विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकले वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ ‘प्रोटेक योर मनी, सेभ योर मनी’ भन्ने मुलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिदै छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्धेश्यले वार्षिक रुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो । नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ बमोजिम बैकको देशैभरीका शाखा कार्यालयहरुले विद्यार्थी, युवा, मजदूर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकहरुलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ्ग आदत सिकाउन उद्धेश्यले वित्तीय संचेतना कार्यक्रम सञ्चालन गरिने छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग, ७१ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।

सयपत्री फूलबाट धुप बनाउने सीप सिकेर आत्मनिर्भर बन्दै महिला

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन् । यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन् । ती दुई आमा समूहका महिलाले गत तिहारका बेला सयपत्री फूलखेती गरेकामा बिक्री नभएका उक्त फूलबाट धूप बनाउने सीप सिकेका हुन् । महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यसहित गाउँपालिकाको सहयोगमा धूप बनाउने सीप प्रदान गरिएको यान्चोक आमा समूहका अध्यक्ष सुनिता आलेले बताइन् । उनले भने, ‘गत तिहारलाई लक्षित गरी हामीले सयपत्री फूलखेती गर्यौँ, त्यतिबेला बिक्री नभएको फूलको प्रयोग गरी धूप बनाउने सीप सिकाइएको हो, यसले आम्दानीको बाटो हुने र महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ ।’ ती दुई आमा समूहले २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका थिए । तिहार र त्यसपछि गाउँपालिकाका विभिन्न कार्यक्रममा गरी तीन लाख रुपैयाँको सयपत्री फूल बिक्री भएको थियो । बाँकी रहेका फूललाई सदुपयोग गर्न धूप बनाउने सीप सिकाइएको उनको भनाइ छ । उनका अनुसार सयपत्री फूल सुकाएर, काउला र धुपीको धुलो मिसाएर सिन्के धूप बनाउन सकिन्छ । त्यस्तै अङ्गारमा सयपत्रीको फूलको धुलो मिसाएर पनि धूप बनाउन सकिन्छ । उनले भनिन्, ‘हामीले तालिममा एक किलो काउलाको धुलो, एक किलो धुपीको धुलो राखेर सिन्की धुप बनाउन सिक्यौँ, सीप सिकेपछि अबलाई व्यावसायिक बनाउनेतर्फ अगाडि बढ्छौँ ।’ आँधीमूल आमा समूहका अध्यक्ष ललिता मगरले बाहिरबाट ल्याइएका धूप खरिद गर्नुपर्ने अवस्थाको अन्त्यका लागि स्थानीयस्तरमै धूप उत्पादन गरी बिक्री वितरण गर्न सीपमूलक तालिम सिकाइएको जानकारी दिए । उनले भने, ‘सयपत्रीको फूलको प्रयोग गरेर धूप बनाउन सकिने रहेछ भन्ने थाहा थिएन, गाउँपालिकाले यसका लागि तालिम दिएपछि हामी उत्साहित छौँ ।’ सयपत्री फूलखेतीलाई निरन्तरता दिँदै फूल र माला बिक्री गर्ने र खेर जाने फूललाई धूपका रुपमा प्रयोग गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । उनका अनुसार घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आबद्ध गराई गत तिहार अगाडि फूलखेती सुरु गरिएको थियो । प्रशिक्षक सुस्मिता थापाले स्थानीयस्तरमै पाइने सामग्रीको प्रयोग गरी धूप बनाउन सिकाइएको जानकारी दिए । उनले भने, ‘धुप बनाउने सीप सिक्न महिला उत्साहित भएको पाएँ, यसलाई अब आयआर्जनसँग जोड्न सकिनेछ ।’ महिलालाई आयआर्जनमा जोड्न धूप बनाउने सीपमूलक तालिम दिइएको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिइन् । स्थानीय उत्पादन प्रयोग गरी धूप बनाउन सकिने जनाउँदै उनले धूप बिक्रीका लागि बजार व्यवस्थापनमा गाउँपालिकाले सघाउने बताइन् । उनले भनिन्, ‘गाउँपालिकाभित्र विभिन्न धार्मिक क्षेत्र छन्, मठमन्दिरमा विभिन्न समयमा मेला पर्व लाग्ने हुँदा त्यसलाई लक्षित गरी धूप बिक्री गर्न सकिन्छ, बाहिरबाट धूप नल्याई स्थानीय उत्पादनलाई नै प्राथमिकता दिनका लागि गाउँपालिकाले सहयोग गर्नेछ ।’ सबै महिला समूहले उद्यम गर्नुपर्छ भन्ने लक्ष्य राखी गाउँपालिकाले सीप सिकाउन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको भनाइ छ । गाउँपालिकाका छ वडामा एक सय आमा समूह रहेकामा सबै महिला समूहलाई सीप सिकाउन सकिए गाउँपालिका आत्मनिर्भर बन्नसक्ने उनले बताए । त्यस्ता सामग्री बिक्रीका लागि बजार व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने बताउँदै उनले भने, ‘अहिले उत्पादन गरिएका धूप फागुपूर्णिमामा छिम्केश्वरीमा ठूलो मेला लाग्ने र सोही मेलामा बिक्री गर्न सकिन्छ, त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ ।’ रासस

