विकासन्युज

महँगी ह्वात्तै घटेको राष्ट्र बैंकको विश्लेषण, ४.८२ प्रतिशतबाट १.४७ प्रतिशतमा झर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले महँगी घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार असोजसम्मको देशको आर्थिक स्थिति सार्वजनिक गर्दै २०८२ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको उल्लेख गरेको हो ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत रहेको थियो ।  आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.७५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ ।  तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.६३ प्रतिशत, मरमसलाको ७.८२ प्रतिशत र दाल तथा गेडागुडीको ४.४१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको४.५५ प्रतिशतले बढेको छ ।  बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.२९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.५३ प्रतिशतले बढेको छ ।  प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३३ प्रतिशत, मधेश प्रदेशको १.२० प्रतिशत, बागमती प्रदेशको १.१३ प्रतिशत, गण्डकी प्रदेशको १.१६ प्रतिशत, लुम्बिनी प्रदेशको १.८९ प्रतिशत, कर्णाली प्रदेशको १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.६९ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.४३ प्रतिशत, तराईको १.२९ प्रतिशत, पहाडको १.५० प्रतिशत र हिमालको २.३३ प्रतिशत रहेको छ ।

कामदारलाई सबैभन्दा बढी तलब गण्डकीमा, देशभरको सूचकाङ्क ४.४८ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले वृृद्धि भएको बताएको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको तीन महिनासम्मको देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्दै तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले वृृद्धि भएको बताएको हो ।  राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही त्रैमासमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो ।  प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.१२ प्रतिशत, मधेश प्रदेशको ३.६२ प्रतिशत, बागमती प्रदेशको ४.१६ प्रतिशत, गण्डकी प्रदेशको ९.४२ प्रतिशत, लुम्बिनी प्रदेशको ६.६८ प्रतिशत, कर्णाली प्रदेशको १.३६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६२ प्रतिशत रहेको छ ।  

अप्टिमिस्ट इन्टरनेसनलले मनायो अन्तर्राष्ट्रिय सहिष्णुता दिवस

काठमाडौं । अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिकले अन्तराष्ट्रिय सहिष्णुता दिवसको अवसरमा कार्यक्रम गरेको छ । यो दिवस युनेस्कोले सन् १९९५ मा घोषणा गरेको हो, जसको उद्देश्य असहिष्णुताका खतराहरूको बारेमा जनचेतना जगाउनु रहेको छ । यो दिवस हरेक वर्ष नोमेम्बर १६ मा अन्तराष्ट्रिय दिवस मनाउने गरिन्छ । दिवसको पूर्वसन्ध्यामा गरिएको कार्यक्रममा घरपरिवारदेखि विश्वसमुदायसम्म सहिष्णुताको महत्वबारे चर्चा गरिएको थियो । एकले अर्कोलाई नस्वीकार्ने, एकले अर्कोप्रति गलत भावना राख्ने जस्ता गतिविधिले घरदेखि विश्वमासम्म अशान्ति फैलने भएकाले अन्तराष्ट्रिय सहिष्णुता दिवसको महत्व बढ्दै गएको सहभागिहरूको भनाई थियो । अप्टिमिस्ट इन्टरनेसनल विश्वभर ८० हजारभन्दा धेरै सदस्य सङ्ख्या छ । अप्टिमिस्ट इन्टरनेसनल एसियामा पहिलो पटक नेपालमा सन् २०१७ मा स्थापना भएको संस्थापक गर्भनर उदय निरौलाले जानकारी दिए । कार्यक्रममा मनोविद गृष्मा पनेरुले सहिष्णुता वा सहनशिलता मानसिको मनोविज्ञानले पनि प्रभाव पर्ने बताइन् । उनले भनिन्, 'मानसिक स्वास्थ्य पनि कतै न कतै सहिष्णुतामा जोडिएको जस्तो लाग्छ ।' कार्यक्रममा प्रा.डा. मेदनीप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सहिष्णुताको सान्दर्भिकता हरेक दिन बढ्दै गएको भन्दै यो थप बहसको विषय बन्नुपर्नेमा जोड दिएका थिए । संस्थाका गर्भनर प्रतापबहादुर थापाले अप्टिमिष्ट इन्टरनेसनल एसियामा नेपालमा पहिलोपटक स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उनले संस्थापक सदस्यहरूलाई धन्यवाद दिँदै यस संस्थालाई थप प्रभावकारी बनाउने बताए ।

पहिलो त्रैमासमा सानिमा रिलायन्सको नाफा १४ करोड ९६ लाख, जीवन बीमा कोषमा २० अर्ब ८७ करोड

