विकासन्युज

कमाउने थलो बने मेला-महोत्सव, स्थानीय उत्पादकलाई भ्याईनभ्याई

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–९ रामघाटकी सुशीला चौधरी दुनाटपरी बनाउने काम गर्छिन् । गाउँकै अन्य नौ जना महिलालाई जुटाएर उनले दुनाटपरी बनाउने उद्योग नै सञ्चालन गरेकी छन् । गत मङ्सिरयता दुनाटपरी बनाउन थालेका उनीहरूलाई आजभोलि दुनाटपरी बेच्न भ्याइनभ्याइ छ । कञ्चनपुरको महेन्द्रनगरमा उद्योग वाणिञ्ज सङ्घले आयोजना गरेको मेलामा उनीहरूको दैनिकी व्यस्त बनाएको छ । ‘मेला प्रदर्शनी कक्ष थापेका छौँ । गाउँमै उत्पादित दुनाटपरी बेच्छौँ,’ उनले भनिन्, ‘दुनाटपरी निकै रुचाइएको छ । यसले बजारीकरणमा टेवा पुर्‍याएको छ ।’ विभिन्न आकारको दुनाटपरी उत्पादन गरेर बिक्रीका लागि राखिएको छ । गाउँ नजिकैको रामघाट सामुदायिक वनबाट पात संकलन गरेर दुनाटपरी तयार गर्ने गरिन्छ । ‘दुनाटपरी बनाउनेमा कार्यमा दश महिला संलग्न छन् । बिहानै जङ्गल गएर सालको पात टिपिन्छ,’ उनले भनिन्, ‘पात सुकाएर पछि सिन्काले जोडिन्छ । त्यसपछि मेसिन राखेर दुनाटपरीको आकार दिइन्छ ।’ बैतडीको दोगडाकेदार गाउँपालिका–७ का टेकबहादुर कार्कीले पनि महेन्द्रनगरको महोत्सवमा डोको, सुप्पो, दलहन, अचार, घ्यू, महलगायत स्थानीय उत्पादनको प्रदर्शनी कक्ष राखेका छन् । उनले बैतडीमा निगालोबाट तयार पारिका डोको, सुप्पा बिक्रीका लागि महेन्द्रनगर ल्यााएका छन् । ‘कैलाली कञ्चनपुरका मेला महोत्सवमा बिक्री गरिन्छ । बैतडीमा उद्यु उद्यममा उत्पादन गरिएका वस्तु बिक्री गरिन्छ,’ उनले भने, ‘कतिपय वस्तु स्थानीयबाट संकलन गरेर ल्याउँछौँ । प्रचारप्रसार राम्रो भएको छ । बिक्री पनि राम्रै छ ।’ सङ्घको आयोजनामा यही फागुन २१ गतेदेखि महेन्द्रनगरमा ‘सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव’ जारी छ । मेलाले स्थानीयस्तरमा उत्पादित कृषि, खाद्यसहितका वस्तु तथा सेवाको प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याएको सङ्घका अध्यक्ष पिताम्बर जोशीले विश्वास व्यक्त गरे । ‘स्थानीयस्तरमा उत्पादित खाद्यान्न, कृषि उत्पादन तथा लघु उद्यमलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘दिनहुँ सयौँले अवलोकन गरिरहनुभएको छ । यसले यहाँ उत्पादनको प्रचारप्रसार भइरहेको छ ।’ पहिलो पटक मेलामा थारु समुदायको मौलिक परिकारसहितको थारु गाउँ पनि राखिएको छ । त्यहाँ थारु मौलिक पहिचान झल्किने सङ्ग्रहालय तथा परिकार ढिक्री, घुँगी, माछा, सुँगुरको मासुलगायत छन् । ‘मेला महोत्सवमा थारु परिकार बेच्न लागेको आठ वर्ष भयो । एक याममा तीन÷चार लाख आम्दानी हुन्छ,’ कैलालीको जोशीपुर गाउँपालिका–६ सिमरीका अञ्जुराज डगौँरा भन्नुहुन्छ, ‘मेला महोत्सव हाम्रो लागि कमाउने थलोजस्तै बनेको छ ।’

