीट्जरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य राहत कोष (ड्रेफ) मार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो । सन् २०२३ को डिसेम्बरसम्मको प्रतिवेदनअनुसार आइएफआरसीले कर्णाली भूकम्पपीडित (रुकुम पश्चिम, जाजरकोट र सल्यान) चार हजार आठ सय ६५ परिवारलाई गैरखाद्य सामग्री, तीनसय ९२ रेडक्रसका स्वयंसेवक परिचालन, सात हजार पाँच सय मर्यादा सामग्री (सरसफाइ), दुई हजार तीन सय ५५ जनालाई मनोसामाजिक परामर्श, रेडक्रसको आकस्मिक स्वास्थ्य क्लिनिकमार्फत एक हजार आठ सय ४७ जनालाई स्वास्थ्य सेवा, दुई हजार एक सय ५० लाई अस्थायी आवास बनाउन अभिमुखीकरण, अस्थायी आवास बनाउन सरकारको नगद सहयोगलगायत अन्य जानकारीका लागि सहायता कक्ष स्थापना एवं यसमार्फत नौ हजार एक सय पाँचले सहयोग तथा अस्थायी आवास, शौचालय, खानेपानी भण्डारण तथा अन्य बहुउपयोगी सहयोगअन्तर्गत चार सय ३० परिवार लाभान्वित भएको जनाएको छ । हाल विश्वको एक सय ९१ देशमा मानवीय सहायता प्रदान गरिराखेको आइएफआरसीले नेपालमा हालै प्रकाशित गरेको सन् २०२३ को प्रतिवेदनले भन्छ ‘विपद् पूर्वविपद्को समय विपद्पश्चात् तथा स्वास्थ्य आपत्कालका सययमा सङ्कटासन्न व्यक्ति तथा समुदायका उत्थान, जीवनसुधार लागि मानवीय सहायता प्रदान गर्ने काम निरन्तर जारी रहन्छ ।’ प्रतिवेदनका अनुसार डोटी, बझाङ, बाजुराका एक हजार चार सय तीन परिवारलाई गैरखाद्य सामग्री, एक हजार दुई सय ६८ मर्यादा सामग्री (सरसफाइ), पाँच सय ६४ परिवारलाई बहुउपयोगी नगद सहयोग, एक सय १५ परिवारलाई अस्थायी आवास निर्माण तथा शौचालय निर्माणमा सहयोग, सात सय ६१ जनालाई सरसफाइ जानकारी, सात सय २१ जनालाई मनोसामाजिक परामर्श सेवा तथा चार सय आठ जनालाई अस्थायी आवास र हिंसा न्यूनीकरणसम्बन्धी जानकारी दिइएको उल्लेख छ । ड्रेफमार्फत सन् २०२३ मा आइएफआरसीले २६ जिल्लामा डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न रेडक्रसको स्वयंसेवक परिचालनमा सहयोग गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ मा नेपालमा ५२ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित भई २० जनाको अकालमा मृत्यु भएको थियो । ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ एवं सरसफाइ अभियानअन्तर्गत सात लाख ७७ हजार छ सय २५ जना लाभान्वित भएका, यसका लागि चार सय ७० स्थानमा लार्भा खोज र नष्ट गर कार्यक्रम सम्पन्न भएका, एक सय १५ रक्तदान कार्यक्रममार्फत पाँच हजार दुई सय १७ रक्तदाताले रगत दान गरेको आइएफआरसीद्वारा प्रकाशित प्रतिवेदनमा औँल्याइएको छ । आइएफआरसीका पाँच रणनीतिक प्राथमिकता र लाभान्वित व्यक्तिअन्तर्गत जलवायु र वातावरण सङ्कट कार्यक्रमअन्तर्गत दुई लाख ५४ हजार ५४, मूल्य मान्यता, शक्ति र समावेशीकरण कार्यक्रमबाट ५८ हजार ५३५, बसाइँसराइ र पहिचान कार्यक्रमबाट दुई हजार ३५५, सङ्कट र विपद् कार्यक्रमबाट दुई लाख ६१ हजार एक सय आठ, स्वास्थ्य र जीवनयापन सुदृढीकरण कार्यक्रमबाट १६ लाख आठ सय ६८ लाभान्वित भएको प्रतिवेदनमा जनाइएको छ । रासस
कपिलवस्तु बस दुर्घटना अपडेट : दश मृतकमध्ये तीन जनाको सनाखत
चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । रासस
संसारकै ठूलो हरित ऊर्जा पार्कबाट विद्युत् उत्पादन सुरु, डेढ करोड बढी घर उज्यालो हुने
काठमाडौं । भारतस्थित संसारकै ठूलो हरित ऊर्जा पार्कबाट विद्युत् उत्पादन सुरु भएको छ । देशको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा कम्पनी अडानी ग्रीन इनर्जी लिमिटेडले गुजरातको खावडामा रहेको ५ सय ५१ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा ल्याएको छ । यसबाट राष्ट्रिय ग्रिडमा विद्युत् आपूर्ति गरिने छ । यो प्लान्टबाट १ करोड ६० लाखभन्दा बढी घर उज्यालो पार्न सकिने कम्पनीको दाबी छ । साथै, वार्षिक १ं करोड ६० लाख टन कार्बन उत्सर्जन कम गर्न सकिन्छ । यो प्लान्टबाट ८१ अर्ब युनिट बिजुली उत्पादन गर्न सकिन्छ । अडानी ग्रीन इनर्जीका अनुसार यो प्लान्टको काम एक वर्षमा सम्पन्न भएको हो । कच्छको रणमा अवस्थित यस विशाल प्लान्टको तयारीका लागि सडकलगायत आवश्यक सबै सुविधा विकास गरिएको छ । कम्पनीको यो प्लान्टमा करिब ८ हजार कर्मचारी कार्यरत