विकासन्युज

४०८.९१ प्रतिशत कुल नाफा बढाएको सर्वाेत्तम सिमेन्टको खुद नाफा ३२.४२ करोड रुपैयाँ

काठमाडौं । सर्वाेत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले २ करोड २५ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो ।  चालु आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी ३५.७७ प्रतिशत बढेर १ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  असोजसम्ममा कम्पनीको कुल नाफा ४०८.९१ प्रतिशत बढेर ६१ करोड २६ लाख रुपैयाँ, वित्तीय लागत १५.९१ प्रतिशत घटेर ६ करोड ६१ लाख रुपैयाँ र कुल खर्च ८१.८९ प्रतिशत बढेर २७ करोड २ लाख रुपैयाँ गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १२ करोड ३ लाख रुपैयाँ कुल नाफा, ७ करोड ८६ लाख रुपैयाँ वित्तीय लागत र १४ करोड ८५ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ७ प्रतिशत बढेर ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ र जगेडा कोष १७.६४ प्रतिशत बढेर ५ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ ।  नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २६.०७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०८.११ रुपैयाँ छ भने मूल्य आम्दानी अुनपात ३१.९१ गुणा रहेको छ ।

शिवम् सिमेन्टको नाफामा १ हजार ५३८ प्रतिशत उछाल, अन्य सूचकमा पनि छलाङ

काठमाडौं । शिवम् सिमेन्टको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा १ हजार ५३८.१६ प्रतिशत बढेर २० करोड ९६ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।  चालु आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी ९ प्रतिशत बढेर १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ गरेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  असोजसम्ममा कम्पनीको कुल नाफा २१५ प्रतिशत बढेर ३२ करोड ६५ लाख रुपैयाँ र अन्य आम्दानी १.९७ प्रतिशत घटेर १० करोड ३६ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च ३.९१ प्रतिशत बढेर १९ करोड ६७ लाख रुपैयाँ गरेको छ ।  ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ सञ्चित छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ बढेर १५.३७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९२.१८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३६.४२ गुणा रहेको छ ।

मुस्ताङको थाक-पाँचगाउँ जोड्ने १०.५ किमीको चक्रपथ अन्तिम चरणमा

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकास्थित थाक-पाँचगाउँ जोड्ने १०.५ किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजना अन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो । घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्ने गरी जोमसोम-ढुम्बा ५ किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो-चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी ५.५ किमी ग्राभेल सडकको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिए । निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो । सुरुआती ठेक्का सम्झौताअनुसार २०७७ माघमा सकिनुपर्ने भए पनि निर्माण कम्पनीले कोरना माहामारी, प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाउँदै सातौँ पटकसम्म म्याद थप गरेको थियो । यहाँको घरपझोङ-४, ५, १ र २ जोड्ने चक्रपथको लागत २४ करोड ४५ लाख ७४ हजार रुपैयाँ रहेको सूचना अधिकारी रोकामगरले जानकारी दिए । घरपझोङस्थित थाक ५ गाउँ जोड्ने सडक अन्तिम चरणमा पुगेको र चालु आवभित्रमा सडक कार्यालयलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो । सडकको पछिल्लो भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत रहेको छ । चक्रपथको ६ किलोमिटर नाली निर्माणसहित ढुम्बा तालसम्मको ५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । त्यसैगरी ढुम्बातालदेखि छैरो-चिमाङसम्मको दूरीमा चट्टान काटेर नयाँ सडक ट्रयाक खोलेर नालीसहित ५ मिटर चौडा ग्राभेल सडक विस्तार भइसकेको सूचना अधिकारी रोकामगरको भनाइ छ । चक्रपथमा  ट्राफिक  सङ्केतका पोल गाड्ने, नाली सफा गर्ने र सडकको जोखिमयुक्त स्थानमा सवारी दुर्घटना रोक्न बार लगाउने काम भइरहेको छ । त्यसैगरी चक्रपथ सडकले ठिनी, ढुम्बा, छैरो र चिमाङलगायतका गाउँ सडक सञ्जालले जोडिएकाले त्यहाँका किसानले उत्पादन गरेका स्याउलगायत अन्नबाली, फलफूल र तरकारी यातायातका साधनमार्फत ढुवानी गर्न सजिलो भएको छ ।

