विकासन्युज

गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी

काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन् । बिहीबार सम्पन्न भएको १० औं साधारणसभाबाट सञ्चालक निर्वाचित भएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो । संस्थापक सेयर सदस्यहरूबाट रेग्मीसहित सुरेशकुमार श्रेष्ठ, शेरबहादुर बुढाथोकी र सुनिल कार्की निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका संस्थापक अध्यक्ष जलेश्वर पाण्डेले गरिमा क्यापिटलको विगत स्मरण गराउँदै क्यापिटल यहाँसम्म ल्याउन अहिलेको टिमको ठूलो भूमिका रहेको उल्लेख गरे । गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाणले नेपालको परिवेश अनुसार गरिमा ग्रुप चलेको हुँदा यस ग्रुपबाट संचालन भएका सबै व्यवसायहरू प्रगतिको बाटोमा गएको धारणा राखे । क्यापिटलका निर्वाचन अध्यक्ष दीपक पाण्डेले आफूले आठ वर्षसम्म संस्थालाई नेतृत्व गर्दा भोगेका भोगाइहरू सेयर गरेका थिए ।

अर्थमन्त्रालयका सबै काम अब डिजिटल प्रक्रियाबाट हुने

काठमाडौं । अर्थमन्त्रालयले शुक्रबार (आज) देखि आफ्ना सबै टिप्पणी तथा निर्णय प्रक्रियाहरू डिजिटल स्वीकृतिबाट मात्र हुने जनाएको छ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मन्त्रालयको यस्तो निर्णय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।  उनले मन्त्रालयले मन्त्रालयका कामलाई छिटोछरितो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली पूर्णरूपमा लागू गरेको जानकारी गराएका हुन् । मन्त्री खनालका अनुसार सवै आन्तरिक फाइलिङ देखि टिप्पणी तथा स्वीकृति कार्य अनलाइनमार्फत मात्र हुने छ।  सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘डिजिटल प्रणालीले लागत र श्रम बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।’

उद्योग व्यवसाय पुनरोत्थानका लागि महासंघ सरकारसँग सहकार्य गर्न तयार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ ।  महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति एवं कानुनमन्त्री अनिलकुमार सिन्हासँग उद्योग मन्त्रालयमा भेटघाट गर्दै महासंघको टोलीले सो आग्रह गरेको हो ।  युवा (जेनजी) पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठमा धेरै सार्वजनिक सम्पत्तिसँगै उद्योगी व्यवसायीको उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनी भएको उल्लेख गर्दै महासंघले आमसर्वसाधारण तथा उद्योगी व्यवसायीहरूको मनोबल बढाउन सो सुनिश्चितता आवश्यक भएकोमा जोड दिएको हो।  सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितता र दोषीमाथि कडा भन्दा कडा कारवाहीका लागि मन्त्रीको ध्यानाकर्षण गराए । उनले आन्दोलनका क्रममा भएको आक्रमण तथा तोडफोडले उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै करिब ८० अर्ब रुपैया बराबरको क्षति भएको जानकारी दिए। ‘देशको समुन्नतिका लागि अन्यौलता अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा महासंघ सरकारसंग समन्वय एवं सहकार्य गर्न तयार छ । नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको निजी क्षेत्रको आवश्यकता र निर्वाध काम गर्न पाउने सुनिश्चितता आवश्यक छ,’ अध्यक्ष ढकालले भने ।  उद्योग वाणिज्य तथा आपूर्ति एवं कानून मन्त्री अनिल कुमार सिन्हाले  ठूलो क्षतिका बाबजुद पनि निजी क्षेत्रले देखाएको सदाशयता र सहयोगमा देखिएको तत्परता सकारात्मक भएको बताए । उनले फरक परिस्थितिमा वर्तमान सरकार गठन भएपनि आम सर्वसाधारण र व्यवसायिक सुरक्षाको लागि सरकार गम्भीर रहेको बताए । मुलुकको उद्योग व्यवसायको पुनरोत्थान र सुधारका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उनको भनाइ छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हरेक आन्दोलनका क्रममा निजी क्षेत्र माथी प्रहार हुने गरेकोले निजी क्षेत्रलाई  हेर्ने दृष्किोण परिवर्तन आवश्यक रहेको धारणा राखे । यस्तै, उनले पुर्ननिर्माणमा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग एवं प्रयोग गर्नुपर्ने बताए ।  वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपाल सन २०२६ नोभेम्बरमा नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा अहिलेको परस्थितिमा स्तरोन्नतिको निर्णय रोक्न सरकरले संयुक्त राष्ट संघ समक्ष आग्रह गर्नु पर्ने सुझाव दिए । यस्तै उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आमरूपमा कानूनी राज्यको प्रत्याभूति दिनु अहिलेको प्राथमिकता रहेको बताए । 