९ वर्षपछि पोजिटिभ बन्यो जापानको ब्याजदर

काठमाडौं । जापानको केन्द्रीय बैंक बैंक अफ जापानले ब्याजदर बढाएको छ । बैंक अफ जापान (बीओजे)ले ऋणात्मक अवस्थामा रहेको ब्याजदरलाई बढाएर सकारात्मक बिन्दुमा पुर्याएको हो । यसअघि -०.१ प्रतिशत रहेको ब्याज बढाएर शून्य प्रतिशत कायम गरेको हो । देशमा मुद्रास्फिति बढेपछि जापान सरकारले ब्याज पनि बढाउने नीति अघि सारेको हो । जापानमा महँगी बढ्दा ज्याला पनि वृद्धि भइरहेको छ । बैंक अफ जापानले सन् २०१६ मा स्थिर ब्याजदर कायम गरेको थियो । त्यसयता ऋणात्मक रहेको जापानको ब्याजदर अहिले सकारात्मक अवस्थामा पुगेको हो । ब्याजदर शून्य भन्दा पनि तल झर्नुलाई ऋणात्मक ब्याजदर भनिन्छ । ब्याजदर ऋणात्मक हुँदा बैंकले ऋणीहरूलाई उल्टै पैसा दिएर ऋण दिन्छ भने निक्षेपकर्ताहरूले बचत गरेको पैसामा ब्याज पाउँदैनन् । जापानमा मुद्रास्फिति अझै बढ्ने देखिएपछि यसअघिको नीति पुनरावलोकन गर्दै नकारात्मक ब्याजदर हटाएको हो । पछिल्लो समयमा लिएको नीतिले १० वर्षे सरकारी बन्डलाई शून्य प्रतिशतको सन्तुलनमा राख्न सघाउ पुर्याउने जापानको केन्द्रिय बैंकले जनाएको छ । बैंक अफ जापानले मुद्रास्फिति दुई प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । सन् २०१६ मा केन्द्रिय बैंकले नकारात्मक ब्याजदर नीति घोषणा गरेको थियो । सन् २०१६ मा जापानको ब्याजदर ० प्रतिशत नै थियो । त्यसपछि ऋणात्मक नीति लिँदा घटेको थियो । ब्याज ऋणात्मक बनेको ८ वर्षपछि सकारात्मक बनेको हो । कुनै बेला जापानको ब्याज अधिकतम् ९ प्रतिशत थियो । सन् २००८ मा ०.५ प्रतिशत ब्याजदर थियो भने सन् २००१ मा ०.२५ प्रतिशत थियो । सन् १९९१ मा ६ प्रतिशत रहेको जापानको ब्याजदर सन् १९८० मा ९ प्रतिशत थियो । बैंकको ब्याजदर बढ्दानले अब जापनिज मुद्रा येनमा सुधार हुने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा ।

बुद्ध एयरले ६ महिनामा गर्‍यो पौने ४ अर्बको कारोबार, ६७ प्रतिशत पुग्यो बजार हिस्सा

