राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको म्याद एक वर्ष थप्ने निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एक वर्ष म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति रक्षा मन्त्रालय अन्तर्गत रहेको बताइन् । समितिले पूर्वाधारका कामहरु गरिरहेको पनि बताइन् । यसअघि चार वर्षको लागि समय तोकिएको र सो समयावधि वैशाख २६ गते सकिने भएकाले आजको बैठकबाट एक वर्ष म्याद थप गर्ने निर्णय भएको जानकारी दिइन् । उनले भनिन्, ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति भन्ने हाम्रो रक्षा मन्त्रालय अन्तर्गत विकास समिति गठन आदेशबाट सञ्चालित भइरहेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय छ । अहिले नयाँ विधेयक बनि नसकेको, कानून बनि नसकेको र गठन आदेशको समय पनि पूरा हुँदै गइरहेको हुनाले हाम्रो आउने नियमित क्याबिनेटको बैठकसम्म गठन आदेश पनि खारेज हुने अवस्थामा पुग्ने भएकाले एक वर्ष म्याद थप गर्ने निर्णय गरिएको छ ।’ सरकारले सरकारको नियमित मन्त्रीपरिषद्को बैठक बस्ने दिनसम्म समितिको म्याद सकिसकेको हुने भएकाले आज नै बैठक बस्नुपरेको पनि स्पष्ट पारिन् ।
सिटिजन्स बैंकका ग्राहकलाई भिवान्ता काठमाडौंमा छुट हुने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भिवान्ता काठमाडौंबीच समझदारी भएको छ । बैंक र झम्सिखेल, ललितपुर स्थित भिवान्ता काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भिवान्ता काठमाडौंको सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
मुस्ताङका च्याङग्राका भुवा पश्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग गर्न उपयुक्त
म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुुणस्तर परीक्षण गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना संघ र च्याङग्रा पश्मिना किसान संघको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गरेको हो । एक वर्षअघि मुस्ताङमा संकलन गरेर मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा पठाइएको भुवाको गुणस्तर परीक्षणसम्बन्धी प्रतिवेदन केही दिनअघि प्राप्त भएको नेपाल पश्मिना उद्योग संका उपाध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए । ‘विज्ञहरूको टोली मुस्ताङमा आएर भुवाको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा लैजानु भएको थियो,’ उनले भने, ‘मुस्ताङका च्याङग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थको रूपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको छ ।’ परीक्षणपछि नेपालमा पश्मिनाको कच्चा पदार्थको भुवाको स्रोत रहेको अन्तर्राष्ट्रिय स्तरमा सन्देश प्रवाह भएको, च्याङग्रापालन बिस्तार र पश्मिना उद्योगको सम्भावना बढेको लामिछानेले बताए । लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङग्रा भुवाको आठ सय वटा नमुना संकलन गरी परीक्षणका लागि लगिएको थियो । चार वटै पालिकाका १ सय ६० किसानहरुले पालेका पाँच/पाँच वटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङग्राको शरीरबाट भुवा निकालिको थियो । संकलित नमूनालाई पश्मिनाको मोटाई र लम्बाई मापन गर्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए । प्राप्त प्रतिवेदनले च्याङग्राको नश्ल सुधार, गोठको संरचनालाई व्यवस्थित र आधुनिक बनाउन तथा भुवा निकाल्न आधुुनिक काँइयोको प्रयोग गर्न कृषकहरूलाई सुझाव दिएको छ । प्रतिवेदनको सुुझाव कार्यान्वयनका लागि कार्ययोजना बनाउन कृषक र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरिएको पश्मिना उद्योगी संघले जनाएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले च्याङ्गापालनबाट कृषकहरूलाई मासुमा बिक्री र पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताए । च्याङग्रापालनलाई थप व्यावसायिक, आधुनिकीकरण र