हिमालयन सेक्युरिटिजको पाँचौं वार्षिकसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित
काठमाडौं । हिमालयन सेक्युरिटिजको पाँचौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफारनोक्सान, नगद प्रवाह विवरण) उपर गहन छलफल गरी पारित गरेको छ । साथै सभाले सञ्चालक समितिको प्रस्तावबमोजिम चुक्ता पूँजीको ८ प्रतिशत करसहित नगद लाभांश सेयरधनीलाई वितरण गर्ने निर्णय गरेको छ । सभाले आगामी आव २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष सुशील जोशीले कम्पनीले छोटो अवधिमा हासिल गरेको उपलब्धी र सफलताबारे प्रकाश पारेका थिए ।
सिटिजन्स बैंकले ७७.७३ करोड लाभांश बाँड्ने, ५ प्रतिशत बोनस सेयर
काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आथिृक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ७७ करोड ७३ लाख १६ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १९औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने सूचना अधिकारी नारायण राज अधिकारीले बताए । विसं २०६४ बैशाख ७ गतेदेखि कारोबार सुरु गरेको बैंकले १९ वर्गादेखि ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले सर्वसाधारणलाई सेयर जारी गरेपछि आर्थिक वर्ष २०६५/६६ देखि सेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आव २०८१/८२ सम्म बैंकले सेयरधनीहरूलाई ११.८७ प्रतिशत औषत लाभांश वितरण गरेको छ । प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर १०.५२ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ अकाउन्ट’ प्रडक्ट पनि बैंकले सुरु गरेको छ । बैंकले देशभर २ सय वटा शाखा, १६९ वटा एटीएमक, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाईबाट १९ लाख ३७ हजार ग्राहकलाई सेवा दिइरहेको छ ।
अब माओवादी विघटन गरौं : सचिव कार्की
काठमाडौं । नेकपा माओवादीका सचिव राम कार्कीले पार्टीलाई विघटन गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको पहिलो सत्रलाई सम्बोधन गर्दै कार्कीले उक्त प्रस्ताव राखेका हुन् । कार्कीले जेनजी आन्दोलनले जलेका घरजस्तै अवस्थामा हाम्रो पार्टी पनि पुगेको भन्दै विघटनको धारणा राखेका हुन् । ‘जसरी आगोले जलेका घरहरूले अबको घामपानी सहन गर्न सक्दैनन्, त्यसैगरी यी पुराना पार्टीहरूले पनि नयाँ पुस्ताको लहर थेग्न नसक्ने,’ कार्कीले भनेका छन् । ‘यही अवस्थामा अब अगाडि बढ्न नसकिने भएकोले पार्टीको जीर्णोद्वार होइन पुनःनिर्माण गरौं,’ कार्कीले प्रस्ताव गरेका छन् । जनताबाट अलग्गिएको पार्टीले जनताको भावना नबुझ्ने बताउँदै उनले अहिले पार्टीलाई मर्मत गरेर चलाउन असम्भव रहेको बताए ।
देउवा दम्पत्तिको दशैं अस्पतालमै
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको यस वर्षको दशैं अस्पतालमै हुने भएको छ । गत भदौ २४ को जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पतीको दशैं अस्पतालमै हुने भएको हो । अहिले सभापति देउवा र उनको पत्नी आरजु देउवा राणा अस्पतालमै अपचाररत छन् । आन्दोलनकारीले बुढानीलकण्ठमा रहेको निवास आगजनी गरेर उनीहरुलाई घरबाट निकालेर कुटपिट समेत गरेका थिए । देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार देउवा दम्पत्तिको दशैं सम्भवतः अस्पतालमै हुनेछ । ‘उपचाररत हुनु भएकाले स्वास्थ्य नै प्रमुख प्राथमिकता हो, चिकित्सकीय निगरानीमा बस्नुपर्ने भएकाले सार्वजनिक जमघट वा राजनीतिक कार्यक्रममा सक्रिय हुने सम्भावना न्यून छ, दशैं पनि अस्पतालमै हुने देखिन्छ,’ स्वकीय सचिव देउवाले विकासन्युजसँग भने । उनका अनुसार निवासमा भएको आगजनी र आक्रमणले देउवा र उनको परिवारलाई गहिरो मानसिक आघात पु¥याएको छ । यसले देउवालाई शारीरिक मात्र नभई भावनात्मक रूपमा पनि दशैंको उल्लासबाट टाढा राख्ने उनको भनाइ छ । सामान्यतया दशैं नेपालीहरूका लागि पारिवारिक मेलमिलाप, आत्मिक सन्तोष र उत्सवको समय हो । तर देउवाका लागि यो पर्व निकै तनाव, असुरक्षा र अनिश्चितताबीच बित्ने देखिएको छ । यसपटकको दशैंमा पार्टीभित्रै बढ्दै गएको नेतृत्व हस्तान्तरणको दबाबले देउवालाई चाडपर्वमा पनि राजनीतिक रणनीति र भविष्यको मार्गचित्रबारे सोच्न बाध्य बनाउने देखिएको छ ।
