महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरमा शिवको पूजा गर्नेहरूको घुइँचो छ । भक्तजनहरूले व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
यी हुन् नेपालको प्रशासन हाँक्ने आधा दर्जन महिला
काठमाडौं । अहिले नेपाल सरकारको सचिव स्तरमा ६९ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ८ जना महिला सचिव छन् । ०६२/६३ को आन्दोलनपश्चात् निजामती कर्मचारी, शिक्षक लगायत सरकारका विभिन्न अंगमा जातीय, क्षेत्रीय, लैंगिक, अल्पसंख्यक लगायतका विभिन्न आधारहरूबाट कर्मचारी छनौट गर्ने प्रक्रिया सुरु भएपछि अहिले राज्यको सेवा क्षेत्रमा समावेशिताको स्वरुप देखिएको छ । तर, विगतमा समावेशिताको अवधारणा लागू नभएको अवस्थामा खुला प्रतिस्पर्धाको आधारमा निश्चित वर्ग तथा समुदायको तर्फबाट मात्रै बढी संख्यामा राज्यको सेवा क्षेत्रमा सहभागिता हुने स्थिति रहेको थियो । कुनैबेला महिलाको शून्य सहभागिता हुने राज्यको केन्द्रीय प्रशासन तहमा अहिले ११.५९ प्रतिशत महिला रहेका छन् । केन्द्रीय प्रशासन अर्थात् नेपालको ब्यूरोक्रेसीको उच्च तहमा भएर काम गरिरहेका महिलाहरू सम्पूर्ण नेपाली किशोरी, युवा र सम्पूर्ण महिलाहरूको प्रेरणा र आत्मविश्वासको स्रोत बनेका छन् । प्रधानमन्त्री कार्यालय हाँक्ने लिलादेवी पूर्वी नेपालको तेह्रथुम जिल्लामा जन्मिएकी लिलादेवी गड्तौला एसएलसी पास गरेपछि उच्च शिक्षा गर्न काठमाडौं आइन् । कानून विषय अध्ययन गरेकी गड्तौलाले ०५२ सालमा लोकसेवा मार्फत न्याय सेवामा प्रवेश गरेकी हुन् । २ वटा बच्चाको आमा भइसकेपछि अधिकृत स्तरबाट जागिरे जीवनको सुरुवात गरेकी उनले शाखा अधिकृत, उपसचिव र सहसचिव गरी १७ वर्ष कानून मन्त्रालयमा काम गरिन् । ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्वपूर्ण निकायमामा काम गर्दै अहिले उनी प्रधानमन्त्री कार्यालयमा सचिवका रूपमा कार्यरत छिन् । पहिलो महिला परराष्ट्र सचिव लम्साल यतिबेला परराष्ट्र मन्त्रालय हाँकिरहेकी सेवा लम्साल परराष्ट्र सेवा अन्तर्गत पहिलो महिला सचिव हुन् । भोजपुर दिङ्लाकी लम्साल सन् १९९८ मा शाखा अधिकृत मार्फत निजामती सेवामा प्रवेश गरेकी थिइन् । त्यसपछि सन् २०१० मा परराष्ट्र सेवामा उपसचिव भएकी उनी त्यसको एक वर्षमा नै सहसचिव भइन् । उनी महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयदेखि न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग तथा पाकिस्तानका लागि राजदूत भएर काम गर्दै पछिल्लो समयमा परराष्ट्र सेवाको सचिवको जिम्मेवारी सम्हाल्ने ठाउँमा आइपुगेकी छन् । उनी परराष्ट्र मन्त्रालयको २५औं सचिव हुन् । प्राविधिक तर्फकी पहिलो महिला सचिव नेपालको प्रशासनमा अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय हाँकीरहेकी सचिव प्रमिलादेवी बज्राचार्य प्राविधिक तर्फकी पहिलो महिला सचिव हुन् । उनी २०५६ सालमा शाखा अधिकृत (इन्जिनियर)बाट निजामती सेवा प्रवेश गरेकी थिइन् । २०६४ सालमा खुला प्रतिस्पर्धाबाट उपसचिव (सिनियर डिभिजनल इन्जिनियर) र त्यसको चार वर्षपछि खुला प्रतिस्पर्धाबाट नै सहसचिवमा नाम निकालेकी थिइन उनले । राष्ट्रिय सतर्कता केन्द्र, रेल विभाग, सडक विभाग, भौतिक पूर्वाधार