विकासन्युज

सलिकोको बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले ‌शुक्रबार बिहान काठमाडौंमा ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ । यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्त्वबारे जनचेतना फैलाउनु हो । कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर, नागपोखरी, गैरीधारा, हिल्टन होटल, नक्साल भगवती मन्दिर हुँदै पुनः केन्द्रीय कार्यालयमा समापन गरिएको थियो । झन्डै ४  किलोमिटरको यो वाकाथनमा कम्पनीको उपत्यका भित्रका शाखा कार्यालयहरुको करिब १०० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त अवसरमा सहभागीहरूले बीमाको आवश्यकता र फाइदाबारे जनचेतना फैलाउने सन्देशसहितको ब्यानर र प्लेकार्ड बोकेका थिए । सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीका अनुसार यस किसिमका सार्वजनिक अभियानहरूले सर्वसाधारणमा बीमाप्रति सचेतना बढाउँछन् । कम्पनीले भविष्यमा पनि यस्ता जनमुखी सचेतनामूलक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिनै रहने प्रतिवद्दता जनाएको छ ।

१० लाखमाथिको बहुमूल्य धातु वा वस्तुको कारोबार अब बैंकमार्फत मात्रै गर्न पाइने

काठमाडौं । सरकारले बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गरेको छ । मुलुक सम्पत्ति शुद्धीकरणको मामिलामा ग्रेलिस्टबाट गुज्रिरहेका बेला त्यसबाट छिट्टै बाहिर निकाल्न सरकारले त्यस्ता बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गर्न थालेको हो ।  हालै आन्तरिक राजश्व विभागले त्यस्ता वस्तुहरूको कारोबारमाथि कडा नियमन बढाउन निर्देशन जारी गरेको छ । सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबारमा स्वच्छता एवं पारदर्शिता कायम गर्न निर्देशन जारी गरिएको हो । ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था) लाई जारी गरेको निर्देशन, २०८२’ मा ‘बहुमूल्य धातु वा वस्तु’ का रूपमा प्राकृतिक वा प्रशोधित जुनसुकै स्वरुपका सुन, चाँदी, प्लाटिनम, इरिडियम, ओस्मियम, पालाडियम, रोडियम, रुथेनियम, डायमण्ड, सफायर, रुबी, इमेराल्ड, जेड, पर्ल, कोरण्डम, एकुमेरीन र दुई प्रतिशत वा सो भन्दा वढी सुन, चाँदी, प्लाटिनम, इरिडियम, ओस्मियम, पालाडियम, रोडियम, रुथेनियम मिश्रण भएका वा समावेश गरिएका अन्य धातु वा वस्तु, तिनका अवयस्क वा त्यस्तो धातुबाट बनेको गहना राखिएको छ।  निर्देशनअनुसार अब व्यवसायिक कारोबार र भुक्तानीमाथि कडाइ गरिएको छ । निर्देशनमा भनिएको छ–‘सूचक संस्थाले आफ्नो कारोबार गर्दा व्यवसायिक संस्थाको नाममा रहेको बैंक वित्तीय संस्थामा रहेको खाताबाट गर्नुपर्नेछ । सूचक संस्थाले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी, परिवारका सदस्य वा अन्य कुनै व्यक्तिको बैंक वित्तीय संस्थामा रहेको खाता प्रयोग गर्न पाइने छैन । सूचक संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु विक्री गर्दा ग्राहक वा निजको परिवारको बैंक वित्तीय संस्थामा रहेको खाताबाट रकम भुक्तानी लिनुपर्नेछ ।’ यस्तै, विद्युतीय माध्यमबाट भुक्तानी लिनु/दिनुपर्ने व्यवस्था गरिएको छ । सूचक संस्थाले खरिद विक्री गर्दा लिने रकम वा दिने भुक्तानीमा विद्युतीय माध्यमलाई प्राथमिकता दिनुपर्ने, विद्युतीय माध्यममार्फत हुने भुक्तानीमा कुनै सीमा रहेको भएमा बहुमूल्य धातु वा वस्तुको खरिद विक्री गर्ने सूचक संस्थाको सन्दर्भ उल्लेख गरी सीमा थप हुने व्यवस्था विभागले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाउने निर्देशनमा उल्लेख छ । तोकिएका विवरणहरुको अभिलेख नराखिएमा वा तोकिएको समयसम्म सुरक्षित नराखिएमा पहिलो पटक लिखितरुपमा सचेत गराउने, दोस्रो पटक दश लाख रूपैयाँ जरिवाना गर्ने,तेस्रो पटकबाट १० लाख रुपैयाँदेखि गम्भीरताताका आधारमा ५० लाख रुपैयाँसम्म जरिवाना गर्ने, अटेर गरिरहे जरिवाना सहित दर्ता खारेजीसम्मका कारवाही गर्ने उल्लेख गरिएको छ । ऐन, नियम, निर्देशनमा उल्लेख भएका अन्य विषयको पालना नभएमा पहिलो पटक लिखितरूपमा सचेत गराउने, दोस्रो पटक एक लाख रूपैयाँ जरिवाना गर्ने, तेस्रो पटकबाट दश लाखदेखि गम्भीरताका आधारमा १ करोड रुपैयाँसम्म जरिवाना र अन्य आवश्यक कारवाही गर्नेसम्मका व्यवस्था गरिएको छ । 

