ठूलाबाट ठूलै गल्ती, साना सधैं मारमा

<p>काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सोमबार बिहान २८ प्रतिशत लाभांश घोषणा गर्यो । कम्पनीले सञ्चालक समितिको बैठक बसेर २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्यो । आइतबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५१ रुपैयाँमा थियो । सोमबार लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४९६ रुपैयाँसम्म कारोबार भयो [&hellip;]</p>

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सोमबार बिहान २८ प्रतिशत लाभांश घोषणा गर्यो । कम्पनीले सञ्चालक समितिको बैठक बसेर २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्यो ।

आइतबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५१ रुपैयाँमा थियो । सोमबार लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४९६ रुपैयाँसम्म कारोबार भयो । बजार बन्द नहुँदै सिटिजनको लाभांश बीमा प्राधिकरणले रोकेको समाचार विकासन्युजले प्रकाशित गरेपछि कम्पनको सेयर मूल्यमा एकाएक गिरावट आयो र प्रतिकित्ता ४६३ रुपैयाँमा रोकियो ।

यस्तै, आईएमई लाइफ इन्स्योरेन्सले वैशाख १९ गते ३४.५ प्रतिशत लाभांश घोषणा गर्यो । कम्पनीले वैशाख २३ गते नयाँ सूचना जारी गर्दै २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने जानकारी गरायो ।

३४.५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको निर्णय बोदार्थ बीमा प्राधिकरणमा पेश गरेकोमा प्राधिकरणले कर प्रयोजनबाहेक नगद लाभांश वितरणमा रोक लगाएको आइएमई लाइफ इन्स्योरेन्सको दाबी छ ।

३४.५ प्रतिशत लाभांश घोषणापछि प्रतिकित्ता ६०६ रुपैयाँसम्म कारोबार भएको आईएमई लाइफको सेयर मूल्य लाभांश घटाउनेवित्तिकै मूल्य घटेर ५४५ को हाराहारीमा आएको छ ।

दुवै कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लाभांश घोषणा गरेका हुन् । नेपालको सन्दर्भमा ५ अर्ब रुपैयाँ पुँजी लगानी भएको पब्लिक कम्पनीलाई ठूलै कम्पनी मानिन्छ । बैंकिङ र बीमा क्षेत्र नियामकले प्रोफेसनल व्यक्तिहरूले व्यवस्थापन गरेको, नियामकले राम्रोसँग नियमन गरेको, पारदर्शी र लगानीकर्ताको लागि तुलनात्मक रूपमा कम जोखिमपूर्ण क्षेत्र मानिन्छ । तर, ठूलाबढाले चलाएको यही क्षेत्रमा साना लगानीकर्ता मारमा परेका छन् ।

नेपालमा एक आर्थिक वर्षमा एकपटक मात्रै लाभांश वितरण गर्न पाउने वा अन्तरिम लाभांश वितरण गर्न चाहेमा नियामक निकायसँग पहिल्यै छलफल गरेर मात्रै वितरण गर्न पाउने व्यवस्था छ । तर, नियामकलाई व्यवास्था गर्दै आफूखुसी निर्णय गरेर लाभांश घोषणा गरेपछि नियामकले आफ्नो अधिकार प्रयोग गर्यो । र, लाभांश रकम घटायो वा वितरणमा नै रोक लगायो ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल लाभांश वितरणका लागि नियामकबाट अनुमति लिनु पर्ने जानकारी हुँदा हुँदै वेवास्ता गर्दा प्राधिकरणले पनि यस्तो निर्णय लिनु परेको बताउँछन् ।

‘प्राधिकरणले पछि स्वीकृत गर्ने गरी भनेर जानकारी नै नगराई लाभांश घोषणा गर्न मिल्दैन,’ उनी भन्छन्, ‘उनीहरूले गल्ती सच्याउन भनेर सजाय स्वरुप नै लाभांश वितरणमा रोक लगाएका हौं ।’

उनले अन्य कम्पनीलाई पनि यस्ता गल्ती नगर्न आग्रह गरेका छन् भने गल्ती गरेका कम्पनीलाई पनि निर्णय सच्याउन निर्देशन दिएको बताएका छन् ।

एउटा कम्पनीको कमजोरीले सेयर बजारका लगानीकर्तालाई भने ठूलो असर गरेको छ । उच्च लाभांश पाइने भनेर ती कम्पनीहरूमा लगानी गरेका लगानीकर्ताहरूको अहिले ठूलो रकम डुबेको छ । उनीहरू यसमा सम्बन्धित कम्पनी र नियामकको कारण आफूहरूको लगानी डुबेको गुनासो गर्छन् ।

लगानीकर्ता दिनेश आचार्य यस्तो कमजोरी हुनुमा सम्बन्धित कम्पनी र नियामक पनि दोषी रहेको धारणा राख्छन् । ‘कम्पनीहरूले पनि प्रकृया के हो ? कसरी लाभांश घोषणा गर्ने भनेर बुझ्न जरूरी छ, नियामकले पनि हरेक विषयमा हस्तक्षेप गर्न खोज्नु हुँदैन, यो दुइटैको गल्ती भयो,’ लगानीकर्ता आचार्यले भने ।

विदेशी स्टक मार्केटमा यसलाई कमजोरी मात्रै होइन, अपराधको रूपमा लिइन्छ । यो एक किसिमको फाइनान्सियल क्राइम नै रहेको लगानीकर्ताको विश्लेषण छ । यस विषयमा नेपाल धितोपत्र बोर्डले पनि चासो राख्नु पर्ने उनीहरूको माग छ ।

‘लगानीकर्ताहरूको जुन क्षति व्यहोरेका छन्, यसको क्षतिपूर्ति सम्बन्धित कम्पनी र नियामकले बेहोर्नुपर्छ, यस्ता विषयहरू बारम्बार दोहोरिरहेका छन्, यस्तो गल्ती दोहोरिन नदिनका लागि नीतिगत व्यवस्था नै हुनुपर्छ,’ उनले भने ।

Share News