मन्त्रालय र खानेपानी मन्त्रालय हुँदै उनी अहिले शिक्षा मन्त्रालयमा कार्यरत छन् । उपमहालेखापरीक्षक बिन्दु सुनसरीको धरानमा जन्मेकी बिन्दु बिष्ट २०५७ सालमा प्रशासन सेवाको खरिदार पदबाट नेपालको निजामती सेवामा प्रवेश गरेकी थिइन् । त्यसपछि २०५९ सालमा लेखापरीक्षण सेवामा शाखा अधिकृतबाट फरक सेवामा प्रवेश गरेकी उनी अहिले महालेखापरीक्षक कार्यालयको उपमहालेखापरीक्षक अर्थात नेपाल सरकारको सचिव सरहको जिम्मेवारीमा काम गर्दै आएकी छिन् । उनले २०६८ सालमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव र २०७१ फागुनमा खुला प्रतिस्पर्धाबाट सहसचिवसरह नायब महालेखापरीक्षकमा नाम निकालेकी थिइन् । बिन्दुलाई २०७९ साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उपमहालेखापरीक्षकमा बढुवा गरेको थियो । गण्डकी प्रदेश हाँकिरहेकी बस्नेत सुर्खेतमा जन्मेकी लक्ष्मीकुमारी बस्नेत ०६३ सालमा शाखा अधिकृतबाट निजामती प्रशासनमा प्रवेश गरेकी थिइन् । अधिकृत भएको साढे चार वर्ष अर्थात् ०६७ सालमा नै उनले सहसचिवमा नाम निकालेकी थिइन् । ०६७ सालदेखि ०८० असारसम्म सहसचिवको रुपमा नेपाल सरकारका विभिन्न निकायमा काम गर्दै आइन् । गत असार २६ गतेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको थियो । यतिबेला सचिव बस्नेत गण्डकी प्रदेशको मुख्य सचिवको रुपमा काम गरिरहेकी छन् । लुम्बिनी प्रदेशमा अर्याल राजधानी काठमाडौंमै जन्मेकी राधिका अर्याल विसं २०६१ सालमा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतमा प्रवेश गरेकी थिइन् । उनले अहिले नेपाल सरकारको सचिव स्तरको जिम्मेवारीमा रहेर लुम्बिनी प्रदेशको मुख्यसचिवको भूमिका निर्वाह गरिरहेकी छन् । उनले जागिरे जीवनको आठ वर्षपछि २०६९ मा खुला प्रतिस्पर्धाअन्तर्गत महिलातर्फ सहसचिवमा नाम निकालेकी थिइन् । सहसचिवको ११ वर्षे कार्यकालयमा उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर काम गरिन् । गत कात्तिक १६ गते सचिवमा बढुवा भएर उनले अहिले लुम्बिनी प्रदेशको मुख्य सचिवको रुपमा काम गर्दै आएकी छन् । बिदा भइन् देवकुमारी सरकारले शनिबारबाट अवकास हुन लागेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंलाई बिहीबार नै बिदाइ गर्ने निर्णय गरेकाे छ । २०५१ सालमा प्राविधिक सहायक पदवाट निजामती सेवामा प्रवेश गरेकी उनले शिक्षा सेवा, शिक्षा प्रशासन, निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यलय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा काम गरेकी थिइन् ।
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, भाग्यमानी २६ जनाले पाए ५१ कित्ता
काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ बाँडफाँट सम्पन्न भएको जानकारी दिएको छ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ९ लाख ५८ हजार ९५९ आवेदन सदर भएको छ भने१ हजार ३४२ आवेदन रद्द भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँट गरिएको थियो । जस अनुसार ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । बाँकी रहेको २६ जना लगानीकर्ताले थप एक कित्ता अर्थात कुल ५१ कित्ता सेयर प्राप्त गरेका छन् ।
१२ वर्षदेखि आईएसटी कलेज हाँकिरहेकी सम्झना