५ महिनापछि महासंघको अध्यक्ष बन्दैछु, बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न तयार छु : श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न तयार रहेको बताएका छन् । शुक्रबार सिबिफिनको छैठौं साधारणसभामा बोल्दै उनले ५ महिनापछि महासंघको अध्यक्ष बनी समाधान निकाल्ने बताएका हुन् । उनले भने,  ‘गत वर्षको अन्त्यतिर अर्थतन्त्र सुधार हुने अपेक्षा थियो । तर परिस्थितिमा फरक आएको छ । ५ महिनापछि महासंघको अध्यक्ष बन्दैछु, बैंक तथा वित्तीय संस्थाका समस्या समाधान गर्न म तयार छु ।’ श्रेष्ठले जेनजी आन्दोलनमा उद्योगी तथा व्यवसायीलाई टार्गेट गरी भएको तोडफोड र आगजनीले मनोबल गिरेको बताए । उनले भविष्यमा उद्योगी तथा व्यवसायी माथिको आक्रमण रोक्न सरकारसँग मागसमेत गरे । श्रेष्ठले एसएमई लोनमा गरीबबाट धनी बनाउन सक्ने अवधारणा रहेको बताए । उनले यसलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको प्रष्टाए । उनले बैंकले लिलाम मात्रै गर्न थालेको बताउँदै यसमा सहजीकरण गर्नुपर्यो भनी उद्योगी व्यवसायीले गुनासो गरेको उल्लेख गरे । त्यस्तै, श्रेष्ठले बिना धितो कर्जा पाउन सक्ने गरी व्यवस्था हुन जरुरी रहेको पनि औंल्याए । स्टार्टअपलाई २५ लाखसम्म ऋण दिने व्यवस्थालाई ५० लाख पुर्याउनु पर्ने उनको माग छ ।  