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १२.५३ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा जीवन बीमा कोषमा १५ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३४.१२ प्रतिशतले बढेको छ । त्यस्तै पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ७४ लाख रुपैयाँ थियो ।  यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ३४ करोड २६ लाख रुपैयाँ थियो ।  कम्पनीको अन्य इक्विटी २ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ८ करोड ९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो आवको यही अवधिसम्म कम्पनीले १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ।  यो अवधिमा कम्पनीले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.५२ प्रतिशतले बढेको छ ।  कुल ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.९३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४९.१२ गुणा, प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयनन् रहेको छ । 

सेयरधनीलाई २० प्रतिशत लाभांश दिने सर्वोत्तम सिमेन्टको घोषणा

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण पारित गर्दै कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम ४ अर्ब ९७ करोड ५५ लाख चुक्ता पूँजी मध्येबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जसको रकम २४ करोड ८७ लाख ७५ हजार रुपैयाँ बराबर पर्छ । त्यस्तै १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरिएको छ, जसको रकम ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ रहेको छ । यससँगै सर्वोत्तम सिमेन्टले प्रस्ताव गरेको कुल लाभांश रकम ९९ करोड ५१ लाख रुपैयाँ बराबर हुने कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत जानकारी गराएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

कांग्रेसभित्र महाधिवेशन विवाद बढेपछि सभापति देउवा सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १८ दिनको सिंगापुर उपचारपछि नेपाल फर्किएलगत्तै पार्टीभित्र महाधिवेशनसम्बन्धी देखिएको विवाद समाधान गर्न सक्रिय भएका छन् ।  शुक्रबार राति काठमाडौं आएपछि उनले शनिबारदेखि नेताहरूसँग अनौपचारिक भेटघाटलाई तीव्रता दिएको देउवा निकट स्रोतले बताएको छ । देउवाले गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति नियुक्त गरेका थिए । कार्यवाहक सभापति खड्काले शनिबार बिहान देउवालाई पछिल्लो एक महिना बसेको केन्द्रीय समिति बैठकमा भएको छलफल र महाधिवेशन प्रक्रियालाई लिएर बढेको असन्तुष्टिबारे जानकारी गराएका थिए । देउवा निकट स्रोतले खड्काले उक्त जानकारी गराएपछि देउवाले अनौपचारिक भेटघाट बढाएको बताएको छ ।  स्रोतका अनुसार खड्कासँगको विस्तृत संवादपछि देउवाले पार्टीभित्र बढ्दो विवाद चिस्याउने उद्देश्यले प्रवक्ता डाक्टर प्रकाशशरण महत, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदसहितका नेताहरूसँग पनि भेटवार्ता गरेका छन् ।  महाधिवेशनको तयारी, सदस्यता विवाद र समय तालिकासम्बन्धी असहमति पार्टीभित्र मुख्य विवादको विषय बनिरहेका बेला देउवाको अनौपचारिक भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेताहरूका अनुसार देउवाले औपचारिक रूपमा निर्णय लिने स्थिति नबने पनि उनले आन्तरिक तनाव बढ्न नदिने र महाधिवेशन प्रक्रियालाई छलफलमार्फत अघि बढाउने संकेत दिएका छन् ।  पार्टीभित्र नेतृत्वको भूमिकाबारे बढ्दो बहसका बीच देउवाको सक्रियताले कांग्रेसलाई महाधिवेशनतर्फ एकीकृत रूपमा अघि बढाउन महत्त्वपूर्ण हुने विश्लेषण गरिएको छ ।

कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त

काठमाडौं । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड रुपैयाँ प्राप्त  प्राप्त गरेको छ । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी  तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आइतबार एक विज्ञप्ति निकालेर जनाएको छ ।  बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ ।  वन तथा वातावरण मन्त्रालयका सचिव  राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।    