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले ६ महिनामा करिब ४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ८३ करोड रुपैयाँको कारोबार गरेको हो । आन्तरिक यात्रु संख्या बढेकाले ६ महिनामा कारोबार वृद्धि भएको कम्पनीले बताएकाे छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । २६ वर्षअघि सुरेन्द्रबहादुर बस्नेत (हाल स्वर्गीय) ले स्थापना गरेको बुद्ध एयर हाल उनका छोरा वीरेन्द्रबहादुर बस्नेतले हाँकिरहेका छन् । कम्पनी सुरु हुँदाको पाँच वर्ष घाटा भए पनि त्यसपछि भने बुद्धले निरन्तर नाफा गरिरहेको छ । तर, एक्कासि कोरोना महामारी आइलाग्दाको आठ महिना शून्य आम्दानीमा बुद्ध चलेको थियो । बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढी तथा पर्वतीय उडान गर्दै आएको छ । त्यसबाहेक बुद्धले काठमाडौंबाट भारतको बनारसका लागि हप्तामा दुई उडान गर्दै आएको छ । कम्पनीले सन् २०२४ को ६ महिनाको अवधिमा १८ प्रतिशत नाफा कमाएको छ । कोभिडपछि विदेशी पर्यटनको आगमन बढ्दा व्यापारमा उछाल आएको जनाएको छ । जसमा कोभिड अघिको तुलनामा कोभिडपछि २५ प्रतिशतले पर्यटक बढेको छ । कम्पनीले अहिले नेपाली हवाई बजारको ६७ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२२ मा ५६ प्रतिशत बजार ओगटेको थियो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ६० करोड २३ लाख रुपैयाँ र २ करोड ५५ लाख अमेरिकी डलरको रेटिङ गराएको छ ।

संघ र प्रदेश सरकारले बजेट नदिँदा पनि आफ्नै खुट्टामा उभिने स्थानीय सरकार बनाउछौं- खेलराज पाण्डेय