हुलाकी राजमार्गमा सवारी आवागमनको चाप बढ्दै, पूर्वपश्चिम राजमार्गको विकल्प

काठमाडौं । बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ । हुलाकी सडक अन्तर्गत राप्तीसोनारी गाउँपालिका-६ कुण्डाचोकदेखि अगैयासम्म जोड्ने हुलाकी सडकमा सवारी साधनको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी नेपालगन्जबाट दाङतर्फ आवतजावत गर्ने यात्रुले अहिले यसै मार्गलाई प्राथमिकता दिन थालेका छन् । नेपालगन्जबाट कोहलपुर हुँदै पूर्वपश्चिम राजमार्गमा अगैया पुग्ने भन्दा हुलाकी सडकको दूरी छोटो पर्ने भएकाले यात्रुले यो सडक प्रयोग गर्ने क्रम बढेको भेरी बस व्यवसायी सङ्घका नेपालगन्जका अध्यक्ष जुनबहादुर थापाले बताए ।  उनका अनुसार कोहलपुरबाट अगैया पुग्न बाँके राष्ट्रिय निकुञ्जको टाइम कार्ड पालना गर्नुपर्ने भएकाले पनि हुलाकी राजमार्गमा सवारी आवागमनको चाप बढ्दै गएको हो । हुलाकी सडक निर्माण भएपछि बाँकेको राप्तीपारिका बिनौना र बैजापुरवासीलाई आवागमनमा सहज भएको छ ।  हुलाकी सडकअन्तर्गत बाँकेको फत्तेपुरदेखि बैजापुरसम्मको सडक कालोपत्र भएपछि राप्तीसोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आवतजावत सहज भएको राप्तीसोनारी-५ बिनौनास्थित भुवरभवानी माविका प्रधानाध्यापक चेतबहादुर विष्टले बताए । यो सडक निर्माण भएपछि राप्तीसोनारी-१, २, ३, ४, ५ र ६ का बासिन्दालाई नेपालगञ्ज पुग्न सहज भएको उहाँको भनाइ छ । फत्तेपुर, बिनौना र बैजापुरवासीलाई गाउँपालिकाको केन्द्र अगैया पुग्न पनि सहज भएको छ । सडक कालोपत्रसँगै बीचमा पुल र कल्भर्ट निर्माणसमेत भएको छ । सडक निर्माण भएपछि गाउँपालिका कार्यालय आवातजावत गर्न धेरै सहज भएको राप्तीसोनारी गाउँपालिका-७ का वडाध्यक्ष रामलखन थारूले बताए । हुलाकी सडक बनेसँगै अहिले पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा सर्वसाधारणले यो सडक प्रयोग गर्न थालेका छन् । अगैयाबाट बैजापुर, बिनौना, फत्तेपुर हुँदै सोझै नेपालगञ्ज आउन सकिने भएकाले यो सडक छोटो पर्ने वडाध्यक्ष थारूको भनाइ छ । हुलाकी सडक अन्तर्गत राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माण हुँदैछ । पुल निर्माणसँगै नदीले कटान तथा डुबान गरेको सडकलाई व्यवस्थित गरेपछि सवारी आवागमनमा थप सहज हुने भएको छ । साँघुरो पुल भएका कारण हाल सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता छ । निर्माणाधीन पुल ११ मिटर चौडाइको भएकाले पुलमा सवारीसाधन सहजै वारपार गर्न सकिने छ । सिधनियाघाटमा पक्की पुल निर्माणकार्य धमाधम भइरहेको छ । पुल निर्माणमा ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । हुलाकी सडक पछिल्लो समय नेपालगञ्जबाट दाङ हुँदै पूर्वतर्फ जानका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग भइरहेकाले फराकिलो पुल बनेपछि थप सहज हुने उहाँको भनाइ छ ।

४ महिना पूरा हुँदा पनि २५ पालिकाले ल्याउन सकेनन् बजेट

काठमाडौं । चालु आर्थिक बर्षको ४ महिना पूरा हुँदा पनि देशभर २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्दछ । तर, मधेश प्रदेशका २४ स्थानीय तहसहित देशभर २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । हालसम्म ७२८ स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् । मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये ११२ स्थानीय तहले बजेट प्रस्तुत गरेका छन् ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, सप्तरीको राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलानबिहुन गाउँपालिका, कल्याणपुर नगरपालिकाले बजेट प्रस्तुत गरेका छैनन् । यस्तै, सिराहाको धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका, जनक नन्दिनी गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गर्न सकेका छैनन् । त्यस्तै, धनुषाको धनौजी गाउँपालिका,महोत्तरीको सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका, सर्लाहीको हरिवन नगरपालिका र चन्द्रनगर गाउँपालिका तथा रामनगर गाउँपालिका, रौतहटको कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, यमुनामाइ गाउँपालिका, बाराको महागढीमाई नगरपालिका, विश्रामपुर गाउँपालिका र पर्साको पकाहा मैनपुर गाउँपालिकाले चालु आवको बजेट हालसम्म प्रस्तुत नगरेको पाइएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले हालसम्म चालु आवको बजेट प्रस्तुत गरेको छैन ।

पेट्रोल २ र डिजेल ३ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ तथा डिजेलको मूल्य १ सय ४७ रुपैयाँ पुगेको छ । यो मूल्य कार्तिक ३० गते अर्थात् (भोली) बिहान १ बजेदेखि कायम हुने समेत निगमले जनाएको छ ।