बाल्यकालको संघर्षबाट विश्वप्रसिद्ध परफ्यूम उद्यमी बनेकी जो मेलोनको यात्रा

काठमाडौं । ब्रिटिश उद्यमी तथा चर्चित परफ्यूमर जो मेलोन (सीबीई) ले आफ्ना कठोर बाल्यकाल र ११ वर्षकै उमेरमा परिवारको मुख्य आम्दानीकर्ता बनेको अनुभवले कसरी उद्यमशीलता बीउ रोप्यो भन्नेबारे खुलाएकी छन्। जो मेलोन लन्डन र जो लभ्स जस्ता सफल पर्फ्यूम ब्रान्डकी संस्थापक मेलोन हालै सीएनबीसीको पोडकास्टमा स्टीभ सेजविकसँग सहभागी भएकी थिइन् । सो एपिसोड मंगलबार सार्वजनिक गरिएको थियो । जो मेलोन लन्डन ब्रान्ड सन् १९९९ मा इस्ती लाउडर कम्पनीजले खरिद गरेको थियो, जसबाट मेलोनले करोडौं पाउन्ड बराबरको रकम पाएकी थिइन्, यद्यपि कति पाएकी थिइन् भन्ने सार्वजनिक गरिएको छैन । तर करोडपति बन्नुभन्दा धेरै पहिले मेलोनले बेलायतको केन्टस्थित एक काउन्सिल इस्टेटमा बिताएको बाल्यकाल सम्झिइन्—उनकी आमाले ब्युटी क्षेत्रमा काम गर्थिन् भने उनका बुबा कलाकार मात्र नभई जुवाडे र पोकर खेलाडी पनि थिए । उनले भनिन्, ‘११ वर्षको उमेरदेखि नै म नै घरको ठूलीजस्तै भइसकेकी थिएँ । ‘बिजुली–ग्यासको मीटर रिचार्ज गर्न पैसा छ कि छैन?’ भनेर हेर्ने काम म गर्थेँ । किनकि यदि उहाँ (बुबा) ले सबै पैसा जुवामा हारे हामीसँग खानेकुरा पनि हुँदैनथ्यो।’ मेलोन किशोरावस्थामा पुग्नुअघि नै उनकी आमा मानसिक रूपमा निकै कमजोर भइन् । त्यसका कारण उनले लगभग एक वर्ष स्कुल जानै सकिनन् र आमाबुबा तथा कान्छी बहिनीका लागि घर चलाउने उपाय खोजिरहेकी थिइन् । चतुर मेलोनले आमाले सिकाएका कला प्रयोग गर्दै आमाले बेच्ने फेस क्रिमको नक्कल बनाइन् जसलाई उनले ट्रेन चढेर लन्डन लगेर  ४.५० यूरोमा बेच्थिन् । ‘यस्तै गर्थें जसले हाम्रो परिवार एकैसाथ टिकाइरह्यो । बुबा कहिल्यै घरमा हुनुहुँदैनथियो, जहिल्यै हराउनुहुन्थ्यो,’ उनले भनिन् । ‘त्यस्तै कठिन क्षणहरूले नै मलाई बनाएको हो । जे आए पनि म बाँच्ने बाटो फेला पार्थें– कहिले सुरुङ, कहिले सिँढी तर अर्को २० यूरो कसरी कमाउने भनेर सोच्थें,’ उनले थपिन् । शनिबारका दिन उनी बुबाका चित्रहरू बेच्थिन् किनकि घरमा खानेकुरा किन्न पैसा चाहिन्थ्यो र बुबाले सबै पैसा खर्च गर्थे । आइतबार उनी बुबासँग पोकर खेल हेर्न जान्थिन् । आज मेलोन सफल उद्यमीका रूपमा स्थापित छिन् र ती कठिन बाल्यकालका अनुभवलाई उनले आफूलाई कडा, दृढ र उद्यमशील बनाएको समयका रूपमा सम्झिन्छिन् । सुरुवातमा मात्र बाँच्ने संघर्ष ‘म सधैं भन्थेँ— म ठूलो भएपछि यस्तै जीवन जीउँदिनँ, यस्तो परिवार बनाउँदिनँ,’ एक दिनको सम्झना सुनाउँदै उनले भनिन्, ‘मेरो कोठामा कुनै हिटर थिएन । निकै जाडो थियो, झ्यालमा बरफ जमेको थियो । मैले औ‍ंलाले त्यो बरफ छेरेर बाहिर हेरिरहेँ र सोचेँ– ‘म आफ्नो भाग्य बदल्नैपर्छ ।’ किशोरी हुँदा उनी साथीहरू जस्तै खेलकुद वा रमाइलो गर्न पाउँदिनथिन् । उनी घरमै कपडा धुने, खाना पकाउने, बहिनीलाई स्कुलबाट ल्याउने काम गर्थिन् । धेरै पछि मात्र उनले बुझिन्—उही आत्मनिर्भरता नै उद्यमशील भावना बन्न पुगेको रहेछ । ‘सुरुमा यो बाँच्नकै लागि थियो,’ उनले भनिन् । फुलबारीमा काम गर्नु, रेस्टुरेन्टमा भाँडा माझ्नु, कुकुर हिँडाउनुजस्ता कामबाट उनको यात्रा सुरु भएको थियो । ‘म कहिल्यै लजाइनँ । जुनसुकै काम गर्नुपरे पनि तयार थिएँ । तर जब मैले पहिलो स्किनकेयर व्यवसाय सुरु गरेँ—त्यही बेला थाहा पाएँ कि ‘अब मेरो जीवन ममै छ,’ र यही नै उद्यमशीलताको जन्म क्षण थियो,’ उनले भनिन् । मेलोन हाल दुबईमा बस्छिन् र यसै वर्ष उनले जो भोड्का नामको लक्जरी स्पिरिट ब्रान्ड सुरु गरेकी छन् । साथै उनी जो लभ्स नामक सुगन्ध व्यवसाय पनि सञ्चालन गर्छिन् । घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य