मेटिएको इतिहास खोजी गर्दै कुहूँ
म्याग्दी । सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेवीलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले । जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने यो गाउँ चिटिक्क परेको छ । प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन पर्वत राज्यसँग सम्बन्धित किंवदन्ती रहेका छन् । तर यहाँका मगरसमुदायले खाम भाषा र लिपिको संरक्षण गर्न नसक्दा इतिहास मेटिएको छ । तत्कालीन पर्वत राज्यका राजाले प्रयोग गर्ने गरेको सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसेचौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्नसक्ने प्रशस्तै सम्भावना रहेको स्थानीय बुद्धिजीवी एवं दीपशिखा मावि कुहूँका भूतपूर्व प्रधानाध्यापक भद्रबहादुर जिसीले बताए । उनका अनुसार म्याग्दीको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल मालिकाको धुरी जाने बाटोमा पर्ने सो सुरुङमार्गको लम्बाइ करिब ५० मिटर रहेको छ । पूर्व–पश्चिम फैलिएको सो सुरुङमार्गको पूर्वतिरबाट प्रवेश गरेर पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको मालिका मन्दिरमा निस्कन सकिन्छ । गुफाको पूर्वतर्फ करिब ७० मिटरको दूरीमा तत्कालीन कुहूँले राजाको राजधानी रहेको थुमाको अवशेष मात्र बाँकी रहेको छ । गाउँको शिरानमा उच्च स्थानको समथर मैदानमा राजधानी थुमामा काजिला (सानो दरबार) बनाएर तत्कालीन पर्वते राजा बस्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ । १६।२ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो गाउँमा दुई हजार, नौ सय, ४२ जनसङ्ख्या रहेको छ । मगरको बाक्लो बस्ती रहेको कुहूँ गाउँ प्राकृतिक, ऐतिहासिक, जैविक र सांस्कृतिक सम्पदाले महत्वपूर्ण भए पनि भाषाको अभावमा कैयौँ सम्पदा पहिचान गर्न नसक्दा यो गाउँको इतिहास उजागर हुन नसकेको मङ्गला गाउँपालिका– १ का वडाध्यक्ष एकजित रोकाले बताए । ‘पछिल्लो समय कुहूँ पुख्र्यौंली समाजले आफ्नो भाषा र यसको इतिहासको खोजी गरिरहेको छ, मगर खाम भाषाको लिपिको पनि खोजी हुँदैछ’, वडाअध्यक्ष रोकाले भने । मगर जातिका मगर ढुट, काइसे र खाम गरी तीन वटा भाषा प्रचलनमा रहेका रहेका छन् । म्याग्दीको कुहूँका मगरले खाम भाषा बोल्ने गरेका र अहिले त्यहाँ खाम भाषा लोप भइसकेकाले त्यस क्षेत्रको इतिहासका बारेमा धेरै कुरा बाहिर आउन नसकेको उनको भनाइ छ । चिटिक्क परेको बाक्लो बस्ती, खेतीका लागि उर्वर जमिन, प्राकृतिक सुन्दरताले ऐतिहासिक महत्वको ठाउँ भएर पनि कुहूँ गाउँ बत्तिमुनिको अध्याँरो नियतिलाई भोग्न बाध्य भएको छ । यहाँ रहेको १७औं शताब्दीको सुरुङ, मालिका देवीको किंवदन्ती, गाउँको शिरानमा रहेको जङ्गलमा रहेका जैविक सम्पदा, ऐतिहासिक पर्वत राज्यमा कुहूँले गरेको योगदान आदि विषय खाम भाषा र लिपिको अभावका कारण इतिहासको गर्भमा नै रहेका स्थानीय टेक रोकाले बताए । उनका अनुसार सुरुङ रहेको स्थानको पूर्वतर्फबाट तामाको सिक्का खसाल्ने हो भने त्यो सिक्का बजेको आवाज तीन मिनेटसम्म सुन्न सकिन्छ । सुरुङ रहेको पहराको शिरानबाट म्याग्दीका अधिकांश गाउँ, हिमशृङ्खला र वनजङ्गलको मनमोहक दृश्य देखिन्छ । स्थानीय ज्येष्ठ नागरिकका अनुसार सो सुरुङको प्रवेश भाग मालिका मन्दिरको छेउबाट कुखुराको भाले भित्र छिराउने हो भने हालको बेनी नगरपालिका-४, सिङ्गा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालय तातोपानी कुण्डको छेउमा रहेको ओढारबाट निस्कने गरेको किंवदन्ती रहेको छ । सो सुरुङको भित्रितर्फको मध्यभाग दुईतिर फैलिएको छ । पूर्व–पश्चिम सिधा मार्ग रहेको छ भने सुरुङभित्र तलतिर जाने ओढार पनि रहेको बताइन्छ । सुरुङको प्रचारप्रसार गरी त्यसको ऐतिहासिक महत्वका बारेमा बुझाउन र देखाउन सक्ने हो भने सो स्थान म्याग्दीको आकर्षक ऐतिहासिक विरासत बोकेको पर्यटकीय स्थान हुनसक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ ।
निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ : उपप्रधानमन्त्री महासेठ
काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले भने, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।’ उनले मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताए । यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उनले बताए । ‘निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ,’ मन्त्री भण्डारीले भने । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। उहाँले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ भने । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तयारी पोशाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न, मुलुकमा लगानीको वातावरण निर्माण गर्न सुझाव दिए । उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभा, उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य एवं सङ्घका सदस्य गणेश पराजुलीले नेपालको निर्यातजन्य वस्तुको प्रमुख हिस्सा तयारी पोशाक रहेको उल्लेख गर्दै निर्यातमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । उनले निर्यातमा अनुदान दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन सुझाव पनि दिए । प्रतिनिधिसभाको उद्योग–वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य सीता मिजारले उद्योग व्यवसायलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिँदै निकासी प्रवद्र्धनमा ध्यान दिन आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोशाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रूपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन अनुरोध गरे । सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउन थप सहयोग आवश्यक भएको उनले बताए । नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन सुझाव दिए । आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गरे । नेपाल तयारी पोशाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाक उद्योगलाई प्रवद्र्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिए । सन् १९८७ मा स्थापना भएको सङ्घमा एक सयभन्दा बढी तयारी पोशाक उद्योगी आबद्ध छन् । तयारी पोशाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सृजना भएको सङ्घले जनाएको छ । गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब रु नौ अर्ब बराबरको तयारी पोशाक निर्यात भएको सङ्घले जनाएको छ । तयारी पोशाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा छ । गलैँचा प्रथम र तयारी पोशाक दोस्रो स्थानमा रहेको सङ्घका अध्यक्ष पाण्डेले जानकारी दिए । त्यस अवसरमा उपप्रधानमन्त्री महासेठले सन् २०२२/२३ मा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने तीन उद्योगलाई सम्मान प्रदान गरेका थिए । सो अवधिमा ट्राई क्रट इन्डस्ट्रिजले रु एक अर्ब १७ करोड, नेपाल फेसन प्रालिले रु ६६ करोड र पल्स फेसन सोलुसन प्रालिले रु ४३ करोडको तयारी पोशाक निर्यात गरेको थियो । सङ्घको कार्यसमितिमा १० वर्षभन्दा बढी समय सेवा गरेका पदाधिकारी एवं सदस्यलाई सम्मान गरिएको थियोभने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साधारणसभाको सफलताको कामना गर्दै पठाएको शुभकामना सन्देश सुनाइएको थियो ।
चीनमा उपभोक्ता मूल्य ६ महिनामा पहिलो पटक बढ्यो, उत्पादक मूल्यमा २.७ प्रतिशत गिरावट