तनहुँ जलविद्युतमा १७ सय बढी स्थानीयलाई रोजगारी, भौतिक प्रगति ५१.४४ प्रतिशत

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामा तनहुँभित्रका एक हजार सात सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न प्याकेजमा तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका हुन् । प्रभावित स्थानीय तह र जिल्लाभित्रका बासिन्दालाई रोजगारी दिने उद्देश्यसहित प्याकेज एक, प्याकेज दुई र प्याकेज तीन मै स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘तनहुँकै सबैभन्दा ठूलो आयोजनाको काममा स्थानीयलाई नै प्राथमिकता दिएका हौँ ।’ उनका अनुसार आयोजनाबाट प्रभावित घरधुरीमध्येबाट ३२, प्रभावित वडाबाट एक हजार पाँच सय ७७ र प्रभावित क्षेत्रबाट एक सय ६१ गरी तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका छन् । त्यसमध्ये प्याकेज १ मा एक सय ३०, प्याकेज २ मा एक सय ९७, प्याकेज ३ मा २० जनाले रोजगारी पाएका छन् । त्यस्तै तनहुँ हाइड्रोपावर लिमिटेडमा ४१, पिएससीतर्फ नौ र सिडिपीमा एक हजार तीन सय ६६ जनाले रोजगारी पाएका छन् । सबै प्याकेजमा तनहुँ बाहिरका एक हजार ४१ र विदेशी एक सय ४५ जनाले रोजगारी पाएको आयोजनाले जनाएको छ । सबैमा गरी कूल दुई हजार नौ सय ५६ जनाले रोजगारी पाएका छन् । त्यसमध्ये दुई हजार छ सय ६३ पुरुष छन् भने दुई सय ९३ महिला छन् । ५१ दशमलव ४४ भौतिक, ४६ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति निर्माण सुरु भएको पाँच वर्षको अवधिमा आयोजनाले ५१ दशमलव ४४ प्रतिशत भौतिक प्रगति गरेको छ । यस्तै ४६ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ । आयोजनाले तीन प्याकेजमा ठेक्कामार्फत काम गरिरहेको छ । श्रेष्ठका अनुसार प्याकेज १ मा २७ दशमलव ७५ प्रतिशत भौतिक र २३ दशमलव ८८ प्रतिशत आर्थिक प्रगति भएको छ । प्याकेज २ मा ५१ दशमलव १४ प्रतिशत भौतिक र ४४ दशमलव शून्य नौ प्रतिशत आर्थिक प्रगति भएको छ भने प्याकेज ३ मा ७६ दशमलव पाँच प्रतिशत भौतिक र ७२ दशमलव छ प्रतिशत आर्थिक प्रगति हासिल भएको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ, आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।’ आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उनले बताए । आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण केही महिना अघिदेखि जारी छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो । अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए । आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । भूमिगत विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खन्ने काम भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४ दशमलव सात किमि प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७४ टावरहरुको जग हालिएको छ । सोह्र टावरको जग संरक्षण गर्ने कार्य सम्पन्न भएको छ भने तीन स्थानमा जारी छ । यस अवधिमा निर्माण व्यवसायीले टावरका विभिन्न उपकरण छिर्कनेमा रहेको स्टोरमा आपूर्ति गरेको जनाइएको छ । आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ । यसअन्तर्गत स्थानीय रुपमा विद्युत आपूर्तिका लागि घिरिङ–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुई सवस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरूमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

