विकासन्युज

सैनिक मञ्च टुँडीखेलमा सेना दिवस मनाइँदै

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती हुनेछ । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताएका छन् । सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव दिए । सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल छ । सैनिक वीरपूर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहन्छ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले सेना सबैको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार आठ सय ९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७३ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६८ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ६ सय ६२ महिलासहित पाँच हजार आठ सय ९० नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पहिलो स्थानमा छ । विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्त सहभागीले यसलाई पुष्टि गरेको छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन् । रासस

‘गर्मी से बेहाल चलो नेपाल’ अभियानले भारतीय पर्यटक बढ्ने अपेक्षा

काठमाडौं । भारतको सीमावर्ती क्षेत्रबाट उल्लेख्यमात्रामा भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने र गत वर्षको तुलनामा सङ्ख्या पनि दोब्बरले वृद्धि हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरूले आंकलन गरेका छन् । भारतको लखनउमा भएको नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा सहभागी दुवै देशका पर्यटन व्यवसायीले यो ग्रीष्मयाममा प्रशस्त पर्यटक नेपाल आउने बताएका हुन् । होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ । जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटक नेपाल भित्राउन सङ्घले लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लखनउ, कानपुरलगायत क्षेत्रका ५० भन्दा बढी ‘टूर अपरेटर’ र व्यवसायीको उपस्थिति रहेको संघले जनाएको छ । टुर अपरेटरहरुलाई स्वागत गर्दै संघका अध्यक्ष शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै यो वर्षको ग्रीष्म ऋतुमा भारतीय पर्यटकलाई नेपाल घुम्न निम्तो दिए । उनले विवाह र बैठक, सम्मेलन, प्रदर्शनी‘माइस’ पर्यटनका लागि नेपाल उपयुक्त भएकाले भ्रमणमा आउन आग्रह गर्दै त्यसका लागि पर्याप्त संरचना पनि तयार रहेका जानकारी दिए। उनले पर्यटकलाई नेपालका मौलिक खाना खुवाएर नेपाल भ्रमणलाई स्मरणीय बनाइने बताए। भारतीय पर्यटन व्यवसायीको तर्फबाट ट्राभल एजेन्ट्स एशोसिएशन अफ इण्डिया र ट्राभल ट्रेड एशोसिएशन यूपीका अध्यक्षहरुले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवर्द्धनमा यस कार्यक्रमको अझ बढी महत्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए । साथै उनीहरूले छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने विश्वास दिलाए । भारतीय पर्यटन व्यवसायीले भारत नेपाल सीमावर्ती पर्यटन प्रवर्द्धनमा नेपाल र भारतीय सीमावर्ती सहरबीच सीधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको जनाउँदै यस सम्बन्धमा दुवै देशका सरकारलाई आआफ्नो क्षेत्रबाट सहजीकरणका लागि आग्रह गरे । लखनउमा भएको नेपाल प्रवर्द्धन कार्यक्रममा ‘चलिए पोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुतिसहित ‘ गर्मी से बेहाल चलो नेपाल’ अभियानबारे पनि जानकारी दिइएको थियो ।

पशुपति क्षेत्रमा ४ हजार बढी प्रहरी परिचालन

काठमाडौं । पाशुपति क्षेत्रमा महाशिवरात्रि मेलाका लागि ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ सुरक्षाकर्मी परिचालन गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरू आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्तरूपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उनले बताए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए ।

आज महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरिका शिवालयहरूमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरमा शिवको पूजा गर्नेहरूको घुइँचो छ । भक्तजनहरूले व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

महिला फुटबल खेलाडीलाई कृषि विकास बैंकको सहयोग

काठमाडौं । कृषि विकास बैंकले नारी दिवसको अवसरमा नेपाली महिला फुटबल टिमलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली महिला फुटबल टिमलाई प्रोत्साहनस्वरूप ६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । हालै साउदी अरबमा सम्पन्न वेस्ट एशियन फुटबल फेडेरेशन (वाफ) वुमेन्स प्रतियोगितामा नेपाली महिला फुटबल टिम उपविजेता बनेको थियो । बैंकका अनुसार उक्त खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरूलाई प्रोत्साहन गर्न संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट अखिल नेपाल फुटबल संघ (एन्फा)मार्फत नगद रकम प्रदान गरिएको हो । २३ जना खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ, मुख्य प्रशिक्षकलाई १५ हजार रुपैयाँ, प्रशिक्षक ३ जना, टिम म्यानेजर, फिजियोथेरापिस्ट, एन्फा, हेड अफ डेलिगेट्स र अफिसियललाई १०÷१० हजार रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ ।

