सरकार र लघुवित्त पीडितबीच भयो ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
काठमाडौं । सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । लघुवित्त पीडित भन्दै आन्दोलन गर्दै आएको आन्दोलनरत पक्षसँग सरकारले शुक्रबार सहमति गरेको हो । सहमतिसँगै आन्दोलरत पक्षले सञ्चालन गर्दै आएको लघुवित्तविरुद्धको आन्दोलन पनि स्थगित भएको छ । सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको विरुद्धमा आन्दोलनरत पक्षसँग वार्ता गर्नको लागि बुधबार समिति गठन गरेका थिए । यस्ता छन् सरकार र लघुवित्त विरुद्धको आन्दोलनरत दुई पक्षबीच भएको ६ बुँदे सहमतिः १. लघुवित्त वित्तीय संस्थाहरू कम्पनी कानून बमोजिम दर्ता भइ सञ्चालनमा रहेको कारण सेवामुखी भन्दा नाफामुखी संस्थाको रूपमा विकास भएको र तिनीहरूलाई सेवामुखी बनाउनुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको हुँदा यस्ता संस्थाहरूलाई थप सेवामुखी संस्थाको रूपमा सञ्चालन गर्न के कस्तो नीतिगत एवं कानूनी व्यवस्था गर्न आवश्यक छ भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा अन्तर्राष्ट्रिय कानून समेतको अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्था सम्बन्धमा सिफारिस गर्न नेपाल सरकार, अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने । २. लघुवित्त वित्तीय संस्थाहरूको क्षेत्रमा देखिएका समस्या समाधानका विषयमा नेपाल राष्ट्र बैंकबाट हालसम्म भएका कार्यका सम्बन्धमा छलफल भइ देहायका विषयमा समयानुकूल सुधार र प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने र उक्त कानूनी तथा नीतिगत प्रावधान र राष्ट्र बैंकको निर्देशन पालना नगर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई प्रचलित कानून बमोजिम कारबाहीको दायरामा ल्याउने । क) नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाले ऋणीसँग लिन पाउने तोकिएको अधिकतम व्याजदर र सेवा शुल्क मात्र लिन पाउने व्यवस्था कडाइका साथ लागू गर्ने । ख) तोकिएको कर्जा सीमाभन्दा बढी सामूहिक कर्जा दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन र यसको उल्लंघन गर्ने वा गरेका संस्थाहरूलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्ने । ग) एक जना ऋणीले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन र दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने । घ) ऋण लिँदाकै बखत ऋणीको अनुमति बिना वा ऋणीलाई प्रभावमा पारेर निश्चित प्रतिशत रकम कट्टा गरी बचत खातामा रकम जम्मा गर्न लगाउने, ऋण लगानी गर्दाकै समयमा किस्ता बापतको रकम अग्रिम जम्मा गर्न लगाउने जस्ता कार्यलाई नियन्त्रण गर्ने । ङ) कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनाको सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रचलित कानून बमोजिम कारबाही गर्ने । ३) लघुवित्त वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा ऋणीलाई वित्तीय साक्षरता तथा सचेतना गराएर मात्र कर्जा प्रवाह गर्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले सम्बन्धित संस्थाबाट अनिवार्य रूपमा पालना गर्ने व्यवस्था मिलाउने । ४) आन्दोलनरत पक्षबाट एकल अंक ब्याजदर तथा १ प्रतिशत सेवा शुल्क कायम गर्न माग भएको सन्दर्भमा त्यस्तो ब्याजदर तथा सेवा शुल्क कम गरी समयानुकूल बनाउन अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका साथै लघुवित्त वित्तीय संस्थामा गरिने बचतको ब्याजदर र कर्जाको ब्याजदरको अन्तर कम गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नेपाल