विकासन्युज

सबैभन्दा कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

मुस्लिम । इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । सन् २०२२ को तथ्याङ्क अनुसार इजरायलमा मुस्लिम महिलाहरूले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् । ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ बर्ष रहेको छ भने यहूदी महिलाहरूमा २५.६ बर्ष र क्रिश्चियन महिलाहरूमा २७.६ बर्ष छ । सन् २०२२ मा महिलाको बच्चा जन्माउने औसत उमेर बढेर ३०.७ वर्ष पुगेको छ जुन सन् २००० को औसत उमेरको तुलनामा आठ महिना बढी हो । इजरायलमा सन् २०२२ मा करिब एक लाख ७७ हजार २०० महिलाले बच्चा जन्माएका थिए । इजरायली महिलाले आफ्नो जीवनमा औसतमा २.८९ बच्चा जन्माउँछन् । यो सङ्ख्या आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) सदस्य देशहरूको औसत १.५८ बच्चाको तुलनामा बढी हो । सन् २०२३ मा आमा बनेका १७ वर्षमाथिका इजरायली किशोरीको सङ्ख्या करिब १२ लाख अर्थात् कूल महिला जनसङ्ख्याको ३५ प्रतिशत छ । यीमध्ये ९० प्रतिशत आफ्नो जीवनसाथीसँग बस्छन् र बाँकीले एकल अभिभावकत्वमा परिवारको नेतृत्व गर्छन् । रासस

महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले आलय र रायन इनजीको सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ । यस अन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खदिको लागि वित्तीय सहयोग प्रदान गर्नेछ । साथै आधिकारिक विक्रेता तथा निर्माताको रुपमा रहेको रायन इनर्जीले सुरक्षित तथा वातावरणीय अनुकुल विद्युतीय सवारी साधनहरु आपुर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्ने बैंकले जनाएको छ । यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय विशेषज्ञता तथा नविनत्तम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशिल साझेदारीको रुपमा रहने छ । साथै यो सम्झौताले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरुलाई अवसर सिर्जन गर्न तथा महिला सशक्तीकरणको लागि एक महत्वपुर्ण उदाहरणको रुपमा रहनेछ ।

साताको सेयर बजार : तीव्र उतारचढावबीच ७० अङ्कको वृद्धि

काठमाडौं । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ । सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको थियो । यो साता पुँजी बजारमा रु १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता सेयर कारोबार भएको छ । आइतबार रु दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने रु ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भयो । मङ्गलबार रु चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता सेयर कारोबार भएको छ । त्यसैगरी, बुधबार रु तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार रु दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ । बिहीबारको कारोबारपछि  कुल बजार पुँजीकरण रु ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ । रासस

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘पिंक डेबिट कार्ड’

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ नारी बचत खाता’का ग्राहकहरूका लागि ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुऱ्याउने उद्देश्यले ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा हो । महिला वर्गलाई लक्षित यस कार्डमार्फत गरिएको खरिदमा बैंकले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ । यो नवीनतम् योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि अहम् भूमिका खेल्ने बैंकले विश्वास लिएको छ । कार्डबारे विस्तृत जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय, वेबसाइट, ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरलगायतमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

