विकासन्युज

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता, कडाइका साथ लागू गर्न निर्देशन

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड) लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ ।  परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ कोडले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह, सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ । शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका लागि कोशेढुंगा रहेको बताए । मन्त्री घिसिङले नयाँ कोड अनुसार बनाइएका भवनबाट आगामी दिनमा आउन सक्ने भूकम्पबाट हुने ज्यान र सम्पत्तिको हानिलाई न्यून बनाउने विश्वास व्यक्त गरे ।  स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई कडाइका साथ लागू गर्न आह्वान उनले आग्रह गरे ।  परिमार्जित कोडमा ७५३ वटै स्थानीय तहलाई समेट्ने गरी नयाँ सिस्मिक जोनिङ्ग म्याप (भूकम्पीय क्षेत्रगत नक्सा) तयार गरिएको छ । जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशानिर्देश गर्छ । माटोको वर्गीकरणमा सुधार गर्दै काठमाडौं उपत्यकाको माटोको प्रकार सम्बन्धमा विशेष नक्सा समावेश गरिएको छ । नयाँ लोड संयोजन सूत्रहरूमा हिमपात, तरल पदार्थको दवाव र माटोको दवाव समावेश गरी लोड संयोजन गरी स्थायित्व जाँचको लागि नयाँ समीकरण समेत अद्यावधिक गरिएको छ । संरचनाको लचिलोपन सुधार गर्न नयाँ मापदण्ड समावेश गरी भवनहरूलाई भूकम्पका बेला थप ऊर्जा वहन गर्न सक्ने वनाइएको छ । अग्ला भवनहरूको स्थायित्वको लागि सफ्ट स्टोरी र टोर्सनल इरेगुलरिटीमा नियन्त्रणको विषयमा सुधार गरिएको छ । यसबाट भवन निर्माणमा हुने खर्च कटौती हुनेछ ।  पेशागत डिजाइनर,स्ट्रक्चरल इन्जिनियरर्स एसोसिएसन (सिनेप), पेशागत समाज, विश्वविद्यालयका  प्राज्ञहरुलगायतका सरोकारवालासँग छलफल तथा अन्तक्रिया गरी प्राप्त सुझावलाई समेटेर नयाँ कोड तयार गरिएको हो ।  भवन संहितालाई समय सापेक्ष प्रयोगकर्तालाई सहज र सरल हुने गरी प्रयोग गर्न सक्ने बनाउन विभिन्न देशले प्रयोगमा ल्याएका कोडको व्यवस्थालाई समेत अध्ययन गरी आन्तरिक तथा बाह्य विशेषज्ञहरू समक्ष छलफल गराई प्राविधिक रुपमा परिमार्जन गरिएको छ ।  पुरानो कोडमा केही अन्तर्राष्ट्रिय मापदण्डहरू अपुग भएका कारण डिजाइनमा प्राविधिक कठिनाइ देखिएको थियो । परिमार्जित कोडले भवन भूकम्पमा कम क्षति हुने, मानव जीवनको सुरक्षा बढ्ने, डिजाइन र निर्माणमा एकरूपता र पारदर्शिता कायम हुने, स्थानीय तहका भवन स्वीकृति प्रक्रियामा वैज्ञानिक मूल्याङ्कन गर्न सजिलो हुने, दीर्घकालीन लागत घट्ने, मर्मत सम्भार सरल हुने, इन्जिनियर र डिजाइनरका लागि स्पष्ट दिशानिर्देश गर्ने छ ।

३ महिनामा नेपाल लाइफको नाफा २१ करोड ५५ लाख रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ४.९४ प्रतिशत बढेर २१ करोड ५५ लाख ५१ हजार रुपैयाँ गरेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा २० करोड ५४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चाल आवको पहिलो त्रैमासमा कम्पनीको खुद आर्जित बीमा शुल्क १३.१८ प्रतिशत बढेर १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  असोज मसान्तसम्ममा कम्पनीको खुद दाबी भुक्तानी ३.६७ प्रतिशत बढेर १५ अर्ब ८१ करोड १५ लाख रुपैयाँ गरेको छ । गत वर्षको असोजसम्ममा कम्पनीले १५ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २.१५ प्रतिशत बढेर १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ र कुल खर्च ४.३० प्रतिशत बढेर १७ अर्ब २८ करोड ३७ लाख रुपैयाँ गरेको छ ।  असोजसम्म कम्पनीको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ, महाविपत्ति कोष १.४७ प्रतिशत बढेर १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग १२.३५ प्रतिशत बढेर १ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटी ६.३२ प्रतिशत घटेर ७० करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४६ पैसा घटेर ९.५५ रुपैयाँमा सीमित भएको छ । असोजसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३८.१४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७७.९९ गुणा रहेको छ । 

सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । सोलु हाइड्रोपावरले मंसिर ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका-७, ११ र थुलुङ दूधकोसी गाउँपालिका-१ का बासिन्दालाई ४० लाख कित्ता र ६० लाख कित्ता आयोजना अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयलाई बिक्री गर्ने कम्पनीले जनाएको छ । साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँको १० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिनेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले मंसिर २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

युट्युब हेरेर सिकेको काष्ठ कलाबाट मनग्य आम्दानी

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का भक्त बहादुर महरा २ दशक अघिसम्म फर्निचरको काम गर्थे । उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे । एक दिन उनका साथीले काष्ठ कलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाए ।  ‘इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठ कलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ,’ महराले भने, ‘हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरीभन्दा यसमा फाइदा छ ।’ उनले २ वर्षअघिदेखि विजय सालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलना लगायत सामग्री बनाउने गरेको बताए ।  उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् । युट्युबकै सहायताबाट अहिले उनले काठका भाँडाकुँडा तयार पार्दै आएका छन् ।  ‘अहिले मासिक ४० हजार रुपैयाँभन्दा बढी आम्दानी हुन्छ, पहिला महिनौँसम्म खाली बस्नुपर्थ्यो,’ महराले भने, ‘यसरी राम्रो आम्दानी गर्न सकिएला भन्ने साचेकै थिइँन ।’ अहिले उनले उत्पादन गरेका सामग्री खरिद गर्न घरमै पुग्छन् । उनले उत्पादन गरेका सामग्री बिक्री गर्न समस्या नरहेको बताए ।  ‘माग त धेरै आउँछ, मागअनुसार मैले उत्पादन गर्न सकेको छैन एक्लै छु । यहाँका सामुदायिक वनले राम्रो गरेका छौँ भनेर कच्चा पदार्थ दिने गरेका छन्,’ उनले भने ।  पछिल्लो समय युट्युब लगायत विभिन्न सामाजिक सञ्जालमा मानिस लामो समय बिताउने गरेका छन् । तर यी सञ्जालहरूको सदुपयोग गर्न जानेमा धेरै लाभ लिन सकिन्छ भन्ने एक उदाहरणीय पात्र बने महरा । उनले पारिवारिक समस्याका कारण ज्याला मजदुरी गर्दागर्दै यहाँसम्म पुगेको महराको भनाइ छ ।  ‘आर्थिक अभावले छिटो पैसा कमाउने भन्ने सोच थियो । यसमा मलाई यति राम्रो आम्दानी होला भन्ने कल्पना गरेको थिइँन,’ उनले भने, ‘अहिले सन्तुष्ट छु राम्रै कमाइ भइरहेको छ ।’ उनले स्वदेशमै लगनशील भएर आफ्नो सीपको सदुपयोग गरे यहाँ मनग्य आम्दानी गर्न सकिने बताए । 

