प्रिमनसुन अवधि सुरु : आज देशभर बदली हुने
काठमाडौं । नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो । हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो । मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ । रासस
नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका
काठमाडौं । अब ग्राहकहरुले नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र परस्वाङ स्टोरहरुमा फाल्गुन १९ गतेबाट चैत्र १७, २०८० गतेसम्म उपलब्ध रहेको छ । पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा रु ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्युआर स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिनेछ । ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । नेपाल पे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्युआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्युआरमा ४ लाख ६५ हजार र स्मार्ट क्युआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।
नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा बलियो बनिरहेको छ । विदेशी बजारबाटै लगानी उठाउने मात्र नभई मुनाफा पनि प्राप्त गर्ने चलचित्रको सङ्ख्या पनि छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलिया बन्दै गएको छ । त्यहाँका प्रायः सहरमा नेपालमै प्रदर्शन भएको मितिमा प्रवासमा रहेका नेपालीले चलचित्र हेर्न पाउँछन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् । दर्शकले त्यस्ता चलचित्रलाई रोजेका छन् । यसले नेपाली निर्मातालाई मुनाफा दिनुका साथै बजार विस्तारमा टेवा पुर्याइरहेको छ । यो सम्पूर्ण प्रविधिको सहायताले सम्भव भएको हो । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले चलचित्र भवन (हल) मै प्रदर्शन हुँदा दर्शकको आकर्षण झनै बढेको छ । दर्शकले विदेशी चलचित्र झैँ गुणस्तरीय रुपमा चलचित्र हेर्न पाएपछि अहिले नेपाल झैँ अष्ट्रेलियामा पनि लगभग हरेक हप्ता नयाँ चलचित्र प्रदर्शन हुने गरेको छ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्नसक्ने गरी नयाँ युगमा प्रवेश गरेको हो । अहिले नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेको छ । नेपालमै सम्पूर्ण प्रविधिमा ‘इनकोडिङ’ हुने चलचित्रलाई विश्वभर प्रदर्शन गर्न थालिएको डिजिटल सिनेमा नेपालका कार्यकारी निर्देशक अशोक शर्माले बताए । ‘डिजिटल सिनेमा इनिसेटिभ (डिसिआइ) ढाँचामा रहेका चलचित्र विश्वभर अन्य सर्भरमा समेत प्रदर्शन गर्न सकिन्छ । हामीले महापुरुष, छक्का पञ्जा ४ र जारीजस्ता चलचित्र यहीँ इनकोडिङ गरेर विश्वभर प्रदर्शन गर्यौँ । यसले पाइरेसीको समस्यासँगै चलचित्र विदेश पुर्याउने झन्झट पनि हटायो’, उनले भने । उक्त प्रविधि नहुँदा निर्माता, निर्देशक स्वयम् चलचित्र बोकेर त्यहाँ प्रदर्शनका लागि पुग्नुपथ्र्यो । त्यसमा जोखिम अधिक थियो । तर, अहिले नेपालमै फाइल राखेर विश्वभर चलचित्र प्रदर्शन हुने गरेका छन् । निर्मातासँगै कलाकारसमेत रहनु भएका रवीन्द्रसिंह बानियाँलाई व्यक्तिगत रूपमा रेस्टुरेन्ट, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभवसमेत छ । उनी निर्मित ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । त्यो समयमा विदेश प्रदर्शनभन्दा पनि भिसिडी अधिकारी बिक्री गर्ने प्रचलन थियो । खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम उत्तिकै हुन्थ्यो । तर अहिले विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा दिलाउन सफल भएको निर्माता बानियाँले बताए । ‘नेपाली चलचित्रको अन्तरराष्ट्रिय बजार बढाउन हामी चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्छ । अहिले हाम्रो उद्देश्य मुनाफाभन्दा पनि राम्रोसँग प्रदर्शन गर्ने हुनुपर्छ । बढिरहेको बजारले हामीलाई ठूलो फाइदा दिनेछ’, निर्माता बानियाँले भने । उनले पहिलो चलचित्रदेखि विदेशी बजारलाई प्राथमिकतामा राखेर गतिविधि गरिरहेका छन् । पछिल्लो चलचित्र ‘महाजात्रा’ सम्म आइपुग्दा उनी स्थापितसँगै नयाँ बजार पनि खोज्नु प्रयासरत छन् । ‘अहिले चलचित्रका लागि नेपालपछि अष्ट्रेलिया राम्रो बजार देखिएको छ । अन्य देशमा पनि प्रदर्शन हुन्छन्, तर हामीले नयाँ बजार खोज्न वितरकसँग सहकार्य गरेर प्रयास गरिरहेका छौँ । त्यसले दीर्घकालीन रुपमा हामी सबैलाई फाइदा पुर्याउनुका साथै देशको कला, संस्कृतिलाई पनि विस्तार गर्छ’, उनले भने । अष्ट्रेलियामा नेपालीको बसोबास बढेसँगै चलचित्रसम्बन्धी गतिविधि बढेको हो । त्यसैले अहिले नेपाली चलचित्रकर्मी अष्ट्रेलिया लक्षित गतिविधिलाई बढाउने गरेका छन् । केही चलचित्रको छायाङ्कन नै त्यहीँ गर्ने घोषणा गरिएको छ भने केहीमा त्यहाँ रहेका प्रवासी नेपालीले लगानी गरेका छन् । यसका साथै नेपाली चाडपर्वमा गीत सङ्गीतसम्बन्धी कार्यक्रम पनि उत्तिकै हुने गरेको छ । यस्तै विविध कारणले त्यहाँ कलात्मक गतिविधि बढेको छ । केही वर्षदेखि अष्ट्रेलियामा नेपाली चलचित्रको वितरणमा सक्रिय देखिएका वितरक एमएसएम इन्टरटेन्मेन्ट्सका सञ्चालक छत्र थापाले व्यावसायिक रुपमा नेपाली चलचित्रको लागि आकर्षक बजार बनिरहेको जानकारी दिए । उनले भने,’नेपालका केही चलचित्र छायाङ्कन नहुँदै यहाँ प्रदर्शन गर्ने अधिकार हामीले खरिद गरिसकेका हुन्छौँ । यो दर्शककै मागका कारण भएको हो । ती निर्माण समूहका पछिल्ला चलचित्रले यहाँ गरेको व्यापारका आधारमा विदेश प्रदर्शन अधिकार खरिद गर्ने गरेका छौँ ।’ अन्तर्राष्ट्रिय बजारमा ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ लगायत समूहले निर्माण गर्ने चलचित्र निर्माणपूर्व नै बिक्री हुने गरेको उनले जानकारी दिए । यद्यपि, चलचित्रको बजार बढेसँगै बलियो बनाउने चुनौतीसमेत रहेको छ । प्रवासी नेपालीले समय निकालेर चलचित्र भवन पुगेको चलचित्र मन नपर्दा त्यसको असर आउँदो केही चलचित्रलाई पर्ने गरेको छ । ‘रीमै’, ‘पुजार सार्की’, ‘घर ज्वाइँ’, ‘महाजात्रा’ जस्ता चलचित्रको विश्व प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिँदै उनले बजार विस्तारसँगै टिकाई राख्नु चुनौती रहेको बताए । ‘यहाँ एउटा चलचित्रको राम्रोसँग प्रदर्शन हुन दुई महिनाको समय चाहिन्छ । त्यो हिसाबमा एक वर्षमा छदेखि सात चलचित्र भए राम्रो हुन्छ । त्यस्तो हुन नसके बजारलाई असर गर्न सक्छ’, वितरक थापाले भने, ‘हामीले नयाँ बजार खोज्नु जरुरी छ । अहिले भइरहेको बजार अवस्थामा चलचित्र प्रदर्शन भइरहेका छन् ।’ नेपाली बसोबास गर्ने विश्वका हरेक देशमा दर्शक बढिरहेका छन् । ओभर दी टप (ओटिटी) मा नेपाली चलचित्र पर्याप्त नहुँदा ती युट्युबकै भर परिरहेका छन् । जसलाई पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त हुन्छ । यद्यपि, अहिले बढिरहेको प्रदर्शन सङ्ख्याले दर्शक टिकाई राख्न चुनौती समेत थपेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारले थेग्न नसक्ने गरी नै चलचित्रहरू प्रदर्शन भइरहेका छन् । अष्ट्रेलियामा चलचित्र प्रदर्शनसँगै निर्माणको अनुभव सङ्गालेका वितरक करण श्रेष्ठले हरेक हप्ता नेपाली चलचित्र प्रदर्शन हुनु सुखद पक्ष हुनुका साथै चुनौती थपिएको बताए । उनले भने, ‘नेपाली चलचित्र धेरै सङ्ख्यामा पुग्नु हाम्रो लागि सुखद पक्ष हो । तर, दर्शकको माग भन्दा पूर्ति बढी हुँदा त्यसले समस्या पनि निम्त्याउन सक्छ । त्यसैले हामीसँग भएको बजारलाई बलियो बनाएर विस्तारमा निर्माता र वितरकले ध्यान दिनु जरुरी छ ।’ पछिल्लो समय नेपाली चलचित्रको बजार अष्ट्रेलियापछि संयुक्त राज्य अमेरिका, मध्यपूर्वका देशहरूमा बलियो देखिएको छ । नेपाली भाषीको बाहुल्य भएका देशहरूमा त्यहाँका प्रदर्शक तथा वितरकसँग समन्वय गरी नेपाली चलचित्र प्रदर्शन गर्न सके यसले ठूलो बजार निर्माण गर्न टेवा पुग्नेछ । अहिले बजारकै कारण खुम्चिरहेको नेपाली चलचित्रको बजेटलाई वृद्धि गर्न समेत यसले मदत गर्नेछ । रासस
विवाहको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको छ । आठबीसकोट-३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले वडामा बालविवाहसँगै मदिरा र सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न पहल थालिएको बताए । विवाहका अवसरमा मदिरा र सुर्तीजन्य पदार्थको प्रयोग हुने भएकाले वडाले विवाह कार्डमै मदिरा र सुर्तीजन्य पदार्थ प्रयोग नगर्ने/नगराउने प्रतिबद्धता जनाउनुपर्ने व्यवस्था लागू गरेको उनले बताए । वडामा यस वर्ष १० जोडीले बालविवाह गरेको तथ्याङ्क रहेको छ । यस वर्ष उमेर नपुगेर विवाह गर्न लागेका एक जोडीको विवाहसमेत वडा कार्यालयले रोकेको जनाएको छ । सामाजिक तथा आर्थिकरूपमा पनि बालविवाहले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले वडामा बालपिववाह र मदिराजन्य पदार्थमा कडाइ गरिएको वडाध्यक्ष विकको भनाइ थियो । ‘विवाह कार्डमा जोडीको सही जन्ममिति उल्लेख गरे/नगरेको थाहा पाउन वडा कार्यालयमा जन्मदर्तालगायत अन्य विवरणको अभिलेख हुने भएकाले सजिलो छ । वडाभन्दा बाहिरबाट विवाह गर्नेको हकमा सम्बन्धित वडा कार्यालयसम्म समन्वय गर्नेगरी लागेका छौं । बालविवाह रोक्न समुदायको पनि राम्रो साथ मिलेको छ,’ वडाध्यक्ष विकले भने । वडाको नियम उल्लङ्घन गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत वडा कार्यालय जनाएको छ । मदिरा सेवनमा निषेध सोही वडामा विगत पाँच वर्षदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ पनि निषेध गरिएको छ । विंस २०७५ मङ्सिर १५ गतेदेखि वडामा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको वडाध्यक्ष विकले जानकारी दिए । उनका अनुसार हाल वडाभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री-वितरण र सेवन हुन छाडेको छ । वडाले मदिरा निषेध गरेपछि वडामा मदिरा सेवन गर्ने पाँचजना र बिक्री वितरण गर्ने छ व्यक्तिलाई वडाले कारबाहीसमेत गरेको उनले बताए । वडाले मदिरा सेवन गरेका पाँच जनालाई पाँच हजारका दरले जरिवाना गराएको र मदिरा बिक्री-वितरण गर्ने एक जनालाई २० हजार जरिवाना गराएको छ । वडाभन्दा बाहिर गएर मदिरा सेवन गर्ने व्यक्तिलाई पनि सूचना प्राप्त भएसम्म मदिरा सेवन नर्गन वडाले सेचत गराउँदै आएको छ । वडालाई विकास निर्माणलगायत सामाजिक, आर्थिक तथा सांस्कृतिक हिसाबले नमूना बनाउन वडा कार्यालय लागिरहेको वडा कार्यालयले जनाएको छ । रासस
