विकासन्युज

पाँचौं बिहे गर्न लागेका मिडिया टाइकुन मर्डोकको कति छ सम्पत्ति ?

काठमाडौं । मिडिया टाइकून तथा अर्बपति ९२ वर्षीय रुपर्ट मर्डोकले उनकी प्रेमिका एलेना जुकोभासँग विवाह गर्न लागेका छन् । अवकासप्राप्त रुसी मलेक्युलर बायोलोजिस्ट जुकोभासँग केही महिनादेखि डेटिङ गरिरहेको बताइएको छ । उनको बिहे यही वर्ष क्यालिफोर्निया राज्यको भाइनयार्डमा हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । यो उनको पाँचौं विवाह हुनेछ । उनले फक्स एन्ड न्यूज कर्पको अध्यक्ष पद गत वर्ष छाडेका थिए । ‘द न्यूयोर्क टाइम्स’ का अनुसार जुन महिनामा विवाह गर्ने कार्यक्रम तय गरिएको र त्यसका लागि निमन्त्रणा बाँडिसकिएको छ । अस्ट्रेलियामा जन्मेका मर्डोकले पछिल्लो पटक बिहे गर्न निधो गरेकी पूर्वप्रहरी पादरी महिला एन लेसले स्मिथसँग एप्रिल २०२३ मा  सम्बन्ध बिग्रन पुगेको र त्यसलगत्तै उनले जुकोभासँग डेट गर्न थालेको बताइएको छ । एलेना र रुपर्टको भेट एक पार्टीमा भएको थियो । मर्डोकका पूर्वपत्नीमा अस्ट्रेलियाली एयर होस्टेस प्याट्रिसिया बूकर, स्कटल्यान्डमा जन्मेकी पत्रकार आना मान, चीनमा जन्मेकी वेन्डी डेङ र अमेरिकी मोडल तथा अभिनेत्री जेरी हल छन् । को हुन् रुपर्ट मर्डोक ? रुपर्ट मर्डोकले सन् १९५० को दशकमा आफ्नो करिअर सुरु गरेका थिए । उनले बेलायतमा १९६९ मा ‘न्यूज अफ द वर्ल्ड र ‘द सन’ खरिद गरे । पछि उनले अमेरिकामा ‘न्यूयोर्क पोस्ट र ‘वाल स्ट्रीट जर्नल’ लगायत अन्य अमेरिकी प्रकाशन खरिद गरे । १९९६ मा उनले ‘फक्स न्यूज’ सुरु गरे, जुन अहिले अमेरिकामा सबैभन्दा बढी हेरिने टेलिभिजन च्यानल मानिन्छ । न्यूज कर्प २०१३ मा स्थापना गरिएको हो । त्यसमार्फत मर्डोक सयौं स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका मालिक बनेका छन् । कति छ सम्पत्ति ? रुपर्ट मर्डोक ठूला अमेरिकी अर्बपतिका रूपमा गनिन्छन् । फोर्ब्स बिलियनेर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति १८ अर्ब ९० करोड अमेरिकी डलरबराबर छ । यो नेपाली विनिमय दरअनुसार २४ खर्ब ९४ अर्ब ८० करोड रुपैयाँबराबर हो । बीबीसी 