काठमाडौं । सपना अधिकांशले देख्छन् । कतिपयले आफ्नो सपनालाई साकार गरेरै छोड्छन् त कतिले बिचमै बाटो मोड्छन् । कतिपयले नसोचेकै क्षेत्रमा हात हालेर त्यही क्षेत्रमा सफल बनेर उदाहरणीय पात्र बन्छन् । काठमाडौंको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजकी प्राचार्य सम्झना बस्न्यातलाई पनि म शिक्षा क्षेत्रमा लागेर काम गर्छु भन्ने सोचेकी थिइनन् । तर, उनको प्रवेश यही क्षेत्रमा भयो । अहिले उनी शिक्षा क्षेत्रमा नै जमेकी छन् । बरु उनलाई कर्पोरेट क्षेत्रमा काम गर्न रुची थियो । तर, बाटो अन्तै मोडियो । उनी शिक्षण पेसामा आवद्ध भइन् । उनी विगत १२ वर्षदेखि सोही कलेजको नेतृत्व गरिरहेकी छन् । ‘शिक्षक भएर शिक्षण पेसामा रम्छु भन्ने सोचेकी थिइनँ । तर, जब यो पेसामा आएँ, अन्त सोच्नै परेन,’ उनले भनिन् । उनले थपिन्, ‘काम गर्दै जाँदा रमाइलो लाग्ने रहेछ,’ आफूमा भएको ज्ञान र शिक्षा बालबालिकालाई बाँड्न पाउनु नै ठूलो कुरा हो, अहिले मलाई शिक्षण पेशा नै रमाइलो लागिरहेको छ, यो क्षेत्रमा २० वर्ष बित्तेको पत्तै भएन ।’ उनले पढाउन पनि यही कलेजबाट सुरु गरेकी हुन् । सम्झना शिक्षण पेसालाई डायनामिक जब रहेको अनुभव सुनाउँछिन् । ‘यो कसैको भविश्य बनाउँछु अथवा उसको जीवनमा म परिवर्तन ल्याउछु भनेर गरिने पेसा हो, शिक्षणको प्यासन नभएको मान्छेलाई यो क्षेत्रमा गाह्रो पनि छ,’ उनले भनिन् । सिंगापुरमा पढाइदेखि प्राचार्यसम्म सम्झना काठमाडौंकी रैथाने हुन् । उनी काठमाडौँको कुपण्डोलमा जन्मिइन् । अहिले काठमाडौंको विसालनगरमा बस्छिन् । उनले प्लसटुसम्म ज्ञानोदय बालबाटिकामा पढिन् । त्यसपछि पद्मकन्या क्याम्पसबाट स्नातक गरिन् । र, सिंगापुरमा गएर होटेल म्यानेजमेन्ट पढिन् । त्यहाँबाट फर्केपछि उनले काठमाडौं विश्वविद्यालयबाट मास्टर्स इन बिज्नेस एडमिस्ट्रेसन (एमबीए) गरिन् । उनका श्रीमान पूर्वबैंकर हुन् । उनी अहिले साथीहरूसँग मिलेर ट्रेनिङ इन्स्टिच्युट खोलेर आफ्नै व्यवसायमा छन् । उनका २१ वर्षका छोरा छन् । एउटा शिक्षक भएर पढाउँदा र व्यवस्थापकिय जिम्मेवारीमा रहेर काम गर्दा फरक अनुभव हुन्छ । ‘शिक्षक हुँदा कक्षामा आज के पढाउने भनेर तयारी गर्दा पुग्छ । तर, म्यानेजमेन्टमा बसिसकेपछि त्यतिले पुग्दैन,’ उनी भन्छिन्, ‘पढाउनु पनि पर्छ म्यानेज पनि गर्नुपछर्, शिक्षक र प्रिन्सिपलको रूपमा रहँदा धेरै फरक हुँदो रहेछ ।’ सम्झनाको काँधमा अहिले प्रशासन, अप्रेशन विभाग र पढाउने तीन वटा जिम्मेवारी छन् । उनी बिहान साढे ८ बजे कलेज पुगिसक्छन् । साँझ ५ बजे घर फर्किन्छिन् । ‘बिहान आउँछु, अफिसको काम गर्छु, पढाउँछु, कहिले मान्छेहरूसँग भेटघाट गर्नुपर्छ, जिन्दगी मिहिनेतका साथ चलिरहेको छ,’ मुस्कुराउँदै सम्झनाले भनिन् । आफूलाई प्रमाणि गर्नु पर्ने चुनौती नेपाली समाज अहिले पनि पितृसतात्मक छ । महिलाको काम र जिम्मेवारीलाई अहिले पनि शंकाको दृष्टिकोणले हेरिन्छ । यसले गर्न सक्छ र भन्ने भाव अझै पनि धेरैमा छ । कुनै पनि महिला नेतृत्वदायी भूमिकामा पुग्दा उसले बारम्बार आफुलाई सक्छु भन्दै प्रमाणित गर्नुपर्ने बाध्यता रहेको सम्झना बताउँछिन् । पुरुषलाई सहजै स्वीकार्ने समाजले महिलालाई विश्वास नै गर्दैन,’ ‘उनी भन्छिन्, ‘हामीले जति राम्रो काम गर्दा पनि बेला बखत म सक्षम छुभनेर प्रमाणित गराउनु पर्छ ।’ ‘नेतृत्वदायी भूमिकामा पुरुषमात्र हुनुपर्छ भन्ने मान्यता अहिले पनि छ,’ उनी थप्छिन,‘ महिलाले त्यो पदमा पुग्न बेला-बेला आफू सक्षम रहेको प्रमाण देखाउनुपर्छ, म यसमा योग्य छु भनेर प्रमाणित गर्नैपर्छ । ’ कतिपय ठाउँमा प्रत्यक्ष नभने पनि पुरुषको हाउभाउले महिलालाई स्वीकार गर्न नसकेको अनुभव सम्झनासँग छ । यस्तो मानसिकताको विरुद्ध बलियो भएर काममार्फत् देखाउनु पर्ने उनी बताउँछिन् । महिला आर्थिकरूपमा पनि सक्षम हुन थालेपछि विभेदका घटना पनि कमी हुँदै गएको उनको भनाइ छ । ‘चुनौती लिन्छु भनेर जिम्मेवारीमा बसेपछि चुनौतीको सामना गर्नैपर्छ,’ उनी भन्छिन्, ‘कुनैपनि काममा सबैजना पूर्ण हुँदैनन् । तर, आफू कमजोर पनि हुनु हुँदैन, मिहिनेत गर्नैपर्छ ।’ सम्झनालाई अहिले पनि धेरैले प्रश्न गर्छन्, ‘महिला भएर पनि यहाँ पुगेको ?’ ‘मलाई कलेजमा आउँदा धेरै अभिभावक वा अरुले पनि अचम्म लागे जस्तो गर्नुहुन्छ,’ उनी थप्छिन्, कलेजको प्रिन्सिपल भन्दा धेरै पुरुष हुन्छ भन्ने भान हुँदो रहेछ, तर जब मलाई देख्नुहुन्छ ओ हो भने जस्तै व्यवहार गर्नुहुन्छ ।’ विदेशको लहरले विद्यार्थी घट्दै आईएसटी कलेज सार्ल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धन प्राप्त हो । यस कलेजमा स्नातकमा होटेल र टुरिज्म म्यानेजमेन्टको पढाइ हुन्छ । यो तीन वर्षे कोर्स हो । यो तहमा ३४ जना शिक्षक अध्यापन गराउँछन् भने करिब चार सय विद्यार्थी अध्ययनरत छन् । अहिले आईएसटी कलेजमा पनि सिट संख्याअनुसार विद्यार्थीको संख्या छैन । भर्ना भएका विद्यार्थीहरू पनि बिचमा पढाइ छोडेर विदेश जाने संख्या बढ्दो छ । पहिले तीन वर्षे स्नातकमा १० जनाको हाराहारीमा ड्रप्टआउट हुन्थे भने अहिले २० पुगेको छ । कलेजमा पढेका दई हजार बढी विद्यार्थी ग्राजुएट बनेका छन । उनीहरूमध्ये कोही पनि खालि बस्नु परेको छैन । ग्राजुएट हुनुभन्दा अगाडि इन्र्टनसिपको दौरानमा नै धेरै विद्यार्थीले काम पाइसक्छन् । ग्राजुएट भएको भोलिपल्ट नै कामको लागि अफर आउँछ । उनका अनुसार स्नातकमा विद्यार्थी पाउन गाह्रो छ । यो एउटा कलेजको समस्या मात्र हैन, देशकै समस्या हो । यसले चुनौती थपेको उनी बताउँछिन् । बुझेर नबुझेर वा देखासिखी गरेर विदेश जाने क्रम बढेको छ । यो कलेज र शिक्षाको मात्र समस्या हैन देशकै समस्या हो । ‘पहिले कक्षा ८/९ मा कक्षमा पढ्ने विद्यार्थीलाई सोध्दा म साइन्स पढ्छु, ह्युम्यानिटिज पढ्छु भन्थे,’ उनी भन्छिन्, ‘तर, आजभोलि सोध्दा म जापान, अस्ट्रेलिया जान्छु भन्नेहरू धेरै छन् ।’ उनका अनसार छोराछोरीलाई विदेश पठाउने विषय अहिले सामाजिक दबाबसँग जोडिएको छ । ऋण काढेर पनि छोराछोरीलाई विदेश पठाउने अभ्यास पछिल्लो समय बढ्दै गएको छ । ‘२० लाखमा जग्गा बेचेर छोराछोरीलाई विदेश पठाउने र पछि त्यही जग्गा ५० लाख हालेर किनेको मैले देखेकी छु, यही अवस्था रहीरहने हो भने भोलि गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘विदेश जाँदा १८/१९ वर्षको बच्चाको दिमागमा पढाइ भन्दा बढी ऋणको भारी हुन्छ ।’ व्यवहारिक शिक्षा भएन उनी नेपाली शैक्षिक प्रणाली व्यवहारिक नभएको धारणा राख्छिन् । समुदाय जति शिक्षित भयो त्यति धेरै देशको विकास हुने धारणा उनको छ । तर, नेपालमा शिक्षा प्राथमिकतामा नपरेको उनको भनाइ छ । ‘अहिले विदेश गयो भने त्यो मान्छे सफल हुन्छ भन्ने सामाजिक धारणा भयो । तर, विदेश जानेवित्तिकै सफल भइँदैन,’ उनी भन्छन्, ‘देशको शैक्षिक करिकुलममा पनि दोष छ ।’ विद्यार्थीले आत्मनिर्भरमा जोड दिनु पर्ने धारणा उनको छ । ‘छोरीलाई पढाउनुपर्छ भन्ने थाहा भए पनि करिअर बनाउनुपर्छ भन्ने तर्फ जोड दिँदैनन्, आत्मनिर्भर हुन सकियो भने अरुको अगाडि हात थाप्नु पर्दैन,’ उनले भनिन् । पछिल्लो समय देशको आर्थिक अवस्था नकरात्मक हुँदा कलेजहरूको बिजनेसमा पनि असर परेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षामा पनि जोड दिनु पर्ने भएकोले कलेजको बढी खर्च हुने उनको भनाइ छ । उनका अनुसार अब कलेजले अन्य संकाय पनि थप्ने तयारी गरेको छ ।
अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना
फुङ्लिङ । गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना निर्माण गरिएको थियो । सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो । तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको छ । आयोजनाको पुनःनिर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प रहेको हो । जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा ७० करोड बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहेका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत्गृह र अन्य संरचनामा क्षति गरेको थियो । बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनःनिर्माणको काम भने अहिले धमाधम भइरहेको उनले जानकारी दिए । पुनःनिर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले जानकारी दिए । आगामी वैशाखसम्ममा उत्पादन सुरु गर्ने गरी हाल निर्माणको काम भइरहेको उनले बताए । उनका अनुसार लामो समयसम्म उत्पादन सञ्चालन नहुँदा आयोजनाले नोक्सानी खेपिरहनुपरेको छ । आयोजना नजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ को विद्युत् उत्पादन भने सञ्चालन भएको छ । अरुण काबेली पावर लिमिटेडको प्रवद्र्धनमा निर्माण भएको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको उत्पादन करिब एक महिनाअघिदेखि सुरु भएको हो । इँवाखोला, काबेली बी–१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनालाई सोहीअर्थात् एकै समयमा बाढीपहिरोले क्षति गरेको थियो । रासस
स्थापना दिवसमा सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ
काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले शुक्रवार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेका थियो । राष्ट्रपति पौडेलले सो अवसरमा सैनिकमञ्चस्तिस्थत सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ । नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्दछ ।
नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त