कुमारी घरको छानो जीर्णोद्धार गर्न १.२५ करोड लागत लाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुमारी बहाल (कुमारी घर) को छानो जीर्णोद्धार गर्न १ करोड २५ लाख ४७ हजार ८६४ रुपैयाँ लागत अनुमान गरिएको छ ।  आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ ।  कुमारी घरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरूका बीच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो । कुमारी घर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयमा सरोकारवालाबाट प्रतिक्रिया लिएपछि उपप्रमुख डङ्गोलले, मौसम प्रतिकूलता हुनुअघि कुमारी घरको छानो जीर्णोद्धार गरि सक्नुपर्नेमा जोड दिँदै जीर्णोद्धारको प्रक्रिया तत्काल अगाडि बढाउन हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई निर्देशन दिइन् । बर्खा याममा कुमारी घरको छानो चुहिने भएपछि जीर्णोद्धारको अध्ययन गर्न गत साउन २० गते समिति गठन भएको थियो ।  समितिको संयोजकमा पुरातत्व विभागका पुरातत्व विज्ञ पुरुषोत्तम डङ्गोल थिए । सदस्यहरूमा विभागका इञ्जिनियर रोशन डङ्गोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इञ्जिनियर भीम प्रसाद अधिकारी र कामपाको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्य थिए । अध्ययन समितिले दिएको प्रतिवेदनअनुसार कुमारी घरका नामले चिनिने कुमारी बहालको तीनै तलाको पर्खालमा चिरा परेको छ । केही धाम र मेथहरूले ठाउँ छोड्ने अवस्था छ । कतिपय दलिन कीराले खाएर स-साना प्वाल पारेको छ । ठाउँठाउँका काठ मक्किएको अवस्था छ । दोस्रो तलामा सिसाले छोपेर राखिएको भित्तेचित्र जोगाउनुपर्ने अवस्थामा छ । धामबाहेक अधिकांश काठका अवयव अग्राखका नभई कुकाठ प्रयोग भएकाले तत्काल जीर्णोद्धार गर्नुपर्ने देखिएको छ । बैठकमा समितिका सदस्य आर्किटेक्ट अमित बज्राचार्यले जानकारी दिए । बज्राचार्यका अनुसार झिङ्गटी छानो चारैतिर ठाउँठाउँमा धसिएको छ । धुरी चाङ फुटेर खसेको छ, आइरन वेल्ट खुस्केका छन् । कहीँ त आइरन बेल्ट नै छैन । मुठलहरू खुस्केका छन् । झिङ्गटीहरू खुस्केका छन् । टुँडाल झरेका र मक्किएका छन् । नस नभएको वा भए पनि मक्किएका छन् । अधिकांश मुसीहरू फेर्नुपर्ने अवस्थाका छन् ।

उद्यमीलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण, ४ किस्तामा फिर्ता

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा १२ जना उद्यमीलाई १/१ लाख रुपैयाँका दरले ऋण उपलब्ध गराइएको हो । गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यका अनुसार ४ किस्तामा फिर्ता गर्ने गरी वार्षिक ७ प्रतिशत ब्याजदरमा बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको छ । ४ महिनापछि ४/४ महिनामा २५ हजार रुपैयाँका दरले १६ महिनामा सबै रकम फिर्ता गर्ने गरी ऋण उपलब्ध गराइएको हो । आवेदन सङ्कलन, उद्यमको स्थलगत अनुगमन, आबद्ध टोल विकास संस्थाको निर्णय र वडा कार्यालयको सिफारिसका आधारमा उद्यमी छनोट गरिएको छ । वडा नं १ का गङ्गाकुमारी पाइजाले कुखुरा पालन, वडा नं ६ का छममाया खोर्जा पुनले बाख्रा पालन र तरकारी खेती, वडा नं २ की चन्द्रकली घर्तीक्षेत्रीले भैँसी पालन, ८ की गुमा क्षेत्री, नारायण जिसीले पशु पालन, वडा नं ४ का जगत बहादुर घर्ती क्षेत्रीले माछा पालन, ढक बहादुर घर्ती क्षेत्री, वडा नं ८ का शिव बहादुर जिसीले कुखुरा र माछा पालन, वडा नं ९ का बमबहादुर गर्बुजा मगरले प्लास्टिक पोखरी निर्माण, ८ का गगन बहादुर महतले भैँसी पालन, ३ की माया घर्ती क्षेत्रीले सौन्दर्य सामग्री व्यवसाय र वडा नं ७ का दुर्गा दमाईले तरकारी खेती र कुखुरा पालनका लागि ऋण पाएका छन् ।  गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको रोहबरमा बुधबार सम्झौता गरी उद्यमीहरूको खातामा रकम पठाइएको हो । आव २०८०/८१ मा नौ जनालाई ९ लाख रुपैयाँ, २०८१/८२ मा २० जनालाई १९ लाख ७५ हजार रुपैयाँ लगानी गरिएको घुम्ती कोषमार्फत चालु आवको फागुनमा थप ८ र असारमा ५ जनालाई लगानी गरिने गाउँपालिकाले जनाएको छ । सहुलियत ब्याजदरमा बिना धितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, युवाको विदेश पलायन न्यूनीकरण गरी रोजगारीका अवसर सृजना गर्ने लगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ । पालिकाभित्रै व्यावसायिक रूपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपन्छी पालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगार मूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि बिना धितो ऋण प्रवाहले प्रेरणा मिलेको छ ।

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । त्यसैगरी, आज राति देशका अधिकांश भागमा  मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ ।

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।  आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । १ हजार अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको  बैंकले जानकारी दिएको छ ।  ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।   नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिका २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।