फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा मोरु डिजिटल वालेट समावेश
काठमाडौं । फोनपेले पे नेप प्राइभेट लिमिटेडमको मोरु डिजिटल वालेटलाई आफ्नो सञ्जालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट फोनपे नेटवर्कमा अन्तर-आबद्ध भएकाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्यूआर भुक्तानी कारोबारहरू गर्न सकिनेछ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेललेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । अब मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अबस्थित नेपालभरका झन्डै १४ लाख व्यवसायी स्टोरहरूमा सहजरूपमा सुविधाजनक र सुरक्षित क्यूआर भुक्तानी गर्न सक्नेछन् । कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले मोरु डिजिटल वालेटलाई बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । साझेदारीले प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नका लागि सदैब तत्पर रहने पनि उनले बताए । समारोहमा मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत पौडेलले फोनपेसँग आबद्ध हुँदै फोनपे नेटवर्कमा आबद्ध भएका देशभरका १४ लाख व्यवसायीहरूमाझ मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुँच पुग्ने बताए । प्रयोगकर्ताले यो साझेदारीको साथ अन्य फोनपे सेवाहरूबाट पनि लाभ उठाउन सक्ने उनको भनाइ छ ।
नेपाल लाइफले सञ्चालन गर्यो दुई दिने निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरेको हो । उक्त शिविरबाट करिब ५ सय जनाभन्दा बढी लाभन्वित भएको कम्पनीले जनाएको छ । शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइललगायतका विशिष्टीकृत जाँच गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । कार्यक्रममा कर्मचारी,अभिकर्ता, ग्राहक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मानवको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य रहेको र समय–समयमा स्वास्थ्य परीक्षण गराउनु नितान्त आवश्यक रहेकाले शिविर सञ्चालन गरिएको जानकारी गराए । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उनले हाल काठमाण्डौमा शिविर सञ्चालन गरिएको र अब आगामी दिनमा नेपालको दूरदराजमा स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत तथा आर्थिक रूपले विपन्न वर्गको स्वास्थ्य परीक्षण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । कम्पनीले बुआ केयरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा ५०३ जना व्यक्तिहरूले सहभागिता जनाएका थिए । जसमध्ये ४९० जनाले रक्तचाप परीक्षण , ३९३ जनाले लिपिड प्रोफाइल, ३३३ जनाले ईसीजी परीक्षण र ४५० जनाले डाक्टरसँग परामर्श लिएका थिए ।
कर्पोरेट सुपर सिक्सेस : क्वार्टरफाइनल समीकरण पूरा
काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेल लिजेण्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूह चरणका खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन् । एसएस इभेण्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार क्वार्टरफाइनल समीकरण पूरा भएको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह ‘सी’ को एनसेल दुवै ३र३ खेल जित्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका हुन्। माछापुच्छ्रेले सोमवार समूहमा क्लाउड