बर्दियाकी गिरिजा शाही ६५ वर्षकी भइन् । उनलाई प्यारालाइसिस भएको ६ वर्ष भयो । उनको जीवन अहिले एउटा ह्वीलचियरमा गएर थन्किएको छ । श्रीमानको मृत्यु भयो । भएकी एउटी छोरी पनि बिहे गरेर गइन् । उनी दिदीसँग काठमाडौंमा बस्दै आएकी थिइन् । तर उनको एक्कासी बिपी हाइ भयो । बिपीले उनको एउटा हात खट्टा र एकापट्टीको शरीरलाई नचल्ने बनाइदियो । उनको शरीर अहिले चल्दैन । उनलाई खुवाउनेदेखि लिएर दिशापिसाब पनि अरुले गराइ दिनुपर्छ ।
नेपाल भारत जतिसुकै अस्पताल जाँदा पनि निको नभएपछि उनकी दिदीले उनलाई सानेपामा रहेको हेल्थ होम केयरमा राखिन् । जहाँ उमेर ढल्किँदै गरेका जेष्ठ नागरिकको उपचारसहित हेरचाह गरिन्छ । गिरिजा सात वर्षदेखि होम केयरमा बस्दै आएकी छिन् । उनको बोली पनि स्पष्ट आउँदैन । तर होम केयरमा बस्न थालेपछि पहिलेकोभन्दा स्वास्थ्यमा सुधार आएको उनी बताउँछिन् । ‘बेलाबेलामा दिदीभाई भेट्न आइरहन्छन्, पहिलेकोभन्दा सुधार पनि भइरहेको छ यहाँ बस्न पाउँदा खुसी नै छु’ उनले भनिन् ।
पाल्पाको तानसेनका नरेन्द्र शर्मा ९० वर्षका भए । बुढ्यौलीले छोएसँगै आफन्तहरू टाढिँदै गए । उनी अहिले अरुको साहारामा बसिरहेका छन् । ७ जना दाजुभाइ कोही स्वदेशमै छन्, कोही विदेशमा । उनका आफ्नै पाँच छोरी, एक जना छोरा छन् । एउटी छोरी र श्रीमतीको मृत्यु भइसक्यो । अरु छोराछोरी विवाह गरेर आ-आफ्नै घर व्यवहारमा लागे । बाँचुञ्जेल आफ्नै स्वासको मात्र आश हँदो रहेछ । अहिले नरेन्द्रलाई पनि यस्तै आभास भएको छ ।
‘जवानीमा सबै आफ्ना थिए, कतिपयलाई आफैले जागिर खुवाइदिएँ । उमेर ढल्किँदै गएपछि आफ्नैहरूपनि टाढिँदा रहेछन्,’ नरेन्द्रले आफ्ना कुरा सुनाए । ‘छोराले बिहे गर्यो छुट्टै बस्यो, छोरीहरू बिहे गरेर गएँ,’ उनी भन्छन्, ‘म कान्छी छोरीसँग बस्थे, उसलाई पनि कहिले कता, कहिले कता जानुपर्छ । मलाई समय दिन नसकेपछि यता ल्याएर राखिदियो ।’
उनले युवा, वयस्कमा कहिले शिक्षण पेशा त, कहिले विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरे । पाल्पा, स्याङ्जा, तनहुँ लगायतका चार जिल्लामा अध्यापन गराए । ‘बुढो भइसकेपछि आफ्नै सन्तानले पनि टाढाको सम्झँदा रहेछन्, अहिले छोरा भएपनि बोलचाल भेटघाट नै हुँदैन’ नरेन्द्रले भने ।
‘बसेको छु, खाएको छु, बिरामी भए उपचार हुन्छ । यहाँ राम्रो हेरचाह भइरहेको छ’ गएको साता सानेपामा रहेको हेल्थ होम केयर नेपालमा भेटिएका नरेन्द्रले भने ।
कसैलाई समय नभएर त कसैलेसँगै राख्न नचाहेर अहिले वृद्धवृद्धा एक्लिँदै गएका छन् । काममा व्यस्त छोराछोरी कतिपयले पैसा तिरेर होम केयरमा राखिरहेका छन् भने कतिपय बाआमा आफै बृद्धाश्रम खोज्दै आएको भटिएका छन् । पैसा भएर पनि हेरचाह गर्ने समय नभएकाहरूलाई केन्द्रित गर्दै सञ्चालनमा आएको सानेपाको हेल्थ होम केयरमा अहिले यस्तै वृद्धवृद्धाहरूलाई भेट्न सकिन्छ ।
नयाँ बानेश्वरका विनोद उदासका श्रीमती र तीन जना छोरीहरू अष्ट्रेलिया छन् । नेपाल बसेर व्यापार गर्दै आएका उनलाई विगत चार, पाँच महिनादेखि प्रेसर र सुगरले सतायो । उनी अस्वस्थ भएपछि खाना पकाएर दिने मान्छे समेत भएन । उनले हेल्थ होम केयरको बारेमा थाहा पाएपछि त्यही गएर बस्न थाले । तीन महिनादेखि होम केयरमा बस्न थालेका बिनोद अस्वस्थ हुँदा कोही नहुनेको लागि यो ठाउँ साहारास्थल रहेको बताउँछन् ।

‘हेल्थ होम केयरमा आउने व्यक्तिको न्यूनतम चार्ज ३३ हजारदेखि सुरु हुन्छ,’ उनी भन्छिन्, ‘तर व्यक्तिको स्वास्थ्य अवस्था अनुसार चार्ज धेर थोर हुन्छ, हामी कहाँ महिनाको ९० हजारसम्म तिरेर बस्नेहरू पनि हुनुहुन्छ ।’
‘घरमा एक्लै समस्या थियो, खाना खाने, औषधी खाने टुंगो हुँदैनथ्यो,’ उनी भन्छन्,‘ अहिले नियमित चेकजाँच हुन्छ, औषधी खाइरहेको छु, पहिलेकोभन्दा सुधार हुँदै आएको छ, मेरो लागि यो ठाउँ राम्रो हो ।’
पहिलेको भन्दा निको हुँदै गएका उनले अब अष्ट्रेलिया जाने तयारी गरिरहेका छन् । उनले थपे, ‘अब कान्छी छोरी पनि आउँदै छिन्, मलाई पनि सञ्चो हुँदैछ । दुई/तीन महिनापछि यहाँबाट जान्छु होला ।’ उनी त्यहाँ बसे बापत मासिक ६० हजार रुपैयाँ तिरिरहेका छन् ।
अहिले समय फेरिएको छ । परिवारका सबै सदस्य प्राय जागिरे छन् । काम व्यस्तताले घरपरिवारलाई समय दिन नसकेपछि उनीहरू पैसा तिरेर अभिभावलाई हेरचाह गर्ने ठाउँको खोजीमा हुन्छन् । अहिलेका जागिरे पुस्ता र जेष्ठ नागरिकको पीडा बुझ्दै यो व्यवसाय सुरु गर्ने व्यक्ति हुन्, प्रोफेसर डाक्टर लोचना श्रेष्ठ ।
आजभन्दा १४ वर्ष अगाडि वृद्धवृद्धाको हेरचाह गर्ने सरकारी वृद्धाआश्रम र प्राइभेट होम केयरहरू थिए । तर, स्वास्थ्यलाई मध्येनजर गर्दै यस्ता हेल्थ होम केयर थिएनन् । त्यहीबेला डा.लोचनाले सुरु गरिन् ‘हेल्थ होम केयर नेपाल’ ।
कसरी आयो यो आइडिया ?
डाक्टर लोचनाको घर काठमाडौंको सानेपा हो । उनी सन् २००२ मा मास्टर्स इन इन्टरनेश्नल पब्लिक हेल्थमा अध्ययन गर्न अष्ट्रेलिया गइन् । मास्टर गर्दा जेष्ठ नागरिक र उनीहरूको स्वास्थ्य अवस्थाका विषयमा थेसिस् लेखिन् । त्यो बेला उनले विश्वमा वृद्धवृद्धाहरूको जनसंख्यासँगै उनीहरूका समस्या पनि बढ्दै गइरहेको थाहा पाइन् । त्यहाँ घुम्दा उनीहरूलाई दिएको सुविधा पनि उनले देखिन् । त्यतिबेला उनलाई लाग्यो यो काम नेपालमा पनि गर्न पाए कस्तो हुँदो हो ।
उनी फर्केर घर आउँदा उनको सासुको अवस्था पनि उस्तै थियो । सासूलाई बेडमै राख्नुपर्ने अवस्था आयो । घरमै राखेर सासूको सेवा गर्दा उनलाई अष्ट्रेलियामा सोचेको कुराले फेरि याद दिलायो । वृद्धवृद्धा बिरामी हुँदा सेवा गर्दा पनि टेक्निक जानेन भने कस्तो गाह्रो पर्छ भन्ने महसुस उनलाई पनि भयो । र, आफ्नै अनुभव र बाहिर देखेको अनुभवलाई प्रयोगमा ल्याउन हेल्थ होम केयर नेपालको सुरुवात गरिएको उनी बताउँछिन् ।
उनले आफ्नो योजना श्रीमान्, साथीभाइसँग सेयर गरिन् । सबैबाट सकारात्मक प्रतिक्रिया आयो । ‘सबैको सल्लाहले योजना त बनाएँ तर सुरुवात कसरी गर्ने धेरै सोच्नुपर्यो,’ सुरुवाती क्षण सम्झँदै उनले भनिन्, ‘घरघरमा गएर जेष्ठ नागरिक खोजेँ, उनीहरूलाई जाँच गरे, अनि आफ्नो योजना सुनाएँ मेरो योजनाले मैले देखेको सपना पुरा गरिरहेकी छुँ ।’
हेल्थ होम केयरमा दिइने सेवा
एक जना वृद्धबाट सुरु गरिएको होम केयरमा अहिले ३६ जना जेष्ठ नागरिक छन् । त्यहाँ आउने जेष्ठ नागरिकहरूको चार्ज उनीहरुको स्वास्थ्य अवस्ताअनुसार फरक फरक छ । ‘हेल्थ होम केयरमा आउने व्यक्तिको न्यूनतम चार्ज ३६ हजारदेखि सुरु हुन्छ,’ उनी भन्छिन्, ‘तर व्यक्तिको स्वास्थ्य अवस्था अनुसार चार्ज धेर थोर हुन्छ, हामी कहाँ महिनाको ९० हजारसम्म तिरेर बस्नेहरू पनि हुनुहुन्छ ।’
नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने व्यवस्था गरेको छ । संविधानको धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । डाक्टर श्रेष्ठ हेल्थ होम केयरमा रहेकाहरूलाई राज्यको नीति अनुसार सेवा दिइरहेको बताउँछिन् । डाक्टर श्रेष्ठ आफै पनि जेरियाट्रिक डाक्टर हुन् । उनका श्रीमान् पनि डाक्टर हुन् । उनी र उनका श्रीमान् गरी दुईजना डाक्टर, नर्सलाई सेवा गर्ने केयर टेकर १५ जना छन् । त्यस्तै, खाना पकाउने, खुवाउने, सरसफाइ गर्ने चार जना गरी २० जनाभन्दा बढी कर्मचारी छन् ।
सामान्य औषधी, उपचार ल्याब टेस्टको लागि ब्लड कलेक्सन, फिजियो थेरापी, एक्सरसाइज होम केयरमै गरिन्छ । कसैलाई मुटु सम्बन्धी जाँच गर्नुपर्यो, मृगौला, नसा सम्बन्धी जाँच गर्नुपर्यो भने स्टार अस्पतालको डाक्टर ल्याएर उपचार गरिन्छ । सिटीस्क्यान गर्नुपर्यो भने स्टार अस्पतालमा पठाइने गरिएको उनको भनाइ छ ।
योगा र एक्सरसाइजबाट सुरु
