राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’, काम तोकिएकै समयमा सक्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, विभागीय प्रमुख र मन्त्रालयका सहसचिवहरू छलफल गरेका हुन् । प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुनेगरी कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशन दिए । प्रधानमन्त्रीले उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी-किमाथाङ्का सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीबाट जानकारी लिएका थिए । कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत, वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको जानकारी दिए । उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत आर्थिक प्रगति रहेको जानकारी दिँदै उनले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको बताए । उत्तर दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रहेको जानकारी पनि उनले दिए । प्रधानमन्त्रीले विगत २५० वर्षमा भएको भौतिक र मानवीय प्रगतिभन्दा गणतन्त्रपछि भएको प्रगति निकै उत्साहप्रद रहे पनि त्यसबारे आम नागरिकमा यथार्थ सम्प्रेषण गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भने, ‘पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएका छन् तर जनतामा सही ढङ्गले सम्प्रेषण गर्न नसक्दा निरासाजस्तो देखिएको छ । यति धेरै काम भएको जानकारी हामीले जनतालाई दिनुपर्छ, उनीहरूलाई सही ढङ्गले प्रशिक्षित गर्नुपर्छ ।’ उनले विकास आयोजनाका कामलाई उच्च प्राथमिकता दिन र आयोजना प्रमुखहरूलाई परियोजनास्थलमा नै बसेर काम गर्ने वातावरण बनाउन मन्त्री ज्वालालाई निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ । सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ । तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीर भएर लाग्नुस् ।’
आइजीआई प्रुडेन्सियलका अध्यक्ष हेमराज ढकालले लिए सपथ
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । त्यसैगरी, सोही बमोजिम कम्पनीको सञ्चालक समितिका अध्यक्षले विज्ञ सञ्चालक कृष्णप्रसाद शर्मासहित नवनिर्वाचित सञ्चालकलाई पनि पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कम्पनीको २६औं वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेमराज ढकालसहित विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिवडेवाल तथा सर्वसाधरण समूहबाट राजेन्द्रसिंह भण्डारी र अमित अग्रवाल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीको २६औं वार्षिक साधारण सभा फागुन २० गते काठमाडौंको लैनचौरस्थित लैनचौर बैङ्क्वेट्समा सम्पन्न भएको छ ।
चितवनमा बालिका मृत्युबारे छानबिन गर्न समितिको निर्देशन