यातायात विभागको प्रणाली फेरि डाउन, लाइसेन्स सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले केही दिनमात्रै सञ्चालनमा ल्याएको सवारीसाधनको लाइसेन्स वितरण प्रणाली पुनः बन्द भएको जनाएको छ । विभागका अनुसार सूचना प्रविधि प्रणाली डेटा सेन्टरमा प्राविधिक समस्या आएको भन्दै पुनः अनिश्चितकालका लागि शुक्रबारदेखि बन्द भएको हो ।  विभागका सूचना अधिकारी गणेश भट्टराईले आइडीएल इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा लाइसेन्सका लागि आवेदन भर्ने बन्द भएको जानकारी दिए । उनका अनुसार  प्राविधिक समस्याका कारण यी दुवै प्रणाली गत कार्तिक १६ गतेदेखि आंशिक रूपमा अवरुद्ध हुँदै आएका थिए ।  तर समस्या समाधान नहुँदा आज शुक्रबारदेखि अर्को सूचना नआएसम्मका लागि दुवै प्रणाली पूर्ण रूपमा बन्द रहने भट्टराईले जानकारी दिए । प्रणाली बन्द हुँदा नयाँ लाइसेन्स आवेदन, नवीकरण, श्रेणी थप, तथा अन्य डिजिटल सेवा प्रभावित भएका छन् । विभागले सेवाग्राहीहरूलाई अनावश्यक भीडभाड नगर्न र थप सूचना नआएसम्म काउन्टरमा नआउन आग्रह गरेको छ ।  प्राविधिक समस्याका कारण ड्राइभिङ लाइसेन्सको वितरण पूर्णरूपमा सञ्चालनमा ल्याउन नसकिएको हो ।सूचना अधिकारी भट्टराईले हालै बनेपामा भएको एक कार्यक्रममा लाइसेन्सको छपाइ परीक्षण मात्र गरिएको जानकारी दिए ।  भट्टराईका अनुसार केही समयअघि सञ्चारमन्त्रीको उपस्थितिमा बनेपामा लाइसेन्स छपाईको टेस्ट गरिएको थियो । यो परीक्षणको क्रममा करिब ४/५ सय प्रति कार्ड छापिएको र ती कार्ड अहिले गुणस्तर परीक्षणका लागि सुरक्षा विभागमा पठाइएको छ। ‘सञ्चार माध्यममा ५०० देखि १००० प्रति छाप्ने भन्ने समाचार आए पनि त्यो परीक्षणका लागि मात्र थियो । त्यसपछि अन्य छपाइ भएको छैन र वितरण कार्य पनि सुरु भएको छैन,’ भट्टराईले विकास न्युजसँग भने ।  उनले वास्तविक छपाई र वितरणका लागि थप प्रक्रियाहरू पूरा हुन बाँकी रहेको जानकारी दिए । विभागले हाल एप्लिकेशन सङ्कलन र डेटा इन्ट्री लगायतका अन्य नियमित सेवाहरू भने सञ्चालन गरिरहेको छ । यद्यपि कार्यालय भवनको पुन:निर्माण कार्य अझै सकिएको छैन ।   विभागले हाल अस्थायी रुपमा पालमुनिबाटै सेवा दिइरहेको उनले जानकारी दिए । स्मार्ट लाइसेन्सको वितरण सुरु गुणस्तर परीक्षणको नतिजा र थप छपाइ प्रक्रिया सम्पन्न भएपछि मात्र यो सम्भव हुने उनको भनाइ छ । विभागले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको र चाँडै नै सेवा पुनः सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ ।

जब अध्यक्ष ढकाललाई कोशेलीको रूपमा एक डाली मास दिइयो...

काठमाडौं । चोयाले बुनेको चिटिक्कको डाली । अनि डालीभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो । मलेखु भएर काठमाडौं भित्रबाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोशेली बन्ने गर्दछ यहाँको मास र गेडागुडी ।    धादिङको नीलकण्ठ नगरपालिकामा बिहीबार आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएको जिल्लाको यो रैथाने उत्पादनको जिल्लामा निकै चर्चा भयो।  धादिङ जिल्ला उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोशेलीका रूपमा अतिथिलाई डालीभरि मास दिएपछि अतिथिहरू आश्चर्यमा परे ।  कार्यक्रमको आयोजक थियो जिल्ला उद्योग वाणिज्य संघ, धादिङ र प्रमुख अतिथि थिए नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल । अनि प्रसंग थियो सङ्घको ३२ औं वार्षिक साधारणसभा समारोह ।  कार्यक्रम सकियो, अतिथिहरूको बिदाइका तरखर सुरु भयो । अतिथिहरूलाई मायाको चिनो प्रदान गर्ने क्रममा डालिभरि मास लिएर आए जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी । परैबाट के होला कोशेली भनेर छुट्याउन नसकेपनि नजिकै उपस्थित हुनेहरूले भने थाहा पाए । प्रमुख अतिथि ढकाल लगायत त्यहाँ उपस्थित अन्य विशिष्ट अतिथिहरुले खुसी र श्रद्धापूर्वक धादिङको स्थानीय उत्पादनलाई उपहारका रूपमा ग्रहण गरेलगत्तै कार्यक्रमस्थलमा सुरु भएको थियो मासको महत्त्वको चर्चा ।  यस्ता समारोह तथा कार्यक्रमहरुमा मायाको चिनोका रूपमा प्रायः आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा सङ्घले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिन, मुलुकका उद्योगी व्यवसायीहरुका नेता ढकालमार्फत आफ्नो स्थानीय उत्पादनको प्रवर्द्धन गर्न तथा धादिङको मासको देशव्यापी प्रचार गर्न यो उपहार दिएको अध्यक्ष डल्लाकोटीले बताए । सो उपहार प्राप्त गरेपछि अध्यक्ष ढकालले आफू सदैव स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, रैथाने एवं स्थानीय वस्तुहरूलाई उचित बजारको प्रबन्ध गर्न तथा स्वदेशी उत्पादनमार्फत् आयात प्रतिष्थापन गरी निर्यात प्रवर्द्धन गर्न लागि परेकाले यस्ता उपहारहरू र तिनको प्रचारबाट निकै खुसी हुने धारणा पनि राखे ।  उनले भने, ‘यो उपहारले प्लास्टिकजन्य सामग्रीबाट बन्ने झोला आदिका ठाउँमा चोयाको डालीले काम गर्छ र नेपालमा प्लास्टिकका वस्तुहरुले स्थानीय बाँस, निगालोको चोयाबाट बन्ने डाली, डोका आदि सामग्रीहरु विस्थापित भइरहेका बेला तिनको प्रयोग र संरक्षणको सन्देश पनि डालीले दिन सक्छ भन्ने मलाई लाग्दछ ।’