सरकार निजी क्षेत्रसँग मिलेर काम गरिरहेकाले लगानी बढाउन उपयुक्त समय छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गरेका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको लगानी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन साउदी लगानीकर्ताहरूलाई आग्रह गरेका हुन् । लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्ताहरूलाई सहज वातावरण बनाउन नेपाल सरकारले नीजि क्षेत्रसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताहरू लागि नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताए । नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृर्षिमा थप लगानीका सम्भावनाहरू सृजना भएकाले लगानीकर्ताहरूका लागि थप अवसरहरू सृजना भएको तर्फ अध्यक्ष ढकालले साउदी लगानीकर्ताहरूको ध्यानाकर्षण गराए । सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । जलविद्युत उत्पादनको लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युतमा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीका लागि समेत अध्यक्ष ढकालले आग्रह गरे । पर्यटन क्षेत्रमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको आफ्नै मौलिक विशेषताहरु भएकाले होटेल रिसोर्ट तथा केबलकार परियोजनाहरूमा आफूले लगानी बढाएको उदाहरण दिँदै अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरूका लागि पर्यटन बजार पनि आकर्षण रहेको बताए । सूचना प्रविधि र व्यावसायिक कृर्षिमा बढ्दो बजार मागले पनि लगानीकर्ताहरुलाई थप अवसरहरु सृजना गरी रहेकोले यसतर्फ ध्यान पुर्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे । बाह्य लगानीलाई सहज बनाउन महासंघले लगानी र व्यापार नीतिको मस्यौदामा सरकारसँग नजिक रहेर काम गरिरहेकाले नीतिगत समस्याहरूमा अप्ठ्यारो महसुस नगर्न पनि अध्यक्ष ढकालले साउदीका लगानीकर्ताहरुलाई आश्वस्त पारे । महासंघले वैदेशिक लगानी हेल्प डेस्क मार्फत लगानीकर्ताहरूलाई सेवाहरू प्रदान गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले यसले लगानीकर्ताहरुलाई थप सहज बनाएको बताए । आगामी वैशाखमा हुन गइरहेको नेपाल लगानी सम्मेलनमा लगानीका प्रतिबद्धता सहित सहभागी हुन पनि अध्यक्ष ढकालले साउदीका लगानीकर्ताहरुलाई आग्रह गरे । लगानी वेविनारमा लगानी बोर्डका प्रमुख कार्यकारी सहित साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूत सहित साउदी अरब तथा नेपालका लगानीकर्ताहरूको सहभागिता रहेको थियो ।

महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

काठमाडौं । महालक्ष्मी विकास बैंकले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत उक्त क्यालेन्डर प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्बिरहरू मार्फत् सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहक समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्बिरहरूमध्येका उत्कृष्ट १२ तस्बिरहरू समावेश गरिएको छ । मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेबसाइटमार्फत डाउनलोड गर्न सक्नेछन् ।

गरिमा विकास बैंकको ब्लु डायमण्ड सोसाइटीमा वित्तीय जागरण कार्यक्रम

काठमाडौं । ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारा बनाई गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाइटीका एलजीबीटीक्यू समूहलाई लक्षित वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चाबहिल शाखाद्वारा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रडबारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो । कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भ बन्न सघाउ पुर्‍याई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ । कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीको तर्फबाट अध्यक्ष शीतल पिंकी गुरुङको उपस्थिति रहेको थियो भने गरिमा विकास बैंकको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दीपक राज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चाबहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने भएको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको अपराह्न बसेको बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्मा लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । राष्ट्रियसभा अध्यक्षको चुनाव मंगलबार हुँदैछ । कांग्रेसले नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउने उद्देश्यसहित चुनावमा अघि सारे पनि सत्ता गठबन्धन परिवर्तन भएसँगै नयाँ उम्मेदवार खडा गरिएको बताइएको छ । सभापति शेरबहादुर देउवाले भने सिटौलालाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेका छन् । सत्ता गठबन्धनले भने माओवादी केन्द्रबाट राष्ट्रियसभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको छ ।