फाइल फोटो काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो । समितिका सभापति भानुभक्त जोशीले बालिका मृत्युबारे सरकारले गृहमन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताए । यही फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेल उक्त विद्यालयको छात्राबासमा मृतअवस्थामा फेला परेका थिए । बैठकले शालिनको मृत्युबारे हत्या, आत्महत्या वा दुरुत्सान के हो ? सो बारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषी उपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ । समितिले विद्यालय तथा छात्राबासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्राबासको निगरानी, नियमन र अनुगमन गर्न, भइरहेका अवस्थाबारे मन्त्रालयले अद्यावधिक गर्न निर्देशन दिएको छ । विद्यालय शिक्षा विधेयकलाई कसरी चाँडो टुङ्ग्याउनेभन्नेबारे पनि छलफल गरिने सभापति जोशीले जानकारी दिए । बैठकमा सांसदहरुले चितवनमा बालिका मृत्यु भएको घटना लामो समय बितिसक्दा पनि सत्यतथ्य छानबिन नभएको भन्दै सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले घटनाको चाँडो छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र भविष्यमा यस्ता किसिमका घटना हुन नदिन दीर्घकालीन उपाय अपनाउन, विद्यालय र छात्राबासको सुरक्षा तथा गुणस्तरका लागि नीतिगत सुधार गर्न पनि आग्रह गरे । बैठकमा आ-आफ्नो धारणा राख्नेमा सांसदहरु देवेन्द्र पौडेल, बद्रीप्रसाद पाण्डे, विद्या भट्टराई, तोसिमा कार्की, विनिता कुमारी सिंह, दिपा शर्मा, इश्वरी घर्ती, डा कलुराम राई, रामप्रकाश चौधरी र उर्मिला थेवे हुन्थ्यो । ‘शालिन पोखरेलको मृत्यु आपराधको घटना’ यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले चितवनमा बालिका मृत्यु प्रकरणबारे सरकारले गृहमन्त्रालयअन्तर्गत मातहतका निकायले छानबिन गरिरहेको जानकारी पाएको भन्दै उक्त अपराधिक घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गरे । ‘दुःखद घटना सरकारको जानकारीमा आइसकेको छ । यसबारे गम्भीर रुपमा छानबिन भइरहेको छ । बालिका मृत्यु प्रकरण अपराधको घटना हो’, समितिको बैठकमा मन्त्री राईले भने, ‘घटनाको कडाइका साथ अध्ययन अनुसन्धान गरिनुपर्छ । हत्या वा आत्महत्या भए पनि दुरुत्साहनको अवस्थामा पुर्याउने परिस्थितिबारे अनुसन्धान जरुरी छ ।’ उनले छात्राबास निर्देशिकाको कडाइका साथ पालना गर्ने, विद्यालय तथा छात्राबासको प्रभावकारी अनुगमन र नियमन गर्नुपर्नेमा जोड दिए । शिक्षामन्त्री राईले बालिका मृत्युको घटना अत्यन्तै पीडादायी भएको भन्दै आत्महत्या र बलात्कारपछि हत्याका घटना बढिरहेकाले यसलाई न्यूनीकरण गर्न सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिए । मन्त्री राईले त्रिवि सेवा आयोगको रिक्त सदस्य मनोनयनका निम्ति उपकुलपतिलाई सिफारिस गर्ने विश्वास व्यक्त गरे । उनले बालगृहको सुधार र अनुगमनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरेर प्रभावकारी काम अगाडि बढाइने जानकारी दिए । शिक्षा विधेयकमाथि छलफल समितिको आइतबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल प्रारम्भ भएको छ । उक्त विधेयकमाथि संशोधन राख्ने सांसदको न्यून उपस्थितिले आइतबार पूर्ण छलफल हुन सकेन । संशोधनकर्ता अमरबहादुर थापाले शिक्षालाई गुणस्तरीय बनाएर मुलुकको विकाससँग जोडिनुपर्ने धारणा राखे । उनले विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय, समयसापेक्ष र रोजगारमैत्री बनाइनुपर्ने खाँचो औँल्याए । एकसय ६३ दफा रहेको उक्त विधेयकमा एक हजार सात सय ५८ संशोधन परेको समितिले जनाएको छ ।