अर्थमन्त्रीलाई अर्थतन्त्र सुधार गर्ने चुनौतिका चाङ, यस्ता छन् : विज्ञका सुझाव

काठमाडौं । अर्थमन्त्रीलाई दोषी देखाउँदै नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीचको सत्ता गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पटक-पटक मन्त्रिपरिषद् पटक-पटक मन्त्रिपरिषद्मा रहेका केही मन्त्री हटाउन चाहेको तर काँग्रेसले सहयोग नगरेपछि प्रधानमन्त्रीले सत्तागठबन्धन नै परिवर्तन गरेका छन् । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीको नयाँ गठबन्धन बनेको छ । नयाँ अर्थमन्त्रीको रुपमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन नियुक्ति भइ कार्यभार सम्हालीसकेका छन् । आगामी दिनमा उनले नेपालको गर्दै गइरहेको अर्थतन्त्र उकास्नका लागि कस्तो रणनीतिक योजना बनाउँछन् त्यो भने हेर्न बाँकी नै छ । मुलुकको अर्थतन्त्र भने यतिबेला शिथिल छ । एक वर्षअघि अर्थ मन्त्रालयको बाघडोर सम्हालेका डा. अर्थमन्त्री प्रकाशशरण महतले शिथिल अर्थतन्त्रलाई लयमा ल्याएको दाबी गर्दै आएका थिए । ११ महिना अर्थमन्त्रालय सम्हालेका डा. महत सत्ताबाट नै हट्नु परेको छ । ११ महिना देशको अर्थतन्त्रको जिम्मेवारी सम्हाले पनि अर्थतन्त्रमा १ खर्ब २१ अर्ब ५९ करोड रुपैयाँ घाटामा पु¥याएर बाहिरिएका छन् । उनी अर्थमन्त्रीको भुमिकामा आउँदा देशको समग्र अर्थतन्त्रलाई नयाँ दिशामा लैजाने सबैको अपेक्षा थियो । तर अपेक्षा अनुसारको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउन सकेनन् । अर्थतन्त्रमा सकारात्मक दिशा दिन र निजी क्षेत्रलाई विश्वासमा लिन नसक्दा असफल बने । चालु आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्मकै सबैभन्दा धेरै १७ खर्ब ५१ अर्ब ३१ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेका थिए । तर आफूले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भएपछि अर्धवार्षिक समिक्षामा गरी २ खर्ब २१ अर्ब रुपैयाँले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब रुपैयाँ कायम गराएका थिए । बजेट ल्याएको ८ महिना बितिसक्दा पनि पुँजीगत खर्च २४.२२ प्रतिशतमा सिमित रहेको छ । वित्तीय खर्च ४०.६ प्रतिशत र चालु खर्चको स्थिति ४८.५४ प्रतिशत छ । पछिल्लो समय अर्थतन्त्रमा अनेकौं समस्याहरु छन् । अर्थतन्त्रलाई सबलिकरण गर्ने योजनाका साथ अर्थमन्त्रीले काम गर्न आवश्यक रहेको अर्थविद्हरु बताउँछन् । अर्थतन्त्रका जानकारहरुले चुनौतिपूर्ण बन्दै गएको अर्थतन्त्रको सबलिकरण गर्न सक्नु अर्थमन्त्रीको सफलता मानिने बताएका छन् । अर्थमन्त्री पुनलाई नयाँ आर्थिक वर्षको बजेट तयारीको चटारोले छ्याप्पै छोपिसकेको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा ध्यान दिन नसकिरहेकै बेला उता आर्थिक वर्ष २०८१÷८२ को बजेट निर्माणको चटारो परेको छ । अर्थतन्त्रको वाह्य क्षेत्र सुधार भएपनि राजश्व संकलन, पुँजीगत खर्च, निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानीलगायतमा भएका समस्याका कारण आन्तरिक क्षेत्र समस्याग्रस्त छ । गठबन्धन सरकारको प्रभाव र सन्तुलनको चुनौति पनि अर्थमन्त्रीलाई छ । तर अर्थमन्त्री वर्षमान पुनले बुधवार पदभार ग्रहण गर्दै अर्थतन्त्रमा चुनौति रहेको स्वीकार गरे । उनले चुनौति भएपनि चुनौतिको समाधान गर्नसक्ने अवस्था रहेको भन्दै सबैलाई विश्वासमा लिएर समाधान गर्ने बताए । अर्थमन्त्री पुनले आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि सरकारले लिएको नीतिमा सघाउ पुग्ने गरी अर्थ व्यवस्थालाई अघि बढाउने प्रतिवद्धता जनाए । उनले सबै क्षेत्रको मनोबल उठाउने गरी काम गर्न तयार रहेको भन्दै कोही पनि नआत्तिन आग्रह गरे । उनले अहिलेको अर्थतन्त्रमा समस्या कहाँ छन् भन्नेकुरामा आफू जानकार रहेको भन्दै सबैसँगकोे सहकार्य र अर्थ मन्त्रालयको विज्ञ टिमको सल्लाहअनुसार अघि बढ्ने बताए । अर्थशास्त्री केशव आचार्यले बजेटको आकार कत्रो बनाउने भन्ने प्रमुख चुनौति रहेको बताए । उनले स्रोत अनुमान समितिले १८ खर्बको सिलिङ दिएको मुलुकसँग सिमित स्रोत भएपनि प्रधानमन्त्रीको प्राथमिकता ठूलो रहेको बताए । उनले सिमित स्रोतमा सरकारको महत्वाकांक्षालाई अर्थमन्त्रीले समेट्नुपर्ने चुनौति देखिएको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले देशको अर्थ–व्यवस्थालाइ सही दिशा दिनका लािग पनि राजनीतिक दबाबलाई छिचोल्दै अर्थनीति लागू गर्न सक्नुपर्ने बताए । उनले राजश्व परिचालन तथा स्रोत व्यवस्थापनमा अर्थमन्त्रीलाई चुनौति रहेको बताए । उनले अर्थमन्त्रीले निजी क्षेत्रलाई विश्वासमा लिन सक्नुपर्ने चुनौति रहेको भन्दै निजी क्षेत्रको आत्मबल बढाउनसके अर्थतन्त्र चलायमान हुनसक्ने बताए । उनले पछिल्लो समय दैनिक ३ हजार बढी विदेशी जाने युवाहरुलाई रोक्नुपर्ने चुनौति पनि रहेको बताए । अर्का अर्थविद् अनलराज भट्टराईले आर्थिक शिथिलता र कुशासनका केही श्रृङ्खलाहरूबाट समाजमा नैराश्य व्याप्त भएकाले त्यसलाई डेलिभरीको गति दिन सक्नुपर्ने अवस्था रहेको बताए । उनले निजी क्षेत्र र समाजले अपेक्षा गरेको आर्थिक सुधारको रफ्तारमा परिवर्तन गर्नुपर्ने चुनौति अर्थमन्त्री माथि रहेको बताए । उनले सरकारले बजेट बनाउँदा लिएका कतिपय नीतिगत कारणले राजश्वमा दबाब रहेकाले राजश्व संकलनमा चुनौती रहेको बताए । उनले मुलुकभित्र आन्तरिक मागलाई वृद्धि गर्ने आत्मवल बढाउनु पर्ने चुनौति रहेको बताए । उनले युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न मुलुकभित्रै रोजगारी सिर्जना गर्न ठूलो चुनौति रहेको बताए । उनले मुलुकभित्रै रोजगारीको सिर्जना गरी युवाहरुलाई विदेश पलायनबाट रोक्न आवश्यक देखिएको बताए । उनले अर्थमन्त्रीलाई अवसर र चुनौति दुवै भएको भन्दै दुवैलाई संयोजन गरी नीतिगत व्यवस्था गर्नुपर्ने चुनौति रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पनि अर्थमन्त्रीलाई अर्थतन्त्र सुधार गर्नुपर्ने चुनौतिका चाङ रहेको बताए । उनले अर्थमन्त्रीले सबै भन्दा पहिला बजारको मनोबल उच्च बनाएर अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने चुनौति रहेको बताए । उनले आगामी वर्षको बजेट बनाएर निजी क्षेत्रमैत्री बजेट बनाउनुपर्ने चुनौति पनि रहेको बताए । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर गिरेको निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने आवश्यकता औंल्याए । पुनःगठन भएको सरकारमाथि नयाँ आर्थिक वर्षको बजेट तयारीको चटारो आएको छ भने चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा र राजश्व संकलनको लक्ष्य हासिल गर्न मुस्किल भएको अवस्थामा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको चटारो अर्थमन्त्रीलाई पर्छ । मन्त्रालयगत रुपमा पनि मुलुकको अर्थतन्त्र सुधारको लागि आवश्यक समन्वय गर्न आवश्यक छ । समस्याग्रस्त आर्थिक स्थितिका बाबजुद मुलुकको अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्नुभएको अर्थमन्त्री पुनलाई चुनौतीका चाङ छन् । संकटकाबीच अर्थ मन्त्रालय सम्हाल्ने अर्थमन्त्रीलाई मुलुकको अर्थतन्त्रलाई सही दिशानिर्देश गर्ने,निजी क्षेत्रको बिग्रिएको आत्मबल फर्काउनले चुनौति समेत नयाँ अर्थमन्त्रीको काँधमा आउनेछ । यस्ता छन् चुनौतिः बजारको आत्मबल जगाउने अर्थ मन्त्रालयको जिम्मेवार समाल्ने अर्थमन्त्रीलाई सबैभन्दा पहिला बजारको गिर्दै गएको आत्मबल जगाउनुपर्ने चुनौति छ । नयाँ अर्थमन्त्रीको सबैभन्दा पहिलो जिम्मेवारी नै अर्थ बजारको खस्किएको आत्मबल जगाउने भएको विज्ञहरु बताउँछन् । अर्थविद् आचार्यले विगत दुई वर्षदेखि बिग्रिएको अर्थतन्त्र बजारको खलबलिन पुगेको आर्थिक चक्र रहेको बताए । उनले खलबलिन पुगेको अर्थतन्त्रको चक्रलाई सही दिशामा ल्याउनु महत्वपूर्ण चुनौति रहेको बताए । त्यस्तै, अर्थविद भट्टराईले पछिल्लो समय ग्रामिण अर्थतन्त्रमा नै संकट आउन थालेकाले शिथिल हुन पुगेको अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने चुनौति रहेको बताए । उनले अझ पछिल्लो समय उद्योग, व्यवसायी, बैंकर्स, समग्रमा निजी क्षेत्रको आत्मबल कमजोर भएको स्थिति बनेको बताए । पूर्वअध्यक्ष राणाले उपभोग्य बजारको अभावमा चाहेर पनि उत्पादनमा जान नसकेको बताए । उनले लगानीको प्रतिफल आउँछ भन्ने विश्वास नभएर निजी क्षेत्रले लगानीमा उच्च गिरावट रहेको बताए । उनले सरकारले गुमेको बजारको आत्मबल नजगाई मुलुकको अर्थतन्त्रले पुनः गति लिनेगरी काम गर्नुपर्ने बताए । यसका लागि नयाँ आउने अर्थमन्त्रीले वातावरण सहज भएको सन्देश दिन आवश्यक छ । निजी क्षेत्रलाई विश्वासमा लिने नयाँ आउने अर्थमन्त्रीले बजारको आत्मबल बढाए र निजी क्षेत्रलाई विश्वासमा लिन सक्नुपर्छ । मुलुकको अर्थतन्त्रमा ८० प्रतिशत योगदान पु¥याएको निजी क्षेत्रको मनोबल गिरेको अवस्था भएकाले निजी क्षेत्रको मनोबल बढाउन आवश्यक छ । तत्कालिन अर्थमन्त्रीले निजी क्षेत्रलाई विश्वासमा लिन नसक्दा बजार चलायमान हुन सकेन । नयाँ उद्योगमा लगानी तथा रोजगारी सिर्जनामा निजी क्षेत्र थप लागेको पाइँदैन । त्यसैले अब निजी क्षेत्रलाई विश्वासमा लिएर बजारलाई चलायमान बनाउन नयाँ अर्थमन्त्रीको लागि चुनौति छ । बजारमा लगानीयोग्य पुँजी प्रर्याप्त मात्रामा भएपनि निजी क्षेत्रले लिएको अवस्था छैन । उक्त पुँजीलाई प्रतिफल दिने उत्पादनशिल क्षेत्रमा लगानीको वातावरण सिर्जना गरी निजी क्षेत्रको मनोबल उच्च बनाउनुपर्ने चुनौति छ । सरकारी खर्च समयमा नै हुन नसक्दा विकास निर्माणका गतिविधि अघि बढ्न सकेको छैन । ठेकेदार, कन्ट्याक्टरले भुक्तानी पाउन सकेका छैनन् । भुक्तानी रोकिँदा उता कामदारसँगै रड, छड, सिमेन्टका उद्योगहरुले भुक्तानी पाउन सकिरहेका छैनन् । यता उत्पादन नै घट्दा व्यक्तिको आय स्रोत मात्र गुमेको छैन, यता सरकारी राजश्व समेत गुम्न पुगेको छ । खर्चमा मितव्ययिता र राजश्व संकलन सरकारको प्रमुख चुनौति खर्चको भन्दा पनि स्रोत व्यवस्थापनको देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिना बितिसक्दा पनि पुँजीगत खर्च २४.२२ प्रतिशतमा सीमित रहेकोे छ । यस्तै, वित्तीय खर्च ४०.६ प्रतिशत र चालु खर्चको स्थिति ४८.५४ प्रतिशत छ । चालु आर्थिक वर्षको साढे ८ महिनामा मुस्किलले ६ खर्ब ४६ अर्ब ७२ लाख रुपैयाँ बराबरको मात्र राजश्व उठ्न सकेको छ । यता सरकारी खर्च भने यस अवधिमा ८ खर्ब १५ अर्ब १५ करोड मागी पुगिसकेको अवस्था छ । हालसम्मको आय व्ययको स्थिति हेर्ने हो भने सरकारी घाटा १ खर्ब ६८ अर्ब ४३ करोड रुपैयाँ माथि पुगिसकेको छ । जसले विकास खर्च मात्र होइन सरकारको नियमित (चालु खर्च) समेत रोकिन सक्ने स्थिति बनेको छ । बजेट कार्यान्वयन र तयारी पुनःगठन भएको सरकारमाथि नयाँ आर्थिक वर्षको बजेट तयारीको चटारोले छ्याप्पै छोपिसकेको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा ध्यान दिन नसकिरहेकै बेला उता आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको चटारोले सरकारलाई छोपेको हो । आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ १८ खर्बको तोकेको छ । पुँजीगत खर्च बनाउनुपर्ने अवस्था छ । पछिल्लो ८ महिनामा ३० प्रतिशत मात्रै खर्च भएको र राजश्व संकलन सन्तोषजनक नभएको अवस्थामा राजश्व संकलन बढाउन चुनौति अर्थमन्त्रीलाई रहेको विज्ञहरुले बताएका छन् । लगानी सम्मेलन गर्नुपर्ने अघिल्लो सरकारले घोषणा गरेको लगानी सम्मेलन सफल बनाउने चुनौति अर्थमन्त्रीलाई रहेको छ । सरकारले आगामी बैशाख १६ र १७ मा लगानी सम्मेलन गर्ने तयारी गरेहेको छ । त्यो लगानी सम्मेलनको लागि सबैसँग समन्वय र सहकार्य गरेर लगानी सम्मेलन गर्नुपर्ने चुनौति रहेको छ । अर्थतन्त्रका जानकारहरुले अर्थमन्त्रीको लागि देखिएका चुनौती : अर्थविद् केशव आचार्यको भनाइ नयाँ अर्थमन्त्रीलाई धेरै चुनौतिहरु छन् । समग्र सरकारलाई नै चुनौती छ । मुख्य चुनौति उद्योगी व्यवसायी,बैंकर्स,लगानीकर्ता मात्रै नभएर आम सर्वसाधरणमा विश्वासमा कमी आएको छ । दैनिक २ हजार ५ सय मानिसहरु विदेशी गइरहेको पनि त्यही कारण जीविकाको खोजीमा गएको हो । पर्यटक भएर रहरले गएका होइनन् । आम सर्वसाधरण, निजी क्षेत्रलाई विश्वास जगाउनुपर्ने मुख्य चुनौति छ । जतिबेलासम्म विश्वास बढ्दैन त्यतिबेलासम्म निजी क्षेत्रले लगानी गर्दैनन् । लगानी गरे पनि आज जग्गा किन्ने भोली बेच्ने गरी लगानी गर्ने गर्छन् । तर दीर्घकालिन उद्योगमा लगानी गर्दैनन् । किसानले पनि दुग्ध लगायतको भुक्तानी दिन सकेको छैन । दुग्ध किसानहरुले सडकमा पोख्नुपरेको छ । किसानले उत्पादन गरेको वस्तु बिक्री हुँदैन । उत्पादनले बजार पाउँदैन । बजार पाए पनि उधारो कारोबार छ । उखु किसानको लामो समयदेखि समस्या छ । पोल्टी व्यवसायीहरुको पनि त्यस्तै समस्या छ । त्यसलाई समाधान गर्नु पर्ने चुनौती छ । किसानमा पनि उत्साह छैन । उद्योग व्यवसायमा पनि समस्या छ । नेपालका उद्योगहरु ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा आएका छन् । उद्योगीहरुले उत्पादन गरेको वस्तुहरुको बजार र लगानी सुरक्षित गर्नु