सरकार अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने । ५) विसं २०७२ सालको महाभूकम्प, नाकाबन्दी तथा कोभिड– १९ को समस्या एवं लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवं असुली गर्दा पालना गर्नुपर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्य गरेको समेत कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीहरुको साँवा, ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनस्र्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ्ग, दीर्घ रोगी) वास्तविक पीडितको कर्जा मिनाहा लगायतका विषयलाई सम्बोधन गर्नुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको विषयमा स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरू गरेको ६ दिनभित्र प्रतिवेदन पेस गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन सिफारिसका आधारमा लघुवित्त वित्तीय संस्थाको नियमन तथा सुधारका लागि आवश्यक नीतिगत तथा कानूनी सुधारका प्रक्रिया अघि बढाउने । ६) आन्दोलनरत संघर्ष समितिको तर्फबाट आन्दोलनका कार्यक्रमहरू स्थगन गर्ने ।
आईआईएमएस खेल उत्सव २०२४ सुरू
काठमाडौँ । ‘आईआईएमएस खेल उत्सव २०२४’ लगनखेलको सैनिक तालिम केन्द्रमा सुरू भएको छ । आईआईएमएसले आयोजना गरेको खेल उत्सव प्रतियोगितामा भलिबल, बास्केटबल, ब्याडमेन्टन, टेवलटेनिस, फुटबल लगायतका विभिन्न खेलहरू भइरहेका छन् । शुक्रबारदेखि सुरू भएको कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीले आफ्नो रुचि अनुसारको खेल खेलिरहेका छन् । कलेजले हरेक वर्ष पढाइसँगसँगै विद्यार्थीहरूलाई रिफ्रेसमेन्ट गर्न यस्ता प्रतियोगिताको आयोजना गर्ने गरेको छ । कलेजकी इन्फर्मेसन सर्पोट अफिसर प्रश्ना तामाङले विद्यार्थीलाई पढाइसँगै यस्ता खेलहरू खेलाउन पनि आवश्यक रहेको बताइन् । कलेजमा गएर पढ्नुमात्र ठूलो कुरा होइन, यस्ता गतिविधिले पनि विद्यार्थीको सिकाइमा फरक पार्छ,’ उनी भन्छिन्, ‘खेल उत्सवमा विद्यार्थी आफूलाई मन पर्ने खेलमा सहभागी भएर खेलिरहेका छन् ।’ उनले हरेक कलेजले गर्ने यस्ता अतिरिक्त क्रियाकलापबाट विद्यार्थीको सिकाइ क्षमता बढ्ने बताइन् । यो खेल उत्सव एउटा खेल्नको लागिमात्र होइन विद्यार्थीको पढाइभन्दा बाहिर एजुकेशनल ब्रेकमा प्रतिभा देखाउने एउटा मौका पनि हो । यस्ता क्रियाकलापले पढाइसँगसँगै विद्यार्थीको माइण्ड फ्रेस हुन्छ । पढाइसँगै आफ्नो रुतिलाई कसरी अगाडि बढाउन सक्छु भन्ने विद्यार्थाीका लागि अवसर पनि हो । खेलकुद विद्यार्थीका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । आईआईएमएसमा बीबीएमा अध्ययनरत छात्र विद्यार्थी बिनोद लम्सालले खेलकुद विद्यार्थीका लागि महत्वपूर्ण हुने बताए । खेल उत्सवमा फुटबल खेलिरहेका विनोदले विद्यार्थीलाई पढाइ भन्दा बाहिर पनि यस्ता कार्यक्रमले फोकस गर्ने भन्दै उनी स्वास्थ्यका लागि पनि आवश्यक रहेको बताए । ‘यो हाम्रा लागि एक्स्ट्रा करिकुलर एक्टिविटीज हो,’ उनी भन्छन्, ‘भोलि मैले यो फुटबल फिल्डमा पनि केही गर्न चाहान्छु भने ट्रेनिङ सेसन जस्तै पनि हुन्छ ।’ यस्ता कार्यक्रमम वर्षमा एक पटक भन्दा पनि हप्तामा एक पटक गर्न आश्वयक रहेको उनी बताउँछन् । कलेजकी एडमिसन अफिसर पुनम बानियाँ विद्यार्थीले पढाइभन्दा बाहेक अरू पनि केही गरुन् भन्ने उद्देश्यले विद्यार्थीलाई अवसर दिएको बताउँछिन् ।
नेपाल लाइफले सार्वजनिक गर्यो २०८१ सालको क्यालेन्डर
