विकासन्युज

मिटरब्याजीको ११ करोड बढीको मिलापत्र गराइयो

जलेश्वर । महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी विवादमा ११ करोड १५ लाख ३८ हजार चार सय ९२ रुपैयाँको मिलापत्र गराइएको हो । उनका अनुसार जिल्लामा कूल दुई हजार आठ सय ३० मिटरब्याजसम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९  निवेदनउपर छलफल गराई सात सय ५९ निवेदनमा मिलापत्र गराउन सफल भएर सो रकम बराबरको मिलापत्र गराइएको हो । त्यसैगरी, ऋणीबाट साहुद्वारा लिइसकिएको २० बिघा १३ धुर जग्गा पनि तिनै छलफलमार्फत फिर्ता गराउनसमेत सफल भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । अहिले जिल्ला प्रहरी कार्यालयमा मिटरब्याजीसम्बन्धी निवेदनउपर दैनिक रुपमा निरन्तर छलफल, सुनुवाइ र कारबाही प्रक्रिया तीव्र गतिले अगाडि बढाइएको छ । निवेदनहरुमा मिलापत्र गर्ने/गराउने सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । पछिल्लो एक महिना (फागुनभरि) मा मात्रै जिल्ला प्रहरी कार्यालय एक सय ८६ निवेदनउपर छलफल गराउँदा एक सय ५५ निवेदनमा मिलापत्र गराउन सफल भएको हो । ती निवेदनबाट चार करोड ९० लाख एघार हजार तीन सय ३४ रुपैयाँको मिलापत्र र सात बिघा १३ धुर जमिन फिर्ता गराइएको हो ।

महिला नेतृत्व कृषि सम्मेलन चैत १७ देखि चितवनमा हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरमको आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ हुने भएको छ । उद्योग परिसंघले आगामी चैत १७ र १८ गते चितवनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । उनले कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवद्र्धन गर्नुरहेको बताए । सम्मेलनमा कृषिमा नवप्रवद्र्धन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यान्त्रिकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्ममशिलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने जानकारी दिए । उनले समावेशी, सशक्तिकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकता राख्दै कृषिमा महिलाहरुलाई प्रोत्साहन, उनीहरुका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको बताए । परिसंघले सम्मेलन पछि कृषिका विद्यमान समस्या, चुनौति तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरुलाई अगाडि बढाउन लिनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझावहरु पेश गरिने बताएको छ । सम्मेलनको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला कुमारी साहले गर्ने परिसंघले जनाएको छ ।

निफ्रा बैंकको नाफा पौने १ अर्ब, निक्षेप साढे ९२ करोड बढी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा पौने एक अर्ब रुपैयाँ नाफा गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघसम्म निफ्राले ८५ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको हो । यस अवधिमा बैंकले २ अर्ब ६ करोड ३१ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । जसमध्ये १ अर्ब ७० करोड रुपैयाँ ब्याज आम्दानी गरेको हो । ७ महिनामा बैंकले ४ करोड ६९ लाख रुपैयाँ कर्मचारीलाई खर्च गरेको छ भने १३ करोड ४३ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ । बैंकले ७ महिनाको अवधिमा ४८ करोड ४७ लाख रुपैयाँ लोन लस प्रोभिजनमा छुट्याएको छ । बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष १ अर्ब ३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ १० करोड ४५ लाख रुपैयाँ, अन्य रिजर्भ फण्ड १७ करोड रुपैयाँ छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकको ऋण २ अर्ब २८ करोड ९८ लाख रुपैयाँ छ भने निक्षेप ९२ करोड ५० लाख रुपैयाँ रहेको छ ।

पोखरा विमानस्थलका लागि लिइएको ऋण अनुदानमा रुपान्तरण गर्दैछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रुपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानका रुपमा रुपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताएका हुन् । उनले यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्‍यक समन्वय गरिने बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । ‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्‍चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई कार्य भइरहेको छ ।  यससँग जोडिएका वित्तीय व्यवस्थापनका विषयमा आवश्‍यक समन्वय गरिनेछ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै यस विमानस्थलबाट देशका विभिन्न क्षेत्रीय विमानस्थल र अन्य विमानस्थलमा समेत हवाई सेवा सञ्चालन गरी आन्तरिक पर्यटनको विकास गर्ने कार्य सरकारको प्राथमिकतामा छ’, उनले भने । प्रधानमन्त्री दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्‍चालन तथा व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारीको आधार तयार गर्न समिति गठन भई काम भइरहेको जानकारी दिए । समितिको प्रतिवेदनका आधारमा विमानस्थल सञ्‍चालन तथा अन्तर्राष्ट्रिय उडानका बारेमा आवश्यक व्यवस्था मिलाइने बताए ।