सङ्ख्या वृद्धि गर्न पहल गरेको अध्यक्ष बिष्टले बताए । प्राकृतिक रूपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकहरुले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रूपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँको पस्मिना निर्यात हुन्छ भने वार्षिक १ सय ९५ टन पस्मिना बनाउन आवश्यक भुवाको धागो आयात हुन्छ । आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले बताए। बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । ३० प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा संकलन र काठमाडौंमा प्रशोधन केन्द्र स्थापना गरेको छ । वैशाख–जेठ महिनामा च्याङग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङग्राको भुवा पस्मिनाका लागि ‘क’ श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकहरूले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार यी स्थानमा ५२ हजार च्याङग्रा पालिएको छ ।
घरजग्गामा बैंकहरूको लगानी ६२५ अर्ब, समस्या समाधान गर्न माग
काठमाडौं । मुलुकमा वित्तीय स्थायित्वको लागि सरकारले घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिनको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले घरजग्गा व्यवसाय मुलुकको वित्तीय स्थायित्व कायम गर्नको लागि पनि सबल र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय घरजग्गा कारोबारमा आएको सिथिलता र विविध समस्याको कारण अर्थतन्त्रमा असर परेको दाबी सरोकारवालाहरुको थियो । घरजग्गा व्यवसायमा देखिएका समस्या बैंकिङ क्षेत्रको स्थायित्वको लागि पनि समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । उनीहरुले बैंकहरूले ६२५ अर्ब भन्दा बढी लगानी रहेको दाबी गरे । उनीहरुले बैंकमा ६ खर्बको लगानी मात्रै नभएर ३५ अर्ब भन्दा बढीको घरजग्गा धितोको रुपमा बैंकहरूले लिएको बताए । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि भए व्यवसायीका समस्या चाँडै समाधान हुनुपर्ने बताए । उनले राष्ट्र बैंकले घरजग्गा कारोबारलाई संस्थागत बनाउने तर्फ नीतिहरु उन्मुख गराएको बताए । उनले राष्ट्र बैंकले संस्थागत रुपमा दर्ता भएर गरिने रियल स्टेटलाई लोन टु भ्यालु रेसियो बढी नै गरेको बताए । उनले व्यवस्थित रुपमा कारोबार गर्ने व्यवसायीक संस्थाहरुलाई सहुलियत दिने नीति लिएको बताए । निर्देशक पौडेलले राष्ट्र बैंकले रियल स्टेट व्यवसाय संगठित भएर आउनुपर्छ भन्ने मान्यता अनुरुप नीतिहरु बनाई रहेको जानकारी दिए । असंगठित क्षेत्रले काम गर्दा विभिन्न विकृति, अपरदर्शी र राज्यको राजश्व गुम्ने बताए । अव्यवस्थित घरजग्गा कारोबारले बैकिङ क्षेत्रमा समेत समस्या पर्नसक्ने विषयमा राष्ट्र बैंक सचेत रहेको बताए । औपचारिक रुपमा दर्ता भएर रियल स्टेट व्यवसाय होस् भन्ने राष्ट्र बैंकको चाहना रहेको जानकारी दिए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले घरजग्गा व्यवसायमा नेपालका बैंकहरूले करिब ६२५ अर्ब भन्दा बढी लगानी रहेको बताए । उनले बैंकहरूको कर्जाको करिब १३ प्रतिशत लगानी घरजग्गा व्यवसायमा रहेकाले बैंकहरुको प्राथमिक क्षेत्र पनि भएको बताए । उनले बैंकहरुको जलविद्युतमा गरेको लगानी भन्दा दुई गुणा बढी, कृषिमा बराबरी जस्तो घरजग्गामा लगानी रहेको बताए । बैंकिङ क्षेत्रले भविष्यमा अर्थतन्त्रको पिलरको रुपमा घरजग्गा कारोबार रहेको बताए । अध्यक्ष केसीले घरजग्गा कारोबारलाई आम मानिस र सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गरे । उनले विगतमा बैंकहरूको कर्जाको ब्याजदर घट्दा घरजग्गा कारोबार वृद्धि हुने गरेको भएपनि पछिल्लो समय बैंकहरुको ब्याजदर कम हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि हुन नसकेको बताए । घरजग्गा कारोबारलाई अनुत्पादनको क्षेत्रका रुपमा सरकारले हेर्न नहुने बताए । अर्थतन्त्रको मेरुदण्डको रुपमा सबैले घरजग्गा कारोबारलाई लिन सक्नुपर्ने बताए । बैंकिङ उद्योगले घरजग्गा कारोबारलाई सकारात्मक रुपमा लिएको जानकारी दिए । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले घरजग्गा कारोबार वृद्धि हुनुमा बैंकको ठूलो भुमिका रहेको बताए । उनले घरजग्गा व्यवसायलाइ अनुत्पादन क्षेत्र ठानेर कर्जा नदिँदा अहिलेको परिणाम आएको पनि बताए । घरजग्गा कारोबार सबै क्षेत्रको लागि महत्वपूर्ण र अर्थतन्त्रको लागि मेरुदण्ड भएको जानकारी दिए । उनले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको बैंकमा धितो घरजग्गा रहेको र भुक्तानी दिन नसक्दा ठूलो समस्यामा परेको बताए ।
भिभोको वाई ०३ बजारमा सार्वजनिक
काठमाडौं । भिभोले मातातिर्थ औंशीको अवसर पारेर भिभो वाई ०३ बजारमा सार्वजनिक गरेको छ । यो स्लीक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समय सम्म चल्ने ब्याट्रीको मिश्रण भएको दावी गरिएको छ । यसमा ४+४ जीबीको एक्सटेन्डेड ¥याम र ६४ जीबीकोे भण्डारण क्षमता रहेकोे छ । यो फोनको मुल्य १३ हजार ४ सय ९९ रहेको छ । बजारमा आजैबाट आधिकारिक रिटेल स्टोर र दराज अनलाईनबाट एकैपटक सार्वजनिक गरिएको जनाइएको छ । यसमा ९० हर्जको रिफ्रेस रेटको साथ ६.५६ इन्चको इमर्सिभ डिस्प्ले राखिएको छ । यसले सिमलेस भिजुअल र सहज नेभिगेसनको सुनिश्चिता गर्ने बताइएको छ । मिडियाटेक हेलिओ जि ८५ प्रोसेसरद्वारा सञ्चालित यो फोनमा प्रयोगकर्ताहरूले राम्रो मल्टिटास्किङ र सहज कार्यसम्पादनको आनन्द लिन सक्ने छन् । आकर्षक डिस्प्ले र बलियो कार्यसम्पादन बाहेक भिभो वाई ०३ को ठूलो ५००० एम ए एच ब्याट्री र उत्कृष्ट १५ वाटको फ्ल्यास चार्जले दिनभरी उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ । नवीनतम एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित फन टच ओएस १४ मा चलिरहेको वाई ०३ ले सहज र सुविधाजनक उपयुक्त विकल्पहरू सहित प्रयोगकर्ताहरूलाई सुविधाजनक अनुभव प्रदान गर्ने दावी गरिएको छ । फोटो खिच्नको लागि भिभो वाई ०३ मा डुअल १३ एमपी रियर क्यामेरा सेटअप गरिएको छ । यसले स्पष्ट र विस्तृत फोटो खिच्न मद्दत गर्ने उल्लेख गरिएको छ । यसमा सेल्फी र भिडियो कलका लागि ५ एमपी फ्रन्ट क्यामेरा पनि राखिएको छ । कम्पनीका अनुसार वाई ०३ ले आई पी ५४ रेटिङ प्रदान गर्दछ । भिभोले आमाहरुको लागि विशेष सुविधा पनि ल्याएको जनाएको छ । भिभो वाई ०२ टि अब १२ हजार ९ सय ९९ मा पाउन सकिने कम्पनीले जनाएको छ ।
जापानमा बालबालिकाको संख्या ४३ वर्ष यताकै कम
काठमाडौं । जापानको अनुमानित बाल जनसंख्या अप्रिल १ सम्म १४.०१ मिलियन रहेको छ । जुन लगातार ४३ औं वर्षमा पनि घटेको सरकारी तथ्याङ्कले देखाएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार सन् १९५० मा तुलनात्मक तथ्याङ्क उपलब्ध भएदेखि विदेशीसहित १४ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या एक वर्ष अघिको तुलनामा ३३ लाखले घटेर रेकर्ड न्युन रहेको हो । देशको कुल जनसङ्ख्यामा बालबालिकाको अनुपात ०.२ प्रतिशत बिन्दुबाट घटेर ११.३ प्रतिशतमा झरेको छ । जुन सन् १९५० यताकै न्युनस्तर पनि हो । लिङ्गको आधारमा, पुरुषहरूको जनसंख्या ६.८३ मिलियन महिलाहरूको ७.१८ मिलियन पुगेको छ । सन् १९८२ देखि जापानमा बालबालिकाको जनसङ्ख्या घट्दै गएको छ । सन् १९५४ मा २९.८९ मिलियनमा पुगेको छ ।
प्रकाश सपुत : गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