काठमाडौं । नेपाल टेलिकमले महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरे । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएको टेलिकमले विज्ञप्तीमा उल्लेख गरेको छ । मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरुको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरुको प्रवर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । यसैगरी सञ्चारकर्मी पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यस अघि नै ‘ब्राण्ड प्रमोटर’ नियुक्त गरिसकेको जानकारी दिईयो ।
लोकसेवा आयोगले समयानुकूल जनशक्ति व्यवस्थापनमा सुधार गर्ने
कर्णाली । लोकसेवा आयोगले विद्यमान भर्ना छनोट, परीक्षण प्रविधि, पाठ्यक्रम र परीक्षा सञ्चालनसम्बन्धी जनशक्ति व्यवस्थापनमा समयानुकूल सुधार गर्ने भएको छ । आयोगप्रति विश्वास कायम राख्न निष्पक्ष र स्वच्छरुपमा योग्यताको आधारमा भर्ना तथा छनोट हुने सिद्धान्तलाई पूर्णरुपले पालना गर्ने आयोगले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबारदेखि सुरु भएको लोकसेवा आयोगको चौँथो राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रमा सो कुरा उल्लेख छ । लोकसेवा आयोगका सदस्य वीरबहादुर राईले सङ्घीय शासन प्रणालीको संस्थागत विकास र सुशासनमा योगदान पुर्याउन उपयुक्त उम्मेदवार समयमै छनोट र सिफारिसको सुनिश्चिता गर्ने र लोकसेवा आयोगबाट स्थापित सिद्धान्त, मूल्य, मान्यता, कार्यप्रणाली र असल अभ्यासलाई निरन्तर अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिए । ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोकसेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नारासहित दुई दिनसम्म सञ्चालन भएको चौथो सम्मेलन बिहीबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको हो । उक्त सम्मेलनले पाँच बुँदे घोषणापत्र र १३ बुँदे निर्णय जारी गरेको छ । घोषणापत्रको पहिलो बुँदामा भनिएको छ, संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई सम्मान गर्दै भर्ना र छनोट आधार योग्यता नै हो भन्ने मान्यतालाई जोड दिँदै अगाडि बढिनेछ । लोकसेवा आयोगबाट पदपूर्ति गरिने विभिन्न सेवा, समुह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक)का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने, आयोगबाट सम्पादन गरिने कार्यमा कार्यगत सम्बन्ध कायम गर्दै प्रभावकारिता अभिवृद्धि गर्न असल अभ्यासको आदानप्रदान गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार आयोगको परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी खर्च मापदण्डमा एकरुपता कायम गर्ने र समयसापेक्ष बनाउँदै लैजाने, लोकसेवा आयोगबाट सङ्घीय कानुनबमोजिम अवलम्बन गरिएका सिद्धान्त तथा मापदण्डबमोजिम कार्यसम्पादनको सुनिश्चितताका लागि सूचक तयार गरी सोबमोजिम स्वमूल्याङ्कन एवं आवश्यकताअनुसार समकक्षी समीक्षा गर्नेजस्ता १३ निर्णय सम्मेलनले जारी गरेको छ । उक्त राष्ट्रिय सम्मेलनमा सङ्घीय लोकसेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मी, सदस्य माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकमारी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस तथा कोशी प्रदेश लोकसेवा आयोगका पदाधिकारी तथा सदस्य र आयोगका सहसचिव, प्रदेश लोकसेवा आयोगका सचिव तथा कर्मचारीको सहभागिता रहेको थियो । रासस