निजी क्षेत्रको मनोबल बढाउन उद्यमीको माग, अर्थमन्त्री भन्छन् : हतोत्साही हुन दिन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा बिहीबार अध्यक्ष ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउदै साना शहर र गाउसम्म रकम प्रवाह गर्न सरकारले पूजीगत खर्च बढाउनुका साथै पुर्नकर्जा सुविधा विस्तार गर्नुपर्ने बताएका हुन् । सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन, उनले भने, त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ । उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुन समक्ष आग्रह गरे । ढकालले अर्थमन्त्रीलाई कोभिड समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भैसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए । अध्यक्ष ढकालले मन्त्री पुनलाइ निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने बताए । निजी क्षेत्र भन्नाले ठूलो उद्योग देखि गाउँको किराना पसलसम्म हो, अध्यक्ष ढकालले भने, सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनु हुँदैन र निजी क्षेत्रको मनोबल बढाउनुपर्छ । यसैगरि राजश्व कम उठिरहेको समयमा धरपकड गरि राजस्व उठाउने गरिएको बारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । चार वर्ष अगाडि राजश्वले टुंग्याएको विषयलाई महालेखा परिक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि अध्यक्ष ढकालले अर्थमन्त्रीको ध्यानाकर्षण गराए । निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराउनु भयो । अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने जानकारी दिए । सरकारले खर्च नगरि विश्वास बढने यस्ता बिषयमा कन्जुस्याइ गर्नु हुँदैन, उनले भने, यी साना बिषय जस्ता देखिएपनि यसले देशभरका सबै उद्यमी व्यवसायको हौसला बढाउछ । अध्यक्ष ढकालले जुनसुकै पार्टि भएपनि आर्थिक एजेन्डामा एकरुपता हुनुपर्ने माग गर्दै आइरहे को कुरा पनि अर्थमन्त्री लाइ अवगत गराए । उनले अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टि र पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताए । अध्यक्ष ढकालले बैंक वित्तिय संस्थामा पनि समस्या देखिएमा अर्थतन्त्रमा थप जटिलता बढनेतर्फ सजग गराउँदै यसको संवेदनशीलता बुझ्न आग्रह गरे । ‘बैंक वित्तीय संस्थाको ऋण तिर्नु नपर्ने भनि गलत प्रचार प्रसार भैरहेको छ, अध्यक्ष ढकालले भने, ‘यसमा सरकार सचेत हुनुपर्छ । भेटवार्ताको क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडी बढ्ने बताए । उनले निजी क्षेत्रसंग सहकार्य गरेर सरकार अगाडी बढ्ने कुरामा आफ्नो प्रतिबद्धता रहेको जानकारी पनि गराए । मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने बताए । निजी क्षेत्रमाथि धरपकड भैरहेको अध्यक्ष ढकालको प्रश्नमा मन्त्री पुनले पहिले अनुसन्धान पुरा नगरि थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायहरुसंग पनि समन्वय गरिने बताए । गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पुरै समुदायलाई नराम्रो भन्न नहुने उनको जिकिर थियो । राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो भन्दै मन्त्री पुनले उद्यमी व्यवसायीलाई निरुत्साहित हुन नदिने बताए । ‘यो मेरो जिम्मेवारी हो, मन्त्री पुनले भने, ‘म यहाँहरुलाई हतोत्साही हुन दिन्न ।’