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्नुहुने संचालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्ने सेयरधनीहरु, नेपाल बीमा प्राधिकरण,अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८१ को अग्रीमशुभकामना समेत व्यक्त गरेका छन् । आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे । ‘किनकी जीवन अमुल्य’ छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० पौष मसान्त सम्ममा लगानी १८७.२८ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८३.६५ अर्व रुपैयाँ र शेयरधनी कोष १० अर्व ३३ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ७ वटा प्रादेशिक कार्यालय, १ वटा उप-प्रादेशिक कार्यालय र १८५ वटा शाखा/उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म २४४.२९ अर्व रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
हिमोफिलियाका बिरामी उपचारको पहुँचभन्दा बाहिर
काठमाडौं । हिमोफिलियाका बिरामी उपचारभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ । २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ३ हजार हिमोफिलियाका बिरामी भए पनि ८ सय १४ जनाले मात्र नियमित उपचार गराइरहेको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ । सोसाइटीका अध्यक्ष मुकुन्द घिमिरेले अहिले ८ सय १४ जना सम्पर्कमा आई उपचार गराइरहेको जानकारी दिए । उनले हिमोफिलियाको उपचार महँगो हुँदा सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको बताए । रगत जमाउने आवश्यक तत्त्वको कमीका कारणले लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ । यो एक वंशाणुगत समस्याका रूपमा देखिएको वीर अस्पतालका रगत रोग विशेषज्ञ डा. निरजकुमार सिंहले जानकारी दिए । ‘मानव शरीरमा हुने रगतको १३ तत्त्वमध्ये कुनै एउटाको कमीका कारण हिमोफिलिया हुन्छ,’ उनले भने, ‘यो वंशाणुगत र कोषमा उत्परिवर्तन भएर पनि हुन्छ ।’ दुईतिहाइ वंशाणुगतबाट र एकतिहाइ उत्परिवर्तनबाट हुने गरेको विश्वका विभिन्न देशमा गरिएका अध्ययनहरूले देखाएको डा. सिंहले बताए । एकपटक हिमोफिलियाका बिरामीलाई उपचार गर्दा २५ हजार रुपैयाँ लाग्ने भएकाले सर्वसाधारण उपचारको पहुँचबाहिर रहेको उनको भनाइ छ । ‘यो रोगको उपचार महँगो रहेको छ,’ रगत रोग विशेषज्ञ डा. सिंहले भने, ‘हाम्रोजस्तो मुलुकका नागरिकको यसको उपचारमा सहज पहुँच छैन । खर्च धान्नै गाह्रो छ । सरकारले ठोस नीति बनाएर वा कुनै तरिकाले उपचारमा सहयोग गर्नुपर्छ ।’ परीक्षण तथा उपचारमा लाग्ने ठूलो खर्च, राज्यपक्षबाट आवश्यकताअनुसारको बजेट विनियोजन नहुँदा हिमोफिलिया प्रभावित व्यक्तिको अवस्था दयनीय हुँदै गएको उनको भनाइ छ । वीर अस्पतालका रगत रोग विशेषज्ञ डा सिंहले हिमोफिलियाका बिरामीको पहिचान गरेर उपचारमा ल्याउनुपर्ने बताए । उनले राज्य अभिभावक बनेर बिरामीको उपचारमा सहयोग गर्नुपर्ने भनाइ राखे । ‘एकपटक शरीरबाट रगत बग्यो भने कम्तीमा उपचार गर्नका लागि २५ हजार रुपैयाँ लाग्ने गर्छ,’ उनले भने, ‘महँगो उपचार भएकाले राज्यले नै उपचारमा सहयोग गर्नुपर्छ ।’ हिमोफिलिया प्रभावित व्यक्तिहरू चोटपटक लाग्न सक्ने स्थानबाट सकभर जोगिनुपर्ने हुन्छ । शरीरमा रगत जमाउने आवश्यक तत्त्वमध्ये कुनै तत्त्वको मात्रा १ प्रतिशतभन्दा कम भएका गम्भीर, १ देखि ५ प्रतिशतसम्म भएमा मध्यम र ५ प्रतिशतभन्दा माथि भएका अल्प हिमोफिलिया भएको मानिने डा. सिंहले जानकारी दिए । दीर्घकालीन उपचार छैन हिमोफिलिया रगत बगेको बेला उपचार गरेर रगत बग्न कम गर्ने हो भन्दै यसको दीर्घकालीन उपचार सम्भव नभएको वीर अस्पतालका रगत रोग विशेषज्ञ डा. सिंहले बताए । ‘रगत बग्न नदिनु नै यसको उपचार हो,’ उनले भने, ‘जुन रगत जमाउने आवश्यक तत्त्वको कमी हुन्छ । त्यही तत्त्वलाई रगत जमाउनका लागि प्रोटिन दिनुपर्ने हुन्छ ।’ हिमोफिलिया सोसाइटीका अध्यक्ष घिमिरेले राज्यले यस रोगबाट प्रभावित व्यक्तिको निदान, हेरचाह र उपचारका लागि भन्दै छुट्याउने गरेको रकम कम भएको बताए । समयमै रोग पहिचान हुन नसक्दा हेमोफेलिया भएका व्यक्तिहरूले दुःख पाएको, हेरचाह र उपचारमा समस्या भएको उनको भनाइ छ । वीर अस्पतालमा वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले वंशाणुगत रोग आफैँमा जटिल रहेकाले सरकारको यस्ता बिरामीको उपचारमा सहयोग गर्नुपर्ने बताइन् । ‘हिमोफिलियाका बिरामी चोटपटकबाट बच्नुपर्ने हुन्छ । रक्तस्राव भएको खण्डमा औषधि लगाई आराम गर्नुपर्छ’, उनले भनिन् । नेपालमा हिमोफिलियाका परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा मात्र गर्ने गरिएको छ । हिमोफिलिया प्रायःजसो पुरुषलाई बढी हुने बताउँदै महिला यसको वाहकका रूपमा रहेका डा. ठाकुरले उल्लेख गरिन् । उनका अनुसार यो रोगका कारणले जिउमा निलडाम देखिने, जोर्नी तथा मांसपेसीहरू सुन्निने र दुख्ने गर्छ । यस्ता व्यक्तिमा चोटपटक लागेर रगत बगेमा लामो समयसम्म रगत नरोकिने हुँदा यसको उपचार गर्दा रगत जमाउने प्रोटिन दिनुपर्ने उनले जानकारी दिइन् । रासस
६ वर्षभित्र सहकारीहरूलाई पूर्ण डिजिटल बनाउने, यस्ता छन् सात बुँदे प्रतिवद्धता
काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ बिहीबारबाट सुरु भएको कन्क्लेभ आज (शुक्रबार) सकिएको हो । सहकारी डिजिटल कन्क्लेभमा उपस्थित २ सयभन्दा बढी सहकारीकर्मी, सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवालाहरुले सात बुँदे साझा प्रतिवद्धतापत्र जारी गरेका हुन् । सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालनाका साथ डिजिटलाइजेसनमार्फत नेपालको सामाजिक–आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न सामूहिक रूपमा सात बुँदे प्रतिवद्धता जाहेर गरेको महासंघका उपाध्यक्ष डिबी बस्नेतले बताए । सहकारी कार्यस्थललाई २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाईजेशनमा रुपान्तरण गर्न कार्यक्रममा सहभागीहरुले प्रतिवद्धता जनाएका छन् । त्यस्तै सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने सहकारीकर्मीहरु प्रतिवद्धता जनाएका छन् । सहकारीका सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नविनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकुलन बनाउन साझा प्रतिबद्धता जनाएका छन् । सहकारी सहकारी डिजिटल कन्क्लेभको समापन समारोहमा बोल्दै महासंघका अध्यक्ष ओमदेवी मल्लले कार्यक्रमले सहकारीहरुलाई डीजिटाइज गर्न उत्साह थपेको बताईन । कोभिडपछि सहकारीहरु विस्तारै डीजिटाइजतर्फ अघि बढेको स्मरण गर्दै अध्यक्ष मल्लले कन्क्लेभले थप उत्साह थपेको उनले प्रष्ट पारे । प्रविधिको प्रयोगसँगै सन् २०३० सम्म सहकारीको संख्या १० हजारमा झार्ने अभियानको योजनालाई सफल बनाउन मद्दत पुग्ने उनले बताईन । यस्तो छ, प्रतिवद्धतापत्र राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा काठमाडौंमा मिति २०८० चैत १ र २ गते ‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ सम्पन्न प्रथम सहकारी डिजिटल कन्क्लेभमा उपस्थित हामी सहकारीकर्मी, सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवालाहरु यो प्रतिवद्धतापत्र–२०८० जारी गर्दछौं । सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालनाका साथ डिजिटलाइजेसनमार्फत नेपालको सामाजिक-आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न हामी सामूहिक रूपमा यो प्रतिवद्धता जारी गर्दछौं । १) डिजिटलाइजेसन प्रति प्रतिबद्धः दक्षता, पारदर्शिता र समावेशीतालाई आत्मसाथ गर्दै सहकारी कार्यस्थललाई २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाईजेशनमा रुपान्तरण गर्न हामी प्रतिबद्ध छौं । २) नीति वकालतः सहकारी डिजिटलाईजेशन र नविनताका लागि अनुकुल वातावरण निर्माण गर्न हामी राष्ट्रिय स्तरमा सूचना, संचार र प्रविधि (आईसीटी) नीतिहरूको विकास र कार्यान्वयनको लागि वकालत गर्न प्रतिबद्ध छौं । ३) सीप आदानप्रदान र क्षमता विकासः सदस्य र नेतृत्वलाई डिजिटल साक्षरतामार्फत आवश्यक सीप र स्रोतहरूबाट सुसज्जित गरी समुदायहरूमा सहकारी डिजिटलाइजेशनसँग सम्बन्धित ज्ञान र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न प्रतिबद्ध छौं । ४) साइबर सुरक्षाः सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राख्न प्रतिवद्ध छौं । ५) सहयोग र साझेदारीः सहकारीमा डिजिटल रुपान्तरणको गतिलाई तिव्र बनाउन सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवाला निकायहरुबीचसँग सहयोगात्मक साझेदारीलाई अभिबृद्धि गरी पारदर्शिता र जवाफदेहितामार्फत स्वनियमन र सुशासनलाई मजबुद बनाउन प्रतिबद्ध छौं । ६) सशक्तिकरण र निरन्तर सुधार ः सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नविनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकुलन बनाउन प्रतिबद्ध छौं । ७) समावेशी र दिगो विकासः अभियानको इकोसिस्टमभित्र समावेशीता, लैङ्गिक समानता, युवा उत्प्रेरणा र वातावरणीय दिगोपनका विषयलाई प्राथमिकतामा राखी सहकारी डिजिटलाइजेसनमार्फत प्राप्त हुने लाभलाई समानुपातिक रूपमा सदस्यहरुमा वितरण गर्न प्रतिबद्ध छौं ।
५० लाख लुटेर मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, कसरी भयो घटना ?
काठमाडौं । रौतहटको परोहा नगरपालिका-९ खापचोकस्थितमा रहेको शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथी लुटपाट तथा गोली प्रहार भएको छ । शुक्रबार तीन जनाकाे समूहले उनीमाथि गोली प्रहार गरेर ५० लाख रुपैयाँ बढी लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले बताए । गोली प्रकारबाट घाइते भएका २६ बर्षीय साहलाई उपचारका लागि विरगञ्जमा पठाइएको उनको भनाइ छ । गोली प्रहार गर्नेहरू भारतीय नागरीक भएको बुझिएको छ । घटनामा संलग्न तीन जनलाई पक्राउ गरिसकेको पनि श्रेष्ठले बताए । भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएकाे हाे । उनीहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तीन जना चढेर आएका थिए । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेका अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
साढे १५ अर्बको कारोबार हुँदा शिवम् सिमेन्टको १ अर्ब बढिको सेयर किनबेच
काठमाडौं । यस साता सेयर बजार ५० अंकले बढ्यो । गत साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २ हजार ३०.५५ अंक रहेकोमा यस साता नेप्से परिसूचक ५०.३२ अंक बढेर २ हजार ८०.८७ अंकमा बन्द भयो । ४ दिन कारोबार भएको पुँजी बजारमा साढे १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । गत आइतबारदेखि बिहीबारसम्म१५ अर्ब ५५ करोड १२ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस साता पुँजी बजारमा सर्वाधिक कारोबार हुने कम्पनीका रूपमा शिवम् सिमेन्ट रह्यो । ४ दिनको अवधिमा कम्पनीको १ अर्ब ९ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको देखिन्छ । साथै, ४ दिनको अवधिमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६.१४ प्रतिशत अर्थात् ३२.१ रुपैयाँ बढेर प्रतिकित्ता ५५४.