फ्याक्ट्रीलाई १ रन र एनआईसी एशिया बैंकलाई १ विकेटलाई हराउँदै समूह विजेता बन्यो। हारका बाबजुद एनआईसी समूह उपविजेताका रूपमा दोस्रो चरणमा पुग्यो । एनआईसी एशियाले आइतबार नै २ खेल जितेको थियो । ५ ओभरमा भएको कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमवार १२ खेल भएका थिए । एनसेल लिजेण्ड्सले सोमवार सूर्य नेपाललाई ५ विकेटले र नेपाल बैंकलाई २३ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता भयो । समूह ‘सी’ मा ३ खेलको सकिँदा सूर्य नेपाल, आईएमई ग्रुप र नेपाल बैंक तीनवटैले १र१ खेल जिते । नेट रनरेटका आधारमा सूर्य नेपाल क्वार्टरफाइनलमा पुग्न सफल भयो। सूर्य नेपालले सोमवार आईएमई ग्रुपलाई ११ रनले जितेको थियो । यो जित नै उसलाई दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो । समूह ‘बी’ बाट आईसीएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहँदै क्वार्टरफाइनलमा पुगे । आईसीएफसी फाइनान्सले सोमवार मूलपानीमा जगदम्बा ग्रुपलाई ५ रन र सिप्रदीलाई १२ रन हरायो। यससँगै समूहमा तीनै खेल जित्दै आईसीएफसी फाइनान्स दोस्रो चरणमा पुग्यो । सिप्रदीले भने दोस्रो दिन जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले हरायो। सिप्रदीले एक खेलमात्र गुमाउन पुग्यो । समूह ‘डी’ मा ३ टोलीले मात्र प्रतिष्पर्धा गरेका थिए। तीमध्ये सुबिसु २ खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो । सुबिसुले दोस्रो दिन राष्ट्रिय वाणिज्य बैंकमाथि ३ विकेटको जित निकाल्दै अपराजित यात्रा कायमै राखेको हो। यो समूहबाट राष्ट्रिय वाणिज्य बैंक दोस्रो चरणमा पुग्न सफल भयो । वाणिज्य बैंकले पनि सोमवार एनसेल इलाट्सलाई १३ रनले पराजित गर्यो। यो जित नै वाणिज्य बैंकलाई क्वार्टरफाइनलमा पुग्न पर्याप्त भयो । सोमवार भएका अन्य खेलमा समूह ‘बी’ को जगदम्बा ग्रुपले कुमारी बैंकलाई ४ रन, समूह ‘सी’ को आईएमईले नेपाल बैंकलाई १८ रनले, समूह ‘ए’ को प्राइम बैंकले क्लाउड फ्याक्ट्रीलाई ३० रनले जित्यो । यद्यपि, यो जित तीनै टोलीका लागि दोस्रो चरणमा पुग्न पर्याप्त भएन । तीनदिने प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंगलबार हुँदैछन् । १५ वटा कर्पोरेट हाउसले प्रतिष्पर्धा गरेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् । विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएका छन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् । आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने एसएस इभेन्ट्स प्रालिका निर्देशक सुमित रौनियारले बताए ।
काभ्रेको शान फर्निचरमा आगलागी
काभ्रे । बनेपा–६ बुडोलस्थित शान फर्निचरमा आगलागी भएको छ । साेमबार राति लागेकाे आगाे मंगलबार बिहान मात्रै नियन्त्रणमा आएकाे हाे । नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।
ठूलाबाट ठूलै गल्ती, साना सधैं मारमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सोमबार बिहान २८ प्रतिशत लाभांश घोषणा गर्यो । कम्पनीले सञ्चालक समितिको बैठक बसेर २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्यो । आइतबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५१ रुपैयाँमा थियो । सोमबार लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४९६ रुपैयाँसम्म कारोबार भयो । बजार बन्द नहुँदै सिटिजनको लाभांश बीमा प्राधिकरणले रोकेको समाचार विकासन्युजले प्रकाशित गरेपछि कम्पनको सेयर मूल्यमा एकाएक गिरावट आयो र प्रतिकित्ता ४६३ रुपैयाँमा रोकियो । यस्तै, आईएमई लाइफ इन्स्योरेन्सले वैशाख १९ गते ३४.