मञ्जुश्री फाइनान्स मर्जरमा जाने, सेयरधनीलाई २०.२७ करोड रुपैयाँ नगद बाँड्दै

काठमाडौं । मञ्जुश्री फाइनान्स मर्जरमा जाने भएको छ । कम्पनीको सञ्चालक समितिले उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा एक्विजिशनमा जाने निर्णय गरेको हो । मर्जर सम्बन्धी निर्णय पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चाल समितिको असोज ९ गते बसेको बैठकले असोज ३१ गते काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ ।  उक्त सभाले कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने तथा तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा कम्पनीको चल/अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मूल्याङ्कन कर्ता नियुक्त गरी पारिश्रमिक तोक्न, प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र आवश्यक सबै प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव पारित गर्नेछ । नेपाल राष्ट्र बैकको स्वीकृत लिई फाइनान्सको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं महानगरपालिका-१० बाट वडा नम्बर ११ मा राख्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । 

नेपाल प्रहरीले माग्यो १ हजार ५९४ जवान

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवान र कार्यालय सहयोगी मागेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै करिब १ हजार ५९४ प्रहरी जवान पदको लागि दरखास्त आह्वान गरेको हो ।  जनपद प्रहरी जवानतर्फ १ हजार ५५३ जना, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११ जना, कुचीकारतर्फ १५ जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आह्वान गरेको नेपाल प्रहरीले जनाएको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म  निवेदन दिन सक्नेछन्।  खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दो विधाका खेलाडीले मात्रै दरखास्त दिने सक्ने सूचनामा उल्लेख छ।   

