काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गरे । काँग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि काँग्रेसलाई चुनौति दिए ।
उनले काँग्रेसलाई ४ वर्ष नै संसद गरिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित काँग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने बताए । चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे ।
‘मैले केही भन्नै पर्दैन नि । कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरुको प्रश्न त सकिएको छैन जस्तो छ । काँग्रेसले ४ वर्ष संसद अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने ?’, उनले भने ।
उनले आफूले कामबाट अहिले उठेका प्रश्नको जवाफ दिने पनि बताए ।