छन् । यो प्लान्टले करिब १५ हजार रोजगारी सिर्जना गर्ने कम्पनीको दाबी छ । यसबाट उत्पन्न हुने कार्बन उत्सर्जन लगभग १ करोड २६ लाख युनिट कार सडकबाट हटाए बराबर हुनेछ । यो प्लान्टलाई ३० गिगावाट क्षमतामा पुर्याउने कम्पनीको योजना छ । यसका लागि ५ वर्षको लक्ष्य राखिएको छ । यो लक्ष्य पूरा भएसँगै खावडा प्लान्ट विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्लान्ट बन्ने छ । अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले अडानी ग्रीन इनर्जीले विश्वको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा इकोसिस्टम सिर्जना गरिरहेको र खावडा आयोजना त्यसकै प्रयासको हिस्सा भएकाे बताए । भारतले सन् २०३० सम्ममा ५ सय गिगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य हासिल गर्न अडानी समूहले पूर्ण सहयोग गर्नेछ । अडानी ग्रीन इनर्जीसँग हाल ९ हजार २९ मेगावाट क्षमतामा सञ्चालित प्लान्टहरू छन्, जुन १२ राज्यमा फैलिएका छन् । कम्पनीको कुल उत्पादन क्षमता २० हजार ८ सय ४४ मेगावाट छ । कच्छको रणले नवीकरणीय ऊर्जाको लागि उत्तम वातावरण प्रदान गर्दछ । यहाँ वायु र सौर्य ऊर्जा सजिलै उत्पादन गर्न सकिन्छ । अडानी ग्रीन इनर्जीले यस प्लान्टको लागि व्यापक अनुसन्धान गरेको छ । कम्पनीले ग्रीड जडान भएको सौर्य, हावा र हाइब्रिड नवीकरणीय ऊर्जा केन्द्रहरू सञ्चालन गर्दछ । यसले हालै राजस्थानको जैसलमेरमा २ हजार १ सय ४० मेगावाटको विन्ड सोलार हाइब्रिड प्लान्ट निर्माण गरेको थियो । कम्पनीले सन् २०३० सम्ममा आफ्नो क्षमता ४५ गिगावाट पुर्याउने लक्ष्य राखेको छ । एजेन्सी
ललिता निवास जग्गा अनियमिततासम्बन्धी मुद्दाको फैसला आज
काठमाडौं । बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा अनियमिततासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ । विशेष अदालतले हिजै फैसला सुनाउने तयारी गरे पनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । झण्डै एक महिनादेखिको निरन्तर सुनुवाइपछि आज मुद्दाको फैसला हुन लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीसहित ११० जनालाई बिगो, कैद र जरिबाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाएर चार वर्षअघि विशेष अदालतमा अभियोग दायर गरेको थियो । २९९ रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याएकोमा करिब १४ रोपनी जफत भएको र बाँकी करिब २८५ रोपनी मुआब्जा तिरेर अधिग्रहण गरिएको थियो । त्यसमध्ये अधिग्रहण गरिएको जग्गालाई १६ लाख रुपैयाँभन्दा बढी तिरेको अख्तियारको अभियोगपत्रमा छ । यही जग्गा प्रकरणमा कीर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ ।
गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
कास्की । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिए । नयाँ संविधान जारी भएपछि विसं २०७४ मङ्सिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा बर्सेनि मनाउँदै आइएको छ । स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दै आएको छ । रासस
धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नति गरिँदै
खोटाङ । बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो । प्रदेश सरकार र गाउँपालिकाको ५०÷५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम सुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए । बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याविन (तारजाली प्रयोग गरेर निर्माण गरिने पर्खाल), मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल), ड्रेन निर्माण, आरसिसी ढलान, ग्राभेल, माटो फिलिङलगायतका काम भइरहेको छ । धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । विसं २०८१ वैशाख मसान्तसम्ममा सक्नेगरी उक्त ठेकेदार कम्पनीले गत पुस ८ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि करसहित १ करोड ७२ लाख ४१ हजार २ सय ४४ रुपैयाँमा कार्यदेश लिएको ठेकेदार कम्पनीले रनिङ बिलमार्फत गत माघ–१५ गते १ करोड ६ लाख ९७ हजार ६ सय २३ रुपैयाँ भुक्तानी लिइसकेको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिएका छन् । उक्त सडकखण्डमा २ हजार ५ सय आठ घनमिटर माटो कटिङ, ४३ दशमलव ३८ घनमिटर ब्रेकर, ३१३ दशमलव २३ घनमिटर ढुङ्गा सोलिङ, ६ सय ८४ घनमिटर ग्याविन वाल, १ सय ६० मिटर ढलानलगायतका काम गर्ने सम्झौतामा उल्लेख छ । ढलानको काम भइरहेको यो सडकखण्ड यही फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको स्थानीयस्तरमा निर्माणको जिम्मा लिएको सुन्तले कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि बराहपोखरीका प्रबन्ध निर्देशक कृष्णप्रसाद बञ्जराले जानकारी दिए । ‘ढलानको काम तीन दिनभित्रमा सम्पन्न हुन्छ । ग्राभेल ५४ घरटिरमात्र बाँकी छ । ६६४ दशमलव १५ घनटिर वालको काम गर्नपुर्नेमा ३० घनमिटर बाँकी छ । करिब ७० जना कामदार छन्,’ उनले भने, ‘समग्रमा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । फिनिसिङको काम सम्पन्न गरेर यही फागुन मसान्तभित्र फरफारक गर्ने योजनामा छौँ ।’ यस्तै, सङ्घीय सरकारसँगको लागत साझेदारीमा सुरु गरिएको सोही सडकको चेकेथुमखण्ड स्तरोन्नतिको काम ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । मूल्य अभिवृद्धि करसहित ७७ लाख ११ हजार ९ सय ४० रुपैयाँमा सक्नेगरी निर्माण कम्पनीले चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम लिएको हो । विसं २०८० वैशाख मसान्तसम्ममा सक्ने गरी गत मङ्सिर २२ गते ठेक्का सम्झौता गरिएको सडक फागुनभित्रै सम्पन्न गर्ने योजनामा रहेको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन दुवै खण्डको सडक तोकिएको मितिमा सम्पन्न गर्न तथा गुणस्तर निर्धारणमा खबरदारी गर्ने काम भइरहेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक भूबलराज राईले बताएका छन् । धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम गरिए पनि सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नहुँदा तराईसँगको सीधा यातायात सञ्चालन हुन सकेको छैन । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको काम रोकेर सात वर्षपछि डिजाइन (ढाँचा) परिवर्तन गरेर पुनःनिर्माण थालिएको छ । विसं २०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको थियो । वेल फाउन्डेसन प्रविधिको मोटरेबल पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा ढाँचा परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको हो । भ्याटबाहेक २२ करोड ५० लाख रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको पुलको दुईवटा पिलर तथा बीच भागमा एउटा वेलमात्र निर्माण गरिएको छ । ठेक्का सम्झौता भएको सात वर्षपछि ‘डिजाइन’ परिवर्तन गरिएको पुलको लम्बाइ दुई सय मिटर लामो छ । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापारबाहीले तोकिएको समयमा मोटरेबल पक्की पुल नबन्दा दुई जिल्लाबीचको सिधा यातायात सञ्चालन हुन सकेको छैन । धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण नहुँदा सवारीसाधनमा करिब एक दिनको यात्रापछि गाईघाट पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् । धाप्लाङघाटबाट उदयपुरको बेल्टार आधा घण्टा तथा गाईघाट डेढ घण्टामा पुग्ने गरिएको छ । लामो समयसम्म अलपत्र अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राईले जानकारी दिएका छन् । रासस
रवि लामिछाने र जिबी राई सम्पत्ति शुद्धीकरणको छानबिनमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक जितेन्द्र बहादुर (जिबी) राई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र राईमाथि छानबिन थालेको हो । यस क्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण माग गरेकाे छ । माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकसँग लामिछाने र राईको विवरण मागिएकाे छ। चिठीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ । विभागले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक, एनआइसी बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई रवि र जिबी राईको खाता विवरण उपलब्ध गराइदिन भनेको छ । राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन् । नेपाल प्रहरीले उनविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ । ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए ।