काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्यमा भएको वृद्धिसँगै अस्ट्रेलियामा घरायसी खर्चमा उल्लेख्य बढोत्तरी भएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत मार्च महिनामा घरायसी खर्च १.६ प्रतिशतले बढेको छ ।
एबीएसकाअनुसार जनवरीमा ०.२ प्रतिशत र फेब्रुअरीमा ०.३ प्रतिशतले बढेको घरायसी खर्च मार्चमा आइपुग्दा तिब्र गतिमा वृद्धि भएको हो । सन् २०२४ को मार्चको तुलनामा यो खर्च ६.३ प्रतिशतले बढी हो । एबीएसका व्यवसाय तथ्याङ्क प्रमुख टम लेका अनुसार इन्धनको मूल्य वृद्धिका कारण यातायात लागतमा ५.१ प्रतिशतले वृद्धि भएपछि समग्र घरायसी खर्च बढ्न पुगेको हो । मार्च महिनाको शुरुदेखि नै इन्धनको मूल्य बढ्न थालेको र महिनाको अन्त्यतिर यो उच्च बिन्दुमा पुगेको तथ्याङ्कले देखाएको छ ।
मूल्य वृद्धिका कारण उपभोक्ताहरूको व्यवहारमा समेत परिवर्तन देखिएको छ । सवारी धनीहरूले एकैपटक धेरै इन्धन भर्नुको सट्टा पटक–पटक थोरै परिमाणमा इन्धन भर्ने गरेको पाइएको छ । त्यस्तै, निजी सवारी साधनको सट्टा सार्वजनिक यातायातको प्रयोगमा वृद्धि हुनुले पनि उपभोक्ताहरू महँगो इन्धनबाट बच्न खोजेको संकेत गर्दछ ।
यसैगरी, खाद्यान्न खर्चमा पनि १.७ प्रतिशतको वृद्धि देखिएको छ। विश्वव्यापी आपूर्ति शृङ्खलामा आउन सक्ने सम्भावित अवरोधका कारण सर्वसाधारणले सावधानीस्वरूप खाद्यान्न भण्डारण (स्टक) गरेकाले यो खर्च बढेको बताइएको छ ।
तथ्याङ्कअनुसार मार्च महिनामा इन्धनको मूल्य ३२.८ प्रतिशतले बढेपछि इन्धन खरिदको परिमाण भने १.३ प्रतिशतले घटेको छ । मार्च त्रैमासिकमा घरायसी खर्चको कुल परिमाण ०.७ प्रतिशतले बढेको छ, जुन लगातार छैटौँ त्रैमासिक वृद्धि हो । विशेषगरी स्वास्थ्य र खाद्यान्न जस्ता अत्यावश्यक क्षेत्रमा खर्च बढेका कारण यो वृद्धि देखिएको टम लेले जानकारी दिए । वार्षिक रूपमा हेर्दा, घरायसी खर्चको परिमाण २.८ प्रतिशतले बढेको छ, जुन सन् २०२३ को मध्ययताकै सबैभन्दा बलियो वार्षिक वृद्धि हो ।