काठमाडौं । रौतहटको परोहा नगरपालिका-९ खापचोकस्थितमा रहेको शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथी लुटपाट तथा गोली प्रहार भएको छ । शुक्रबार तीन जनाकाे समूहले उनीमाथि गोली प्रहार गरेर ५० लाख रुपैयाँ बढी लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।
गोली प्रकारबाट घाइते भएका २६ बर्षीय साहलाई उपचारका लागि विरगञ्जमा पठाइएको उनको भनाइ छ । गोली प्रहार गर्नेहरू भारतीय नागरीक भएको बुझिएको छ । घटनामा संलग्न तीन जनलाई पक्राउ गरिसकेको पनि श्रेष्ठले बताए ।
भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएकाे हाे । उनीहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तीन जना चढेर आएका थिए ।
पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेका अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।