देशभरीका २९३ वटा नगरहरूमध्ये आर्थिक वर्ष ०७९/८० मा आर्थिक विकास सूचकांकमा बुटवल उपमहानगरपालिका उत्कृष्ट बन्न सफल भएको भन्दै नगरपालिका संघले सम्मान गरेको  छ । खेलराज पाण्डेय प्रमुखमा निर्वाचित भएको पहिलो वर्षको कार्यसम्पादनमा नै उपमहानगर आर्थिक विकासको सूचकांकमा पहिलो भएको हो । पछिल्लो तीन दशक यता तीव्र सहरीकरणको दिशामा अगाडि बढेको बुटवल उपमहानगरले आर्थिक विकासको क्षेत्रमा कसरी काम गरिरहेको छ भन्ने सन्दर्भमा प्रमुख पाण्डेयसँग विकासन्युजका लागि नारायण अर्यालले कुराकानी गरेका छन् । देशकै आर्थिक विकासमा बुटवल उपमहानगर उत्कृष्ट बन्न सफल भयो । देशैभरका सबै नगरपालिकालाई उछिन्ने गरी त्यस्ता के काम भएका छन् ? आर्थिक विकासको लागि आर्थिक अनुशासन कायम गर्नुपर्ने पहिलो विषय हुन्छ । बजेटको सिलिङ, त्यसको मापदण्ड, त्यसको नियमितता, खर्चमा आन्तरिक सुधार र व्यवस्थापन लगायतका विषयहरु पनि पर्छन् । हामीले सुशासन र आर्थिक अनुसाशनलाई प्राथमिकतामा राखेर काम गरेका छौं । साथै हामीले आर्थिक अनुसाशन र वित्तीय अनुशासनको दायराभित्र रहेर काम गरेका कारणले उपमहानगरले उत्कृष्ट नगर पुरस्कार प्राप्त गर्न सफल भएको हो भन्ने हाम्रो बुझाइ हो । बाहिर देखिने कामहरूको सन्दर्भमा कुरा गर्दा हामीले सानो इकाईलाई पनि सम्बोधन गरेर काम गर्ने प्रयत्न गरेका छौं । सालको पातको टपरी गाँस्ने आमा, दिदी बहिनीदेखि मकै पोल्नेलाई पनि लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका छौं । त्यस्तै, गृहिणीलाई रोजगार भनेर सीप र आर्थिक क्रियाकलापसँग जोड्ने बृहत्तर कार्यक्रम सञ्चालन गरेका छौं । महिला उद्यमशीलता, युवा लक्षित इलम कार्यक्रम, बाआमासँग नगर कार्यक्रम लगायतका कार्यक्रमहरू जुन आर्थिक क्षेत्रसँग जोडिनेगरी भौतिक विकास र मानवीय विकासलाई सँगसँगै लैजानेगरी सामाजिक कार्यक्रमहरू सञ्चालन गरेका छौं । हामीले भौतिक विकासको बजेट र मानवीय संसाधन विकासको बजेटलाई झण्डै-झण्डै उस्तै अंकमा राखेर अगाडि बढाएका छौं । त्यस्तै, लक्षित वर्गको बजेट पनि अन्यत्र नजानेगरी कार्यान्वयन हुनेगरी बजेट सिलिङ ल्याएर कार्यान्वयन गरेका कारणले पनि बुटवल उत्कृष्ट नगर भएको हो भन्ने हामीलाई लागेको छ । कुनै पनि नतिजा निकाल्नको लागि पहिलो विषय भनेको उद्देश्यको निर्माण हुन्छ । यो पाटोमा कसरी कामको सुरुवात गर्नुभएको छ ? आर्थिक विकासको क्षेत्रमा अल्पकालीन र दीर्घकालीन विषय के-के निर्धारण गर्नुभएको छ ? भौतिक विकास जत्तिकै मानवीय विकासपनि सँगसँगै लैजानुपर्छ भन्नेमा हामी प्रस्ट छौं । त्यसैले हामीले नगरको कार्यक्रममा शिक्षालाई पहिलो र स्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राखेका छौं । बुटवलमा वर्षेनी १५ हजार विद्यार्थी भवनको समस्याका कारण सरकारी विद्यालयमा भर्ना नपाएर अन्यत्र पढ्न परेको अवस्था छ । हामीले यो सम्बन्धमा प्रधानमन्त्रीलाई पनि जानकारी गराएका छौं । भवनहरू निर्माण गर्न सकेमा हामीले दरबन्दी र अन्य प्राविधिक आवश्यकताहरूको पनि व्यवस्थापन गर्न सक्छौं । तर, यसको सुनुवाई हुन सकिरहेको छैन । यसकै बीचमा पनि विद्यालयमा सीप सहितको शिक्षा र संस्कारसहितको शिक्षालाई हामीले अगाडि बढाउने कोसिस गरेका छौं । स्वास्थ्य उपचारको क्षेत्रमा १६ जिल्लाका बिमारी उपचार गर्न आउने ठाउँ बुटवल हो । यो क्षेत्रमा पनि हामीले उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने हिसाबले निकै प्रयास गरेका छौं । हामीले आर्थिक विकासको क्षेत्रमा जे जति कामहरू गर्ने गर्छौं यी कामहरू बुटवलको लागि मात्रै नभएर अन्य जिल्लाका मानिसहरूका लागि समेत भएकाले केन्द्र सरकारले पनि यो विषयमा विशेष ध्यान दिन आवश्यक छ भन्ने हाम्रो भनाइ छ । उत्कृष्ट नगरपालिका बन्नको लागि योजना तर्जुमा महत्वपूर्ण हुन्छ । सो विषयमा पालिकाले कसरी काम गरेको छ ? जनसहभागिता र दलीय सहभागितालाई कसरी समेटनुभएको छ ? बुटवलले