अस्ट्रेलियन पर्वतारोही एलीले बिनाअक्सिजन अन्नपूर्ण-१ हिमाल आरोहण गर्ने

काठमाडौं । अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्वगाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू अक्सिजनको प्रयोग नगरी आरोहण गर्ने लक्ष्य रहेको बताइन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औँ अग्लो ९८,०९१ मिटर० उचाइको अन्नपूर्ण–१ को आरोहण गर्न लागेको बताइन् । अन्नपूर्ण–१ आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्येको एउटा हिमाल हो । उनी आफ्नो सपना पूरा गर्न तयारीका लागि हाल आफ्नो टिमसहित काठमाडौं आएकी हुन् । अन्नपूर्ण–१ को आरोहण उनले हिमाल आरोहण कम्पनी सेभेन समिट ट्रेक्समार्फत गर्न लागेकी जानकारी दिइन् । बिना अक्सिजन हिमाल आरोहण गर्ने यात्राको सुरुवात भने उनले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमालबाट गरेकी थिइन् । पेपरले उनको लक्ष्यअन्तर्गत भने हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्ये दुई वटा हिमाल अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो (८,०५२ मिटर) को ब्रोडपिक र विश्वको पाँचौँ अग्लो (८,१६३ मिटर) को मनासलु हिमाल सन् २०२३ को सेप्टेम्बर २८ तारिखमा सफल आरोहण गरी सकेको उनले जानकारी दिइन् । ब्रोडपिक बिना अक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अस्ट्रेलियाली महिला बनेकी थिइन् । यससँगै ४८ वर्षीय पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसलाई जित्न, प्रोत्साहित गर्ने लक्ष्य राखेकी बताइन् । उनले भनिन, ‘मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै आफ्नो लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु । मैले मेरो सम्पूर्ण जीवन यसका लागि शारीरिक रूपमा मात्र होइन, मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा तालिम दिएको छु । यही सबै कुराले मलाई यो गर्न प्रेरित गरेको छ ।’ उनको हिमाल आरोहणमा २३ वर्षको अनुभव रहेको छ । यो वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ सहित तीन वटा हिमालहरू आरोहण गर्ने योजना रहेको उनले बताइन् । विश्वमा हालसम्म छ जनाले मात्र अक्सिजन बिना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरू आरोहण गरेका छन् । त्यसमध्ये पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरूको मुख्य चुचुरोमा पुगेका भने दुई जना पुरुष मात्र हुन्, उनीहरूलाई त्यसको लागि १६ वर्ष लागेको थियो । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालअन्तर्गत सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनासलु, नाङ्गा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापामा पर्दछन् ।

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे । उनीहरूले निरन्तर ढाका बुन्न थाले तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले निरास बनेका छन् । उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ । ती सामग्री बेच्न उनीहरू कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्छन् । लाखौँको लगानीका सामग्री गोदाममै थन्किएका उनीहरूको गुनासो छ । तमान गाउँको कल्याण आमासमूहले सञ्चालन गरेको उद्योगमा हाल १५ जना महिला आबद्ध छन् । विसं २०७५ मा सङ्गम परामर्श केन्द्र बागलुङले १५ दिने प्रशिक्षण दिएपछि उनीहरूले उद्योग सञ्चालन गरेका हुन् । प्रारम्भमा रु ४५ हजार लगानीमा सुरु गरिएको उद्योगबाट अहिले करिब रु सात लाखको सामग्री तयार भएका छन् । आफ्ना उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता भएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले बताइन् । उद्योगबाट ढाकाको सल, टोपी, लुङ्गी, दोसल्ला, खादालगायत सामग्री उत्पादन गर्ने गरेको उनको भनाइ छ । विगतको तुलनामा उत्पादनले बजार पाए पनि सोचेअनुसारको नहुँदा समस्या भएको घर्तीले बताइन् । बिहान बेलुका घरका कामधन्दा गर्ने र दिउँसोको समय निकालेर उद्योगमा काम गर्दै आएको भन्दै उत्पादनले बजार नपाउँदा दुःख लाग्ने घर्ती बताउँछिन् । उद्योगमा एक जनाले महिनाको ३५÷४० हजारको सामग्री तयार गर्ने गरेको सुनाउँदै बिक्री नहुँदा एक हजार पनि कमाउन मुस्किलपर्ने उनले गुनासो गरिन् । ‘फुर्सदको समयमा काम गर्छौं राम्रो बजार हुन्थ्यो भने पूरै समय दिएर काम गर्ने थियौँ, तर समय निकालेर काम गर्दा पनि धेरै कपडाहरू बनाएका छौँ, एक जनाले हजारौँको काम गर्छौं, तर बिक्री नहुँदा कहिले त एक हजार पनि पाउन मुस्किल छ,’ उनले भनिन्, ‘सामानले कोठा भरिएका छन्, कहिलेकाहीँ नजिकैका ग्राहकहरू आएर सामान लैजानु हुन्छ, टाढाबाट भने आउनुहुन्न, बजार पाउन गाह्रो भएको छ ।’ समूहमा काम गर्दै आएकी जुनुमाया घर्तीमगरले सुरुमा निकै उत्साहित भएर काम गरेको भन्दै अहिले उत्पादनले बजार नपाउँदा जाँगर मर्दै गएको बताइन् । आफूहरू विस्तारै राम्रो हुँदै जानेमा आशावादी भने रहेको उनको भनाइ छ । समयसमयमा गाउँपालिकाले प्रयोजनका लागि खरिद गरेर प्रोहोत्सान गरे पनि बजारीकरणका लागि पहल हुन नसकेको उनले बताइन् । सरकारले बजारीकरणको व्यवस्थापन गरिदिए अझै धेरै महिलाले यसबाट स्वरोजगार हुने उनी बताउँछिन् । ‘गाउँमा घुम्न आउनेले राम्रो लागेर टोपी, लुङ्गी, खादा र दोसल्ला किनेर लैजानुहुन्छ तर सोचेअनुसार बिक्री भएको छैन । समय मिलाएर हामी बजारमा पुग्छौँ, गाउँमा जान्छौँ, मेलापर्वमा अलिअलि बिक्री हुन्छ, बजारको मात्रै समस्या छ, अरु सबै हामीले मिलाएका छौँ,’ उनले भनिन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले महिला उद्यमीलाई मेशिनलगायत अन्य सहयोग गरिएको भन्दै बजारीकरणका लागि पहल थालेको बताइन् । समयसमयमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै आएको भन्दै उहाँले गाउँदेखि सहरसम्म आयातीत सामानको बढ्दो प्रयोगले स्थानीयस्तरमा उत्पादित वस्तुले बजार नपाएको बताइन् । उद्यमीलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने उनी बताउँछिन् । ‘पालिकाकोतर्फबाट सुरुमा मेशिन सहयोग गरिएको छ, पालिकाकै सहयोगमा भवन निर्माण पनि भइरहेको छ, उहाँहरूलाई हामीले प्रथामिकताका साथ सहयोग गर्दै आएका छौँ यहाँका उत्पादनलाई हामीले प्राथमिकतामा राखेका छौँ, हामीले महिला उद्यमीलाई निरन्तर सहयोग गर्नेछौँ, मेला महोत्सवमा सामान बिक्रीका लागि लैजान यातायात खर्च र स्टल खर्चको बेहोर्ने योजना पनि बनाएका छौँ, उद्योगलाई थप व्यवस्थित बनाउनका लागि पालिकाले अध्ययन गरिरहेको छ,’ उनले भनिन् । रासस

कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगा थापाको मृत्यु भएको हो । विद्युतको सवस्टेशनबाट चाखा काल्ढुंगा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । ‘गाडेको विद्युतको पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो,’ उनले भने, ‘दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।’ मृतक केशवराज थापा स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए ।

एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ

काठमाडौं । काठमाडौं महानगरपालिका– २६ सामाखुसी संगमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। ‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ २०७४ सालमा स्थापना भएको संस्कार समाजले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ अभियान सञ्चालन गरेको हो। हरेक शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुँदै आएको सरसफाइ कार्यक्रमअन्तर्गत आज नवसंगम मार्गदेखि पवित्रनगरसम्म सरसफाइ गरिएको हो। संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले असल संस्कारको विकास गर्न सके देशको विकास हुने भएकाले सरसफाइमार्फत असल संस्कार प्रदान गरिँदै आएको बताए। उनले सरकारले लिएको समृद्ध मुलुकको लक्ष्य पूरा गर्न असल संस्कार आवश्यक रहेको र असल संस्कारको विकासका लागि संस्कार समाजले काम गर्दै आएको उल्लेख गरे। सो समाजले यसअघि नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, पाँच सय थान डस्बिन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुसीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरेको छ भने प्रत्येक हप्ता शनिबार देशभरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ । रासस

कास्कीको पर्चे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । कास्की जिल्लाको पर्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

खानेपानी समस्या समाधान गर्न योजना बनाएरै काम गर्छु : मन्त्री राई

धनकुटा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन् । गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आज यहाँ सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए । ‘नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु,’ मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो ।

कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह

भेरीगंगा । कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ । विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरेको हो । सप्ताहको सुरुआत गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार योजना बनाएर कार्यान्वयन गर्न अग्रसर भएको बताए । पछिल्लो समय मुटु र मिर्गौलाका रोगी बढ्दै गएका र यसको प्रमुख कारण रासायनिक विषादीको प्रयोग भएको मन्त्री शर्माको भनाइ थियो । मन्त्री शर्माले कर्णालीलाई रासायनिक विषादीको प्रयोगबाट मुक्त बनाउन गाउँगाउँसम्म सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा. नरहरिप्रसाद घिमिरेले रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको भन्दै यसको निराकरण गर्न कर्णालीबाट सुरुआत गरिएको बताए । उनले विषादीको सट्टा अन्य विकल्प खोज्नुपर्नेमा जोड दिए । खाद्य वस्तुको बढ्दो माग आपूर्ति गर्न उत्पादन वृद्धिका नाममा विषादीको प्रयोग बढेको भन्दै उनले यसलाई न्यूनीकरण गर्न आवश्यक भएको बताए । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जनचेतनामूलक प्रसारप्रसार कार्यक्रम, जैविक विषादी र पासोजन्य सामग्रीको प्रदर्शन तथा वितरण, विषादीसम्बन्धी विद्यालयमा विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।