महाधिवेशन विवाद समाधानका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक आज

काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक विवाद समाधान तथा आसन्न निर्वाचनका तयारीका सन्दर्भमा आज (शुक्रबार) दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक बोलाएको छ ।  पार्टीले २१ फागुनमा तय भएको निर्वाचनलाई मध्यनजर गर्दै महाधिवेशन गर्ने नगर्ने विषयमा आफ्नो अन्तिम धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो । विधानत केन्द्रीय समितिको बैठक चलिरहेकोले सम्पादन समितिको अनौपचारिक बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको धोबीघाटस्थित पार्टी कार्यालयमा बस्नेछ ।  हाल पार्टीभित्र समयमै महाधिवेशन हुने कि नहुने भन्ने विषयमा मतभेद बढ्दै गएपछि सहमति निकाल्न शीर्ष नेतृत्व सक्रिय बनेको छ ।  एक पदाधिकारीका अनुसार आजको बैठकले चुनाव अघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने कि नल्याउने विषयमा टुंगोमा पुग्ने प्रयास गर्नेछ । नेतृत्वको भूमिकाबारे उठेका आन्तरिक आलोचना, महाधिवेशनको समयतालिका, संगठनात्मक तयारी तथा आगामी निर्वाचनका रणनीतिलाई केन्द्रमा राखेर हुने आजको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । 

पुरानो धन, नयाँ सोच : भारतका मिलेनियल र जेन–जेड उत्तराधिकारीको स्टार्टअपतर्फ झुकाव