गण्डकी । गायन तथा अभिनयमा रमाइरहेका कलाकार प्रकाश सपुत पछिल्लो समय चलचित्र निर्माण र निर्देशनमा होमिएका छन् । निर्देशकका रुपमा सपुतले आइतबार आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरे । काठमाडौंमा आयोजित एक समारोहबीच चलचित्रको शीर्षक भिडियो सार्वजनिक गरियो । सपुत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाएका थिए । ‘वसन्त’मा पनि उनी आफै मुख्य पात्रका रुपमा देखिँदै छन् । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको सपुतले बताए । चलचित्र निर्देशनलाई उनले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याए । गायनमा प्रवेश गर्दाताका नै सपुतले चलचित्रमा अभिनेता बन्ने सपना रहेको सुनाए । गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपुतलाई दर्शकले रुचाएका थिए । ‘अभिनेताका रुपमा ‘परदेशी २’लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो’, सपुतले भने, ‘पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।’ चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उनले सुनाए । ‘चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन छ, लवज छ, मौलिक सङ्गीत छ’, सपुतले भने, ‘चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।’ चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उनको भनाइ छ । सपुतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताए । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपुतले सुनाए । ‘मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो चलचित्र निर्माण, निर्देशन र अभिनयमा पनि जोडिन्छ’, उनले भने, ‘यो मेरा लागि अवसर र चुनौती दुवै हो, बाँकी त दर्शकको हातमा छ ।’ कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ । चलचित्रमा ‘वसन्त’ पात्रका रुपमा सपुत स्वयंको मुख्य भूमिका रहेको छ । अर्को मुख्य पात्र ‘शान्ति’का रुपमा अभिनेत्री स्वस्तिमा खड्का छिन् । चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने उक्त चलचित्र आउँदो वसन्त याममा प्रदर्शनमा आउने सपुतले जानकारी दिए । ‘आउँदो चतै दसैँ र नयाँ वर्षको छेको पारेर चलचित्र प्रदर्शन ल्याउने तयारीमा छौँ’, उनले भने । चलचित्रको कथा र सङ्गीत पनि सपुत आफैले तयार पारेका हुन् । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन् । सपुतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ । विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक यात्रा तय गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिन्छन् । मौलिक गीत ‘गलबन्दी’बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ पाएका छन् । साङ्गीतिक यात्राका क्रममा देशविदेशका कार्यक्रममा पुग्न भ्याइनभ्याइ नहुने सपुतलाई चलचित्र लेखन, निर्माण तथा निर्देशन कत्तिको फाप्ने हो त्यसका लागि भने आउँदो वसन्तु ऋतु कुर्नैपर्छ । रासस
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
भारत । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मङ्गलबारसम्म बन्द रहने राज्यका मुख्यमन्त्री एन बिरेनले बताएका छन् । राज्यमा विगत दुई दिनदेखि विशेषगरी आइतबारदेखि परेको अविरल वर्षाले स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । इम्फाल पश्चिम क्षेत्रको कान्चिपुर र तेरालगायत राज्यका विभिन्न भागमा असिनाले जस्ताको छानामा प्वाल परेकोले धेरै घर र सवारी साधनमा क्षति पुगेको द हिन्दू अखबारले रिपोर्ट गरेको छ । इम्फाल पश्चिम जिल्ला उत्तरपूर्वी भारतको मणिपुर राज्यको १६ जिल्ला मध्ये एक हो । यो राज्यको सबैभन्दा जनसङ्ख्या भएको जिल्लासमेत हो । राज्यमा विद्यमान मौसमी अवस्थाका कारण आज र भोलि सबै स्कूल र कलेजहरू बन्द रहनेछन् । वर्तमान मौसम अवस्थाले निम्त्याउने जोखिमविरुद्ध सावधानीका रूपमा यो निर्णय लिइएको मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । उनले सबैलाई अपडेट रहन र घरभित्र सुरक्षित रहन आग्रह गर्दै राज्य सरकारले जीवन र सम्पत्तिको रक्षा गर्न र प्रभावितलाई सहयोग गर्न सबै आवश्यक उपायहरू गरिरहेको बताए । यसैबीच भारतका केही भूभाग विशेषगरी पूर्वी, दक्षिणी र मध्य क्षेत्रमा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ । रासस