लोचनाले आफ्नो योजना अनुसार सानेपामा दुई तले घर भाडामा लिइन् । त्यहाँ उनले योगा र शारीरिक स्वास्थ्य व्यायम सिकाउने काम सुरु गरिन् । उनले एकातिर आफ्नो योजना डाक्टर, साथीभाइसँग सेयर गरिसकेकी थिइन् भने अर्कोतिर घरघरमा गएर वृद्धवृद्धाका स्वास्थ्य जाँच गर्दै आफ्ना कुरा राख्न थालिन् । सँगसँगै उनले संस्था दर्ता गर्ने योजना पनि सुरु गरिन् । उनले संस्था दर्ता गर्न उत्तिकै सकस गर्नुपर्यो । व्यक्तिगत संस्था दर्ता नहुने भएकाले उनले कम्पनी खडा गरिन् । अहिले उनको कम्पनीको नाम ‘हेल्थ होम केयर प्राइभेट लिमिटेड’ राखिन् । उनले सुरुवात गर्दा एकजना वृद्ध थिए । पछि विस्तारै, दुई, चार हुँदै होम केयरमा आउनेको संख्या बढ्दै गयो । जेष्ठ नागरिक बढ्दै गएपछि उनलाई भाडाको घरमा समस्या हुन थाल्यो । त्यसपछि उनले आफ्नै घर बनाउन सुरु गरिन् ।
सन् २०१२ देखि सन् २०१७ सम्म भाडाको घरमा चलाएपछि उनले आफ्नो घर तयार पारिन् र आफ्नै घर बनाएर त्यतैबाट काम सुरु गरिन् । अहिले उनको पाँच तलाको घर छ । घर अगाडि खुल्ला चौर छ जहाँ वृद्धवृद्धालाई हिँडडुल गर्न फाराकिलो ठाउँ छ । सन् २०१२ मा नेपालमा जेरियाट्रीको अवस्था कस्तो छ र के गर्नुपर्छ भन्ने विषयमा उनले रिसर्च गरिन् । त्यसपछि सन् २०१९ मा उनले यही विषयमा फेलोसिप गरिन् ।
सेवा शुल्क छुट्टै
पछिल्लो समय यस्ता केयर सेन्टर बढ्दै गएका छन् । तर १४ वर्ष अगाडि डाक्टर लोचनाको एकमात्र हेल्थ होम केयर थियो । हेल्थ होम केयरमा आउने जेष्ठ नागरिकको संख्या पनि बढेको छ । त्यहाँ बस्ने जेष्ठ नागरिकको चार्ज भने फरक फरक छ । त्यहाँ आउन चाहानेको लागि ३६ हजार न्यूनतम मूल्य हो । अक्सिजन लगाउनुपर्ने/नपर्ने, डाइपर लगाउन पर्ने/नपर्ने, व्यक्ति हेरेर पैसा निर्धारण गरिन्छ । कसैलाई ३६ हजारमा छ भने कसैलाई लाखसम्म पनि राख्ने गरेको उनको भनाइ छ । सुरुमा धेरै जसोले होम केयरलाई वृद्धाआश्रम भन्थे तर, जब पैसा तिर्नुपर्यो उनीहरुले थाहा पाए । यहाँ खल्तीमा पैसा भएर समय नभएकाहरूले आफ्ना जेष्ठनागरिकलाई ल्याइने गरिन्छ ।
बिजनेसको रुपमा लिन कठिन
डाक्टर लोचना यसलाई बिजनेसको रुपमा गर्न नसकिने बताउँछिन् । ‘वृद्धवृद्धालाई सेवा गर्दा उनीहरूको आम्दानीको भरमा गर्ने हो, तर उनीहरूको आम्दानी भएन’ उनी भन्छिन्, ‘यसैको आधारमा सेवा गर्दा बिजनेसको रुपमा गर्न गाह्रो छ, यहाँ उनीहरूको अवस्था हेरेर सेवा गर्नुपर्छ ।’
नेपालमा पैसा हुनेहरु कतिपयले घरमै डाक्टर बोलाएर पनि सेवा दिइरहेका हुन्छन् । तर, कतिपयले उनी जस्ताको पनि खोजी गर्दै आउँछन् । लोचनाको आफ्नै जग्गा र घर भएकाले उनलाई यो व्यवसायबाट घाटा छैन । बरु आम्दानी अनुसार सेवा बढाउँदै लगेको उनको भनाई छ ।
आजभोली घरमा बस्ने फुर्सद सायद कमैलाई छ । प्राय सबै कामकाजमा व्यस्त हुँदा आमाबुबालाई हेरचाह गर्ने फुर्सद मिल्दैन । उनीहरूले यस्ता होम केयर खोजीरहेका हुन्छन् । अफिसबाट फर्केर आउँदा, बिदामा हुँदा भेट्न आउँछन् । अधिकांशका छोराछोरी विदेश हुँदा पनि होम केयरमा बस्न आउने गरेको डा. लोचनको भनाइ छ । हेल्थहोम केयर नेपालमा हाल ६० प्रतिशत विदेशमा छोराछोरी भएका र २० प्रतिशत अस्पतालबाट डिस्चार्ज भएका वृद्धवृद्धा छन् । र, बाँकी २० प्रतिशत नेपालमै परिवार भएकाहरु छन् ।