सार्वजनिक निजी साझेदारी मोडेलमा विश्वास गर्दै आएको छ । हामीले टोलको सरसफाइदेखि सडक निर्माण, भौतिक निर्माणका कामहरू ६० प्रतिशत नगरपालिकाको सहभागिता र ४० प्रतिशत जनताको सहभागितामा गर्ने अभ्यास गर्दै आएका छौं । पालिकाले सञ्चालन गर्दै आएका धेरैजसो कार्यक्रमहरू जनसहभागितामा नै आधारित रहेका छन् । त्यसैले, जनताको सहभागिता, संघ संस्थाको सहभागिता र राजनीतिक दलको परामर्श साथै संघीय सरकारसँग लचिलो सम्बन्ध राखेर हामीले काम गर्दै आएका छौं । हामीले प्रचारात्मक विषयलाई कम र दीगो कायम रहनसक्ने विषयलाई प्राथमिकता दिने प्रयास पनि गरेका छौं । बुटवल केही विषयहरूमा नमूना पनि बन्दै गएको छ, अटो भिलेज बनेको छ, कृषि व्यावसायिक केन्द्र छ, टेक्निकल इन्स्टिच्युट छ, सीटीईभीटी भन्दा पुरानो इन्स्टिच्युट बीटीआई छ, महिला र बालबालिकाको लागि अस्पताल छ, सरकारी तथा निजी कलेजहरु छन् । त्यसैले हामीले आन्तरिक व्यवस्थापनलाई बढी महत्व दिएका छौं । बुटवल देशभरीकै सबैभन्दा ठूलो आर्थिक केन्द्र कसरी बन्न सक्छ, व्यापारिक क्षेत्रमा कसरी ठूलो हुनसक्छ ? नयाँ औद्योगिक क्षेत्रको स्थापना कसरी गर्ने भन्ने लगायतका दिगो विकासको विषयमा हामीले काम गरेका छौं । उपमहानगर बुटवलको समृद्धिको दिशामा काम गरिरहेको छ भन्ने विषयमा जनस्तरमा विश्वास जगाउने प्रयत्न पनि हाम्रोतर्फबाट भइरहेको छ । बजेटका स्रोतहरूलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? उपमहानगर आन्तरिक स्रोतमा कत्तिको व्यवस्थित हुँदै गएको छ ? संघीय सरकारको तर्फबाट हामीले आंकलन गरेको मध्ये १० प्रतिशत पनि बजेट प्राप्त गर्न सकेका छैनौं । अहिलेसम्म हामीले आन्तरिक बजेट सतप्रतिशत नै खर्च गर्न सकेका छौं भने केन्द्रबाट प्राप्त भएको बजेट पनि ९८ प्रतिशत खर्च गरेका छौं । हामीले जनसहभागिता मोडेलबाट काम गरेका कारण केन्द्र सरकारले १० अर्ब दियो भने हामीले यहाँबाट ४ अर्ब स्रोत जुटाएर काम गर्ने ग्यारेन्टी मैले गर्न सक्छु । तर, हामीले त्यसरी आवश्यकताका आधारमा बजेट प्राप्त गर्ने व्यवस्था भएको छैन । हामीले अहिलेसम्म अपुग नै अपुगताका साथ काम गरिरहेका छौं । कुनैपनि क्षेत्रमा प्रशस्त बजेट भनेर काम गर्न पाएको अवस्था छैन । आयोजनाहरुमा जनताबाट नै ४० प्रतिशत सहभागिता जुटाउने विषय बताउनुभयो, त्यसको अभ्यास कसरी गर्नुभएको छ ? हामीले जनस्तरमा नै समितिहरू गठन गर्ने गर्छौं र उहाँहरूलाई जिम्मेवारी दिने गरेका छौं । पुनर्निर्माण गर्दा १५ प्रतिशत र नयाँ निर्माणमा ४० प्रतिशत जनसहभागिताको अभ्यास गरेका छौं । व्यवस्थित नगर स्थापना गर्ने विषयलाई तपाईंले कसरी बुझ्नुभएको छ ? त्यसको अगाडि वर्तमान व्यवस्थामा देखिएका कानुनी, नीतिगत र व्यवहारिक चुनौती के कस्ता छन् ? व्यवस्थित नगरमा मुख्यतः ३ वटा मूल मुद्दाहरू रहेका हुन्छन्, सरसफाई, हरियाली र उज्यालो । यी तीनवटा विषयहरु भएनन् भने नगर जतिसुकै ठूलो र भौतिक सम्पन्न भएपनि अर्थ रहँदैन । त्यसकारणले भौतिक सम्पन्नताको पाटोसँगै नगरलाई सुन्दर राख्नको लागि सरसफाइ पहिलो प्राथमिकता, हरियाली दोस्रो प्राथमिकता र उज्यालोलाई तेस्रो प्राथमिकतामा राखेर काम गर्नुपर्छ । यी विषयलाई हामीले प्राथमिकता दिएका छौं । त्यस्तैग, शिक्षा, स्वास्थ्य र रोजगारको विषय पनि व्यवस्थित सहरका विशेषता हुन् । यी सबै विषयमा हाम्रो प्राथमिकता सहितका कार्यक्रम छन् । हामीले संघीय व्यवस्थाअनुसार स्थानीय तहले अधिकार प्राप्त गरेको महसुस गरेका छैनौं । स्थानीय तहमा धेरै अधिकार छ भनेर प्रचार गरिएको छ । तर, स्थानीय तह आज पनि केन्द्र शासित भएको अवस्था छ । केन्द्र सरकारले अधिकार दिन कञ्जुस्याइँ गर्दै आएको छ । केन्द्रबाट एउटा कार्यकारी अधिकृत पठाएन भने यहाँ कर्मचारीलाई तलब खुवाउन समेत सकिँदैन भने विकास निर्माणका काम पनि हुँदैनन् । स्थानीय जनप्रतिनिधिहरुलाई एउटा अधिकृतमार्फत अंकुश लगाउने काम भएको छ भने स्थानीय सरकारलाई