चुनौति छ । यस्तो बेलामा सरकारले वैशाख १६ र १७ मा लगानी सम्मेलन गर्दैछ । त्यो सफल बनाउनुपर्ने चुनौति छ । सबै समस्याका चुनौतिहरु सामना गर्न सरकार एक ढिका भएर लाग्नुपर्छ । सुशासन कायम गर्न चुनौति छ । प्रधानमन्त्री दाहालले संघीय सरकारको आकार घटाउँछु भन्नुभयो । त्यो ठिक निर्णय थियो । तर सक्नुभएन । सुशासन कायम गर्न विश्वास जगाउनु पर्छ । निजी क्षेत्रलाई विश्वासमा लिनुपर्छ । निजी क्षेत्रले विश्वास पनि गर्नुपर्छ । सरकारले पुँजीगत खर्च बढाउन विगत लामो समयदेखि सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा ३० प्रतिशत पनि पुँजीगत खर्च गर्न सकेको छैन । प्रायः सबै प्रधानमन्त्रीको पालामा पुँजीगत खर्च हुन सकेको छैन । पुँजीगत गर्नुपर्ने क्षेत्रमा निर्माण व्यवसायीहरु भुक्तानी नपाएको गुनासो गरिरहेका छन् । सरकारले असारे विकास गर्ने प्रवृति हटाउनुपर्छ । अर्थविद् अनलराज भट्टराईको भनाइ धेरै कुराले मुलुकको अर्थतन्त्र समस्यामा जाझिएको छ । कुनै कुरामा उत्साह हुने ठाउँ पनि छ । मुलुकको अर्थतन्त्रमा वाह्य वित्तिय स्थिति सन्तुलन अवस्थामा छ । बैंकको ब्याजदर घट्दो अवस्थामा गइरहेको छ । लगानीयोग्य रकम तरलता व्यापक छ । नयाँ उद्योग वा अन्य क्षेत्रमा लगानी गर्छु भन्दा सस्तो ब्याजमा तत्काल पैसा पाउनसक्ने अवस्था छ । वस्तु तथा सेवा आयात गर्नको लागि विदेशी विनिमय सञ्चिति राम्रो छ । मूल्य वृद्धि पनि घट्दो क्रममा रहेको छ । उत्साहित हुने यस्ता कुराहरु पनि छन् । सरकारले बजेट बनाउँदा लिएका कतिपय नीतिगत कारणले राजश्वमा दबाब परिरहेको छ । जुन पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा कन्भट गर्ने कुराले पनि राजश्वमा दबाब छ । मुलुकभित्र आन्तरिक माग कम भएकाले उपभोक्ताहरु बजारमा समान किन्ने कम भएको छ । कतिपय युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था सिर्जना भएको हुनाले सबै क्षेत्रमा माग घटेको छ । मुलुकभित्रै रोजगारीको सिर्जना गरी युवाहरुलाई विदेश पलायनबाट रोक्न आवश्यक छ । अर्थमन्त्रीलाई एक तिर अवसर र अर्कोतिर चुनौतिको संयोजन गरी नीतिगत व्यवस्था गर्न आवश्यक छ । अर्थमन्त्रालय र राष्ट्र बैंकबीच दूरी नजिक र टाढाको दूरी हुने गरेकाले बजार सन्तुलनमा कायम हुन नसकेको अवस्था थियो । राष्ट्र बैंकबाट मौद्रिक नीति र अर्थ मन्त्रालयको बजेट अर्कै किसिमले जाने गरेको छ । निजी क्षेत्रलाई नियमन गर्ने निकायलाई एकद्वार प्रणालीमा ल्याउन आवश्यक छ । पर्यटन,ऊर्जा,श्रम कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भन्ने नीति लिनुपर्छ । एक वर्षमा तीन पटक सत्ता समिकरण परिवर्तन हुँदा व्यापार व्यवसायमा समस्या आउने हुँदा राजनीतिक स्थिरता आवश्यक छ । नीतिगत व्यवस्था पनि स्थिरता कायम हुनु अर्थतन्त्र व्यापार व्यवसायको लागि आवश्यक छ । त्यो पनि कायम राख्न चुनौति छ । अर्को चुनौति भनेको स्रोत परिचालन र खर्च व्यवस्थापन गर्ने चुनौति छ । सरकारले २५० अर्ब रुपैयाँ समाजिक सुरक्षा बाँडिरहेको छ । त्यसमा स्रोतको अभाव छ । स्रोत जुटाउन चुनौति छ । दायित्व बढिरहेको छ । आन्तरिक र वाह्य ऋण भुक्तानीको दबाब सिर्जना भइरहेको छ । त्यसको स्रोत भनेको आयकर,भन्सार नै हो । त्यसमा पनि दबाब छ । विदेशी ऋण परिचालनमा चुनौति छ । साहयता दातृ निकायहरुले दिन खोजे पनि केको साहयात दिन खाजेको हामी प्रष्ट छैनौं । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको भनाइ अर्थमन्त्रीले बिग्रेको अर्थतन्त्रलाई लयमा ल्याउने चुनौति छ । उहाँले अर्थतन्त्रलाई लयमा ल्याउन सक्नुपर्छ । निजी क्षेत्रको विभिन्न कारण मनोबल घटिरहेको अवस्था छ । त्यसलाई कसरी उकास्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । दुई चार महिनामा बजेट पनि आउन ल्याउनुपर्नेछ । कस्तो किसिमको बजेट ल्यायो भने बिग्रेको अर्थतन्त्रलाई निरन्तरता दिर आगामी दिनमा बाटो खोल्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । चालु आर्थिक वर्षको बजेटमा जुन कुराहरु आएका छन् । त्यसलाई रि–भ्यु गरेर निजी क्षेत्रलाई समेट्नसक्ने गरी ल्याउने चुनौति छ । निजी क्षेत्रको विभिन्न क्षेत्रहरु पर्यटन,कृषि प्राथमिकता राख्नुपर्छ । पर्यटन सम्भाव्यता भएको क्षेत्र भनिन्छ । तर त्यहाँ पनि कर लगाएकाले हवाई टिकटहरु बाहिरी देशबाट किन रहेको छ । त्यसैले आगामी बजेटका विषयमा निजी क्षेत्रसँग समन्वय गर्न आवश्यक छ । धेरै ऐन कानूनहरु नीतिगत रुपमा संशोधन गर्नुपर्ने चुनौति छ । निजी क्षेत्रले लामो समयदेखि उठाइरहेको छ । त्यसलाई अब स्वदेशी तथा विदेशी लगानी बलियो बनाउनुपर्ने चुनौति छ । त्यस्ता नीतिहरुलाई कार्यान्वयन गर्नको लागि छिटो छरितो बनाउनु पर्ने चुनौति छ । विगतका वर्षहरुको तुलनामा यो वर्ष नेपाली १५ लाख युवाहरु विदेश पलायन भएका छन् । सानो जनसंख्या भएको देशमा हरेक वर्ष १५ लाख युवाहरु विदेश जाँदा केही वर्षमा खाली भएर वृद्धा र बालबालिका मात्रै रहने अवस्था हुन्छ । युवालाई कसरी मुलुकभित्रैै राख्न सकिन्छ । रोजगारी सिर्जना गर्ने चुनौतीको रुपमा रहेको छ । पुँजीगत खर्चलाई बढाउने र प्रशासनिक खर्चलाई कम गर्ने मुख्य चुनौत्ाि छ । सरकारले पुँजीगत खर्च जसरी खर्च गर्नसक्छ त्यसरी नै अर्थतन्त्र पनि चलायमान हुन्छ । पुँजी चलायमान पर्ने चुनौति देखिन्छ । आयात र निर्यातका ठूलो खाडल रहेको छ । नेपाली उद्योगहरु अहिले ३० प्रतिशत क्षमतामा चलेको अवस्था छ । सबै प्रकारका उद्योगहरुको उत्पादन क्षमता ७० प्रतिशतले घटेको छ । आयात र निर्यातको खाडल कसरी पूर्ण सकिन्छ । त्यो पनि चुनौति छ । अहिले माग छैन तर आयात भइरहेको छ । यसलाई विशेष रुपमा हेर्नुपर्ने आवश्यकता देखेको छु । मन्त्रालयहरुबीच समन्वय नभएको अवस्था छ । आन्तरिक र विदेशी लगानीकर्ताहरको लागि मन्त्रालयगत समन्वय आवश्यक छ । सरकारले एकद्वार प्रणाली भनिरहेको हुन्छ तर देखिएको छैन । अर्थतन्त्रलाई बलियो बनाएर लैजाने हो भने त्यसलाई पनि विशेष ध्यान दिनुपर्छ । अर्को सुशासन कायम गर्न ठूलो चुनौति रहेको छ । सुशासन कायम गर्नसके सबैको लागि राम्रो हुन्छ । अघिल्लो सरकारले गर्न लागेको लगानी सम्मेलन सफल बनाउन चुनौति अर्थमन्त्रीज्युको काँधमा छ । अहिले बनेको सत्ता गठबन्धन पनि अहिले अर्थतन्त्रमा भएको समस्या समाधान गर्न र निजी क्षेत्रको मनोवल उठाउनको लागि भन्ने सुनिएको छ । अर्थमन्त्रीले निजी क्षेत्रलाई साथमा लिएर हिँड्दा केही परिवर्तन हुनसक्छ । निजी क्षेत्रको आत्मवल बढाउने काम गर्नुपर्यो ।

अन्तर्राष्ट्रिय महिला दिवस : सोचमा परिवर्तन आवश्यक

‘मेरो बुबाले मेरी मानसिक असन्तुलन भएकी आमा र म जस्तै फरकरुपमा सक्षम (अपाङ्गतासँग रहेको) मेरी बहिनी र मलाई बेघर गरी दिनुभयो । मामाघरमा बसेर पढाई लेखाई गरेर काम गर्न सक्षम भएपछि परिवार धान्न सरकारी विद्यालयमा पढाउन थालें । हाम्रो नेपालको संविधानले दिएको प्रावधानमार्फत मेरो फरक सक्षमता अनुसार नियमित जागिर पाउन आवेदन गरें तर विभिन्न कारणवश नेपाल सरकारको म जस्ताको लागि भएको प्रावधान पनि मैले पाउन सकिन । अब मेरो संरक्षण कसले गर्ने ?’ सोध्छिन् मधेस प्रदेशको एक अपाङ्गतासँग रहेकी एक नेपाली छोरी । यसवर्ष सन् २०२४ मा पनि सारा संसारभरि नै हरेक वर्ष झैँ मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । त्यसबेला, हामीले नेपालका कैयौं यस्ता छोरीहरुको जसको शिक्षा, स्वास्थलगायतका मानव अधिकार छिनिएको छ, उनीहरुको पीडालाई बुझ्न आवश्यक छ । अफगानिस्तानलगायत संसारभरिकै ती मानव, जसले लिङ्ग र लैंगिकताको आधारमा अझै पनि अनेकौं मानव अधिकारको उल्लङ्घन भोग्न बाध्य भएका छन्, उनीहरुलाई सम्झन जरुरी छ । अहिलेको युग भनेको मानव सभ्यताको चरम सीमामा पुगेको युग मानिन्छ तर अझै पनि मानिसले मानिसलाई रङ्ग, रूप, धन, धर्म, शक्ति, लिङ्गलगायतका विभिन्न आधारमा भेद्भाव गरिंदै आएका छन् । किशोरी, महिला र यौनिक अल्पसङ्ख्यकमा पर्ने व्यक्तिहरु र त्यसमा पनि अपाङ्गतासँग बाच्नेहरुले यस्ता भेदभाव झनै धेरै भोग्न पर्छ । नेपाल प्रहरीले प्रकाशित गरेको तथ्याङ्कअनुसार पछिल्लो दशकमा नेपालमा किशोरीहरु र महिलाहरुको विरुद्ध हिंसाको मामिला धेरै बढेको छ । पछिल्लो दशकमा नेपाल प्रहरीको तथ्याङ्क अनुसार १७ हजार सात सय ९० महिला र किशोरी बलात्कारको शिकार भएका छन् । वर्षभरि बलात्कारको मामिला २० प्रतिशतले बढेको छ । विश्वकै आँकडा हेर्ने हो भने विश्व स्वास्थ्य सङ्गठनका अनुसार घनिष्ट सम्बन्धका आफन्तबाट हुने महिलाविरुद्धको हिंसा विशेषगरी यौन हिंसा एक ठूलो जनस्वास्थ्य मुद्दा हो । साथै, महिलाको मानव अधिकारको उल्लङ्घन पनि । सङ्गठनका अनुसार विश्वभरि नै तीन जना महिलामा एक जना अर्थात ३० प्रतिशत महिला आफनो जीवनभरमा शारीरिक र यौन हिंसाको शिकार भएको पाइन्छ । धेरैजस्तो यी हिंसाका घटना घनिष्ट सम्बन्धका आफन्तबाट नै भएको हुन्छ । यस्ता हिंसाले महिलाको मानसिक, शारीरिक, यौनिक र प्रजनन् स्वास्थमा नकारात्मक असर पार्छ । यसको साथै आजको आधुनिक अपराध भनेको साइबर अपराध हो । यसमा पनि ९२ प्रतिशत भन्दा बढी शिकार महिला भएका छन् । अन्तर्राष्ट्रिय महिला दिवस महिला श्रम आन्दोलनको नतिजा हो, जुन अब संयुक्त राष्ट्र सङ्घको वार्षिक कार्यक्रम बनेको छ । सारा संसारभरि नै संयुक्त राष्ट्रमा आबद्ध देशहरु, सरकारी र गैरसरकारी सङ्घ संस्था सबै मिलेर मार्च ८ मा किशोरी र माहिलाको हक अधिकार सुनिश्चित गर्न आवाज उठाउने गरिएको छ । सन् १९०८ मा १५ हजार महिलाले अमेरिकाको न्युयोर्क शहरमा जुलुस निकालेर महिलाहरुको लागि कारखानालगायत कार्यक्षेत्रमा छोटो कार्य समय, राम्रो तलब र मतदानको अधिकारको लागि पहिलोपटक संयुक्त रुपमा आवाज उठाएका थिए । त्यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो पटक राष्ट्रिय महिला दिवसको घोषणा गर्यो । सन् १९१० मा क्लारा जेटकिन, जर्मन राजनीतिज्ञ र महिला अधिकारकर्मीले कोपेनहेगनमा श्रमिक महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन माग उठाउनु भयो । त्यतिबेला त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरुले सर्वसम्मतिले यो प्रस्तावको समर्थन गरे । पहिलो अन्तराष्ट्रिय महिला दिवस सन १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीजरल्याण्डमा मनाइयो । सन् १९७५ देखि संयुक्त राष्ट्रले यो दिवस मनाउन थाल्यो । त्यस पश्चात अन्तररास्ट्रिय महिला दिवस एक यस्तो दिन बनेको छ जुन दिन उत्सवको रुपमा महिलाको सामाजिक, राजनीति र अर्थशास्त्रमा कहाँसम्म पहुँच बढेको छ भनेर मापन गरिन्छ र महिलाको मानव अधिकार सुनिश्चित गर्ने योजनाहरु बनाइन्छ । यस दिन संसारभरि नै लैङ्गिक भेद्भावविरुद्ध कार्यक्रम, जुलुस र धर्ना गरिन्छ । सन् १९१७ को विश्व युद्धका बेलामा रसियन महिलाले युद्धको अन्त्य र शान्तिको स्थापनाको माग गर्दै हडताल गरेका थिए । चार दिनको हडतालपछि तत्कालीन जारले गद्दी त्याग गर्न बाध्य भएका थिए र त्यतिबेलाको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दिएको थियो । त्यतिबेलाको सो महिला आन्दोलनको मिति थियो मार्च ८ र त्यही आधारमा मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसकारुपमा स्थापना भयो । नेपालमा पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यो दिन महिलाको लागि नेपाल सरकारले बिदा पनि घोषणा गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसले महिलावादी आन्दोलनलाई एक रफ्तार त अवश्य पनि दिन सफल भएको छ  तर वास्तविकता यो पनि हो कि यो दिवस मनाउन थालिएको एक शताब्दी बितिसक्दा पनि अझै महिलाले अमानवीय व्यवहार भोग्न परिरहेको छ । नेपाललगायत विश्वका धेरै मुलुकहरुमा अब त महिलाको मानव अधिकार सुनिश्चित हुने प्रसस्तै ऐन कानून बनिसकेका छन् तर अफगानिस्तानजस्ता मुलुकहरु पनि छन्, जहाँ महिलाको आधारभूत हक अधिकार सबै बन्चित गरिएको छ । जहाँ कानूनले हक अधिकार सुनिश्चित गरेको छ, त्यहाँ पनि संविधान र ऐन कानूनले दिएको हक अधिकार पाउन अझै सजिलो भने छैन । यसपालिको मार्च ८ को नारा समावेशीकरणलाई प्रेरित गर्नुहोस् भन्ने रहेको छ । विश्वभरि नै जति आन्दोलन गरे पनि पहुँच नपुगेका व्यक्तिहरुको पूर्ण रुपमा समावेशीकरण भने हुन सकेको छैन । पितृ सत्तात्मक र सामन्ती प्रथाको  सोंचको हाबी अझै पनि संसारभरि नै छ । यो सोंचको अन्त्य नभएसम्म लिङ्ग, रङ्ग, आदिको आधारमा हुने असमानताको अन्त हुन गाहे छ । तर निरास हुनुभन्दा अहिलेसम्मको उपलब्धि के के हुन् हेरेर त्यसको आधारमा नेपाल सरकार र नागरिक समाजले अब नयाँ रणनीति लिनुपर्छ । १२ कक्षा सकाएर बालबालिका विद्यालय छोडी उच्च शिक्षा हासिल गर्न या रोजगारीमा लाग्नुअघि उनीहरुलाई आफ्नो अधिकार कसरी सुनिश्चित गर्ने र आफ्नो वरिपारि हुने सबैको अधिकारको सम्मान गर्ने शिक्षा दिन जरुरी छ । जुन लिङ्ग, जात, वर्ण, समुदाय, धर्म, सामाजिक, आर्थिक, राजनीतिक वर्गमा परे पनि सबै मानव एक समान हुन् भन्ने विश्वभरि मान्यता समान हुन आवश्यक छ । कोभिड–१९ को महामारीले मानव संस्कारमा हिंसा कति गहिरो छ भनेर प्रष्ट पारेको छ । गहिरो संरचनात्मक असमानताहरू तयतिबेला प्रस्ट देखियो । श्रम बजारमा महिलाहरूको सहभागितामा दशकौंको प्रगति उल्टाइयो, चरम गरिबीमा बस्ने महिलाहरूको सङ्ख्या बढ्यो, र बेतलबी हेरचाह र घरेलु कामको बोझ बढ्यो, यी सबैले बर्सौदेखि महिलावादी आन्दोलनले गरेको उपलब्धिमै नकारात्मक असर पार्न सफल पनि भयो । युएन वीमेनले महामारीमा महिला हिंसा बढेको भनेर यसलाई महामारीकै एक अंशको दर्जा दिएको छ । महामारीले विपन्न जाति समुदायका किशोरीको पढाईमा भएको उन्नतिमा पनि नराम्रो असर पारेको छ । विभिन्न सरकार र सङ्घसंस्थाले गरेको किशोरी शिक्षामा भएको प्रगतिमा महामारीले असर पार्नु पनि संरचनात्मक असमानताको एक उदाहरण हो । मार्च ८ मा महिलाले मानव सभ्यताका लागि गरेको योगदानको कदर गर्दै यो दिन मानव अधिकारको सुनिश्चित गर्ने एक अभिन्न अभियान हो भन्ने आत्मसात गर्न पुरुष र महिला सबैले जरुरी छ । रासस (लेखक पत्रकार तथा महिला अधिकारकर्मी हुन्)

बैंकका शक्तिशाली महिला सञ्चालक, व्यवस्थापनमा अब्बल बनेर बोर्डमा प्रवेश

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्मचारीसँगै सञ्चालक समूहमा पनि महिलाको सहभागिता बढ्दो छ । बैंकमा कार्यरत महिलाहरू बैंकबाट विदा भएसँगै उनीहरु धमाधम सञ्चालकका रुपमा नियुक्त हुने अभ्यास बढिरहेका छन् । अहिले अधिकांश वाणिज्य बैंकले महिलालाई विशेष प्राथमिकतामा राखेर सञ्चालकको रुपमा नियुक्त गर्ने अभ्यास बढाउँदा त्यसले सञ्चालक समितिमा पनि एक किसिमको सुन्दरता देखिन्छ । कतिपय महिला सञ्चालकहरु सेयरधनी भएर सञ्चालक बनिरहेका छन् भने कतिपय महिलाहरु अनुभव र ज्ञानका आधारमा स्वतन्त्र सञ्चालक बन्ने अवसर पाइरहेका छन् । नेपालको संविधानले नै हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ । कम्पनी ऐनले पनि पब्लिक कम्पनीमा सेयरधनी  महिला छ भने सञ्चालक समूहमा पनि महिलाको सहभागिता हुनु पर्ने व्यवस्था गरेको छ । तर, पनि कतिपय बैंकमा भने अहिले पनि महिला सञ्चालक छैनन् । कतिपय बैंकले दुई जना महिलासम्म महिला सञ्चालक राखेका छन् । बैंकको सञ्चालक समितिमा रहेका अधिकांश महिलाहरु ठूलो लगानी, लामो बैंकिङ अनुभव, सीप र योग्यताका आधारमा सञ्चालक समितिमा शक्तिशाली देखिन्छन् । सञ्चालक समितिमा रहेका अधिकांश महिलाहरु पूर्व बैंकर, प्राध्यापक, सरकारी निकायको उच्च तह तथा वित्तीय क्षेत्रमै लामो समय काम गरेकाहरु देखिन्छन् । आज हामीले कुन बैंकमा कसको सहभागिता छ भन्ने सामग्री तयार पारेका छौं । लक्ष्मी सनराइज बैंक : लक्ष्मी सनराइज बैंकमा ६ जना सञ्चालकमध्ये दुई जना महिला सञ्चालक छन् । स्वती रुङ्गटा र विद्या बस्न्यात सञ्चालकको रुपमा काम गरिरहेका छन् । लक्ष्मी बैंकमा सनराइज बैंक मर्ज हुनुअघि सनराइज बैंकमा शारदा शर्मा सञ्चालक थिइन् । तर, अहिले उनी सञ्चालकबाट विदा भइसकेकी छन् । लक्ष्मी सनराइज बैंकमा विद्या बस्न्यातले स्वतन्त्र सञ्चालकको रुपमा काम गरिरहेकी छन् भने रुङ्गाटा सन् २०१२ देखि सञ्चालकको रुपमा काम गरिरहेकी छन् । रुङ्गाटाले ग्लोबल इक्विटी फण्डमा म्यानेजिङ पाटर्नरको रुपमा पनि काम गरिरहेकी छन् भने उनीसँग वित्तीय क्षेत्रको राम्रो अनुभव छ । माछापुच्छ्रे बैंक : सात जनाको सञ्चालक समिति रहेको यस बैंकमा बन्दना कार्की सञ्चालक छिन् । उनी पब्लिक डाइरेक्टर हुन् । कार्कीले सिक्किम मणिपाल विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) मा स्नातकोत्तर गरेकी छन् । उनीसँग विभिन्न क्षेत्रका विभिन्न संस्थाहरूमा काम गरेको अनुभवका साथै उत्कृष्ट प्रशासनिक सीप पनि छ । उनले गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हिमश्री फुड्स प्रालिको प्रोक्योरमेन्ट म्यानेजरको रूपमा पनि पनि काम गरेकी छन् । नबिल बैंक : नबिल बैंकमा आशा राणा अधिकारीले महिला सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी स्वतन्त्र सञ्चालक हुन् । तीन दशक बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएकी उनीसँग यसअघि विभिन्न संघ संस्थामा काम गरेको अनुभव छ । उनले तत्कालीन सनराइज बैंकको डेपुटी सीईओ भएर पनि काम गरिसकेकी छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए पास गरेकी उनीसँग साढे तीन दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एनआईसी एशिया : सात जना सञ्चालकमा एनआईसी एशिया बैंकका एक जना महिला सञ्चालक छन् । सो बैंकमा विजया स्वारले महिला सञ्चालकको रुपमा काम गरिरहेकी छन् । कृषि विकास बैंकको विभिन्न पदमा रहेर काम गरिसकेकी उनीसँग बैंकिङ क्षेत्रमा चार दशक बढीको अनुभव छ । उनले यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको सञ्चालकको रुपमा तथा फण्ड म्यानेजमेन्ट कम्पनीको अध्यक्षको रुपमा कार्य गरेको अनुभव छ । उनले एशियन ईन्स्टिच्यूट अफ म्यानेजमेन्ट, मनिला, फिलिपिन्सबाट डेभलप्मेन्ट म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । हाल उनी एनआइसी एशिया बैंकमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि समितिको संयोजक र कर्मचारी सेवा सुविधा समितिको सदस्यका रुपमा काम गरिरहेकी छन् । एनएमबि बैंक : एनएमबी बैंकले बन्दना पाठकलाई बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको छ । तत्कालीन एनसीसी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिरहेकी उनी एनसीसी कुमारी बैंकसँग मर्ज भएपछि उनले बैंक छाडेकी थिइन् । उनले जागिर छोडेपछि एनएमबि बैंकले स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी पाठकसँग तीन दशकसम्म बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एभरेष्ट बैंक : एभरेष्ट बैंकमा उर्मिला श्रेष्ठले पब्लिक सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनको बैंकमा सेयर लगानी छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी उनले महिला सहयात्रा लघुवित्तको अध्यक्ष भएर पनि काम गरिसकेकी छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : यस बैंकको स्वतन्त्र सञ्चालकका रुपमा मञ्जु बस्नेत काम गरिरहेकी छन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुनु अघि मेगा बैंकमा सबिनादेवि काफ्लेले काम गरिरहेकी थिइन् । नेपाल एसबिआई बैक : नेपाल एसबिआई बैकको सञ्चालकका रुपमा अप्सरा उप्रेती काम गरिरहेकी छन् । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । बैंकिङ क्षेत्रमा करिब एक दशकको अनुभव भएको उनको भूमिका बैंकमा महत्वपूर्ण छ । उनले त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीजमा स्नातकोत्तर गरेकी छन् । सानिमा बैंक : सानिमा बैंकको महिला सञ्चालको रुपमा गायत्री थापा काम गरिरहेकी छन् । उनी २०७६ जेठमा बैंकको सञ्चालकका रुपमा नियुक्त भएकी थिइन् । बैंकमा ६ जना सञ्चालकमध्ये उनी एउटा मात्रै महिला सञ्चालक हुन् । उनी बैंकमा महत्वपूर्ण सञ्चालकका रुपमा परिचित छन् । उनी कर्मचारी सेवा सुविधा समितिको संयोजक समेत हुन् । प्रभु बैंक : प्रोफेसर डा. गिता प्रधान प्रभु बैंकको सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी पनि एक महत्वपूर्ण सञ्चालक हुन् । यसअघि उनी सेञ्चुरी बैंकको सञ्चालक थिइन् । प्रभुमा सेञ्चुरी गाभिएपछि उनी प्रभु बैंकको सञ्चालक बनेकी हुन् । कृषि विकास बैंक : सरकारी स्वामित्वको कृषि विकास बैंकमा महिला सञ्चालकको रुपमा रिता सुवेदीले काम गरिरहेकी छन् । उनी स्वतन्त्र सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनी लेक्चर पनि हुन् । सिद्धार्थ बैंक : मिना कुमारी सैंजुले सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकका रुपमा काम गरिरहेकी छन् । उनीसँग ३० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । यसअघि उनी पञ्चिमाञ्चल ग्रामीण विकास बैंक, नागरिक लघुवित्त संस्था लिमिटेड र जनता बैंक नेपाल लिमिटेडकी निर्देशक थिइन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनी नेपाल बैंकको उपमहाप्रबन्धक भएर पनि काम गरेकी थिइन् । नेपाल बैंक : सात जना सञ्चालक रहेको नेपाल बैंकमा डा. सावित्री रञ्जित श्रेष्ठ महिला सञ्चालकको रुपमा काम गरिरहेकी छन् । उनले नेपाल सरकारबाट प्रतिनिधित्व गरेकी हुन् । प्राइम कमर्सियल बैंक : प्राइम कमर्सियल बैंकको महिला सञ्चालकको रुपमा डा. तारादेवि चित्रकार काम गरिरहेकी छन् । उनी गत वर्षको पुसमा बैंकको सञ्चालकमा नियुक्त भएकी थिइन् । उनी प्राध्यापक पनि हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा, विषयमा प्राध्यापन गरी रहेकी थिइन् । उनी सामाजिक क्षेत्रमा समेत सक्रिय छिन् । राष्ट्रिय वाणिज्य बैंक : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकको रुपमा रोमिला ढकाल उप्रेतीले काम गरिरहेकी छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनले यसअघि एभरेष्ट बैंकमा २० वर्ष काम गरेको अनुभव छ । सिटिजन्स बैंक : यस बैंकमा सिता कार्की केसी सञ्चालकका रूपमा छन् । उनी ट्राभल व्यवसायसँग आवद्ध छिन् । कुमारी बैंक : कुमारी बैंकमा पनि सिमरन अग्रवाल सञ्चालकका रूपमा काम गरिरहेकी छन् । यसअघि बैंकमा महिला सञ्चालक थिएन । तर, हाल बैंकमा महिला सञ्चालकले प्रतिनिधित्व पाएको हो । प्रभावकारी भूमिका तीन दशक बढी समय बैंकको कर्मचारी भएर काम गरेकी एनएमबि बैंकका स्वतन्त्र सञ्चालक बन्दना पाठक पछिल्लो समय बैंकहरुको बोर्डमा महिलाको सहभागितासँगै आवाज पनि निर्णायक हुन थालेको बताउँछिन् । उनले बैंकको सञ्चालक समितिमा बस्ने अधिकांश महिलाहरु ज्ञान, सीप र अनुभवले निखारिएका हुनाले पनि बैंक सञ्चालक समितिले महिलाको कुरालाई निर्णायकका रुपमा लिने गरेको सुनाउँछिन् । ‘म पनि एनसीसी बैंकबाट बाहिरिएको १५ दिनमै एनएमबि बैंकको सञ्चालक बनें, महिलाको सहभागिताकै लागि मात्रै भएको भए उहाँहरुले अरुलाई नै सञ्चालक बनाउन सक्थे तर क्षमता र अनुभव भएको मान्छे उहाँहरुले खोज्नु भयो, देखाउनका लागि मात्रै भन्दा पनि सीप, ज्ञान र अनुभव भएका महिलाहरुको सहभागिता सञ्चालक समितिमा देखिन्छ, यसले सिंगो बैंकको पफर्मेन्समा फाइदा भइरहेको छ,’ उनले विकासन्युजसँग भनिन् । उनका अनुसार बैंकको तल्लो तहमा कर्मचारीहरु बढी भएपनि माथिल्लो तहमा भने न्यून सहभागिता छ । माथिल्लो तहमा पुगेका महिलाहरु कुनै न कुनै बेला सञ्चालक बन्ने सम्भावना बढी हुन्छ । बैंकको सञ्चालकमा महिलाको प्रतिनिधित्व हुनै पर्ने व्यवस्थाले पनि महिलालाई सञ्चालकसम्म पुग्न केही सहज भएको हुन सक्ने उनको बुझाइ छ । ‘निर्णायक तहमा पुग्दा महिलाहरुको कुरा सुन्ने, उहाँहरुको सुझावलाई बैंकले कार्यान्वयन पनि गरिरहेको हुन्छ, अहिले जति बैंकको सञ्चालकमा महिलाहरु हुनु हुन्छ, उहाँहरु सबै कुनै न कुनै हिसाबले परिपक्व हुनुहुन्छ, त्यसैले पनि बैंक सञ्चालक समितिले महिलाको सुझावलाई कार्यान्वयनको तहमा पुर्याउँछ,’ उनले भनिन् । आधा दर्जन बैंकमा छैनन् महिला चार वटा वाणिज्य बैंकले महिला सञ्चालक नियुक्त गरेको छैन । स्ट्याण्डर्ड, हिमालयन र ग्लोबल आइएमई बैंकले महिला सञ्चालक राखेको छैन । ग्लोबल आईएमई बैंकमा सात जनाको सञ्चालक टिम भएपनि महिलाको सहभागिता छैन । ग्लोबलमा गाभिनुअघि बैंकअफ काठमाण्डूमा २ जना सञ्चालकहरु अमृता उप्रेती र मोहना लोहनी सञ्चालकका रुपमा काम गरिरहेका थिए । ग्लोबल र बिओके मर्ज भएपछि उनीहरु सञ्चालकबाट बाहिरिएका थिए । कम्पनी ऐन, २०६३ ले पब्लिक कम्पनीहरुमा रहने सञ्चालक समितिको बारेमा स्पष्ट व्याख्या गरेको छ । जसअनुसार पब्लिक कम्पनीमा एक जना महिला सञ्चालक अनिवार्य राख्नु पर्ने व्यवस्था छ । पब्लिक कम्पनीहरुमा सेयरधनी महिला छन् भने ती कम्पनीले एक जना महिला सञ्चालक राख्नै पर्ने व्यवस्था रहेको कम्पनी रजिष्ट्रार महेश बराल बताउँछन् । उनका अनुसार पछिल्लो समय नयाँ दर्ता गर्न आउने पब्लिक कम्पनीलाई भने सञ्चालक समितिमा महिला भए÷नभएको विषय प्राथमिकताका साथ हेर्ने गरिएको छ । ‘कुनै पनि पब्लिक कम्पनीको सेयरधनी महिला छन् भने सञ्चालक समितिमा महिलाको सहभागिता अनिवार्य गरिएको छ, त्यो विषयलाई हामीले पनि सुक्ष्म ढंगले हेर्ने गरेका छौं,’ उनले विकासन्युजसँग भने । यस्तै, राष्ट्र बैंकका सह-प्रवक्ता डा. डिल्लीराम पोखरेल बैंक तथा वित्तीय संस्था ऐनले बैंकको सञ्चालक समितिमा महिलाको सहभागिताको विषयमा कुरा नगरेको भएपनि बैंकले भने महिलाहरुलाई प्राथमिकतामा राखेर सञ्चालकमा राख्नु पर्ने धारणा राख्छन् । उनका अनुसार बैंकको बोर्डमा महिला र पुरुषको समान सहभागिता देखिँदा पनि एक किसिमको समावेशिता देखिँदा राम्रो हुन्छ । अर्काइभ

