
काठमाडौं । कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेको कृषिका अनुसन्धानकर्मीले बताएका छन् । मौसममा आएको फेरबदलले नेपालको कृषि क्षेत्रमा असर परिरहे पनि कृषिमा उन्नत जातका खाद्यबाली र विकासले फड्को मारिरहेको उनीहरूले बताएका हुन् ।
सोमबार नेपाल कृषि अनुसन्धान परिषदले कार्यालयमै आयोजना गरेको पत्रकार-वैज्ञानिक अन्तक्रिया कार्यक्रममा यस्तो बताइएको हो । परिषदले आफ्नो ३३ औं स्थापनाको पूर्वसन्ध्यामा सोमबार पत्रकार र कृषि वैज्ञानिकसँग अन्तक्रिया गरेको हो ।
कार्यक्रममा परिषदले आर्थिक वर्ष २०७९/०८० मा गरेका उपलब्धिबारे जानकारी गराएको थियो । नेपाल कृषि अनुसन्धान परिषद स्थापना भएयता कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि र अनुसन्धान गरेको जनाइएको छ । कृषि अनुसन्धानको थालनी धेरै अघिदेखि नै भए पनि परिषद स्थापना भएपछि यसले थप गति लिएको अनुसन्धानकर्मीले बताएका छन् ।
विसं २०१७ मा उन्मोचित गहुँको जात लेर्मा ५२ नेपालमा जातीय विकासको हिसाबले इतिहासमा पहिलो कोशेढुंगाका रूपमा स्थापित छ । त्यसयता हालसम्म ८४ बालीका ८ सय ९३ जातहरू सिफरिस गरिएको जनाइएको छ ।
एक वर्षमा कृषिका जातिय विकास, प्रविधिको विकास आनुवांशिक स्रोत संरक्षणलगायत विभिन्न क्षत्रमा उपलब्धि हात पारेको परिषदले जनाएको छ ।
पछिल्लो समय बाली प्रविधिमा धान,मकै र गहुँमा स्थान-विशेष मलखाद व्यवस्थापन प्रविधि, धानको खैरो फड्के किरा नियन्त्रण प्रविधि, मकैमा लाग्ने धर्मे गवारो नियन्त्रणका लागि रासायनिक विधि, उखुमा झारपात व्यवस्थापन, मलखाद व्यवस्थाप तथा अन्तरबाली प्रविधि लगायतका विभिन्न प्रविधिहरूको प्रयोग भइरहेको जनाइएको छ ।
यस्तै वागवानी प्रविधिमा मध्यपहाडी क्षेत्रमा आलुबालीका लागि मलखाद व्यवस्थापन प्रविधि, गोलभेँडामा टुटा किरा व्यपस्थापन, जरामा गाँठो बनाउने जुकाको जैविक नियन्त्रणविधि लगायतका विधिहरूको अनुसन्धान गरी प्रयोगमा ल्याएको जनाइएको छ ।
नार्कमा अहिले कर्मचारीको अभाव रहेकाले सोचेजति उपलब्धि हासिल गर्न नसके पनि काम सकेअनुसार गरेको जनाइएको छ । परिषदले वैशाख २५ गते स्थापना दिवस मनाउने जानकारी दिएकाे छ ।