५ प्रतिशत लाभांश घोषणा गर्यो । कम्पनीले वैशाख २३ गते नयाँ सूचना जारी गर्दै २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने जानकारी गरायो । ३४.५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको निर्णय बोदार्थ बीमा प्राधिकरणमा पेश गरेकोमा प्राधिकरणले कर प्रयोजनबाहेक नगद लाभांश वितरणमा रोक लगाएको आइएमई लाइफ इन्स्योरेन्सको दाबी छ । ३४.५ प्रतिशत लाभांश घोषणापछि प्रतिकित्ता ६०६ रुपैयाँसम्म कारोबार भएको आईएमई लाइफको सेयर मूल्य लाभांश घटाउनेवित्तिकै मूल्य घटेर ५४५ को हाराहारीमा आएको छ । दुवै कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लाभांश घोषणा गरेका हुन् । नेपालको सन्दर्भमा ५ अर्ब रुपैयाँ पुँजी लगानी भएको पब्लिक कम्पनीलाई ठूलै कम्पनी मानिन्छ । बैंकिङ र बीमा क्षेत्र नियामकले प्रोफेसनल व्यक्तिहरूले व्यवस्थापन गरेको, नियामकले राम्रोसँग नियमन गरेको, पारदर्शी र लगानीकर्ताको लागि तुलनात्मक रूपमा कम जोखिमपूर्ण क्षेत्र मानिन्छ । तर, ठूलाबढाले चलाएको यही क्षेत्रमा साना लगानीकर्ता मारमा परेका छन् । नेपालमा एक आर्थिक वर्षमा एकपटक मात्रै लाभांश वितरण गर्न पाउने वा अन्तरिम लाभांश वितरण गर्न चाहेमा नियामक निकायसँग पहिल्यै छलफल गरेर मात्रै वितरण गर्न पाउने व्यवस्था छ । तर, नियामकलाई व्यवास्था गर्दै आफूखुसी निर्णय गरेर लाभांश घोषणा गरेपछि नियामकले आफ्नो अधिकार प्रयोग गर्यो । र, लाभांश रकम घटायो वा वितरणमा नै रोक लगायो । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल लाभांश वितरणका लागि नियामकबाट अनुमति लिनु पर्ने जानकारी हुँदा हुँदै वेवास्ता गर्दा प्राधिकरणले पनि यस्तो निर्णय लिनु परेको बताउँछन् । ‘प्राधिकरणले पछि स्वीकृत गर्ने गरी भनेर जानकारी नै नगराई लाभांश घोषणा गर्न मिल्दैन,’ उनी भन्छन्, ‘उनीहरूले गल्ती सच्याउन भनेर सजाय स्वरुप नै लाभांश वितरणमा रोक लगाएका हौं ।’ उनले अन्य कम्पनीलाई पनि यस्ता गल्ती नगर्न आग्रह गरेका छन् भने गल्ती गरेका कम्पनीलाई पनि निर्णय सच्याउन निर्देशन दिएको बताएका छन् । एउटा कम्पनीको कमजोरीले सेयर बजारका लगानीकर्तालाई भने ठूलो असर गरेको छ । उच्च लाभांश पाइने भनेर ती कम्पनीहरूमा लगानी गरेका लगानीकर्ताहरूको अहिले ठूलो रकम डुबेको छ । उनीहरू यसमा सम्बन्धित कम्पनी र नियामकको कारण आफूहरूको लगानी डुबेको गुनासो गर्छन् । लगानीकर्ता दिनेश आचार्य यस्तो कमजोरी हुनुमा सम्बन्धित कम्पनी र नियामक पनि दोषी रहेको धारणा राख्छन् । ‘कम्पनीहरूले पनि प्रकृया के हो ? कसरी लाभांश घोषणा गर्ने भनेर बुझ्न जरूरी छ, नियामकले पनि हरेक विषयमा हस्तक्षेप गर्न खोज्नु हुँदैन, यो दुइटैको गल्ती भयो,’ लगानीकर्ता आचार्यले भने । विदेशी स्टक मार्केटमा यसलाई कमजोरी मात्रै होइन, अपराधको रूपमा लिइन्छ । यो एक किसिमको फाइनान्सियल क्राइम नै रहेको लगानीकर्ताको विश्लेषण छ । यस विषयमा नेपाल धितोपत्र बोर्डले पनि चासो राख्नु पर्ने उनीहरूको माग छ । ‘लगानीकर्ताहरूको जुन क्षति व्यहोरेका छन्, यसको क्षतिपूर्ति सम्बन्धित कम्पनी र नियामकले बेहोर्नुपर्छ, यस्ता विषयहरू बारम्बार दोहोरिरहेका छन्, यस्तो गल्ती दोहोरिन नदिनका लागि नीतिगत व्यवस्था नै हुनुपर्छ,’ उनले भने ।