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव कार्यक्रममा शनिबार सरिक भएकी छन् । नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उनले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनले हालसालैको जेनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सम्बोधनका क्रममा भनिन्, ‘यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो । मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।’ अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनलाई उनले अत्यन्त मूल्यवान भन्दै प्रधानमन्त्री कार्कीले कृतज्ञता पनि व्यक्त गरिन् । नेपाल र अस्ट्रेलियाबीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उनले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौँदेखिको सहकार्यका लागि आभार व्यक्त गरिन् ।   नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तरराष्ट्रिय तथा बहुपक्षीय मञ्चमा एकअर्कालाई समर्थन गर्दै आएको सन्दर्भ अगाडि सार्दै उनले यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रस्ट पारिरहेको बताइन् । हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियाका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेको र आज पनि उनीहरू नेपाल र अस्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गरिरहेको उल्लेख गर्दै उनले थपिन्, ‘अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली हाम्रो दुई देशबीच जीवन्त सेतु बनेका छन्, जसले हाम्रो सम्बन्धमा थप निकटता र आत्मीयता जोडेको छ ।’ पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्दै नेपालमा बढाइरहेको लगानीप्रति उनले प्रसन्नता पनि व्यक्त गरिन् ।  नेपाल–अस्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत लियान जोन्स्टनले दिएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरे । साथै उनको समर्पण तथा व्यक्तिगत सङ्लग्नताले दुई मुलुकबीचको आपसी समझदारी र सहकार्यमा उल्लेखनीय प्रगति ल्याएको प्रधानमन्त्री कार्कीले बताइन् ।

दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?

काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो समय मुलुकका राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ । विभाजन र एकताका शृङ्खला पुराना राजनीतिक दलमा नभई पछिल्लो समय वैकल्पिक शक्तिका रुपमा उदाएका दलहरुमा दोहोरिएको छ । त्यति मात्रै होइन, भ्रष्टाचार र बेथिति अन्त्यलगायत मुद्दा सारेर आन्दोलनमा होमिएका जेनजीका प्रतिनिधिबीच पनि कतिपय विषयमा मतैक्यता छैन । विशेषगरी शासकीय स्वरुप, संविधान संशोधन, निर्वाचन प्रणालीलगायत विषयमा उनीहरुबीच पनि फरक मत छ । खासगरी दलहरुबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायका साथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीबाट केही नेताहरु अलग्गिएर पार्टी तथा नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत विभिन्न १० राजनीतिक दल र राष्ट्रिय राजनीतिमा चर्चामा रहेका केही नेता मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भइसकेको छ। विभाजन र एकताको शृङ्खलामा विगतमा झैं यसपटक पनि वामपन्थी विचारधाराका दलहरु नै अग्रस्थानमा छन् । वरिष्ठ अधिवक्ता रामनारायण बिडारी यस परिघटनालाई निर्वाचन लक्षित कार्यक्रमका रुपमा हेर्छन् । 'निर्वाचन घोषणा भएको हुनाले परिणाम आफ्नो पक्षमा पार्न दलहरु जुट्ने र विभाजन हुने यो निर्वाचन लक्षित कार्यक्रम मात्रै हो । यो असैद्धान्तिक छ, सिद्धान्त, विचार र दृष्टिकोणमा एकता देखिन्न', उनले भने । यसलाई सबै दलमा बढिरहेको असन्तुष्टि तथा जेनजी आन्दोलनपछि नेताहरुमा देखिएको विचलित र त्रसित मानसिकताको उपजका रुपमा हेरिनुपर्ने उनको मत छ । पछिल्लो समय राजनीतिक दल पुनः गठन गर्ने भन्दै आफ्नो दल त्यागेका नेताहरु फेरि नयाँ दल सिर्जना गर्ने अभियानमा विभिन्न कोणबाट छलफलमा जुटेका देखिन्छन् । सो क्रममा माओवादीबाट अलग्गिएर प्रगतिशील राष्ट्रिय अभियान सञ्चालन गरेका नेता सुदन किराँती, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब र रास्वपा छाडेका नेता सन्तोष परियारबीच आगामी मङ्सिर पहिलो साता पार्टी एकता घोषणा गर्ने सहमति भइसकेको छ । साथै जेनजीका अगुवामध्येका एक मिराज ढुङ्गानाले पनि पार्टी गठन गर्ने भन्दै पत्रकार सम्मेलन नै आयोजना गरिसकेका छन् । यद्यपि उनले निर्वाचन आफूहरुको माग र प्राथमिकता नभएको उल्लेख गर्दै विकास र सुशासन पहिलो सर्त भएको बताउँछन् । अधिकारकर्मी डा. राधा पौडेललाई भने राजनीतिक दलमा देखिएको फुट र जुट ‘रमिता’ जस्तो लागेको छ । 'जेनजी विद्रोह र भोलिपल्टको घटनाभित्र लुकेका अन्तरनिहित कारण र आयामलाई जोड्नुपर्नेमा यसमा राजनीतिक दल चुके', उनी भन्छन्, 'त्यो कार्यभारप्रति ध्यान नदिएर दलमा एकता र विभाजन देखिएको छ। यसले हामीलाई कहीँ पनि पुर्‍याउँदैन ।' दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको र उनीहरुले आशा दिलाउन नसक्दा आफैंमा टुटफुटको अवस्थामा पुगेको उनको भनाइ छ । मुलुकमा देखिएको बेथितिको कारणबारे एकरुपता नदेखिँदा ‘बिरामी एउटा छ, उपचार अर्को’ जस्तो भइरहेको अधिकारकर्मी पौडेलको टिप्पणी छ । रासस