काठमाडौं । मुम्बईस्थित मेहता समूहका उत्तराधिकारी रजत मेहता बुधबार बिलियनब्रेन्स गराज भेन्चर्स (जीआरओडब्ल्यूडब्ल्यू) को लिस्टिङ समारोहबाट बाहिरिँदा आत्मसन्तुष्ट महसुस गर्दै थिए । २०१६ मा उनले सुरुआती चरणमै करिब १३ लाख डलर मूल्यांकनमा लगानी गरेको जीआरओडब्ल्यूडब्ल्यू अहिले नेशनल स्टक एक्सचेन्जमा ८.६ अर्ब डलर मूल्यमा डेब्यू ग‍र्यो। ३६ वर्षे रजतले गर्वको अनुभूति गरे जब उनका बुबा राकेशक मेहताले भने, ‘अब अर्को जीआरओडब्ल्यूडब्ल्यू खोजेर लगानी गरौं ।’ सलाहकार, वेल्थ म्यानेजमेन्ट र ब्रोकरेज सेवामा आधारित पारिवारिक व्यवसायबाट आएका मेहताहरू परम्परागत रूपमा सूचीकृत कम्पनीमै लगानी गर्न रुचाउँथे । तर २०१३ मा व्यवसायमा प्रवेश गरेपछि युवा रजतले परिवारलाई सूचीबाहिरका सम्पत्ति र स्टार्टअपमा लगानी गर्नतर्फ मोडिदिए । ‘मैले पहिलो लगानी गरेको स्टार्टअप तीन महिनामै बन्द भयो,’ उनले सम्झिँदै भने, ‘तर मैले त्यसबाट सिकेँ र लगानी जारी राखेँ ।’ अहिले उनले ३५ वटा स्टार्टअपमा लगानी गरेका छन्, जसमध्ये कतिपयको मूल्यांकन अर्बौं डलर छ र लिस्टिङ प्रक्रियामा छन् । मिलेनियल पुस्ता भारतका धनी परिवारहरूमा स्टार्टअप लगानीतर्फको ठूलो परिवर्तनको हिस्सा बनेका छन् । यो वर्ष जुनमा जारी ज्युलियस बेयर र ईवाईको रिपोर्टअनुसार भारतमा आगामी दशकमा करिब १.५ ट्रिलियन डलर बराबरको पिँढीगत सम्पत्ति हस्तान्तरण हुने अनुमान छ । २०१८ देखि २०२४ सम्म भारतमा फ्यामली अफिसको संख्या ४५ बाट बढेर ३०० नाघ्यो जुन ५०० प्रतिशतभन्दा बढी वृद्धि हो । त्यस्तै, ३० मिलियन डलरभन्दा माथिको सम्पत्ति भएका अल्ट्राहाई नेटवर्थ परिवारहरूको संख्या पनि सोही अवधिमा १३ हजारजति पुगेको छ । धेरै वेल्थ म्यानेजरहरूका अनुसार भारतमा वास्तविक फ्यामली अफिसको संख्या यसका पाँचदेखि दस गुणासम्म हुन सक्छ । अर्को पुस्ताका लगानीकर्ता दिल्लीस्थित प्रक्सीमा क्यापिटल सर्भिसेजका पार्टनर विक्रान्त अग्रवालका अनुसार धनी परिवारका नयाँ पुस्ता प्रायः उच्च शिक्षित छन्, धेरैजसोले अन्तर्राष्ट्रिय डिग्री लिएका छन् र उनीहरू पारम्परिक पारिवारिक व्यवसायमा धेरै आकर्षित नहुन सक्छन् । भारतका धेरै पुराना सम्पन्न परिवार विशेषगरी स–साना सहरका अझै पनि जमिन र सुनजस्ता भौतिक सम्पत्तिमा धन राख्छन् । यी भौतिक सम्पत्ति वित्तीय सम्पत्तिमा रूपान्तरण भएपछि फ्यामली अफिसको संख्या तीव्र गतिमा बढ्ने त्रिजेन वेल्थका संस्थापक शैलेश बालाचन्द्रन बताउँछन् । भारतका ‘नयाँ धनी’ समूह स्टार्टअप कर्मचारीहरूका स्टक अप्सन रकम, विदेशबाट फर्किएका एनआरआईहरूको धनराशि र दह्रो चलिरहेको स्टक मार्केटबाट जन्मिँदै छन् । पुराना धनाढ्य पुस्तातर्फ भने बेबी बूमरहरू ठूलो परिमाणमा सम्पत्ति उत्तराधिकारमा हस्तान्तरण गर्दैछन् । यो हस्तान्तरणले भौतिक सम्पत्तिबाट वित्तीय सम्पत्तितर्फको रूपान्तरणलाई अझै छिटो बनाइरहेको छ । वित्तीय सम्पत्ति बाँडफाँड गर्न सजिलो हुन्छ । नयाँ पुस्ता मात्र धन जोगाउन होइन, उच्च जोखिम लिने र बढी प्रतिफल दिने लगानीबाट धन सृजना गर्न चाहन्छन् । एक कपडा व्यवसाय चलाउने परिवारका उत्तराधिकारी जसका बुबा रियल स्टेट र बैंक डिपोजिटभन्दा बाहिर कहिल्यै लगानी नगर्ने अहिले स्टार्टअपजस्ता उच्च जोखिम लगानीमा रुचि देखाइरहेका छन् । कति परिवारहरू अब आफ्नो पोर्टफोलियोको २० प्रतिशत वा बढी हिस्सा स्टार्टअपलाई छुट्याउन चाहन्छन् । भेन्चर क्यापिटल पनि फाइदा उठाउँदै बेंगलुरुस्थित इनफ्लेक्सर भेन्चरले आफ्नो तेस्रो कोषका लागि १५० मिलियन डलर उठाउने तयारी गर्दैछ, जसले एआई, रोबोटिक्स, स्पेस र अटोमेसन स्टार्टअपमा लगानी गर्नेछ । यसको दोस्रो कोषको आधा रकम भारतीय फ्यामली अफिसबाट आएको पार्टनर मुरली कृष्ण गुन्तुरुले बताए । २०२१ मा जब ४५ भारतीय स्टार्टअप युनिकर्न बने धेरै फ्यामली अफिसहरूले स्टार्टअप लगानीको फाइदा देखे । अहिले कतिपय आफैले सीधा लगानी गर्न थालेका छन् । गुन्तुरुका अनुसार ‘अब परिवारहरू आफ्नै व्यवसायसँग सम्बन्धित स्टार्टअपमा सीधा लगानी गर्छन् । उदाहरणका लागि नोपो जुन कार्बन न्यानोट्युब बनाउने स्टार्टअप हो । जसमा हामीले भेन्चर क्यापिटलमार्फत लगानी गरेका हौं, तर सुझाव भने एउटा फ्यामली अफिसले दिएको थियो ।’ मिलेनियल र जेन–जेड पुस्ताले पारिवारिक व्यवसायसँग उनीहरूको रुचि मेल नखाए पनि स्टार्टअप लगानीलाई नयाँ व्यवसायको रूपमा हेर्छन् । गत वर्ष क्विक–कमर्स स्टार्टअप जेप्टोले नयाँ लगानी खोज्दा भारतीय फ्यामली अफिसहरूले मात्र चार हप्तामा ३०० मिलियन डलर जम्मा गरेका थिए । अन्य लगानीले १५ प्रतिशत वार्षिक प्रतिफल दिन सक्छ, तर स्टार्टअप लगानीले अत्यधिक फाइदा दिने सम्भावना हुन्छ । ‘युवाहरूको विश्वास छ, १० स्टार्टअपमध्ये एउटा जोमाटो जस्तै अत्यन्त ठूलो बन्न सक्छ,’ बालाचन्द्रन भन्छन् । ‘सूचीकृत पारम्परिक कम्पनीहरूले ट्रिलियन–रुपैयाँ मूल्यांकनमा पुग्न दशकौं लाग्यो, तर जोमाटोले सूचीकरणपछि केही महिनामै त्यो लक्ष्य छोयो,’ उनले थपे । सुनको मूल्य प्रतिऔंस ४ हजार २०० डलर नाघ्यो, अमेरिकी शटडाउन समाप्तिपछि बजार उत्साहित घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी  