आइजिआई प्रुडेन्सियलको साधारणसभा सम्पन्न, ६ जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव अनुमोदन गरेको छ । सभाले कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल, कृति टिवडेवाल र सर्वसाधारणस समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ । सञ्चालक समितिको बैठकमा उपस्थित भएबापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवासुविधा पुनरावलोकन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गरेको छ ।
काठमाडौं नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा ल्याउँदै सेरेस
काठमाडौं । सेरेस ईभीका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम संचालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ । नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्न यो कदम महत्वपूर्ण हुने कम्पनीको भनाइ छ । काठमाडौंको मुटुमा अवस्थित नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउनेछ । ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ । नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुनेछ । ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले विक्री र विक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिनेछ । कम्पनीका अनुसार सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि सोरुम खोल्दैछ ।
साधना लघुवित्तको सातौ वार्षिक साधारणसभा सम्पन्न, मर्जरको प्रस्ताव पारित
काठमाडौं । साधना लघुवित्त वित्तिय संस्थाको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । गोरखा जिल्ला गोरखा नगरपालिका –६ केन्द्रीय कार्यायालय रहेको साधना लघुवित्तले सातौ बार्षिक साधारणसभा शुक्रबार धादिङ्ग जिल्ला स्थित गल्छी गाउँपालिका वडा नं ६, बैरेनीमा सधारणसभा भएको हो । मिति २०७४ कार्तिक २२ गते देखि सन्चालनमा आएको राष्ट्रिय स्तरको साधना लघुवित्त वित्तिय संस्थाले सदस्य मैती वित्तीय सेवा प्रदान गर्दे आएको छ । साधारण सभाले सञ्चालक समितिवाट पेश भएको आ.व.२०७९/०८० को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ । यसैगरि तनहुँमा केन्द्रिय कार्यालय रहेको सबैको लघुवित्त बित्तीय संस्था संग एक आपसमा गाभ्ने गाभिने (मर्जर) को प्रस्ताव सर्वसम्मतिले पारीत गरेको छ । यसैगरी साधारण सभाले साधना लघुवित्त वित्तीय संस्था लि. र साधना लघुवित्त वित्तीय संस्था लि.मर्जर पश्चात नाम सबैको साधना लघुवित्त वित्तीय संस्था हुने, स्वाप रेसियो १ः१ हुने मर्जर पश्चात् केन्द्रिय कार्यालय चितवन जिल्लामा स्थानान्तरण हुने, हालको संचालक समितीको कार्यकाल मर्जर पश्चात पहिलो साधारण सभासम्म रहने गरि विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ । त्यसैगरि सभामा विभिन्न सेयरधनिहरुबाट आएको जिज्ञासा,सल्लाह, सुझाव बारेमा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने र संचालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाले प्रष्ट पार्ने कार्य गरेका थिए भने संचालक समितीको तर्फबाट उपस्थित सबैलाई धन्यवाद ज्ञापन संचालक समितिको सदस्य नरहरी ढकालले गरेका थिए । चालु आ.