पुनर्बीमा कम्पनीमा छिर्‍यो लक्ष्मी सनराइज बैंक, किन्यो सवा ५६ करोडको सेयर

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीकाे सेयर लक्ष्मी सनराइज बैंकले खरिद गरेकाे छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले बिक्रीमा राखेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लक्ष्मी सनराइज बैंकले खरिद गरेकाे हाे । नेप्सेका अनुसार बिहीबार कम्पनीको २० लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । उक्त सेयर प्रतिकित्ता २८१ सय रुपैयाँका दरले खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर ब्रोकर नम्बर १६ (प्राइमो सेक्युरिटीज)बाट बिक्री भई ब्रोकर नम्बर ४९ (अनलाइन सेक्युरीटीज)बाट खरिद भएको देखिन्छ । स्रोतका अनुसार पुनर्बीमा कम्पनीको उक्त सेयर खरिद गर्न लक्ष्मी सनराइज बैंकले २८१ रुपैयाँमा आवेदन दिएको थियो । पछिल्लो समय धमाधम संस्थापक सेयरधनीहरू पुनर्बीमा कम्पनीको सेयर बिक्री गरेर बाहिरिन लागेका छन् । तर, लक्ष्मी सनराइज बैंक उक्त कम्पनीको सेयर खरिद गरेर संस्थापक सेयरधनी बनेकाे हाे । ‘बीमा कम्पनीहरू पुँजी पुर्याउन मर्ज भएका छन्,  मर्ज भएका सबै कम्पनीसँग पुनर्बीमा कम्पनीको सेयर दोब्बर भयो, लिलामीमा राखेको सेयर कि पुँजी नपुगेका कम्पनी कि दोब्बर सेयर भएका कम्पनीको हो,’ बैंक स्रोतले भन्यो, ‘बैंक सर्टटर्म ट्रेडर होइन । आज सेयर खरिद गरेर भोलि बिक्री गर्दैन । अर्काे पुनर्बीमा कम्पनी आउने छाँटकाट छैन । त्यसैले पुनर्बीमाको व्यवसाय बढ्दै जान्छ ।’ दोस्रो बजारमा सर्वसाधारणको सेयर कारोबार साढे ७/८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । जस अधारमा कम्पनीको संस्थापक सेयरको मूल्य ४ सय रुपैयाँ हुनु पर्ने बैंक स्रोतको दाबी छ । तर, एकैपटक धेरै कम्पनीले संस्थापक सेयर बिक्रीमा राख्दा मूल्य घट्न पुगेको हो । ‘एकैपटक धेरै कम्पनीले सेयर बिक्री गर्दा सस्तो भएको हो । एउटा कम्पनीले मात्रै बिक्री गरेको भए ४ सय रुपैयाँभन्दा कम मूल्यमा बिक्री नहुनु पर्ने हो,’ स्रोतको भनाइ छ । कम्पनीले दीर्घकालमा राम्रो पफर्मेन्स गर्ने बैंकको दाबी छ । पुनर्बीमा कम्पनीको पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्याे भने १ सय रुपैयाँमा सेयर खरिद गर्न पाउने स्राेतकाे भनाइ छ । ‘अब कम्पनीले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरायो भने बैंकलाई फाइदा नै हुन्छ,’ स्राेतले भन्याे ।

महाशिवरात्रिमा सवारी साधनलाई डाईभर्सन गरिने, यी ६ ठाउँमा गर्न पाइन्छ पार्किङ

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा बिहीबार रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने भएको हो । त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुरोध समेत गरे । १. आवश्यकताअनुसार डाईभर्सन गरिने स्थानहरु : – चाबहिलबाट गौशालातर्फ । – पुरानो बानेश्‍वरबाट गौशालातर्फ । – ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ । – द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग । – सिफल चौरबाट जयबागेश्‍वरीतर्फ । – लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ । – गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ । – तिलगंगाबाट गौशालातर्फ । – मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ । – जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ । – सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग । – जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ । तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यवस्थापन र डाईभर्सन गरिने छ । २. मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन – कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने, – कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने । – महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने । – कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने । ३. पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरु – सिफल चौर (दर्शानार्थीहरुको) – कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु) – भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु) – तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु) – वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु) – गुहेश्‍वरी पारी (तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु) ४. जनशक्ती परिचालन – महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ । – प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ । – यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यवस्थापन र अन्य स्थानहरुको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ती परिचालन गरिने छ ।