क्याम्पियन कलेजको कमाण्ड सम्हालिरहेकी अनामिका

काठमाडाैं । फरक देश, फरक भाषा, चालचलन सबै फरक । नेपाल उनका लागि नयाँ थियो । टाढाको देश नभए पनि परिवेश फरक थियो । फरक समुदाय अथवा समाजको मान्छे अर्को समाजमा जाँदा घुलमिल हुन समय लाग्छ नै । अनामिकाको हकमा पनि यस्तै भयो । उनलाई फररर नेपाली बोल्न निकै मिहिनेत गर्नुपर्‍यो । भाषामात्र होइन नेपालको रहनसहन र परिवेशमा घुलमिल हुन पनि केही समय लाग्यो । नेपाली बोल्न भाषा सिक्नु पर्ने अनामिका अहिले काठमाडौंको एउटा कलेज हाँकिरहेकी छन् । आफू यो अवस्थामा पुग्न निकै संघर्ष गर्नु परेको उनी बताउँछिन् । उनै अनामिका श्रीवास्तव अहिले ललितपुरको सानेपामा रहेको क्याम्पियन कलेजको नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेकी छन् । ‘काम गर्ने इच्छा शक्ती हुँदा भाषा र परिवेशलेमात्र फरक नपार्दो रहेछ,’ उनी भन्छिन्, ‘मिहिनेत गर्नुपर्छ सबै कुरा सम्भव हुन्छ, फरक यति हो केही समय बढी लाग्न सक्छ ।’ अनामिका श्रीवास्तवको जन्म घर भारतको विहार हो । उनले यन्थ्रोपोलिजीबाट एमफिलसम्मको अध्ययन भारतमै गरिन् । भारत र नेपालबिच रोटी बेटीको सम्बन्ध छ । अनामिकाको सम्बन्ध पनि नेपालमा गाँसिन पुग्यो । ‘छोरीको भाग्यमा कहाँ कोसँग लेखिएको हुन्छ थाहा हुँदैन,’ उनी भन्छिन्, ‘न कहिले देखेको, न भेटेको नेपाली केटासँग विवाह भयो, नेपाली भइयो ।’ अनामिकाले सन् १९८९मा रौतहट गौरको केटासँग विवाह गरिन् । विवाहपछि उनी काठमाडौंमा बस्न थालिन् । उनका श्रीमान मेकानिकल इन्जिनियर । उनी नेपाल आयल निगमबाट रिटायर्ड कर्मचारी । उनका दुइटा सन्तान छन् । अनामिका शिक्षण पेशामा आवद्ध भएको २५ वर्ष भयो । विभिन्न विद्यालय कलेजमा अध्यापन गर्दै आएकी उनी विगत दुई वर्ष देखि क्याम्पियन कलेजको प्रधानाध्यापकको जिम्मेवारीमा छिन् । साढे दुई दशकदेखि शिक्षणमा अनामिका विवाह गरेर नेपाल आइसकेपछि अब के काम गर्ने भन्ने विषयले पिरोल्न थाल्यो । उनी लोकसेवा आयोगको तयारीमा लागिन् । आयोगमा धेरै साथिहरू असफल भएको देख्दा उनलाई पनि मन लागेन । एकदिन उनले नोबेल एकेडेमीमा शिक्षक चाहिएको सुचना देखिन् । आफू बस्ने नजिकैको विद्याल भएकाले उनले आवेदन दिइन् । नभन्दै उनी छनोटमा परिन् । त्यसपछि उनले त्यो पेशाबाट पछाडि फर्केर हेर्नु परेन । सुरूमा उनले नोबेलमा समाजशास्त्र पढाउन सुरू गरिन् । सुरुमा पढाउन जाँदाको आनुभव उनलाई फरक छ । ‘म अंग्रेजी बोल्थें, बच्चाहरू नेपाली खोज्थे, नेपाली आउँदैन्थ्यो, ४० मिनेट कतिखेर सकिएला जस्तो लाग्थ्यो,’ उनले आफ्नो अनुभव सुनाइन् । नेपाली बोल्न नआउँदा कतिपय विद्यार्थीले उनलाइ रिजेक्ट गर्नुपर्छ समेत भने । अनामिकाले नेपाली बोल्न मिहिनेत गरिन् । उनले नेपाली भाषा सिकिन् । पत्रिका पढ्ने, साथीभाइसँग बोल्न सिक्ने, नेपाली गीत सुन्ने बानीले नेपाली बोल्न सकेको उनी बताउँछिन् । ‘मैले यो पेसामा आउन निंकै संघर्ष गरेँ,’ उनी भन्छिन्,‘ मैले मिहिनेत गरेकै हो, पछि नेपाली पनि बोल्न सक्ने भएँ, सबैले स्वीकार्यो ।’ उनले जसरी विद्यालय जाँदा किताव अध्ययन गर्नुपथ्र्यो त्यो भन्दा धेरै मिहिनेत नेपालमा आएर अध्यापन गराउँदा गर्नुप¥यो । ‘नेपाली भाषा कसरी बोल्ने, त्यो भाषाको अर्थ के हो भन्ने विषयमा मैले सिकेँ,’ उनी भन्छिन्, पढाइ त म भारतमा सकेर आएँको थिएँ । तर, यहाँ आएपछि मेरो जीवनको अर्कै अध्याय सुरु भयो ।’ अनामिकाले अध्यापनको यात्रा काठमाडौंको नोबेल एकेडेमीबाट सुरु गरिन् । त्यसपछि उनले सेन्टजेभियर कलेजमा अध्यापन गरिन् । उनी आफ्नो जीवनमा परिवर्तन ल्याउन सेन्टजेभियर कलेजको ठूलो भूमिका रहेको बताउँछिन् । त्यसपछि उनले भीएस निकेतन लगायत धेरै विद्यालय, कलेजमा अध्ययापन गरिन् । भीएस निकेतनमा पनि उनले प्रधानाध्यापकको भूमिकामा रहेर काम गरिन् । ‘विभिन्न विद्यालय, कलेजमा मैले पढाएँ,’ ’उनी भन्छिन्, ‘फरक–फरक जिम्मेवारीमा धेरै ठाउँ काम गरेँँ, अहिले पनि यात्रा जारी छ, यो क्षेत्रमा काम गरेको २५ वर्ष भयो, जबसम्म सक्छु यही क्षेत्रमा रहन्छु ।’ प्रधानाध्यापक जिम्मेवारी पद हो । यसमा रहेपछि हरेक कुराको जिम्मा लिनुपर्छ । तर, शिक्षकको भूमिका पनि उत्तिकै हुन्छ । आज कक्षामा विद्यार्थीलाई नयाँ के दिएँ, यसको लागि मैले कस्तो तयारी गर्ने भन्ने उत्तिकै जिम्मेवार हुनुपर्छ । तर, प्रधानाध्यापकको भूमिका धेरै हुने उनी बताउँछिन् । कसरी आफ्नो संस्थाको विकास गर्ने, विद्यार्थीको आवश्यकता के छ, आवश्यकता कसरी पुरा गर्न सक्छु भन्ने विषयमा ध्यान दिनुपर्छ । विद्यार्थी, अभिभावक बच्चा तीन वटा मेजर स्टेकहोल्डरलाई कसरी सन्तुष्ट राख्न सक्छु भन्ने विषयमा जानकार हुन सकेमा सफल भइने उनी बताउँछिन् । महिलामाथि अभिभावकको विश्वास महिला नेतृत्वदायी पेसामा पुग्दाको अनुभव अनामिकासँग फरक छ । उनी महिला प्रधानाध्यापक हुँदा अभिभावकहरूले बढी विश्वास गर्ने गरेको बताउँछिन् । ‘महिला जब लिडरको भूमिकामा हुन्छ तब बढी संवेदनसिल हुन्छन,’ उनी भन्छिन्,‘ कुन काम कसरी गर्ने, के गर्दा राम्रो, के गर्दा नराम्रो यो बढी महिलाले बुझन सक्छन्, जसले सहानुभूतिपूर्ण बनाउँछ र यही कुराले महिलाको पदमाथि विश्वास गरिन्छ ।’ पुरुषले भने महिलाको भूमिकालाई स्वीकार्न नसक्ने उनी बताउँछिन् । ‘म पुरुष छु, मैले महिलाको अण्डरमा रहेर काम गर्ने, महिलाले फाइनान्समा राम्रो गर्न सक्दैन भन्ने सोच पुरुषको हुन्छ,’ उनी भन्छिन् । एउटा महिलाले नेतृत्वदायी भूमिकामा रहेर काम गर्न गाह्रो रहेको अनुभव उनको छ । तर, त्यो गाह्रोलाई अवसरको रूपमा लिएर काम गर्नु पर्ने तर्क उनको छ । ‘जब व्यक्ति हरेक काममा इमान्दार र निष्ठावान भएर काम गर्छ, तव अगाडि बढ्छ । यो समाजमा अहिले पनि महिला अगाडि बढ्न हुँदैन, उसले सक्दैन भन्ने सोच छ, यसमा धेरै परिर्वतन भइसकेको छ,’ उनी भन्छिन्, ‘अहिले नेपालका अधिकांश स्कुल कलेजको नेतृत्व महिलाले गरिरहेका छन् ।’ क्याम्पियन कलेज सिजी एजुकेशनबाट सञ्चालन भएको कलेज हो । त्यहाँ स्नातक र स्नातकोत्तर अन्तर्गत म्यानेजमेन्ट र बिएसडब्लू, बीबीएस, बीबीए संकाय पढाइ हुन्छ । समय सापेक्ष शिक्षा आवश्यक अनामिका समय सापेक्ष शिक्षा अहिलेको आवश्यकता रहेको बताउँछिन् । आजको विद्यार्थीले के खोजिरहेको छ । ‘उनीहरूले विदेशमा के पाइरहेका छन्, किन विद्यार्थी विदेश गइरका छन् भन्ने सबैले थाहा पाउनुपर्यो,’ उनी भन्छिन्, ‘धेरैले भन्छन राम्रो शिक्षा भएन । तर, राम्रो शिक्षा भनेको के हो ? विद्यार्थीले कस्तो शिक्षा खोजिरहेका छन् त्यो दिन सक्नुपर्यो ।’ विदेश जाने सबै विद्यार्थी पढ्न जाँदैनन्,उनीहरू कमाइ गर्न विदेश जान्छन् । नेपालमा त्यस्तो अवस्था छैन । चार वर्ष पढिसकेपछि मेरो भविष्य के होला ? म राम्रो जागिर पाउँछु कि पाउँदैन ? आफ्नो परिवारलाई राम्रोसँग हेरचाह गर्न सक्छु कि सक्दैन ? विद्यार्थीहरूमा यही कुराको विश्वास नहुँदा विकल्प खोज्न थालेको उनको भनाइ छ । जबसम्म विद्यार्थीमा यस्ता कुराको विश्वास हुँदैन तब सम्म यो क्रम नरोकिने उनी बताउँछिन् । उनी अभिभावक र विद्यार्थीको मानसिकतामा पनि परिवर्तन ल्याउनु पर्ने बताउँछिन् । ‘विद्यार्थीमा १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने मानसिकता र अभिभावकको मेरो छोराछोरीलाई विदेश पठाउनुपर्छ भन्ने भावनामा परिवर्तन नआउँदासम्म यस्तै चलिरहन्छ,’ उनले भनिन् । क्याम्पियन कलेजले आफ्नो कलेजमा पढेका विद्यार्थीलाई बाहिर जागिर खोज्न जानुपर्ने अवस्था नरहेको प्रधानाध्यापक अनामिकाको भनाइछ । ‘हामी शिक्षासँगै सीपमुलक विषयलाई पनि ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्छौ, ‘उनी भन्छिन्, ‘हामी वर्षमा विभिन्न ६ विधामा कार्यक्रम गर्छौ, यस्ता कार्यक्रम विद्यार्थी आफैंले गर्नुहुन्छ जसबाट उनीहरूको व्यक्तित्व विकासदेखि हरेक कुरामा सहज हुन्छ ।’ स्वरोजगार कसरी बन्ने भन्नेबारे सिकाइन्छ जसका लागि सामाजिक उद्यमशिलता बारे पढाइ हुन्छ । सामाजिक उद्यमी कसरी बन्ने भन्नेबारे तीन महिने ‘नबिल स्कुल अफ सोसल इन्टरपेनोसिप’ कोर्स सञ्चालन गरिएको छ । एउटा विद्यार्थीकले काम खोज्न जाँदा कसरी कुरा गर्ने, कस्तो व्यवहार गर्ने भन्नेबारे प्रस्नालिटी डेवलपमेन्टका कार्यक्रम पनि कलेजले गरिरहेको छ । भारतमा पढाउने शिक्षा र नेपालको शिक्षामा धेरै रहेको उनको अनुभव छ । । उनी आफुले पढ्दा रिसर्च पेपर पढ्ने, विभिन्न प्रोजेक्टको काम गर्नु परे पनि नेपालमा त्यस्तो नभएको धारणा राख्छिन् । नेपाली विद्यार्थीमा धेरै क्षमता रहेको र उनीहरूले गर्न खोज्यो भने धेरै राम्रो गर्न सक्ने उनी बताउँछिन् । तर, यसका लागि राम्रो वातावरणको आवश्यकता रहेको उनी बताउँछिन् । ‘विद्यार्थीमा केही गरौँ भन्ने छ । तर, राम्रो वातावरण नपाएर हो वा मोवाइलमा रुमलिएर हो उनीहरूले गर्न सकिरहेको छैनन्, आँट गरेर अगाडि बढ्न सक्यो भने नेपाली विद्यार्थी धेरै माथि पुग्न सक्छन् ।’