जलन उपचारका लागि तीन अस्पतालमा युनिट स्थापना गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरि सेवा विस्तार गर्न लागिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले जलनको उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालको अलावा वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्न लागिएको जानकारी दिएका हुन् । उनले कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडी बढेको बताए । ‘कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडी बढेको छ । बर्न अस्पताल विस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा कीर्तिपुरको बर्न अस्पतालको अतिरिक्त वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरि सेवा विस्तार गरिँदैछ । प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरुमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने र कडा किसिमको लागि रेफरल गर्ने व्यवस्था मिलाइनेछ । स्वास्थ्यकर्मीहरुलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था शुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको छ ।’ उनले भने । प्रधानमन्त्री दाहालले स्वास्थ्यकर्मीहरुलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था शुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको जानकारी गराए ।

चुरे क्षेत्रमा एक करोड बाँस रोप्छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताएका हुन् । उनले चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रश्ताव तयारीको चरणमा रहेको जानकारी दिए । उनले चुरे–तराई/मधेस क्षेत्रको संरक्षणमार्फत तराई/मधेसको मरुभूमिकरण हुनबाट रोक्न, चुरेको माथिल्लो तटिय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिनेगरी कार्य भइरहेको पनि बताए । चुरे क्षेत्रबाट गिट्टी, बालुवाको उत्खनन्लाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमती प्रदान भइसकेको जानकारी दिए । ‘चुरे तराई/मधेसको संरक्षण तथा व्यवस्थापन एवं मरुभूमिकरण नियन्त्रणका लागि २०७१ मा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन गरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा सञ्चालन भइरहेको तथ्य सबैलाई अवगत नै छ । चुरे–तराई मधेस क्षेत्रको संरक्षणमार्फत तराई मधेसको मरुभूमिकरण हुनबाट रोक्न, चरेको माथिल्लो तटिय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिनेगरी कार्य भइरहेको छ । चुरे क्षेत्रबाट गिट्टी, बालुवाको उत्खनन्लाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्रदान भइसकेको छ’, उनले भने । प्रधानमन्त्री दाहालले चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजना परिमार्जन भइ स्वीकृतिको प्रक्रियामा रहेको पनि बताए ।

मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यपहाडी राजमार्गलाई छोटो र सहज बजाउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजमार्ग सम्बन्धि राखेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले मध्यपहाडी राजमार्ग कुल लम्बाई १८ सय ७९ किलोमिटरमध्ये हालसम्म ९९ सय ६० किलोमिटर डेडिकेट दोब्बर लेनको स्तरोन्नती भइसकेको जानकारी दिए । उनले जसमा १३७ पुलमध्ये ३३ पुल निर्माण सम्पन्न भइसकेको भन्दै राजमार्गका आवश्यक स्थानमा अग्ला पुलहरु निर्माण गरी राजमार्गलाई छोटो र सहज बनाउने विषयलाई सरकारले उच्च प्राथमितामा राखेको बताए । निर्माण सम्पन्न भएपछि आवश्यक र सम्भव हुने स्थानमा राजमार्गलाई डेडिकेटेड डब्बल लेनमा स्तर उन्नती गरिनेमा जोड दिए । प्रधानमन्त्री दाहालले मदन भण्डारी प्राविधि विश्वविद्यालय बनाउने विषयमा पाँचखाल नगरपालिकामा विश्व विद्यालय अनुदान आयोगको सिफारिससम्मको आधारमा भित्र राष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अगाडि बढाएको बताए । उनले सुनकोशी तेस्रो जलविद्युत आयोजना संयुक्त रुपमा कार्यान्वयनको लागि नेपाल विद्युत प्राधिकरण र बंलादेशका तर्फबाट बंलादेश पावर डेभल्पमेण्ट बोर्डलाई लाइन एजेन्सी तोकिएको जानकारी दिए । ‘मध्यपहाडी राजमार्ग कुल लम्बाई १८ सय ७९ किलोमिटरमध्ये हालसम्म ९९ सय ६० किलोमिटर डेडिकेट डब्बल लेनको स्तर उन्नती भइसकेको छ भने १३७ पुलमध्ये ३३ पुल निर्माण सम्पन्न भइसकेको छ । मदन भण्डारी प्राविधि विश्व विद्यालयको दुईवटा भवन मकवानपुरको चित्लाङमा निर्माण भएको र पाँचखाल नगरपालिकामा विश्व विद्यालय अनुदान आयोगको सिफारिससम्मको आधारमा भित्र राष्ट्र चिन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अगाडि बढाएका छौं । दुई देशबीचको सचिवस्तरीय बैंठकको निर्णय अनुसार संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढेको आयोजनाको डिजाइन अध्ययन प्रतिवेदन बंगलादेश पक्षलाई बुझाईएको छ’, उनले भने । प्रधानमन्त्री दाहालले दुई देशबीचको सचिवस्तरीय बैंठकको निर्णयअनुसार संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढेको आयोजनाको डिजाइन अध्ययन प्रतिवेदन बंगलादेश पक्षलाई बुझाइएको समेत जानकारी दिए ।

‘स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्दैछौं’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताए । ‘सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बीमा बोर्डमार्फत् सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म ३३ दशमलव २ प्रतिशत घरपरिवार तथा २४ दशमलव ७ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य बीमाको पहुँच पुगेको बताए । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले गरीब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरिने बताए ।