पुराना र कुच्चिएका जारमा पानी बेच्नेलाई कारबाही हुने

काठमाडौं । बजारमा पुराना, कुच्चिएका, टालिएका र अपारदर्शी जारमा प्रशोधित पिउने पानी बिक्री भइरहेको जनगुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ ।

विशेष गरी गर्मी र वर्षायाममा पानीजन्य रोगहरूको संक्रमण फैलने उच्च जोखिम हुने भएकाले विभागले पिउने पानीको स्वच्छता र गुणस्तरमा कडाइ गर्न लागेको हो । 

विभागका अनुसार मापदण्डविपरीतका जार प्रयोग गर्दा पानीको गुणस्तर कायम नहुने र उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ । यस्ता जारहरू सफा गर्न कठिन हुने र पानी दूषित हुने सम्भावना प्रबल रहन्छ ।

विभागले पानी उत्पादक, ढुवानीकर्ता तथा बिक्रेताहरूका लागि प्रशोधित पिउने पानी उत्पादन तथा बिक्रीवितरण गर्दा तोकिएको गुणस्तर मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, पुराना, कुच्चिएका, टालिएका, चुहिएका वा भित्रको पानी स्पष्ट नदेखिने (अपारदर्शी) जारहरू तत्काल हटाउनुपर्ने, निर्देशनको उल्लंघन गरी असुरक्षित रूपमा पानी बिक्री गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिनेलगायत निर्देशन जारी गरेको छ । 

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले ढुवानी र बिक्रीका क्रममा लापरवाही नगर्न विभागले सचेत गराएको छ । विभागले उपभोक्ताहरूलाई पनि पानी खरिद गर्दा जारको अवस्था र लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरेको छ । 

null

Share News