दूधकोशी आयोजना र हरित ऊर्जामा युरोपेली सङ्घलाई सहकार्य गर्न ऊर्जामन्त्री घिसिङको आग्रह
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत भेरोनिक लोरेन्जाले युरोपेली सङ्घकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । नेपालको ऊर्जा क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको युरोपेली सङ्घका राजदूतसँगको भेटमा रणनीतिक महत्त्व तथा रुपान्तरणकारी जलाशययुक्त जलविद्युत आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा एवम् दक्षता, ऊर्जा क्षेत्रमा थप सहायता लगायतका विषयमा छलफल भएको थियो । मन्त्री घिसिङले जेनजीको आन्दोलनपछि गठन भएको सरकारको प्राथमिकता चुनाव, सुशासन र आन्दोलनका कारण क्षति पुगेका भौतिक संरचनाको पुननिर्माण भएता पनि विकास आयोजनालाई अगाडि बढाउन नीतिगत तथा कानुनी सुधार, अन्तरमन्त्रालय समन्वय, विद्युत बजार थप सुनिश्चित गर्नु रहेको बताए । युरोपेली सङ्घबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना निर्माण उच्च प्राथमिकतामा रहेकाले आयोजनाको वित्तीय व्यवस्थापनका लागि आवश्यक रकम जुटाउन, प्रसारण तथा वितरण प्रणाली सुधारका लागि थप सहायता उपलब्ध गराउन आग्रह गरे । राजदूत लोरेन्जाले नेपालको ऊर्जा क्षेत्रमा थप सहयोग र सहकार्य सहयोग गर्न युरोपेली सङ्घ संधै तयार रहेको बताइन् ।
बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त, लिए शपथ
काठमाडाैं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार (आज) नवनियुक्त अध्यक्ष शर्मालाई शपथग्रहण गराए । नवनियुक्त अध्यक्ष शर्माले आजै पदभार ग्रहण गर्ने जनाइएको छ । उनी अर्थमन्त्रालयका सहसचिव हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले गत असार ३० गते सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षमा नियुक्त गरेको थियो । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै अध्यक्षको जिम्मेवारी दिइएको थियो । उनी अध्यक्षकै जिम्मेवारी रहेको बेला प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा पनि भदौ ३१ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको भन्दै प्राधिकरणमा हाजिर भएको थिए । सोही दिन प्राधिकरणमा दुई अध्यक्ष पोखरेल र ओझाले हाजिर गरेका थिए । गत असार ३० गते सरकारले उनको योग्यतामाथि छानबिन गर्ने निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका थिए । तत्कालीन सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । त्यसपछि ओझा अदालत पुगेको थिए । उनको योग्यतासम्बन्धी विवाद सर्वोच्च अदालतमा समेत विचाराधीन छ । अहिले अन्तरिम सरकार बनेसँगै अर्थमन्त्री रामेश्वर खनालले अर्को व्यक्तिलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेका हुन् ।
‘विद्युतीय क्रान्तिमा ब्रेक’ लाग्ने भन्दै हरित नियम नहटाउन ट्रम्पलाई टेस्लाको चेतावनी
काठमाडौं । विद्युत् सवारीसाधन (ईभी) निर्माता टेस्लाले ट्रम्प प्रशासनलाई सवारीसाधन उत्सर्जन मापदण्ड र अमेरिकाको दीर्घकालीन निष्कर्ष (हरितगृह ग्यास उत्सर्जनले मानव स्वास्थ्यलाई खतरा पुर्याउँछ) लाई खारेज नगर्न आग्रह गरेको छ । टेस्लाले बिहीवार सार्वजनिक गरेको टिप्पणीमा भनिएको छ कि वातावरण संरक्षण एजेन्सी (ईपीए) को मापदण्ड खारेज गर्ने प्रस्तावले ‘हाइवे इन्जिन र सवारीसाधनका लागि हुने सबै ग्रिन हाउस ग्यास उत्सर्जनको मापन, नियन्त्रण र प्रतिवेदनका जिम्मेवारीबाट इन्जिन र सवारीसाधन निर्माताहरूलाई छुट दिनेछ ।’ यसै साताको सुरुवातमा, जनरल मोटर्स, टोयोटा, फक्सवागन र लगभग सबै ठूला सवारीसाधन निर्माताहरुको समूहले पर्यावरण संरक्षण एजेन्सी (ईपीए)लाई सवारीसाधन उत्सर्जनका आक्रामक सीमा खुकुलो बनाउन आग्रह गरेका थिए । ती सीमा अन्तर्गत निर्माताहरूलाई बढ्दो संख्यामा विद्युतीय सवारीसाधन बनाउन बाध्य पारिएको छ । ट्रम्प प्रशासनले हरित सवारीसाधनका नियमलाई कमजोर बनाउँदा टेस्लाले आगामी वर्षहरूमा अरबौं डलर बराबरका नियामक क्रेडिट गुमाउने सम्भावना रहेको बताएको छ । गत वर्ष मात्र टेस्लाले शून्य उत्सर्जन भएका ईभी बिक्रीबाट र ती क्रेडिटलाई अन्य सवारीसाधन निर्मातालाई बेचेर २.८ अर्ब डलर बराबरको आम्दानी गरेको थियो । ओहायोका रिपब्लिकन सिनेटर बर्नी मोरेनोले गत जुलाईको सुनुवाइमा सवारीसाधन निर्माताले टेस्लालाई तिरेको रकमलाई ‘अत्यन्तै महँगो’ भनेका थिए । ‘यस कार्यक्रमको स्थिरता कमजोर पार्छ, मापदण्डअनुसार विद्युतीय सवारीसाधन निर्माताले पाउने प्रदर्शन-आधारित प्रोत्साहनको मूल्य घटाउँछ, र प्रतिस्पर्धात्मक असमानता सिर्जना गर्छ — जसले सवारीसाधन प्रविधिमा लगानी गर्ने प्रेरणा घटाउँछ,’ टेस्लाले भन्यो । टेस्लाले सन् २०१९ देखि वातावरणमैत्री एअर कन्डिसनिङ प्रयोग गरेर प्रति सवारीसाधन २५ डलर खर्च गरी क्रेडिट कमाउन सुरु गरेको थियो । ‘यो लगानी उत्तर अमेरिकामा उत्पादन गरिएका लाखौं सवारीसाधनमा लागू हुँदा अन्ततः दशौं मिलियन डलर बराबर पुगेको छ,’ टेस्लाले भन्यो । टेस्लाका सीईओ एलोन मस्क यस वर्षको सुरुवातसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सल्लाहकार थिए, तर त्यसपछि उनी सार्वजनिक विवादमा परे । ट्रम्पले मस्कको बजेट विधेयकको विरोधको कारण उपभोक्ता कर क्रेडिट हटाइनु हो भन्ने बताएका थिए । त्यो क्रेडिट आगामी सेप्टेम्बर ३० मा अन्त्य हुनेछ । जुलाईमा प्रशासनले सवारीसाधन निर्माताहरूलाई सन् २०२२ मोडेल वर्षदेखि लागू हुने इन्धन दक्षता नियम नपुगेको भए पनि कुनै जरिवाना नलाग्ने बताएका थिए । ट्रम्पले यसै वर्ष जुनमा कंग्रेसनल रिभ्यु एक्ट अन्तर्गत क्यालिफोर्नियाले २०३५ सम्ममा पेट्रोल मात्र चल्ने सवारीसाधनको बिक्री अन्त्य गर्ने ऐतिहासिक योजना रोक्ने प्रस्तावमा हस्ताक्षर गरेका थिए । सान्दर्भिक सामग्री: जब पोर्शेका धेरै लगानीकर्ताहरूले सेयर बेचिदिए... सेमीकन्डक्टर क्रान्तिमा भारत : १० ठूला परियोजना र १.६ ट्रिलियनको लगानी मस्कको लगानीले टेस्लाको एआई–रोबोटिक्स महत्त्वकांक्षालाई नयाँ दिशा इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज
दुई महिनामा जीवन बीमकको व्यापार ३५ अर्ब २४ करोड, सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले ३५ अर्ब २४ करोडभन्दा बढीको व्यवसाय भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार चालित १४ जीवन बीमा कम्पनीहरूले दुई महिनाको अवधिमा ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन्। भदौ महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले १५ अर्ब ५९ करोड ६३ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका छन्। दुई महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले भदौसम्ममा ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । दोस्रो धेरै व्यवसाय भित्र्याउनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल लाइफले दुई महिनाको अवधिमा ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । धेरै व्यवसाय आर्जन गर्ने तेस्रो कम्पनी एलआईसी नेपालले ३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । दुई महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड २३ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब १ करोड ५२ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ५० करोड १३ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब २० करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, आइएमई लाइफले १ अर्ब ८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ५ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब १ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा ४ अर्ब ८० करोड ३ लाख रुपैयाँ र सन नेपाल लाइफले ६० करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।