सडकमा पहिरोः मुख्ययाममै सुनसान पर्यटकीय स्थल, ऋण तिर्न विकल्प खोज्दै व्यवसायी

काठमाडौं । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज-कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौंसँग जोड्ने नारायणघाट-मुग्लिन र मुग्लिन-काठमाडौं सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताए । ‘चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पाहुनाको आगमन २० वर्षयताकै कम भएको छ,’ उनले भने, ‘होटल र पर्यटकीय स्थल सुनसान छ ।’ विगतका वर्षमा असोज लागेसँगै मुस्ताङ जाने आउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ-तातोपानी, दानाका होटल भरिभराउ हुन्थे । घटस्थापनाअघि सोह्र श्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तीर्थ यात्रीको घुइँचो लाग्थ्यो । सोह्र श्राद्धको समयमा पनि यसपालि कागबेनी र मुक्तिनाथमा तीर्थयात्राका लागि आउनेहरूको सङ्ख्या न्यून भएको छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी-पुनहिल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या पनि फाट्टफुट्ट मात्र भएका स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए । ‘मेरो होटलमा बास बस्न आउने भनेका ३६ वटा विदेशी पर्यटकको समूहले देशको असहज अवस्थालाई कारण देखाएर बुकिङ रद्द गरेका छन्,’ उनले भने, ‘विदेशी पर्यटक आगमन विगतको तुलनामा एक तिहाइ पनि छैन । स्वदेशी पनि आएका छैनन् ।’ घोडेपानीमा बास बसेका पर्यटक त्यहाँदेखि ३० मिनेट उकालो पैदल यात्रा गरेपछि पुगिने समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङखला र पहाडी भूगोलको अवलोकन गर्न जाने गर्छन् । असोज-कात्तिकको शरद याममा यहाँ तीन सय जनाको हाराहारीमा विदेशी र त्यत्तिकै सङ्ख्यामा स्वदेशी पर्यटक आउने गर्दथे । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीमा दैनिक १ हजार जना क्षमताको २५ वटा सुविधायुक्त होटल छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने चित्रे-घोडेपानी सडक स्तरोन्नतिका क्रममा रहेको हुँदा सवारीसाधनको असहजताका कारण आन्तरिक पर्यटकलाई समस्या भएको छ । बेनी नगरपालिका-४ मा रहेको सिङ्गा तातोपानी र अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ तातोपानी कुण्ड पनि सुनसान छ । जमिनमुनिबाट ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रूपमा परिचित छ । भुरुङ-तातोपानी बेनी-जोमसोम सडक भएर मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि थकाइ मेटाउने थलो हो । भुरुङ-तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले पर्यटक आगमन नहुँदा वैकल्पिक पेसाको खोजीमा लाग्नुपर्ने अवस्था आएको बताए ।  ‘दसैँअघि पर्यटक आगमन निराशाजनक छ । दसैँपछि पनि यस्तै अवस्था रहने हो भने व्यवसाय छाडेर ऋण तिर्नका लागि विकल्प खोज्नुपर्ने चिन्ताले पिरोलिएका छौं,’ उनले भने । भुरुङ-तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेश विन्दु पनि हो । रासस