संस्कृति जगेर्ना र पहिचान खोज्दै जनजाति

महोत्तरी । बर्दिबासमा आदिवासी जनजातिको चौथो महोत्सव जारी छ । गत बिहीबारदेखि सुरु भएको १२ दिने महोत्सवमा आफ्नो जातीय पहिचान र संस्कृतिको जगेर्ना नै मुख्य रुपमा यहाँका जनजातिले उठाएका छन् । आगामी चैत ५ गतेसम्म रहने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा भएको महोत्सवमा यहाँका नौ जनजाति समुदाय सरिक छन् । त्यसमा मधेसका रैथाने दनुवार, थारू, धानुक तथा पर्वते मूलका भए पनि यहाँ पुस्तौँदेखि बसोबास गर्दै आएका मगर, तामाङ, घर्ती, नेवार, राई किरात र माझी सम्मिलित छन् । पाका उमेरका दनुवारको अहिले पनि कम्मरमा ‘डेली’ (माछा समातेर राखिने बाँसको चोयाले बनेको ढुङ्ग्रो) भिरेर छिपछिपे पानी देख्नासाथ ‘खौकी’ (माछा मार्ने सानो जाल) डुबाउनु दैनिकी छ । मधेसका आदिवासी दनुवारको विवाहमा अहिले पनि दुलहा (बेहुला) ले काँधमा तरबार भिरेर विधि सम्पन्न गर्ने चलन छ । दनुवार महाभारतकालका कौरव, पाण्डवका सशस्त्र शिक्षाका गुरु द्रोणाचार्यसँग पुख्र्यौली साइनो जोडछन् । द्रोणसँगको साइनोले ‘द्रोणवार’ भनिँदै पछि आफ्नो जाति ‘दनुवार’ भनिन लागेको बताउने यिनीहरु आफ्नो जातीय संस्कृति झल्काउने पहिरन र सामग्रीका साथ महोत्सवमा सरिक छन् । कृषि मुख्य पेसाका दनुवार, थारूले परम्परागत हलोजुवा, कोदालोसहितका कृषि ज्यावलको प्रदर्शनी र फरकफरक चाडपर्वको झलक दिने परिकार महोत्सवमा पस्कँदै छन् । महोत्सवमा जाडोयाममा खाइने चामलको पीठो बफ्याँएर पकाइने बगिया, तिलासक्रायतलाई र छठ पर्वका ठकुवाभुसुवा तथा दीपावली पर्वका विशिष्ट परिकार घुरियालो (सेलजस्तै) सहितका मिष्टान्न परिकार छन् । वेशभूषा, बोलीचाली, चाडबाड र परम्परागत व्यवसाय उस्तैउस्तै रहेका थारू, दनुवार जनजातिमात्र नभएर यहाँका मूल रैथाने आदिवासी मानिन्छन् । महोत्सवको मुख्य पक्ष नै जातीय परम्परा, संस्कृति परम्परा र रीतिथिति देखाउनु, बुझाउनु र सम्झाउनु रहेको दनुवार जागरण समाज महोत्तरीका सदस्य गौशाला–९ बिसरपुरका बासिन्दा पविसिंह दनुवार बताउँछन् । महोत्सवमा थारूले ‘घुँगी’ (शङ्खे