बैंकिङविरुद्धको अराजकता नरोकिए कर्जा प्रवाह ठप्पै हुन्छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् । आईतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले बैंक वित्तीय संस्था विरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिँदै उनले बैंक वित्तीय संस्था विरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गरे । गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने, बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताए । उनले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गरे । राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताउँदै उनलले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको भनाई राखे । उनले भने- ‘बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जान्छ । अर्थतन्त्र कमजोर हुँदै जान्छ । जसबाट स्वार्थपूर्ति गर्ने दाउ हुन सक्छ । यसलाई राज्यको तर्फबाट कानूनको परिधिभित्र ल्याउनु आवश्यक छ । त्यस्तो भए यस्ता सबै कुराहरु करेक्सन हुन्छन् । कतिपय व्यक्तीहरु कानूनभन्दा माथि र पर गएर गतिविधि गर्छन् । त्यो क्षेत्रमा काम गर्नेहरुले मनोवल गिराउनुपर्ने हुन्छ । अहिलेको अवस्था त्यो पाटबाट गइरहेको छ ।’ गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरु आतंकित हुनुपर्ने अवस्था नभएको बताए । उनले केन्द्रिय अनुसन्धान ब्यरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुच्छ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए । उनले राष्ट्र बैंकले बैंकमा भएरको अनियमिताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताए । अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताउँदै उनले बंैकर्सहरु दोषी ठहर नभएर बाहिर आउने दोषी भए कानून अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले केही साथीहरु पक्राउ परेभन्दैमा बंैकर्सहरु आंतकित हुन नहुने बताए । उनले बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्नु भएकाले स्रोतको दुरुपयोग हुनेगरी कसैले पनि रकम चलाउन नहुने धारणा राखे । उनले भने, ‘प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्य्रोले पक्राउ गरेको विषय छ । नेपाल प्रहरीसँग पनि छलफल गरौं । कस्तो किसिमले पक्राउ गरियो भन्दा राष्ट्र बैंकले रिफर नगरी गर्न सकिन्छ । राष्ट्र बैंकले छुट्टै अनुसन्धान गर्छ । तर प्रहरीले अहिले सहकारीको अनुसन्धान गरिरहेका रहेछ । सहकारीको छानविन गर्दा लहरोमा बैंकर्सहरु पक्राउ पर्नुभएको रहेछ । प्रहरीले यस्तो छानविन गर्दा त्यहाँ पुगेका हौं भन्नुभयो । तर यसले बैंकका कर्मचारीहरुको आत्मबल कमजोर बनाउने काम गरेको छ । छानविन नगरी यस्तो नगरिदिन भनेपछि सबै छानविन गरेर पक्राउ गरिएको भन्नुभयो । तर बैंकर्सहरु आत्तिनु पर्दैन सबैले छानविनमा सहयोग गर्न आवश्यक छ । कुनै कसुर नभए उहाँहरु निस्कि हाल्नुहुन्छ । गल्ति गर्नुभएको भए कानून अनुसारको सजाय भोग्नुपर्छ । बाहिर काम गरिराख्नु भएकाहरुले यसबाट आत्तिने आतंकित हुने हुनुहुँदैन । सरकारको अंग भएकाले सरकारको अर्को अंगले गरिरहेको छानविन सहयोग गर्नु कर्तव्य हो । यति मात्रै हो गल्ती नगर्ने फस्नुभएन गल्ती गर्नेले सजाय पाउनुपर्छ । बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्ने हो । स्रोतको दुरुपयोग हुने गरी रकम चलाउनु भएन । त्यही कारणले छानविनलाई सबैले सहयोग गर्नुपर्छ । थप आंतकित कोही कसैलाई पार्नु हुँदैन ।’ गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरे । उनले बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए । गभर्नर अधिकारीले बैंकहरुको कोर पुँजी ८ प्रतिशत भन्दा माथि रहेकाले पनि नेपाली बैंकहरु सुरक्षित रहेको बताए । केही बैंकहरुलाई भने कोर पुँजीको दबाब रहेको भन्दै लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति रहेको जानकारी गराए । उनले पछिल्लो समय बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको उल्लेख गर्दै बैंकहरुको पछिल्लो समय कर्जाको गुणस्तर कमी आएको बताए । बैंकहरुको खराब कर्जा (एनपीए) बढेर ३.४० प्रतिशत पुग्नुमा समग्र बजारको अवस्था, अर्थतन्त्रमा शिथिलता, रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ भन्ने अराजक अभिव्यक्तिहरु र असम्भव आश्वासनहरु भएको दाबी गरे । उनले यसको असर प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर परेको बताए । गभर्नर अधिकारीले बचतकर्ताहरुले बचत गरेको निक्षेपभन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विटी सम्पत्ति रहेकाले डराउनु पर्ने अवस्था नभएको बताए । राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो रहेको बताउँदै उनले बैंकहरुको आन्तरिक परिस्थितिले कँही अफ्ठ्राहरु देखापरे पनि समाधान हुने अवस्था रहेको बताए ।
मार्च ४ लाई मजदुरहरूको महान चाडको रुपमा मनाउँदै जिफन्ट
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मार्च ४ लाई मजदुरहरुको महान चाडको रुपमा मनाउने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सो घोषणा गरेको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरहरुको महान चाडका रुपमा मनाउने घोषणा गरे । महासंघले फागुन २१ गते आन्दोलनको ७७ औं वार्षिकोत्सव मनाउने बताएको छ । कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नहुने महासंघले जनाएको छ । सो अवसरमा जिफन्टले ‘चुनौतिसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने जिफन्टले बताएको छ । फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तर्राष्ट्रिय सहभागीहरुसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धी, चुनौति र सम्भावनाहरुको बारेमा छलफल गर्ने पनि जिफन्टले बताएको छ ।