कृषिमा प्रविधिको प्रयाेग बढ्दै
काठमाडौं । कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेको कृषिका अनुसन्धानकर्मीले बताएका छन् । मौसममा आएको फेरबदलले नेपालको कृषि क्षेत्रमा असर परिरहे पनि कृषिमा उन्नत जातका खाद्यबाली र विकासले फड्को मारिरहेको उनीहरूले बताएका हुन् । सोमबार नेपाल कृषि अनुसन्धान परिषदले कार्यालयमै आयोजना गरेको पत्रकार-वैज्ञानिक अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो । परिषदले आफ्नो ३३ औं स्थापनाको पूर्वसन्ध्यामा सोमबार पत्रकार र कृषि वैज्ञानिकसँग अन्तक्रिया गरेको हो । कार्यक्रममा परिषदले आर्थिक वर्ष २०७९/०८० मा गरेका उपलब्धिबारे जानकारी गराएको थियो । नेपाल कृषि अनुसन्धान परिषद स्थापना भएयता कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि र अनुसन्धान गरेको जनाइएको छ । कृषि अनुसन्धानको थालनी धेरै अघिदेखि नै भए पनि परिषद स्थापना भएपछि यसले थप गति लिएको अनुसन्धानकर्मीले बताएका छन् । विसं २०१७ मा उन्मोचित गहुँको जात लेर्मा ५२ नेपालमा जातीय विकासको हिसाबले इतिहासमा पहिलो कोशेढुंगाका रूपमा स्थापित छ । त्यसयता हालसम्म ८४ बालीका ८ सय ९३ जातहरू सिफरिस गरिएको जनाइएको छ । एक वर्षमा कृषिका जातिय विकास, प्रविधिको विकास आनुवांशिक स्रोत संरक्षणलगायत विभिन्न क्षत्रमा उपलब्धि हात पारेको परिषदले जनाएको छ । पछिल्लो समय बाली प्रविधिमा धान,मकै र गहुँमा स्थान-विशेष मलखाद व्यवस्थापन प्रविधि, धानको खैरो फड्के किरा नियन्त्रण प्रविधि, मकैमा लाग्ने धर्मे गवारो नियन्त्रणका लागि रासायनिक विधि, उखुमा झारपात व्यवस्थापन, मलखाद व्यवस्थाप तथा अन्तरबाली प्रविधि लगायतका विभिन्न प्रविधिहरूको प्रयोग भइरहेको जनाइएको छ । यस्तै वागवानी प्रविधिमा मध्यपहाडी क्षेत्रमा आलुबालीका लागि मलखाद व्यवस्थापन प्रविधि, गोलभेँडामा टुटा किरा व्यपस्थापन, जरामा गाँठो बनाउने जुकाको जैविक नियन्त्रणविधि लगायतका विधिहरूको अनुसन्धान गरी प्रयोगमा ल्याएको जनाइएको छ । नार्कमा अहिले कर्मचारीको अभाव रहेकाले सोचेजति उपलब्धि हासिल गर्न नसके पनि काम सकेअनुसार गरेको जनाइएको छ । परिषदले वैशाख २५ गते स्थापना दिवस मनाउने जानकारी दिएकाे छ ।
अनलाइन गेममार्फत सट्टेबाजी गराएको आरोपमा १३ भारतीय पक्राउ
बुटवल । बुटवलमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले बुटवल कालिकानगरमा फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइल लगायतका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूबारे थप अनुसन्धान भइरहेको छ ।
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबीच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवर्द्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरूलाई सरल र सहजरूपमा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाका तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले पालिकाभित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासीलाई सरल र सहजरूपमा कर्जा प्रवाह गर्नेछ । उक्त कर्जाले नगरपालिकाभित्र उद्यमशिलतामार्फत आत्मनिर्भर र स्वरोजगार प्रवर्द्धन हुने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र रहेका छन ।