एस्ट्राजेनेकाले फ्युजनलाई दुई अर्ब ४० करोड डलरमा खरिद गर्ने
लन्डन । क्यान्सर उपचार सेवाका लागि एस्ट्राजेनेका समूहले कम्पनीको महत्त्वपूर्ण बिस्तारस्वरूप अमेरिकी बायोफर्मा कम्पनी फ्युजनलाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा खरिद गर्ने भएको छ । एङ्लो–स्वीडिस औषधि कम्पनी एस्ट्राजेनेकाको बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई थप लक्षित उपचारको साथ प्रतिस्थापन गरेर क्यान्सरको उपचार र बिरामीहरूको लागि परिणामहरू रूपान्तरण गर्ने महत्वाकाङ्क्षालाई पूरा गर्ने उद्देश्यसहित यो बिस्तार सुरू गरेको हो । ‘फ्युजनको स्वामित्व खरिद गर्ने सम्झौता एस्ट्राजेनेकाको लागि एक प्रमुख कदम हो र यो बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई प्रतिस्थापन गर्दै क्यान्सरको उपचार र बिरामीहरूको सेवालाई सहज बनाउने महत्वाकाङ्क्षालाई पूरा गर्नेछ,’ कम्पनीद्वारा जारी एक विज्ञप्तिमा भनेको छ । रासस
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनामा परेका टेक बहादुर मगरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थियो । सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा, ५० हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
संसदीय छानबिन समितिको मागपछि गृहमन्त्री लामिछाने : काँग्रेस दुधले नुहाएको पार्टी होइन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गरे । काँग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि काँग्रेसलाई चुनौति दिए । उनले काँग्रेसलाई ४ वर्ष नै संसद गरिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित काँग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने बताए । चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे । ‘मैले केही भन्नै पर्दैन नि । कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरुको प्रश्न त सकिएको छैन जस्तो छ । काँग्रेसले ४ वर्ष संसद अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने ?’, उनले भने । उनले आफूले कामबाट अहिले उठेका प्रश्नको जवाफ दिने पनि बताए ।
गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैनः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले परिपक्व प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाए । उनले सरकारभन्दा बाहिर हुने बित्तिकै नेपाली काँग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने बताउनु भयो । उनले भने- ‘अहिले उहाँहरु सरकारबाट बाहिर हुनुहुन्छ । सरकार भन्दा बाहिर हुने बित्तिकै नेपाली काँग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन । हामी नेपाली काँग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भुमिका माग्दछौँ । संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने ? सम्भव नै छैन ।’ अध्यक्ष ओलीले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न काँग्रेसले संसदीय समितिको माग गरेपनि सम्भव नरहेको बताए ।
एकैदिन पौने अर्बले बढ्यो सेयर कारोबार, तीन कम्पनीमा सर्किट
काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले घटी हो । बजारमा परिसूचक घटेपनि कारोबार रकम भने पौने एक अर्बले बढेको छ । सोमबार २ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार भने ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सामान्य घटेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौरागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो । जसमध्ये सर्वोत्तम सिमेन्टको आजै दोश्रो बजारमा पहिलो कारोबार भएको हो । बजारमा तीन समूह मात्रै हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।
अनलाइन क्यासिनो खेलाउने चार पक्राउ
काठमाडौं । क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–८ घर भएकी २५ वर्षीया सारङगा गुरुङ, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँ बस्ने खोटाङको बाहुनीडाँडा गाउँपालिका–६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौंको गोकर्णेश्वर–४ नामगेल बस्ने नुवाकोटको शिवपुर गाउँपालिका–१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार विभिन्न खेलमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरुका साथबाट अनलाइन ‘गेम’ खेलाउन प्रयोग भएका ल्यापटप पाँच र मोबाइल ११ सहित उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । चारै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता रेग्मीले बताए । रासस
८ महिनामा १० खर्ब नाघ्यो आयात, १ खर्बको मात्रै निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँबराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनाको अवधिमा आयात २.६६ प्रतिशतले घटेर सो रकम कायम भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कुल १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको थियो । ८ महिनाको अवधिमा निर्यात पनि ३.९९ प्रतिशतले घटेर १ खर्ब ६१ करोड ४ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँबराबरको निर्यात भएको थियो । विभागका अनुसार ८ महिनाको अवधिमा व्यापार घाटा २.५२ प्रतिशतले घटेर ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँको व्यापार घाटा थियो ।
इजाजत दिइएका सबै हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउनु : गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मतहतका निकायलाई निर्देशन दिएको छ । आइतबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण चौविस घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो । पत्रमा ‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा संख्यासहित नवीकरण भएरनभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए/नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशानुसार अनुरोध छ’ भनिएको छ।