विगतका भ्रष्टाचार सरकारले थाहा पाइसक्यो, आगजनी हुँदा देखिएको नगदमा छानबिन सुरु

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विगतमा भएका भ्रष्टाचार वर्तमान सरकारले थाहा पाइसकेको बताएकी छिन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा स्पष्ट जानकारी पाइसकेको बताएकी हुन् ।  साथै,  जेनजी प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका छानबिनको कारबाही सुरु गरिसकेको उनको भनाइ छ ।  ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा स्पष्ट जानकारी पाइसकेको छ । तसर्थ, त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने छ । प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ,’ उनले भनिन् ।  सम्बोधनको पूर्ण विवरण यस प्रकार छः २०८२ भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलन र सो पश्चात् माग भएअनुसार मेरो नेतृत्वमा मन्त्रिमण्डल गठन गर्ने आह्वान गरिएअनुसार यही भदौ २७ गते गठन भएको अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले मेरा आफ्ना अभिमतहरू संविधान दिवसका अवसरमा सार्वजनिक गरिसकेको छु । हाल समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू समावेश भएको मन्त्रिमण्डलको गठन भइसकेकाले नेपाली जनताले शासकीय प्रणालीमा परिवर्तन, भ्रष्टाचारको अन्त र सुशासन, चुस्त र प्रविधि मैत्री सार्वजनिक सेवा प्रवाह,  विकास र समृद्धिको आकाङ्क्षा राखी गरेको अभूतपूर्व प्रदर्शन र आन्दोलनपश्चात्को जटिल परिस्थितिमा छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित म प्रधानमन्त्री भएको छु । युवापुस्ताले गरेको प्रदर्शन र आन्दोलनका क्रममा मृत्युवरण गर्न पुगेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, सार्वजनिक संरचनाहरू, व्यावसायिक प्रतिष्ठान र निजी घर सम्पत्तिमा भएको अकल्पनीय र अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ । प्रदर्शनका क्रममा जीवन गुमाउने व्यक्तिहरूलाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । साथै, सरकारले घाइतेहरूको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरेको छ । यसको अतिरिक्त आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्बद्ध दोषी उपर सख्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ । यस जटिल परिस्थितिमा मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र, निष्पक्ष र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक पर्ने जनशक्ति, बजेट, निर्वाचन सामग्री, सुरक्षा र कानुनी व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु गरिसकेको छ । १८ वर्ष पुगेका जेनजी युवापुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अद्यावधिक गर्ने गरी विद्यमान निर्वाचन कानुनलाई अध्यादेशका माध्यमबाट संशोधन गरि सकिएको छ । रोजगारीको सिलसिलामा देश बाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशबाट समेत आगामी निर्वाचनमा मतदान गर्नसक्ने सम्भावनाका बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तिनका हकहितको संरक्षण एवं गैर नेपाली नागरिकहरूले उठाएका संविधान सम्मत मागहरुप्रति वर्तमान सरकार सकारात्मक रहेको छ । प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र युवापुस्ताको परिवर्तनको आकाङ्क्षाको प्रतिनिधित्व गर्नसक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी हुन म सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई आह्वान गर्न चाहन्छु । स्वतन्त्र, भय रहित तथा निष्पक्ष निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत तथा सम्बद्ध सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत आह्वान गर्दछु । निर्वाचन सम्पन्न हुनका निम्ति शान्तिपूर्ण वातावरण कायम हुनु जरुरी छ । तसर्थ, मुलुकका सबै भौगोलिक क्षेत्रमा बसोबास गर्नुहुने दिदीबहिनी तथा दाजुभाइलाई धैर्यताका साथ शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गर्दछु । आन्दोलनका क्रममा क्षति हुन पुगेका सुरक्षा निकायका भवनलाई शीघ्र पुन निर्माण गर्न सरकार, निजी क्षेत्र तथा स्वयंसेवक नागरिकहरू जुटिसकेका छन् । त्यसैगरी सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन, बन्दोबस्तका सामान, फर्निचरजस्ता अत्यावश्यक सामग्रीहरूको शीघ्र व्यवस्था गरी सुरक्षा निकायलाई पूर्ववत् रूपमा कार्यस्थलमा परिचालन गर्ने गरी सरकारले कार्य प्रारम्भ गरिसकेको छ । ६ महिने कार्यअवधि रहेको चुनावी सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्नसक्ने अवस्था छैन । तापनि हामी कतिसम्म गर्न सक्दछौँ त्यसको इमानदार प्रयास गर्नेछौँ । सरकारी निकायबाट प्रवाह हुने सेवामा सहजता महसुस हुने गरी बिना झन्झट,  कुनै रिसवत नदिइ सेवा प्राप्त हुने कुराको सुनिश्चितता दिलाउन चाहन्छु । भ्रष्टाचारको न्यूनीकरण, विधिको शासन र सामाजिक न्यायको प्रत्याभूति लगायतका क्षेत्रमा वर्तमान सरकारले दृढताका साथ काम गर्नेछ । सेवाग्राहीको काममा ढिलासुस्ती, मोलमोलाहिजा, काम पन्छाउने, घुस रिसवत माग्ने, अनावश्यक दुःख हैरानी दिने, सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने जस्ता कार्य भएमा उजुरी सुनी सोको तत्काल निराकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकारका सबै मन्त्रालय एवं तिनै तहका सरकारी कार्यालयमा हटलाइनको व्यवस्था गरिएको छ । नेपालको संविधान र शासकीय प्रणालीको संशोधनलगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवा पुस्तालगायत परिवर्तन पक्षधर आमनेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहन्छु । नेपाल सरकारले उद्योग, व्यापार तथा व्यापारिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोडबाट प्रभावित उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न आन्दोलनबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठानलाई राहत, कर, छुट, सहुलियत तथा सुविधा प्रदान गरी आर्थिक क्रियाकलाप सहज रूपमा सञ्चालन गर्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याएको छ । निजी क्षेत्रको मनोबल वृद्धि गर्न तथा आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको लागत कम गर्न प्रक्रियागत सुधार प्रारम्भ गरि सकिएको छ । नेपाल सरकारले औद्योगिक तथा व्यापारिक प्रतिष्ठानको सुरक्षा व्यवस्था कायम राख्न उच्च प्राथमिकता दिएको छ । सरकारले आन्दोलनका क्रममा क्षति हुन पुगेका संरचनाहरू पुनर्निर्माण तथा पुनःस्थापना र आमनिर्वाचन सम्पन्न गर्नका लागि अनुत्पादक खर्च कटौती गर्दै टुक्रे आयोजनाका लागि विनियोजित बजेट खारेज गरेको छ । आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणसम्बन्धी कार्यका लागि पुनःस्थापना कोषको स्थापना गरिएको छ । पुनर्निर्माणमा योगदान गर्न चाहने सरकारी, निजी क्षेत्र, सङ्घसंस्था एवं मित्रराष्ट्रलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई उक्त कोषमा रकम जम्मा गरी सहयोग गर्नुहुन हार्दिक अपिल गर्दछु । सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन गरी सोको पुनर्निर्माण योजना तयारीको कार्य प्रारम्भ गरिएको छ । साथै, क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भार, सवारीसाधन तथा अन्य मालसामान खरिद प्रकृयालाई छिटो र सरल बनाई नियमित काम र सेवा प्रवाह सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । दुर्गम हिमाली तथा पहाडी जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने कार्य प्रारम्भ गरिएको छ । आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, लुटपाट, बल प्रयोग लगायतका घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको छ । वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा स्पष्ट जानकारी पाइसकेको छ । तसर्थ, त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने छ । प्रदर्शनका क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा अस्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायले छानबिनको कारबाही सुरु गरिसकेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै वर्तमान जेनजी आन्दोलनले उठाएका आवाजहरूलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था छ । मुलुकको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रको रक्षार्थ हामी सबै नेपाली एकताबद्ध भई विवेक पुर्याएर अगाडि बढ्नुपर्ने परिस्थिति छ । तसर्थ, यस विषम घडीमा मेरो नेतृत्वको अन्तरिम सरकारलाई दिएको जिम्मेवारी पूरा गर्न सबै राष्ट्र प्रेमी नेपाली नागरिकबाट पूर्ण सहयोगको अपेक्षा गर्दछु । गुणस्तरीय र सम्मानपूर्ण जीवन, आर्थिक विकास र समृद्धि, सामाजिक न्याय र भ्रष्टाचारको अन्त्य जेनजी युवापुस्ता र हामी सबैको साझा एजेन्डा भएकाले यी लक्ष्य प्राप्तिमा कत्ति पनि समय खेर नफाली आम नागरिकले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने खाँचो देख्दछु । युवा पुस्ताको सोच र भावना बमोजिम सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूले आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा अग्रसर भइ उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी बहन गर्न आह्वान गर्दछु । मनोबल कमजोर पार्ने खालका क्रियाकलाप एवं गतिविधिमा संलग्न नभई आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्ने पक्षमा क्रियाशील हुन राष्ट्रसेवक एवं सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछु । आसन्न चाडपर्वहरूमा खाद्यान्नलगायत उपभोग्य सामग्रीहरूको आपूर्ति, यातायातको सहज प्रबन्ध र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन राज्यका सबै संयन्त्रलाई सक्रिय बनाइएको ब्यहोरा जानकारी गराउन चाहान्छु ।

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा दह्रिलोसँग उभिने बताएका छन् । ६ महिनाभित्र निर्वाचन गर्ने ‘म्याण्डेड’सहित वर्तमान सरकार निर्माण भएको उनले स्पष्ट पारे ।  ‘सरकारले आफ्नो उद्देश्य पूरा गर्न सकेन भने प्रश्न उठ्छ,’ उनले भने । जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न आयोग गठन गरि सकिएको जानकारी दिँदै उनले आयोगले गर्ने सिफारिसका आधारमा सरकारले काम गर्ने स्पष्ट पारे ।  ‘अनुसन्धान गर्ने निकायले केके सिफारिस गर्छ, त्यहीअनुसार हुन्छ,’ उनले भने ।