विकासन्युज

भारतीय दुतावासले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावास (एम्बेसी) ले कर्मचारी माग गरेको छ । दूतावासले दक्ष र अनुभवी नेपाली-अंग्रेजी-नेपाली अनुवादक (ट्रान्सलेटर) पदमा कर्मचारी माग गरेकाे हो । दूतावासले कति संख्या भन्ने खुलाएको छैन । अनुवादक नेपाली–अंग्रेजी–नेपालीमा पोख्त हुनुपर्ने र न्यूतम योग्यता अंग्रेजी-नेपालीमा ग्र्याजुएट गरेको हुनुपर्ने छ । साथै, नेपाली र अंग्रेजी टाइपिङसहित कम्प्युटबारे राम्रो जानकारी भएको हुनुपर्ने छ । दूतावासका अनुसार इच्छुक उम्मेदरवार ३५ वर्ष नकटेको हुनुपर्ने छ । आजकाे तीन साताभित्र दूतावासको ठेगानामा इमेल गर्न सकिने बताइएको छ ।

धादिङको घाटबेँसीमा बस दुर्घटना : चार जनाको मृत्यु, ३० बढी घाइते

मलेखु । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ । बुधबार बिहान भएको उक्त दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको बताए । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन् । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा आइपुगेका छन् । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन थालियो

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए । ‘स्थानीयवासीले क्षतिपूर्तिको दररेटमा असहमति जनाएर क्षतिपूर्ति बुझ्न र संरचना नहटाउँदा तिप्ल्याङ बजारभित्र सडक विस्तार, नाली निर्माण हुनसकेको थिएन,’ उनले भने, ‘प्राविधिक टोलीले संरचनाको पुनःमूल्यांकन गरेको क्षतिपूर्ति रकम बुझ्न तयार भई संरचना हटाउन थाल्नुुभएको छ ।’ सडक छेउमा दुवैतर्फ नाली निर्माण गर्नुपर्ने भएकाले २० वटा घरटहरा, गोठहरूको क्षतिपूर्तिका लागि दुई वर्षअघि सिफारिस गरिएको थियो । गलेश्वरबाट तातोपानी खण्डको अधिकांश ठाउँमा सडक विस्तार र संरचना निर्माणको काम सकेर कालोपत्रको तयारी गरिए पनि तिप्ल्याङ खण्डमा करिब सात सय मिटर सडक विस्तार तथा नाली निर्माणको काम रोकिएको थियो । स्थानीयवासीको मागअनुसार प्राविधिक टोलीले पुनःमूल्यांकन र क्षतिपूर्तिको रकम संशोधन गरिएको हो । दायाँ र बायाँतर्फ नाली हुने सडक १२ दशमलव पाँच मिटर फराकिलो बनाउन संरचना भत्काउन लागिएको आयोजना प्रमुख झाले बताए । राहुुघाटबाट बेगखोला–तिप्ल्याङ–पोखरेबगर हुँदै भुरुङ तातोपानी खण्डमा पहिरो र नदी कटानको जोखिमयुक्त ठाउँबाहेक करिब १५ किलोमिटर दूरीमा कालोपत्र गर्न थालिएको छ । योजनाले म्याग्दीको गलेश्वरबाट मुस्ताङको जोमसोम जोड्ने ७६ किलोमिटर दूरीको सडकको क्षेत्राधिकारमा पर्ने एक सय ७८ वटा घरगोठ र टहराको करिब आठ करोड क्षतिपूर्ति वितरण गर्न दुई वर्षअघि प्रक्रिया थालेको थियो । सडकको क्षेत्राधिकारमा पर्ने स्थायी र अस्थायी संरचना पहिचान, नापजाँच र मूल्यांकन सकेर क्षतिपूर्ति वितरणको काम अझै जारी छ । म्याग्दीमा ८० र मुस्ताङका ९८ वटा घरटहरा र गोठ हटाउन क्षतिपूर्तिका लागि छनोट गरिएको थियो । बेनी–जोमसोम सडकको क्षेत्राधिकारभित्र पर्ने अस्थायी र स्थायी संरचना पहिचान गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियरको नेतृत्वमा प्राविधिक टोलीले नापजाँच गरी क्षतिपूर्तिका लागि सिफारिस गरेको थियो । पछिल्लो व्यवस्थाअनुसार सम्बन्धित आयोजना कार्यालयमार्फत सम्बन्धित संरचनाका धनीको बैंक खातामा रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । चीनको सिमाना कोरला नाका जोड्ने सडकलाई दुई लेनको बनाउन विसं २०७४ मा सुरु भएको आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