कीराजस्तै सानो आकारको जीव) का परिकार, सिद्रा र कोदोका रोटीको स्वाद अवलोकनकर्तालाई चखाएका छन्  । यसैगरी, हातमा माछा मार्ने खौकी (जालजस्तै) र कम्मरमा ‘डेली’ (खौकीमा परेका माछा राख्ने बाँसको चोयाले बनेको एक प्रकारको भाँडो) भिरेर थारू र दनुवार युवाले महोत्सवमा सांस्कृतिक कार्यक्रम पस्कँदैछन् । यसैगरी, जातीय पहिरनमा सजिएका तामाङ, मगर, राई किरात, घर्ती, नेवार र माझी युवायुवती सबैको आँखामा पर्ने गरेका महोत्सव अवलोकनकर्ताको प्रतिक्रिया हुने गरेको छ । महोत्सवमा नेवारले १३ परिकार रहने नेवारी खाजा पस्कँदै छन् । महोत्सवले  पर्यटन र कृषि प्रवर्द्धनमा जोड दिएको छ । ‘हाम्रो समृद्धिको आधार नै पर्यटन प्रवद्र्धन र आधुनिक कृषि प्रणालीको विकास हो,’ आयोजक संस्थामा आबद्ध दनुवार जागरण समाजका सुखासिंह दनुवार भन्छन्, ‘यो महोत्सवलाई यसै कुरामा केन्द्रित गर्दैछौँ ।’ महोत्सवमा विभिन्न जातीय परम्परा र संस्कृति झल्काउने कार्यक्रमसँगै स्थानीय कृषि उत्पादन तथा लघुउद्यममा निर्मित सामग्री  प्रदर्शनीमा राखिएका छन् । महोत्सवले स्थानीय उद्यम र कृषिबारे चासो बढाउने तथा राज्यका निकायलाई यिनको प्रवर्द्धनमा झकझक्याउने अपेक्षा राखिएको महासङ्घले जनाएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादन, स्थानीय सीपबाट उत्पादित सामग्री र परम्परागत घरपरिवार प्रयोजनका सामग्रीको प्रदर्शनी तथा बेचबिखनका कक्षबारे दर्शकले चासोपूर्वक अवलोकन गरेका छन् । यी सामग्रीका एक सयभन्दा बढी प्रदर्शनी र बिक्री कक्ष सञ्चालन गरिएको छ । महोत्सवको १२ दिने अवधिमा पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मुलुकमा विभिन्न समयका राजनीतिक अधिकारका आन्दोलनले सफलता पाउँदै गए पनि पहिचानको आन्दोलन भने अझै निर्णायक बन्न नसकेको आदिवासी जनजातिको बुझाइ छ । महोत्सवमार्फत पहिचानसँग जोडिएका मुद्दाबारे थप बहसको वातावरण तयार गर्दै पछिल्लो पुस्तालाई आ–आफ्ना संस्कृति, परम्परा पछ्याउन (अनुसरण गर्न) प्रेरित गर्नु मुख्य ध्येय भएको आयोजक संस्थाका अध्यक्ष धननारायण श्रेष्ठको भनाइ छ । रासस

ट्रष्ट माइक्रो इन्स्योरेन्सले कारोबार गर्न सकेन, फाइल कम्पनी रजिष्ट्रारमा अड्कियो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वि.सं २०७९ मंसिरमा विभिन्न ७ वटा कम्पनीलाई लघुबीमा व्यवसाय गर्न इजाजतपत्र (लाइसेन्स) दिने निर्णय गर्याे । गर्डियन, क्रेष्ट र लिवर्टी माइक्रो लाईफ इन्स्योरेन्सले जीवन लघुबीमा र ट्रष्ट, स्टार, प्रोटेक्टिभ र नेपाल माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसाय गर्न अनुमति पाए । त्यसको ४ महिनापछि प्राधिकरणले २०७९ चैतमा लाइसेन्स पाएको लघुबीमा कम्पनीलाई ६ महिनाभित्र बीमा कारोबार सुरू गर्न निर्देशन दिएको थियो । प्राधिकरणले तोकेको समयभित्र अधिकांश लघुबीमा कम्पनीले कारोबार थालनी गरेर आफ्नो व्यवसायलाई बढाईरहेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार माघसम्म लघुजीवन बीमा कम्पनीहरूले २० हजार ८२२ वटा बीमालेख बिक्री गरेर ४ करोड २२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् भने निर्जीवन लघुबीमा कम्पनीहरूले ३१ हजार ८८१ वटा बीमालेख बिक्री गरेर ७ करोड ५ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । तर अरू कम्पनीसँगै लाइसेन्स पाएको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले भने हालसम्म आफ्नो कारोबार सुरु गर्न सकेको छैन । बीमा व्यवसाय गर्न अनुमति पाएको धेरै समय भइसकेको भएपनि कम्पनीले हालसम्म पनि आफ्नो संरचना तयार पार्न पनि सकेको छैन । ट्रष्ट माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल ढुंगानाका अनुसार कम्पनीले हालसम्म लघुबीमाको कारोबार सुरु गरेको छैन । अलिकति मात्रै प्रक्रिया बाँकी रहेकाले आजभोलिमा व्यवसाय सुरू गर्ने तयारी रहेको उनको भनाइ छ । साथै, नेपाल बीमा प्राधिकरणबाट व्यवसाय गर्न अनुमति पाइसकेको भएपनि कम्पनी रजिष्ट्रार कार्यालयमा केही काम बाँकी रहेको उनले बताए । ‘म कम्पनीको सीईओ भएर आएको दुई महिना मात्रै भयो । त्योभन्दा पहिला नै कम्पनीले लाइसेन्स पाएको थियो । म आइसकेपछि ९ वटा म्यानुअल बनाएर बीमा प्राधिकरणमा पठाए । बीमा प्राधिकरणबाट बुटवलको कार्यालय निरिक्षण गरेर व्यवसाय सञ्चालनको चिठी पठाएको छ,’ उनले भने, ‘बुटवलको अफिसको स्थान (लोकेसन) फरक परेको हुँदा त्यो परिवर्तन गराउन मात्रै बाँकी हो । कम्पनी रजिष्ट्रारको कार्यालयले ठेगाना सच्याएर पठाइसकेपछि लगत्तै कारोबार सुरू गर्छाैं ।’ कम्पनीले अन्तिममा लाइसेन्स पाएको हुँदा सबै कुरा व्यवस्थापन गर्न ढिलाइ भएको उनले बताए । ट्रष्ट माइक्रोले कारोबार ढिला सुरू गरेपनि नम्बर वान बन्ने उनको दाबी छ । ‘सबैभन्दा अन्तिममा लाइसेन्स हामीले पाएका हौं, कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत आउन बाँकी रहेकाले कारोबार गरेका छैनौं, हामीले कारोबार ढिला गरेपनि नम्बर वान कम्पनी बनाउँछौं,’ उनले भने, ‘कारोबार सुरू गरेपछि राम्रो होइन, बहुत राम्रो गर्छाैं, ४ वटा निर्जीवन लघुबीमा कम्पनीमा एक नम्बरमा आउँछौं ।’ कम्पनीको सञ्चालक समिति अध्यक्षमा जगत पोखरेल छन् । साथै, सञ्चालकहरूमा बविता खेतान, रचित अग्रवाल, दिपक बोहरा छन् । ५ जना सञ्चालक हुनु पर्ने व्यवस्था भएपनि अब एक जना सञ्चालक साधारण सभाबाट नियुक्त गर्ने तयारी रहेको उनले बताए । कम्पनीले छिट्टै वार्षिक साधारण सभा बोलाउने तयारी गरिरहेको उनको भनाइ छ । यस कम्पनीमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक लगायतको लगानी रहेको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल कम्पनीको बुटवलमा कार्यालयमा भौतिक निरिक्षण गरेर व्यवसाय सञ्चालन गर्न अनुमति दिइसकेको बताउँछन् । यसअघि प्राधिकरणले तोकेको समयमा व्यवसाय सुरू गर्न नसकेपछि कम्पनीलाई थप समय दिइएको उनले बताए । ‘लघुबीमाले ६ महिनाभित्र कारोबार गरिसक्नु पर्छ, यसअघि थप समय मागेपछि प्राधिकरणले समय दिएको थियो,’ उनले भने, ‘प्राधिकरणले कम्पनीको कार्यालय भौतिक रूपमा निरिक्षण गरेर कारोबार सुरू गर्न पत्र पठाइसकेको छ, अब छिट्टै सेवा सुचारू गर्छ होला ।’