पेन्डुलम बनाउने काम भएको छ । साथै, केन्द्रबाट आएको कर्मचारीले अनावश्यक काम तथा गतिविधि गर्ने तर, स्थानीय जनप्रतिनिधिले अपजस लिनपर्ने अवस्था छ । केन्द्रबाट आउने जुन कर्मचारी हुन्छ, त्यसलाई स्थानीय तहले पाँच वर्षका लागि स्वनियुक्ती गर्न पाउने अवस्था हुनुपर्छ । अझ उपमहानगरको हकमा कार्यकारी अधिकृत सहसचिव हुने व्यवस्था भएकोमा सहसचिव आउनै नचाहने अवस्था पनि देखिएको छ । केन्द्रले २/२ महिनाको लागि उपसचिव पठाउने गरेको छ, हामी २/२ महिनामा झोला बोकेर कर्मचारी ल्याउनका लागि सिंहदरबार धाइराख्नुपर्ने अवस्था बनेको छ । एउटा कर्मचारी ल्याउन २/२ महिनामा सिंहदरबार धाउन पर्दा धिक्कार लागेर पनि आउँछ । त्यसकारण हामीले राज्यसँग बिद्रोह गर्नु पर्ने स्थिति आएको छ । संविधानअनुसार स्थानीय सरकारको अधिकार खोई ? एउटा कर्मचारी नियुक्ति गर्ने विषयमा स्थानीय सरकारलाई किन विश्वास गर्न सकिएको छैन ? यो अधिकार दिन किन संघीय सरकारले खोजिरहेको छैन अथवा राजनीतिक दलहरुले खोजिरहेका छैनन् ? बुटवलको तर्फबाट अब हामीले यो मुद्दा उठाउँछौं । तपाईंको कार्यकालको पहिलो वर्षमा पालिका आर्थिक विकासको क्षेत्रमा उत्कृष्ट बन्न सफल भयो ? कार्यकाल सकिने बेलासम्मको अवस्था कस्तो हुन्छ होला ? हाम्रो चाहना संघीय सरकार र प्रदेश सरकारले बजेट नदिँदापनि आफ्नै खुट्टामा उभिन सक्ने स्थानीय सरकार बन्न सकोस् भन्ने चाहना छ । साथै, आर्थिक सुशासन र नियमितताका कारणले आफ्नै खुट्टामा उभिएर आफ्नो क्षेत्रको विकास गर्नसक्ने स्थानीय सरकार बनाउन चाहन्छौं । तर, जमिनबाट उठेको राजस्व र वन क्षेत्रबाट उठेको राजस्वको हिस्सा संघीय सरकारमा मात्रै जाने गरेको छ । त्यसमा हामीले कत्ति पनि अंश प्राप्त गर्ने गरेका छैनौं । यी राजस्व स्थानीय सरकारसँग जोडिनुपर्छ । स्थानीय सरकारका विकासका आफ्ना-आफ्ना मोडेलहरू हुन्छन्, बुटवलको सन्दर्भमा बुटवल बर्दघाटदेखि चनौटासम्मको क्षेत्रलाई मेगा सिटीका रूपमा रुपान्तरण गर्ने र समृद्ध बुटवल निर्माण गर्नेगरी हामी अगाडि बढ्न चाहेका छौं ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । चैत्र ५ गते बसेको संस्था सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षको पदमा नियुक्त गरेको हो ।

पहिलो कारोबारमै १० प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको सेयर मूल्य, प्रतिकित्ता कति ?

काठमाडौं । मंगलबार सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । मंगलबारको नियमित कारोबार खुल्न नपाउँदै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको छ । जुन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले तोकिदिएको अधिकतम मूल्यको तुलनामा प्रतिकित्ता ५५.६० रुपैयाँ बढी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १८५.३६ रुपैयाँ र अधिकतम ५५६.०८ रुपैयाँ तोकेको थियो । यससँगै कम्पनीको पहिलो कारोबार अधिकतम मूल्यबाट सुरु भएको थियो । हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको सेयर हिजो अर्थात चैत ५ गतेमात्रै नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको संस्थापक र साधारण गरी कूल ४ करोड ६५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । दोश्रो बजारमा सेयर कारोबारको लागि कम्पनीको सिम्बोल ‘एसएआरबीटीएम’ दिइएको छ ।

मंगलबार प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला सात सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन पनि प्रतितोला सात सय रुपैयाँले बृद्धि भएको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला एक लाख २४ हजार छ सय रुपैयाँ कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रुपैयाँ मूल्यमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सोमबार प्रतितोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि एक हजार पाँच सय २५ रुपैयाँ निर्धारण भएको छ ।