व. माघ मसान्तसम्म ३१ जिल्ला मार्फत ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुँच १ लाख ४ हजार भन्दा बढि विपन्न परिवारमा सेवा पुगेको छ र हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ५ अर्ब ४० करोड तथा बचत १ अर्ब ३१ करोड भन्दा बढि सदस्यहरुवाट संकलन गर्न सफल भएको छ । निकट भविष्यमा मर्जर पश्चात् संस्थाको सात वटै प्रदेशमा कार्यक्रम विस्तार गरि आधुनिक प्रविधी मैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै बित्तीय साक्षरतामा बिशेष जोड दिई कार्यक्रम संचालन गर्ने कुरा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
पैसाको लोभ छैन, रिपब्लिकबाट बाहिरिँदैनौं : शोभा ज्ञवाली
काठमाडौं । मिडिया क्षेत्रमा आईपीओ ल्याउने पहिलो कम्पनी बन्यो नेपाल रिपब्लिक मिडिया । कम्पनीले आईपीओ ल्याउँदा विभिन्न आरोप खेप्नु पर्याे । कतिपय लगानीकर्ताहरूले घाटामा रहेको कम्पनीलाई सेयर निष्काशन गर्न दिएर नेपाल धितोपत्र बोर्डमाथि आक्रोस व्यक्त गरे भने कतिपयले सर्वसाधारणलाई आईपीओ जारी गरेर संस्थापक बाहिरिन लागेको भनेर हल्ला चलाए । तर, रिपब्लिक मिडियालाई पब्लिकमा ल्याएर आफूहरू नबाहिरिने कम्पनीकी निर्देशक शोभा ज्ञवालीले बताइन् । आफूलाई समाजको चिन्ता रहेकाले कम्पनीबाट बाहिरिने कल्पना समेत नगरेको उनको भनाइ छ । मलाई पैसाको मतलब नरहेकाले मिडियाबाट बाहिरिने कुरामा आशंका नगर्न लगानीकर्तालाई उनले आग्रह गरिन् । ‘कान्तिपुरबाट बाहिरिँदा मसँग अर्बौं रुपैयाँ थियो । म मिडियाबाट बाहिरने भए त्यहीँ बेला बाहिरिन्थें । तर, मेरो परिवारमा समाज बनाउने माध्यम नै मिडिया हो । समाजको ऐना भनेको मिडिया हो भनेर हामीले रिपब्लिक स्थापना गर्याैं,’ उनले भनिन्, ‘कान्तिपुरबाट अलग भएपछि त म मिडिया क्षेत्रबाट पलायन भइनँ भने अब त त्यो कल्पना पनि गर्न सक्दिनँ । मलाई पैसाको कुनै मतलब छैन, समाजको चिन्ता छ । त्यसैले मिडियाबाट बाहिरिने कुरामा आशंका नगर्दा हुन्छ ।’ साथै, आगामी दिनमा कम्पनी डुब्न नदिन सजगता अपनाएको उनको भनाइ छ । सकेसम्म फाइनान्सियल स्टेटमेन्ट चुस्त दुरुस्त बनाएर हिसाबहरू मिलाउने गरेको उनले बताइन् । उनका अनुसार देशको अर्थतन्त्र अवस्था राम्रो बनाउन उद्योगधन्दा खोल्नुपर्छ । जब देशले कमाउन थाल्छ, व्यवसाय बढ्न थाल्छ, तब मिडियाले कमाउने उनको धारणा छ । ‘हामीले प्रत्येक त्रैमासको वित्तीय विवरण प्रकाशन गरिरहेका छौं । स्थिर सम्पत्तिको तुलना गरेर हामीले ऋण लिने हो । वित्तीय कारोबार कम्पनीको सीईओले हेर्नुहुन्छ । र, यही वित्तीय अवस्थालाई कायम राख्दै अगाडि बढ्छौं,’ उनले भने, ‘अब महामारी, भूकम्प आयो भने फरक कुरा हो । तर, सकेसम्म हामीले फाइनान्सियल स्टेटमेन्ट चुस्त दुरुस्त बनाएर हिसाबहरू मिलाउँछौं । मासिक तथा त्रैमासिकरूपमा कम्पनीको सञ्चालक समितिको बैठक पनि बस्छ । सञ्चालकहरूबाट पनि सुझाव सल्लाह लिएर हामी अगाडि बढ्छौं ।’ मिडियाको अवस्था अहिले नाजुक रहेकाले लगानीकर्तालाई यो वर्ष लाभांश नबाँड्ने घोषणा गरेको उनले बताइन् । रिपब्लिकलाई पब्लिकमा लगेपछि कम्पनीमा साढे ३ लाख सेयरधनी पुगेको उनको भनाइ छ । कम्पनीले गत जेठमा ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । जसमध्ये संस्थापक समूहको ५५.०१ प्रतिशत अर्थात् ५३ लाख २२ हजार कित्ता र सर्वसाधारण समूहको ४४.९९ प्रतिशत अर्थात् ४३ लाख ५३ हजार कित्ता सेयर स्वामित्व छ । गत बिहीबारसम्म दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँमा कारोबार भएको थियो ।