काठमाडौंबाट पूर्व जाने बस एउटै व्यवस्थापनमा सञ्चालन हुने

<p>काठमाडौं । काठमाडौंबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु भएका छन् । यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन् । पूर्वबाट काठमाडौं आउने सवारीसाधन ‘झापा संयुक्त यातायात व्यवस्थापन’ बाट सञ्चालन हुँदै आएका छन् ।  पूर्व यातायात [&hellip;]</p>

काठमाडौं । काठमाडौंबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु भएका छन् ।

यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन् ।

पूर्वबाट काठमाडौं आउने सवारीसाधन ‘झापा संयुक्त यातायात व्यवस्थापन’ बाट सञ्चालन हुँदै आएका छन् ।  पूर्व यातायात व्यवस्थापन प्रालिका सल्लाहकार श्रेष्ठले पछिल्लो समय धराशायी बन्दै गएको नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न आजदेखि एउटै व्यवस्थापनको सुरुवात गरिएको जानकारी दिए ।

एउटै व्यवस्थापनमा सञ्चालन भएसँगै अब काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रंगेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतमा सम्बन्धित क्षेत्रका टिकट काउन्टरमार्फत सञ्चालन हुनेछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत देशभरका ३० भन्दा बढी प्रालिमार्फत छुट्टाछुट्टै रूपमा सञ्चालन हुँदै आएका बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज भएको छ ।

हाल काठमाडौंबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, विराट, स्वयम्भू नेसनल, मेची एयर, अग्नि, रकेट, बिहानी, बुलेट, महालक्ष्मी, मेट्रो कोसी, रक्षक, सुप्रिमलगायत कम्पनीका बस सञ्चालन हुँदै आएका छन् ।

संयुक्त व्यवस्थापनका लागि आवश्यक मार्गनिर्देशन, राय तथा सुझाव प्रदान गर्नका लागि पूर्व यातायात व्यवस्थापन प्रालिले यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र अग्रज यातायात व्यवसायी श्रीप्रसाद मैनाली सम्मिलित पाँच सदस्यीय समिति बनाएको छ ।

पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले व्यवसायीबीच रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्दै दुर्घटना रोक्नका लागि उक्त व्यवस्थापनले सहयोग पुग्ने बताए । उक्त व्यवस्थापनले व्यवसायीको लगानीलाई सुरक्षित गर्दै व्यवसायलाई संरक्षण  र सम्बर्द्धन गर्ने उल्लेख गरे ।

यसअघि काठमाडौं महानगरपालिकाले महानगरभित्र जथाभावी रूपमा सञ्चालनमा आएका टिकट काउन्टरलाई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउन उपत्यकाबाहिर सञ्चालित यात्रुवाहक बसले अनिवार्य रूपमा कामपामा दर्ता गराउनुपर्ने निर्णय गरेको थियो ।

महानगरले उक्त निर्णयलाई बेवास्ता गरेर आफूखुसी टिकट बुकिङ कार्यालय तथा काउन्टर खोलेको पाइएमा हटाउने बताएपछि यातायात कम्पनीहरूले एउटै व्यवस्थापन बनाएर सञ्चालन सुरु गरेका हुन् । रासस

Share News