बेइजिङ । अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्यांकले देखाएको छ । बेइजिङस्थित राष्ट्रिय तथ्यांक विभाग (एनबीएस) का अनुसार उपभोक्ता मूल्य सूचकांक गत महिना ०.७ प्रतिशतले बढेको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकांक ०.८ प्रतिशतले घटेको थियो । ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । सन् २०२१ पछि पहिलो पटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगस्टमा केही समयका लागि सन्तुलन आए पनि त्यसयता मूल्यमा निरन्तर गिरावट आएको छ । परम्परागत रूपमा चिनियाँ नयाँ वर्षको अवधिमा उपभोक्ता मूल्यमा वृद्धि हुन्छ, तर यस वर्षको फेब्रुअरीमा यसको मूल्यमा कमी आएको थियो । एनबीएसका अनुसार फेब्रुअरीमा उत्पादक मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ । रासस
अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक नभइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए । उनले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए । उनले चैत्र २८ गतेको महासंघको साधारण सभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुने गरी एउटा कार्यक्रम गर्न लागेको बताए । निजी क्षेत्रका आर्थिक एजेन्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने उनको भनाइ छ । ‘हामी आग्रह गर्दछौँ कमसेकम इकोनोमिक एजेण्डामा राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ, इकोनोमिक एजेन्डामा यहाँहरू एक ठाउँमा आउनुभयो भने देशको समृद्धि सहजै सम्भव छ,’ उनले भने, ‘व्यावसायिक एक्टिभिटी बढ्यो भने रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्शन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भन्ने हुन्छ, त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला ।’ उनले चैत्र २८ गतेको महासंघको साधारणसभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुने गरी एउटा कार्यक्रम गर्न लागेको बताए । उनले निजी क्षेत्रका आर्थिक एजेन्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने बताए । सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेन्ट छिटो पास गर्न आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ छ ।
नयाँ दिल्ली र मालेबीच विवादले माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटक एक तिहाइले घटे
माले । गत वर्षको तुलनामा यो वर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको संख्यामा ३३ प्रतिशतले कमी आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ दिल्ली र मालेबीचको कुटनीतिक सम्बन्धमा तनाव आएसँगै माल्दिभ्स आउने पर्यटक संख्यामा पनि कमी देखिएको हो । सन् २०१९ को मार्च सम्ममा २७ हजार २२४ जना भारतीय पर्यटक आएका थिए । पर्यटन मन्त्रालयको सन् २०२३ को तथ्यांकअनुसार सन् २०२३ को मार्च ४ सम्ममा माल्दिभ्समा ४१ हजार ५४ भारतीय पर्यटकले भ्रमण गरेका थिए । माल्दिभ्सको अधाधु अनलाइनका अनुसार यो वर्षको पहिलो दुई महिनामा २७ हजार २२४ भारतीय पर्यटक माल्दिभ्स पुगेका छन् । गत वर्षको तुलनामा यो सङ्ख्या १३ हजार ८३० ले कम हो । गत वर्षको पहिलो दुई महिनाको अवधिमा माल्दिभ्समा पर्यटकका लागि भारत १० प्रतिशत बजार हिस्साका साथ दोस्रो ठूलो स्रोत थियो । यद्यपि, यो वर्ष भारतीय पर्यटकको सङ्ख्या ६ प्रतिशतका साथ सूचीको छैटौं स्थानमा रहेको छ । माल्दिभ्सका तीन उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर अपमानजनक टिप्पणी गरेपछि दुई देशबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले भारतीय टापु समूहलाई समुद्र तट पर्यटन र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गन्तव्यका रूपमा विकास गर्न आह्वान गरेका थिए । नयाँ दिल्लीले माल्दिभ्सका राजदूतलाई बोलाएर भाइरल पोस्टको कडा विरोध गरेपछि यो विषयले ठूलो कूटनीतिक विवाद निम्त्याएको थियो । तीनै जना उपमन्त्रीलाई निलम्बनमा राखिएको छ । यस