नेपाली उत्पादन निर्यातमा सघाउन व्यवसायीको आग्रह

भैरहवा । नेपाली उत्पादन भारत निर्यात गर्न सघाउन नेपाली व्यवसायीले आग्रह गरेका छन् । भारतले विभिन्न कारण देखाएर नेपाली उत्पादन निर्यातमा बाधा पुर्‍याएका कारण व्यवसायीले सो आग्रह गरेका हुन् । भैरहवामा आयोजित ‘नेपाल–भारत आर्थिक साझेदारी सम्मेलन’का वक्ताले नेपाली वस्तुको निर्यातमा भारतले गर्दै आएको अवरोधबारे चर्चा गरेका थिए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले भने, ‘पहिला साबुन निर्यातमा अवरोध गरेजस्तै भारतले अहिले सिमेन्टमा पनि अवरोध गरिरहेको छ ।’ नेपाली वस्तु निर्यातमा भारतले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । नेपालबाट निर्यात हुने जडीबुटी, सिमेन्टलगायत वस्तुमा भारतले गुणस्तरको कुरा उठाउँदै अवरोध गरिरहेको अध्यक्ष आलमले उल्लेख गरे । सम्मेलनमा व्यवसायीले सीमामा दुवैतर्फका भन्सार कर्मचारी र सुरक्षाकर्मीबाट अनाहकमा दुःख पाउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘यसलाई दुवै देशका व्यापारी मिलेर समाधान गर्नुपर्छ ।’ उनले भारतको लखनउमा मात्र क्वारेन्टाइन कार्यालय रहेका कारणसमेत अप्ठ्यारो परेकाले सुनौलीमै सो कार्यालय स्थापनाको पहल गरिदिन आग्रह गरे । निर्माणाधीन एकीकृत जाँच चौकीसम्म रेलको सुविधा प्रदान गर्न अध्यक्ष शर्माले भारतीय पक्षसँग आग्रह गरे । नेपालका लागि भारतका पूर्वराजदूत मञ्जिभसिंह पुरीले नेपाली वस्तुको गुणस्तरमा ध्यानदिन व्यवसायीलाई आग्रह गरे । पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, भारतको आयोजना, उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशको समन्वयमा सम्पन्न उक्त सम्मेलनमा नेपाल र भारतका विभिन्न उद्योगी व्यापारी सङ्गठनका प्रतिनिधि सहभागी थिए । सम्मेलनमा यहाँस्थित भारतीय दूतावासका उपप्रमुख प्रशन्न श्रीवास्तव, नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपककुमार डे, पूर्व प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोख्रेललगायतले दुईपक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले महत्वपूर्ण भुमिका खेल्दै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’ को मान्यता

खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए) को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मंगलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग खुसी आदान प्रदान गरेको छ । क्याम्पसले औपचारिकरूपमा क्यूएए प्राप्ति गरेको जानकारी दिँदै क्यूएए प्राप्त गर्न पहल र प्रयास गर्ने सबैलाई धन्याद दिँदै बधाई ज्ञापन गरेको छ । क्याम्पसले क्यूएए प्राप्त गर्न विसं २०७१ देखि प्रयासरत गरेको जनाइएको छ । क्यूएएको प्रमाणपत्र प्राप्त गरेसँगै दिक्तेल बहुमुखी क्याम्पस पूर्वी पहाडमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न योग्य शैक्षिक संस्थाको रूपमा प्रमाणित भएको क्याम्पस प्रमुख हिराकुमार राईले जानकारी दिए । ‘देशभर एक हजार चार सय ५५ वटा क्याम्पस सञ्चालनमा छन् । जसमध्ये अहिलेसम्म विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट एक सय छवटाले क्यूएए प्राप्त गरेका रहेछन् । त्यसभित्र हाम्रो क्याम्पसको नाम पनि लेखाउन सफल भएका छौं,’, उनले भन्नुभयो, “कोशी प्रदेशमा दुई सय तीनवटा क्याम्पस छन् । यसमध्ये १० वटाले यसअघि नै क्यूएए प्राप्त गरिसकेका रहेछन् । त्यसमा हाम्रो क्याम्पस पनि थपिएको छ । तर, यो सधैँभरिका लागि होइन । पाँच वर्षपछि पुनः क्यूएएको प्रक्रियामा जानुपर्छ । यसका लागि हामी थप गुणस्तर सुधार गरेर अगाडि बढ्ने योजनामा छौँ ।’ क्यूएए प्रदान गर्नका लागि आयोगको एजुकेसनल क्वालिटी एस्युरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यू टिमले गत जेठ २८ देखि असार १ गतेसम्म क्याम्पसमा आएर फाइनल एसेसमेन्ट गरेको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी संस्था दिक्तेल बहुमुखी क्याम्पसले क्यूएए प्राप्तिका लागि विसं २०७६ मा स्वअध्ययन प्रतिवेदन बुझाएको थियो । क्यूएए प्राप्तिबाट उत्साहित दिक्तेल बहुमुखी क्याम्पसले हप्ता दिनअघिमात्र च्यास्मिटार मावि, चम्पावती मावि बुइपा र सरस्वती मावि पाथेकामा समुदायमा पहुँच कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै क्यूएएबाट क्वालिफाइड भएको प्रमाणपत्र पाएको विषयमा जानकारी दिन जिल्लाका विभिन्न माविहरूमा प्रचारात्मक कार्यक्रम गरिएको क्याम्पस प्रमुख राईले जानकारी दिएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले ढिलै भए पनि क्यूएएको प्रमाणपत्र पाएकामा खुसी व्यक्त गरेका छन् । विसं २०३७ मा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०७० देखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । दिक्तेल बहुमुखी क्याम्पसमा खोटाङसँगै छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी अध्ययन गर्दै आएका छन् । मानविकी तथा समाजिकशास्त्र संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय विषय अध्ययन÷अध्यापन हुँदै आएको क्याम्पसमा करिब सात सयको हाराहारीमा विद्यार्थी छन् । आवासगृहसमेत रहेको क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका सुविधा उपलब्ध रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम प्रदेशका केही भू–भागलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

माथिल्लो कर्णालीको काम अगाडि बढाउन मुख्यमन्त्री शर्माको आग्रह

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कामलाई अगाडि बढाउन अनुरोध गरेका छन् । मुख्यमन्त्री शर्मालाई मंगलबार भेट्न आएका आयोजनाका प्रतिनिधि केके शर्मालाई आयोजनाको काम अगाडि बढाउन अनुरोध गरेका हुन् । त्यसक्रममा मुख्यमन्त्री शर्माले हालसम्मको आयोजनाको प्रगतिबारे जानकारी लिएका थिए । माथिल्लो कर्णाली जलविद्युत कर्णाली प्रदेशसहित मुलुकको महत्वपूर्ण आयोजना भएकाले यसको निर्माणमा तीव्रता दिनुपर्ने सुझाव दिएका मुख्यमन्त्री शर्माले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक पहल तथा समन्वयका लागि तयार रहेको जनाए । आयोजनाका प्रतिनिधि शर्माले आयोजनाअन्तर्गत सबै प्रक्रिया पूरा भएको र अब काम अगाडि बढाउने बताएका थिए । नौ सय मेगावाट जलविद्युत क्षमताको उक्त आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले लिएको छ । जिएमआरले माथिल्लो कर्णाली आयोजनाको निर्माण १३ वर्षदेखि अगाडि बढ्न सकेको छैन । जिएमआरले सन् २००८ मा नै आयोजना निर्माणको जिम्मा पाएको थियो ।

फेसबुकको सर्भर डाउन, एक्कासि प्रोफाइल लगआउट

काठमाडौं । फेसबुक, म्यासेन्जर र इन्स्टाग्रामको सर्भर डाउन भएको छ । फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम लगइन गर्दा डाउन भएको देखिएको हो । एकाएक प्रयोगकर्ताको प्रोफाइल लगआउट भएको हाे । नेपाली प्रयोगकर्ताले आफ्नो फेसबुकमा आएको समस्याबारे बताइरहेका छन् । फेसबुकमा देखिएको समस्या केही समयमा समाधान हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् । केही प्रयोगकर्ताले सरकारले नै फेसबुक डाउन गरेको आशंका गरेका छन् । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द्र आचार्यले फेसबुकको सर्भर डाउन भएकोले यसमा सरकारलाई दोष दिन नहुने बताएका छन् ।