फागुन २४ देखि एक्स्पो गर्दै चेम्बर अफ कमर्स, १६० बढी स्टल हुने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गतेसम्म सञ्चालन हुँदैछ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले उक्त चेम्बर एक्स्पो हुन लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायीक क्षेत्रहरूलाई. एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधि, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, उक्त मेलामा इण्डियन चेम्बर अफ कमर्शको अगुवाईमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत संचालन हुनेछ । एक्स्पोमा नेपालमा रहेको रूसी दुतावासको वाणिज्य शाखा र मलेसियन दुतावासको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ । यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउनेछन् । प्रर्दशनीमा हस्तकलाका वस्तु, घर-जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, साना तथा घरेलु उद्योगका खक उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् । उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् । नेपाल चेम्बर एक्स्पो २०२४ मा सिल्भर स्पोन्सरका रुपमा एनसेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यसैगरी अफिसियल इन्टरनेट पार्टनरमा वर्ल्डलिङ्क तथा लोयल्टी पार्टनरका रुपमा अर्न सिक्का रहेका छन् । प्रदर्शनीमा अग्नी सुरक्षा उपकरणको सहयोग हिटको प्रा. लि. ले गर्ने भएको छ । एक्स्पोको राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहनेछन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालीले गरेको छ ।
फस्टाउँदै होम केयर व्यवसाय
बर्दियाकी गिरिजा शाही ६५ वर्षकी भइन् । उनलाई प्यारालाइसिस भएको ६ वर्ष भयो । उनको जीवन अहिले एउटा ह्वीलचियरमा गएर थन्किएको छ । श्रीमानको मृत्यु भयो । भएकी एउटी छोरी पनि बिहे गरेर गइन् । उनी दिदीसँग काठमाडौंमा बस्दै आएकी थिइन् । तर उनको एक्कासी बिपी हाइ भयो । बिपीले उनको एउटा हात खट्टा र एकापट्टीको शरीरलाई नचल्ने बनाइदियो । उनको शरीर अहिले चल्दैन । उनलाई खुवाउनेदेखि लिएर दिशापिसाब पनि अरुले गराइ दिनुपर्छ । नेपाल भारत जतिसुकै अस्पताल जाँदा पनि निको नभएपछि उनकी दिदीले उनलाई सानेपामा रहेको हेल्थ होम केयरमा राखिन् । जहाँ उमेर ढल्किँदै गरेका जेष्ठ नागरिकको उपचारसहित हेरचाह गरिन्छ । गिरिजा सात वर्षदेखि होम केयरमा बस्दै आएकी छिन् । उनको बोली पनि स्पष्ट आउँदैन । तर होम केयरमा बस्न थालेपछि पहिलेकोभन्दा स्वास्थ्यमा सुधार आएको उनी बताउँछिन् । ‘बेलाबेलामा दिदीभाई भेट्न आइरहन्छन्, पहिलेकोभन्दा सुधार पनि भइरहेको छ यहाँ बस्न पाउँदा खुसी नै छु’ उनले भनिन् । पाल्पाको तानसेनका नरेन्द्र शर्मा ९० वर्षका भए । बुढ्यौलीले छोएसँगै आफन्तहरू टाढिँदै गए । उनी अहिले अरुको साहारामा बसिरहेका छन् । ७ जना दाजुभाइ कोही स्वदेशमै छन्, कोही विदेशमा । उनका आफ्नै पाँच छोरी, एक जना छोरा छन् । एउटी छोरी र श्रीमतीको मृत्यु भइसक्यो । अरु छोराछोरी विवाह गरेर आ-आफ्नै घर व्यवहारमा लागे । बाँचुञ्जेल आफ्नै स्वासको मात्र आश हँदो रहेछ । अहिले नरेन्द्रलाई पनि यस्तै आभास भएको छ । ‘जवानीमा सबै आफ्ना थिए, कतिपयलाई आफैले जागिर खुवाइदिएँ । उमेर ढल्किँदै गएपछि आफ्नैहरूपनि टाढिँदा रहेछन्,’ नरेन्द्रले आफ्ना कुरा सुनाए । ‘छोराले बिहे गर्यो छुट्टै बस्यो, छोरीहरू बिहे गरेर गएँ,’ उनी भन्छन्, ‘म कान्छी छोरीसँग बस्थे, उसलाई पनि कहिले कता, कहिले कता जानुपर्छ । मलाई समय दिन नसकेपछि यता ल्याएर राखिदियो ।’ उनले युवा, वयस्कमा कहिले शिक्षण पेशा त, कहिले विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरे । पाल्पा, स्याङ्जा, तनहुँ लगायतका चार जिल्लामा अध्यापन गराए । ‘बुढो भइसकेपछि आफ्नै सन्तानले पनि टाढाको सम्झँदा रहेछन्, अहिले छोरा भएपनि बोलचाल भेटघाट नै हुँदैन’ नरेन्द्रले भने । ‘बसेको छु, खाएको छु, बिरामी भए उपचार हुन्छ । यहाँ राम्रो हेरचाह भइरहेको छ’ गएको साता सानेपामा रहेको हेल्थ होम केयर नेपालमा भेटिएका नरेन्द्रले भने । कसैलाई समय नभएर त कसैलेसँगै राख्न नचाहेर अहिले वृद्धवृद्धा एक्लिँदै गएका छन् । काममा व्यस्त छोराछोरी कतिपयले पैसा तिरेर होम केयरमा राखिरहेका छन् भने कतिपय बाआमा आफै बृद्धाश्रम खोज्दै आएको भटिएका छन् । पैसा भएर पनि हेरचाह गर्ने समय नभएकाहरूलाई केन्द्रित गर्दै सञ्चालनमा आएको सानेपाको हेल्थ होम केयरमा अहिले यस्तै वृद्धवृद्धाहरूलाई भेट्न सकिन्छ । नयाँ बानेश्वरका विनोद उदासका श्रीमती र तीन जना छोरीहरू अष्ट्रेलिया छन् । नेपाल बसेर व्यापार गर्दै आएका उनलाई विगत चार, पाँच महिनादेखि प्रेसर र सुगरले सतायो । उनी अस्वस्थ भएपछि खाना पकाएर दिने मान्छे समेत भएन । उनले हेल्थ होम केयरको बारेमा थाहा पाएपछि त्यही गएर बस्न थाले । तीन महिनादेखि होम केयरमा बस्न थालेका बिनोद अस्वस्थ हुँदा कोही नहुनेको लागि यो ठाउँ साहारास्थल रहेको बताउँछन् । ‘हेल्थ होम केयरमा आउने व्यक्तिको न्यूनतम चार्ज ३३ हजारदेखि सुरु हुन्छ,’ उनी भन्छिन्, ‘तर व्यक्तिको स्वास्थ्य अवस्था अनुसार चार्ज धेर थोर हुन्छ, हामी कहाँ महिनाको ९० हजारसम्म तिरेर बस्नेहरू पनि हुनुहुन्छ ।’ ‘घरमा एक्लै समस्या थियो, खाना खाने, औषधी खाने टुंगो हुँदैनथ्यो,’ उनी भन्छन्,‘ अहिले नियमित चेकजाँच हुन्छ, औषधी खाइरहेको छु, पहिलेकोभन्दा सुधार हुँदै आएको छ, मेरो लागि यो ठाउँ राम्रो हो ।’ पहिलेको भन्दा निको हुँदै गएका उनले अब अष्ट्रेलिया जाने तयारी गरिरहेका छन् । उनले थपे, ‘अब कान्छी छोरी पनि आउँदै छिन्, मलाई पनि सञ्चो हुँदैछ । दुई/तीन महिनापछि यहाँबाट जान्छु होला ।’ उनी त्यहाँ बसे बापत मासिक ६० हजार रुपैयाँ तिरिरहेका छन् । अहिले समय फेरिएको छ । परिवारका सबै सदस्य प्राय जागिरे छन् । काम व्यस्तताले घरपरिवारलाई समय दिन नसकेपछि उनीहरू पैसा तिरेर अभिभावलाई हेरचाह गर्ने ठाउँको खोजीमा हुन्छन् । अहिलेका जागिरे पुस्ता र जेष्ठ नागरिकको पीडा बुझ्दै यो व्यवसाय सुरु गर्ने व्यक्ति हुन्, प्रोफेसर डाक्टर लोचना श्रेष्ठ । आजभन्दा १४ वर्ष अगाडि वृद्धवृद्धाको हेरचाह गर्ने सरकारी वृद्धाआश्रम र प्राइभेट होम केयरहरू थिए । तर, स्वास्थ्यलाई मध्येनजर गर्दै यस्ता हेल्थ होम केयर थिएनन् । त्यहीबेला डा.