‘शिक्षामा लगानी बढाउनुपर्छ’
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । शिक्षालय राष्ट्रिय मासिकले मंगलबार यहाँ आयोजना गरेको १८औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्र बिग्रिएमा समाजको विकासक्रम नै बिग्रने भएकाले शिक्षाका भौतिक पूर्वाधार तथा प्रविधि विकास र सामयसापेक्ष पाठ्यक्रम तर्जुमाका लागि लाग्नुपर्ने बताए । उनले गुणस्तरीय शिक्षाका लागि क्षमतावान् शिक्षक राखिनुपर्ने र शिक्षकलाई मर्यादा, प्रतिष्ठाका साथै सुविधा दिनुपर्ने बताउँदै शिक्षालयमा शिक्षालयहरूमा योग,ध्यानको अभ्यास सँगसँगै गराउन सुझाव दिए । उनले भने, ‘शिक्षा बाँच्नका लागि होइन, जीवनका लागि हो भन्ने मान्यता विकास गर्न आवश्यक छ ।’ शिक्षासेवी सम्मानित कार्यक्रममा शिक्षा क्षेत्रका योगदानकर्ता, सेवी, विज्ञ, विद्यालय सञ्चालक, कर्मचारी र शिक्षा पत्रकारलाई सम्मान गरिएको थियो । मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा. नन्दबहादुर सिंह, चितवनको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. कमल पोखरेल, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झा, ग्यालेक्सी पब्लिक स्कुलका संस्थापक गीता राणा, ज्ञानोदय बालबबाटिकाका संस्थापक इन्दिरा याक्थुङगा, सिन्धुपाल्चोकको मेलम्ची ध्याङ माविका प्रधानाध्यापक पूर्णबहहादुर गौतम, काठमाडौंको नीलबाराही माविका प्रधानाध्यापक डा. जानुका नेपाल, तनहुँको महेश विद्याश्रम, पृथ्वी माविका सहयोगी राजेन्द्रप्रसाद धिमाललाई सम्मान गरिएको थियो । यसैगरी, १० हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार ‘जुपिटर मिडिया’का सुनिल आचार्य र रेडियो कान्तिपुरका पार्वता चौधरीलाई प्रदान गरिएको थियो भने शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले शिक्षासेवीहरूको योगदानलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताए । सम्मान र पुरस्कार चयनका लागि शिक्षा सेवाका उपसचिव गेहनाथ गौतम, शिक्षा पत्रकार प्रकाश सिलवाल, अभियन्ता बिके श्रेष्ठ रहेको निर्णायक समिति र शिक्षाकर्मीहरू दिपीका थापा र रामहरि सिलवाल रहेको स्रोत व्यक्ति समूह गठन गरिएको थियो । रासस
राष्ट्रिय सभा बैठकमा प्रि बजेटमाथिका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान सवा ११ बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री ले जवाफ दिने कार्यक्रम छ । अर्थमन्त्री पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
भकुण्डे–तेमाल सडक : २० महिनामा १० प्रतिशत काम
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन चार महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको मात्र १० प्रतिशत पूरा भएको छ । नमोबुद्ध नगरस्थित भकुण्डेचोकबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मेच्छेसम्मको करिब २५ किमी सडक स्तरोन्नति एवं पक्की गर्न ललितपुरको केएस देवी रमण, तेजजुको लापरवाहीका कारण समयमै काम नसकिने देखिएको हो । उक्त आयोजनाका लागि रु २० करोड ८९ हजार बजेट विनियोजन भएको थियो । हालसम्म सडक किनारका केही स्थानमा पर्खाल निर्माण गरिएको छ । ठेकेदार कम्पनीलाई चाँडो काम गर्न पटकपटक ताकेता गर्दा बेवास्ता गरेका कारण आयोजना लथालिङ्ग अवस्थामा पुगेको नमोबुद्ध नपा–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । ‘आयोजनाको सुरुआती चरणमा केही काम भएको हो, त्यसपछि निर्माणकार्यले गति नलिँदा यस्तो अवस्था आयो,’ उनले भने । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बाटोमा हिँड्नुपर्ने बाध्यताका कारण ठेकेदारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी स्थानीयले दिएका छन् । उनीहरूले सम्बन्धित निकायले निरन्तर अनुगमन नगरेकामा आपत्ति जनाएका छन् । साथै स्तरोन्नति थालिएको उक्त सडकको अनुगमन गरी काम शीघ्र सम्पन्न गराउन उनीहरूले माग गरेका छन् ।
बेनी-जोमसोम-कोरला सडकमा ५ पुल निर्माण
म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो । पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते २३ करोड ७९ लाख ७२ हजार नौ सय ५१ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो । कालिका–गजुरमुखी जेभीले विसं २०७६ चैतमा सात करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिए । सूचना अधिकारी चापागाईंका अनुसार २० मिटर लामो लोमान्थाङ खोला मोटरेबल पुल निर्माणका लागि चार करोड ६८ लाख दुई हजार ६ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पचास मिटर लम्बाइको किम्लिङखोला पुलको लागत ६ करोड ३० लाख, ५० मिटर लामो नाम्डोकखोला पुलको लागत ६ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लागत ६ करोड ८५ लाख रुपैयाँ रहेको छ । विसं २०७४ मा सुरु भएको दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ । थासाङ गाउँपालिकाको सेतोखोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पर्वतको मालढुंगाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुव झाले बताए । विभिन्न ६ स्थानमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको २२ किलोमिटर सडक कालोपत्र गरिएको छ ।
कालंगा हाइड्रोको वार्षिक साधारण सभा चैत २८ गते
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समिति बैठकले चैत २८ गते बुधबारका लागि सभा बोलाएको हो । कम्पनीको सभा केन्द्रीय कार्यालय धोवीघाट, ललितपुरमा दिउँसो १ बजे हुने भएको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।
अरुण भ्याली हाइड्रोको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । फागुन १७ गतेदेखि बिक्री खुला भएको अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । उक्त हकप्रद सेयरको लागि यसले माघ १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको छ ।
यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बुधबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
ताप्लेजुङको मेरिङदेनमा आगलागी, १५ लाखको क्षति
ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुई वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।