१० रुपैयाँ पुगेको छ । यस्तै, सोनापुर मिनिरल्स एण्ड आयलको ७९ करोड १७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस साता कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ बढेर ५१४ रुपैयाँ पुगेको छ । यस साता सर्वाधिक कारोबार हुने कम्पनीका अपर तामाकोशी पनि रहेको छ । यस कम्पनीको ६९ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । तर, यस साता कम्पनीको सेयर मूल्य भने घटेको देखिन्छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ रुपैयाँ घटेर १८७ रुपैयाँमा झरेको छ । यस साता सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि रहेको छ । ४ दिनमा यस कम्पनीको ५३ करोड ३४ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँ बढेर ६३० रुपैयाँ पुगेको छ । गोर्खाज फाइनान्सको पनि यस साता सर्वाधिक कारोबार भएको छ । ४ दिनको अवधिमा कम्पनीको ४२ करोड ५६ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६ रुपैयाँ बढेर ७५० रुपैयाँ पुगेको छ ।
आईटी विज्ञहरू भन्छन् : सहकारीहरू पूर्ण डिजिटाइज हुनुपर्छ
काठमाडौं । सूचना प्रविधि विज्ञहरूले सहकारीहरू पूर्ण डिजिटाइज हुनु पर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनमा भइरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनीहरू यस्तो बताएका हुन् । नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले सहकारीहरुले पनि डिजिटल कारोबार अगाडि बढाएको बताए । कानुनी रुपमा स्पष्टता नभए पनि सहकारीले डिजिटल कारोबार गर्न नपाईने भन्ने नभएको उनको भनाइ छ । कोर बैकिङ, मोबाइल बैकिङ जस्ता सेवा विभिन्न कम्पनीसँग सहकार्य गरी सहकारीले अगाडि बढाइरहेको उनले सुनाए । यस्तै, आकाश डिजिटलका अध्यक्ष सुजनबाबु अधिकारीले सहकारीमा डिजिटाईजेशनको कुरा गर्दा वालेट र कोर बैकिङ मात्रै नभएको धारण राखे । कार्यालयमा हुने सम्पूर्ण कामलाई कागजरहित बनाउनु नै डीजिटाइजेशन भएको उनको भनाइ छ । सदस्यहरूले घरमै बसेर सहकारीको सम्पूर्ण वित्तीय सेवा लिन सक्नु नै डिजिटाइज भएको उनको धारणा छ । डिजिटाइजेशनमा जाँदा सेवामा प्रभावकारिता र समयको बचत हुने हुँदा यसबाट सदस्यले बढी लाभ लिन सक्ने उनले बताए । मोबाईल फाइनान्स टेक्नोलोजीका अध्यक्ष स्मरण दवाडीले डिजिटाइजेशनमा जान सहकारीले लगानी बढाउनुपर्ने र कुल खर्चको १० प्रतिशत पनि लगानी नभएको बताए । लगानी नगर्ने तर सेवा सुविधा मात्रै खोजेर नहुने उनको धारणा छ । सदस्यहरूले मोबाइलबाट पैसा तिर्ने मात्रै डिजिटाईजेशन नभएको भन्दै उनले सहकारीका सदस्यले उत्पादन गरेको वस्तु तथा सेवाको समेत बजारीकरण गरेर समुदायको समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने उनको जोड छ । सहकारी बचत तथा ऋणको मात्रै कारोबार नभई सदस्यको उत्पादनलाई विश्व बजारमा बेच्न सक्ने सम्मको प्रविधिमा जोडिन सक्दा यसका सबै पक्षले फाइदा लिन सक्ने बताए । मोरु डिजिटल वालेटका श्रेस पौडेलले सहकारीहरू ग्रास रुटसम्म पुगेको क्षेत्र भएकाले प्रविधि साक्षरता जगाउन उपयुक्त माध्ययम भएको बताए । सन् २०३० सम्म सहकारीमा डिजिटाईजेशनमा जान अहिलेदेखि नै लगानी बढाउनु पर्नेमा उनको जोड छ । प्रविधिको सीमा नभएको भन्दै उनले त्यो माईन्ड सेट गरेर कन्क्लेभबाट बाहिर निस्कन उनको आग्रह छ । प्रतिस्पर्धी र गुणस्तरीय सेवा दिन सहकारीहरू पनि तयार हुनुपर्ने उनको जोड छ । कन्क्लेभमा सहभागिहरुले डिजिटाईजेशनमा जान दुर्गम क्षेत्रमा पूर्वाधारको विकास नभएको बताए । दुर्गममा इन्टरनेट लगायत व्यवस्था नहुँदा सदस्यलाई सहज सेवा दिन समस्या परेको उनीहरुको भनाइ छ ।