लोचनाले सुरु गरिन् ‘हेल्थ होम केयर नेपाल’ । कसरी आयो यो आइडिया ? डाक्टर लोचनाको घर काठमाडौंको सानेपा हो । उनी सन् २००२ मा मास्टर्स इन इन्टरनेश्नल पब्लिक हेल्थमा अध्ययन गर्न अष्ट्रेलिया गइन् । मास्टर गर्दा जेष्ठ नागरिक र उनीहरूको स्वास्थ्य अवस्थाका विषयमा थेसिस् लेखिन् । त्यो बेला उनले विश्वमा वृद्धवृद्धाहरूको जनसंख्यासँगै उनीहरूका समस्या पनि बढ्दै गइरहेको थाहा पाइन् । त्यहाँ घुम्दा उनीहरूलाई दिएको सुविधा पनि उनले देखिन् । त्यतिबेला उनलाई लाग्यो यो काम नेपालमा पनि गर्न पाए कस्तो हुँदो हो । उनी फर्केर घर आउँदा उनको सासुको अवस्था पनि उस्तै थियो । सासूलाई बेडमै राख्नुपर्ने अवस्था आयो । घरमै राखेर सासूको सेवा गर्दा उनलाई अष्ट्रेलियामा सोचेको कुराले फेरि याद दिलायो । वृद्धवृद्धा बिरामी हुँदा सेवा गर्दा पनि टेक्निक जानेन भने कस्तो गाह्रो पर्छ भन्ने महसुस उनलाई पनि भयो । र, आफ्नै अनुभव र बाहिर देखेको अनुभवलाई प्रयोगमा ल्याउन हेल्थ होम केयर नेपालको सुरुवात गरिएको उनी बताउँछिन् । उनले आफ्नो योजना श्रीमान्, साथीभाइसँग सेयर गरिन् । सबैबाट सकारात्मक प्रतिक्रिया आयो । ‘सबैको सल्लाहले योजना त बनाएँ तर सुरुवात कसरी गर्ने धेरै सोच्नुपर्यो,’ सुरुवाती क्षण सम्झँदै उनले भनिन्, ‘घरघरमा गएर जेष्ठ नागरिक खोजेँ, उनीहरूलाई जाँच गरे, अनि आफ्नो योजना सुनाएँ मेरो योजनाले मैले देखेको सपना पुरा गरिरहेकी छुँ ।’ हेल्थ होम केयरमा दिइने सेवा एक जना वृद्धबाट सुरु गरिएको होम केयरमा अहिले ३६ जना जेष्ठ नागरिक छन् । त्यहाँ आउने जेष्ठ नागरिकहरूको चार्ज उनीहरुको स्वास्थ्य अवस्ताअनुसार फरक फरक छ । ‘हेल्थ होम केयरमा आउने व्यक्तिको न्यूनतम चार्ज ३६ हजारदेखि सुरु हुन्छ,’ उनी भन्छिन्, ‘तर व्यक्तिको स्वास्थ्य अवस्था अनुसार चार्ज धेर थोर हुन्छ, हामी कहाँ महिनाको ९० हजारसम्म तिरेर बस्नेहरू पनि हुनुहुन्छ ।’ नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने व्यवस्था गरेको छ । संविधानको धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । डाक्टर श्रेष्ठ हेल्थ होम केयरमा रहेकाहरूलाई राज्यको नीति अनुसार सेवा दिइरहेको बताउँछिन् । डाक्टर श्रेष्ठ आफै पनि जेरियाट्रिक डाक्टर हुन् । उनका श्रीमान् पनि डाक्टर हुन् । उनी र उनका श्रीमान् गरी दुईजना डाक्टर, नर्सलाई सेवा गर्ने केयर टेकर १५ जना छन् । त्यस्तै, खाना पकाउने, खुवाउने, सरसफाइ गर्ने चार जना गरी २० जनाभन्दा बढी कर्मचारी छन् । सामान्य औषधी, उपचार ल्याब टेस्टको लागि ब्लड कलेक्सन, फिजियो थेरापी, एक्सरसाइज होम केयरमै गरिन्छ । कसैलाई मुटु सम्बन्धी जाँच गर्नुपर्यो, मृगौला, नसा सम्बन्धी जाँच गर्नुपर्यो भने स्टार अस्पतालको डाक्टर ल्याएर उपचार गरिन्छ । सिटीस्क्यान गर्नुपर्यो भने स्टार अस्पतालमा पठाइने गरिएको उनको भनाइ छ । योगा र एक्सरसाइजबाट सुरु लोचनाले आफ्नो योजना अनुसार सानेपामा दुई तले घर भाडामा लिइन् । त्यहाँ उनले योगा र शारीरिक स्वास्थ्य व्यायम सिकाउने काम सुरु गरिन् । उनले एकातिर आफ्नो योजना डाक्टर, साथीभाइसँग सेयर गरिसकेकी थिइन् भने अर्कोतिर घरघरमा गएर वृद्धवृद्धाका स्वास्थ्य जाँच गर्दै आफ्ना कुरा राख्न थालिन् । सँगसँगै उनले संस्था दर्ता गर्ने योजना पनि सुरु गरिन् । उनले संस्था दर्ता गर्न उत्तिकै सकस गर्नुपर्यो । व्यक्तिगत संस्था दर्ता नहुने भएकाले उनले कम्पनी खडा गरिन् । अहिले उनको कम्पनीको नाम ‘हेल्थ होम केयर प्राइभेट लिमिटेड’ राखिन् । उनले सुरुवात गर्दा एकजना वृद्ध थिए । पछि विस्तारै, दुई, चार हुँदै होम केयरमा आउनेको संख्या