वर्षको सुरुमा माल्दिभ्सको पर्यटन उद्योगका सरोकारवाला अधिकारीले भारतमा बहिष्कार अभियानले गति लिएको र लोकप्रिय भारतीय फिल्म स्टारहरूको समर्थन प्राप्त गरेकोमा चिन्ता व्यक्त गरेका थिए । माल्दिभ्स एसोसिएसन अफ ट्राभल एजेन्ट्स एण्ड टुर अपरेटर्स (माटाटो) ले भारतीय पाहुनाको बुकिङ रद्द गर्दा परेको असरबारे सर्वेक्षण गरेको थियो तर उक्त निष्कर्ष सार्वजनिक गरिएको थिएन । सन् २०२१र०२३ सम्म माल्दिभ्स पुग्ने भारतीय पर्यटकको सङ्ख्या दुई लाखको हाराहारीमा रहेको छ । यद्यपि, यस वर्ष अहिलेसम्म सबैभन्दा बढी अर्थात् ५४ हजारभन्दा बढी चिनियाँ पर्यटकहरूको आगमनको भएको र माल्दिभ्सको पर्यटनका लागि चीन नै शीर्ष बजार भएको छ । एजेन्सी
कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा अध्यक्षका लागि पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको पार्टीका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए । कांग्रेसले पार्टीका तर्फबाट राष्ट्रियसभा अध्यक्ष तथा उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने अहिले निर्णय नलिइसकेको उनको भनाइ छ । यसैगरी, बैठकले राष्ट्रियसभा अध्यक्षमा सहयोग खोज्न विपक्षमा रहेका अन्य दलसँग परामर्श गर्ने निर्णय गरेको नेता केसीले बताए । आजको बैठकमा बदलिँदो परिस्थिति र नयाँ गठबन्धनपछिका बारेमा छलफल भएको थियो । संसद्मा पार्टीका तर्फबाट निर्वाह हुने भूमिकाबारे समेत बैठकमा छलफल भएको नेता केसीले बताए ।
गलेश्वरमा शिवरात्रिका दिन ४ लाख भेटी संकलन
म्याग्दी । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन चार लाख रुपैयाँ भन्दा बढी भेटी संकलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी शनिबार बिहान गनिएको हो । यस वर्षको महाशिवरात्रि पर्वमा चार लाख २९ हजार तीन सय ८८ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुनले जानकारी दिइन् । पश्चिमको पशुपतिनाथका रूपमा परिचित गलेश्वरमा शिवरात्रिमा म्याग्दीका साथै पर्वत, बागलुङ, कास्की, चितवन, तनहुँ, स्याङ्जा, राजधानी काठमाडौंलगायत स्थानबाट करिब ५० हजार भक्तजन दर्शन गर्न आएका कोषाध्यक्ष पुनले बताइन् । महाशिवरात्रि पर्वमा कालीगण्डकी स्नान र गलेश्वरमा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । खेतीबाली लगाउने किसान फुर्सद, मौसम अनुकूल र बेनी–गलेश्वर सडक कालोपत्र भएकाले विगतको तुलनामा यसपालि भक्तजन आगमन बढेको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए । जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा महाशिवरात्रि मेलालाई व्यवस्थित गरिएको थियो । साउनको सोमबार, बालाचतुर्दशी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा भेटी गन्ने गरिएको छ । गत साउनदेखि यता ३७ लाख ९८ हजार सात सय पाँच रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए । गलेश्वरमा संकलन भएको भेटी शालिग्राम वेद विद्याश्रम, ज्येष्ठ नागरिक आश्रम, कोषको कार्यालय सञ्चालन र भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए ।
नागस्तम्भ निर्माणपछि काभ्रेको बस्नेत गाउँमा धार्मिक पर्यटक बढे
काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका–५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् । अरनिको राजमार्गबाट करिब तीन किलोमिटर भित्र पर्ने पालेको सामुदायिक वन नजिकै रहेको बस्नेत गाउँलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जुटेका हुन् । गाउँको माथिल्लो सिरानमा रहेको पुरानो महादेव मन्दिर र नागको स्तम्भ निर्माण गरिने स्थानीय बताउँछन् । महाशिवरात्रिको अवसर पारेर यहाँका स्थानीयले शुक्रबार होम गरी नागको पूजा गरेका छन् । गाउँको विकासका लागि ‘बस्नेत गाउँ बिरुवा पाटो गट्टीखेल तथा संरक्षण मञ्च’ गठन गरी सबैलाई एकजुट बनाउँदै पर्यटन प्रवर्द्धनमा स्थानीय जुटेका मञ्चका अध्यक्ष हरिभक्त शाहीले बताए । ‘यसअघि नै यहाँ नागको मन्दिर थियो’, उनले भने, ‘संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएकामा अहिले गाउँले एकजुट भएर नागको स्तम्भ तथा महादेव मन्दिर निर्माणमा जुटेका छौं ।’ गाउँको माथिल्लो भागमा हरियाली वन, तल सुन्दर बस्ती र बीचमा भागमा मन्दिर निर्माण गरी आवश्यक संरचनासमेत निर्माण गरिने मञ्चका अध्यक्ष शाहीले बताए । बनेपा बजारबाट नजिकै रहे पनि प्रचारप्रसारको कमी हुँदा ओझेलमा परेकाले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी संरक्षण तथा पर्यटन प्रवर्द्धनमा लागेको स्थानीय भीमप्रसाद दाहालले बताए । पर्यटकीयस्थलका रूपमा विकास भएमा यहाँको सडक विस्तार हुनुका साथै व्यापार व्यवसाय चलायमान हुँदा आर्थिकस्तर पनि वृद्धि हुने अपेक्षा लिइएको उनको भनाइ छ । पहिला वस्तुभाउका लागि घाँस र दाउरा खोज्न जाने वन क्षेत्रको संरक्षण गर्दै पर्यटकीयस्थलका रूपमा विकास गर्न सबैको सहयोगबाट मन्दिरका साथै आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको स्थानीय कृष्णबहादुर महतले बताए । स्थानीय अमृतबहादुर थापाले भने, ‘पहिला मानिसले यहाँ बसोबास गरी खेतीपाती गर्दथे । खेतीका लागि बारीको पाटा खन्ने क्रममा यस ठाउँमा नागको बास थियो । नाग बसेको ठूलो ढुङ्गा फुटाउँदा नागलाई लागेर कुप्रो भएपछि सोही बेलादेखि यहाँ नागको पूजा गरिँदै आएको कथन छ ।’ सोही समयदेखि यहाँ खेती गर्न छोडिएको भन्दै अहिले अहिले युवापुस्ता धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न जुटेकामा उनले खुशी व्यक्त गरे । केही वर्षअघिसम्म यहाँका स्थानीयले गाईबस्तु जङ्गलमा चराउन लैजाँदा यहाँको नाग स्तम्भमा गोठ र आईतबारे पूजा गर्दै आएका स्थानीय वृद्धा हरिप्रसाद दाहालले बताए । पछिल्लो समय युवापुस्ताले परम्परालाई छोड्दै गएपछि स्थानीय बस्नेतले महादेवको थान रहेको स्थानमा सामान्य पूजा मात्रै गर्दै आएका उनले सुनाए । सोही स्थान नजिकैबाट ढकाल गणशेस्थान हुँदै बगेको पानीले मङ्गलबार नुहाउने गरेमा शरीरको रोग पखालिन्छ भन्ने जनविश्वास अहिले पनि रहिआएको दाहालले बताए । बस्नेत गाउँ पुग्नका लागि बनेपा घोकेचौर हुँदै मोटरबोटाबाट जान सकिन्छ भने आजादडाँडाबाट समेत मोटरबाटो भएर यहाँ पुग्न सकिन्छ । पछिल्लो समयमा घोकेचौरबाट मोटरबाटो स्तरोन्नति भइरहेको छ । ढकाल गणेशस्थानबाट सिँढी निर्माणका लागि आवश्यक योजना बनाइरहेको संरक्षण मञ्चले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७५ जना लाभाविन्त भएका छन् । रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिनकोट अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । वडा नं ९ स्थित मङ्गलटार स्वास्थ्य चौकीमा महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालन गरिएको उक्त शिविरमा एक सय ७५ ले स्वास्थ्य परीक्षण गराएका स्वास्थ्य चौकीका प्रमुख निशा बरालले जानकारी दिए । सामान्य उपचार गर्नेमा ६७, स्त्रीरोगसम्बन्धी ५१, हाडजोर्नी ९७, सामान्य सर्जरी १६ तथा अन्य स्वास्थ्य सेवा लिनेमा २६ जना रहेका छन् । शिविरमा रोशी–७, ८, ९, १०, ११ र १२ तथा तेमाल गाउँपालिका–८ का स्थानीयले सेवा लिएका थिए । उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविरमा गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, भद्रदल गणका प्रमुख, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, अस्पतालका निमत्त सुपरिटेन्डेन्ट डा मधुकर दाहाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमख गङ्गालाल श्रेष्ठलगायतको उपस्थिति थियो । सो अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्षसहित १२ जनाले रक्तदान गरेका थिए । रासस