कर्जा नीति र सेवा शुल्क पुनरावलोकन गर्न सिबिफिनको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले कर्जाका नीतिगत व्यवस्था र सेवा शुल्कमा पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । शुक्रबार सिबिफिनको छैठौं साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।  ‘बैंकको मुख्य आम्दानी खुद ब्याज आम्दानी रहेको बताउँदै उनदे अब यसको पुनरावलोकन गर्नु पर्ने धारणा राखे । यस्तै, बैंकको आम्दानीका मोडल विविधीकरण गर्नुपर्ने आवश्यकता रहेको पनि उनले सुनाए ।  ‘निर्देशनात्मक कर्जा नीति पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ, लचिलो तथा समावेशी नीति अगाडि सार्न पनि माग गर्दर्छां,’ उनले भने, नेपालका बैंक तथा वित्तीय संस्था सेवाग्राहीप्रति प्रतिबद्ध छन् ।’ कार्यक्रममा उनले साना तथा मझौला उद्यमलाई रोजगारी सिर्जना गर्न, उद्यमशिलताको विकास र बैंकिङ क्षेत्रको ज्ञान अर्थतन्त्रको विकासमा हुनु पर्नेमा जोड दिए ।  ‘हामी दीगो बैंकिङप्रति प्रतिबद्ध छौं, नीतिगत प्रोत्साहनका कार्यक्रम ल्याउन माग गर्दछौं, अर्थतन्त्रको मेरुदण्ड बैंकिङ क्षेत्र हो । निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी छ । तर, त्यसमा बैंकको योगदानो विषयमा चर्चा हुँदैन, उद्यमशिलता र वित्तीय क्षेत्रको सुदृढता गर्न हातेमालो गर्न आवश्यक छ,’ उनले भने ।  यस्तै, देश ग्रे लिष्टमा पर्नु चिन्ताको विषय रहेको उल्लेख गर्दै अब त्यसबाट बाहिर निस्कनका लागि सिबिफिन विभिन्न निकायसँग हातेमालो गर्न तयार रहेको सुनाए ।  ‘अर्थतन्त्रमा समस्या देखिए पनि समाधानको तत्परता देखिएको छैन । अब हाम्रै बलबुतामा चुनौती न्यूनीकरण गर्नुपर्छ । त्यसका लागि सरोकारवालासँग आपसी विश्वास र समन्वय आवश्यक छ । मुलुकलाई लगानीको हबका रुपमा विकास गर्न सकिन्छ,’ कार्यक्रममा उनले भने ।