बढ्दै गयो । जेष्ठ नागरिक बढ्दै गएपछि उनलाई भाडाको घरमा समस्या हुन थाल्यो । त्यसपछि उनले आफ्नै घर बनाउन सुरु गरिन् । सन् २०१२ देखि सन् २०१७ सम्म भाडाको घरमा चलाएपछि उनले आफ्नो घर तयार पारिन् र आफ्नै घर बनाएर त्यतैबाट काम सुरु गरिन् । अहिले उनको पाँच तलाको घर छ । घर अगाडि खुल्ला चौर छ जहाँ वृद्धवृद्धालाई हिँडडुल गर्न फाराकिलो ठाउँ छ । सन् २०१२ मा नेपालमा जेरियाट्रीको अवस्था कस्तो छ र के गर्नुपर्छ भन्ने विषयमा उनले रिसर्च गरिन् । त्यसपछि सन् २०१९ मा उनले यही विषयमा फेलोसिप गरिन् । सेवा शुल्क छुट्टै पछिल्लो समय यस्ता केयर सेन्टर बढ्दै गएका छन् । तर १४ वर्ष अगाडि डाक्टर लोचनाको एकमात्र हेल्थ होम केयर थियो । हेल्थ होम केयरमा आउने जेष्ठ नागरिकको संख्या पनि बढेको छ । त्यहाँ बस्ने जेष्ठ नागरिकको चार्ज भने फरक फरक छ । त्यहाँ आउन चाहानेको लागि ३६ हजार न्यूनतम मूल्य हो । अक्सिजन लगाउनुपर्ने/नपर्ने, डाइपर लगाउन पर्ने/नपर्ने, व्यक्ति हेरेर पैसा निर्धारण गरिन्छ । कसैलाई ३६ हजारमा छ भने कसैलाई लाखसम्म पनि राख्ने गरेको उनको भनाइ छ । सुरुमा धेरै जसोले होम केयरलाई वृद्धाआश्रम भन्थे तर, जब पैसा तिर्नुपर्यो उनीहरुले थाहा पाए । यहाँ खल्तीमा पैसा भएर समय नभएकाहरूले आफ्ना जेष्ठनागरिकलाई ल्याइने गरिन्छ । बिजनेसको रुपमा लिन कठिन डाक्टर लोचना यसलाई बिजनेसको रुपमा गर्न नसकिने बताउँछिन् । ‘वृद्धवृद्धालाई सेवा गर्दा उनीहरूको आम्दानीको भरमा गर्ने हो, तर उनीहरूको आम्दानी भएन’ उनी भन्छिन्, ‘यसैको आधारमा सेवा गर्दा बिजनेसको रुपमा गर्न गाह्रो छ, यहाँ उनीहरूको अवस्था हेरेर सेवा गर्नुपर्छ ।’ नेपालमा पैसा हुनेहरु कतिपयले घरमै डाक्टर बोलाएर पनि सेवा दिइरहेका हुन्छन् । तर, कतिपयले उनी जस्ताको पनि खोजी गर्दै आउँछन् । लोचनाको आफ्नै जग्गा र घर भएकाले उनलाई यो व्यवसायबाट घाटा छैन । बरु आम्दानी अनुसार सेवा बढाउँदै लगेको उनको भनाई छ । आजभोली घरमा बस्ने फुर्सद सायद कमैलाई छ । प्राय सबै कामकाजमा व्यस्त हुँदा आमाबुबालाई हेरचाह गर्ने फुर्सद मिल्दैन । उनीहरूले यस्ता होम केयर खोजीरहेका हुन्छन् । अफिसबाट फर्केर आउँदा, बिदामा हुँदा भेट्न आउँछन् । अधिकांशका छोराछोरी विदेश हुँदा पनि होम केयरमा बस्न आउने गरेको डा. लोचनको भनाइ छ । हेल्थहोम केयर नेपालमा हाल ६० प्रतिशत विदेशमा छोराछोरी भएका र २० प्रतिशत अस्पतालबाट डिस्चार्ज भएका वृद्धवृद्धा छन् । र, बाँकी २० प्रतिशत नेपालमै परिवार भएकाहरु छन् ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७ औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३ सय २३ मत ल्याएर विजयी भएका हुन् । यसैगरी शनिबार विभिन्न पदहरुमा सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् । यस्तै महासचिवमा बिष्णु प्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् । राजधानीमा दुइ दिन सम्म चलेको महाधिबेशनले लेखा समिती संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्यसमिती चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाइ बढाउँदै व्यवशायीका समस्या समाधानमा प्रयास रहने बताए ।