पर्यटक बढ्दा होटल क्षेत्र नाफामा, ३९ प्रतिशतसम्मको ग्रोथ
काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटक संख्या बढ्दै गएपछि समग्र पर्यटन उद्योगमा थप आशाको सञ्चार भइरहेको छ । कोरोना महामारीले थिलथिलो बनेको पर्यटन उद्योगले पछिल्लो पटक त्राण पाएको छ भन्दा दुई मत नहोला । कोरोना महामारीका कारण दुई वर्षभन्दा बढी अवधि लगभग शून्यको अवस्थाबाट गुज्रिएको मुलुकको पर्यटन उद्योग केही समययता बिस्तारै गुल्जार बन्दै गएको छ । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार विदेशी पर्यटक आगमन संख्या कोरोना भाइरसको वैश्विक महामारी आउनुभन्दा अघि सन् २०१९ कै हाराहारीमा पुग्ने देखिएको छ । सन् २०२४ सुरुवातदेखि नै नेपाल घुम्न आउने पर्यटक संख्या आशातित रूपमा बढेको छ । पर्यटन बोर्डका अनुसार सन् २०२४ जनवरीदेखि अप्रिल चार महिननामा ४ लाभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । यसको अर्थ पछिल्लो पटक नेपाल आउने पर्यटक संख्या मासिक १ लाखभन्दा बढी हुन थालेको छ । यसले पर्यटन उद्योग एक हदसम्म उचाइतिर लम्किरहेको पुष्टि हुन्छ । यही हिसाबमा अगाडि जाने हो भने २०२४ मा नेपाल घुम्न आउने पर्यटक संख्या १२ लाख नाघ्ने अनुमान सहजै लगाउन सकिन्छ । विदेशी पर्यटक बढ्दै गएका कारण नेपालका होटल, एयरलाइन्स, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ, पर्वतारोहण लगायत क्षेत्रले राम्रै आम्दानी गरिरहेका छन् । तीमध्ये होटल र केबुलकार कम्पनीहरूले उल्लेख्य नाफा गरेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेकामध्ये आधा दर्जन पर्यटकीय होटल पब्लिक लिमिटेड हुन् । उनीहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बढ्दा उनीहरूले यहाँ गर्ने खर्च र बसाइ दर पनि बढिरहेको छ । पर्यटक जति धेरै आउँछन् र यहाँ बस्छन्, नेपालले त्यति नै धेरै आम्दानी गर्छ । विदेशी पर्यटक संख्या बढ्दै जाँदा होटलहरू तथा केबुलकार कम्पनीले पनि नाफा बढाएका छन् । नेप्सेमा सूचीकृत पर्यटन तथा होटल समूहका ६ कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीमध्ये चार कम्पनी ठूला होटल हुन् भने दुइटा चाहिँ केबुलकार कम्पनी हुन् । होटलतर्फका तीनवटा पाँचतारे होटलले तेस्रो त्रैमासिकमा राम्रो नाफा कमाएका छन् भने एउटा होटल नोक्सानीमा छ । केबुलकारतर्फ दुइटै कम्पनीले तेस्रो त्रैमासिकमा नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसले नेपाल घुम्न आउने विदेशी पर्यटक संख्याका साथै आन्तरिक पर्यटक संख्या पनि उल्लेख्य बढ्दै गएको प्रमाणित गर्छ । हाल नेप्सेमा पाँचतारे होटलहरू सोल्टी, तरागाउँ रिजेन्सी (ह्यात) र ओरेन्टल होटल्स (र्याडिसन) तथा सिटी होटल (ह्यात प्लेस) एवम् केबुलकार कम्पनीहरू चन्द्रागिरि हिल्स र दोलखाको कालिञ्चोक दर्शन लिमिटेड छन् । यीमध्ये सिटी होटलमात्र नोक्सानीमा छ भने बाँकी अरु सबै कम्पनीले चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेका छन् । होटलहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटक संख्या बढेका कारण आम्दानीमा सकारात्मक योगदान पुग्न गई नाफा बढेको उल्लेख छ । अब, सेयर बजारमा सूचीकृत पर्यटन तथा होटल समूहका कम्पनीले चालू आर्थिक वर्ष तेस्रो त्रैमासिकमा के कति नाफा कमाए र कुन के कति नोक्सानीमा गयो भन्ने चर्चा गरौं । होटल र्याडिसनकाे नाफा साढे ६ कराेड काठमाडौं लाजिम्पाटस्थित ओरेन्टल होटल्स लिमिटेड (पाँचतारे होल र्याडिसन) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा ६ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । होटलले सार्वजनिक गरेको चालु आव तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाणमा खुद नाफा कमाएको जनाएको हो । अघिल्लो आव तेस्रो त्रैमाससम्मको तुलनामा यो नाफा १० प्रतिशत बढी हो । अघिल्लो आवतेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । होटलले चैतसम्म ८१ करोड ९६ लाख रुपैयाँबराबर आम्दानी गरेको छ । गत आव यसै अवधिमा होटलले ६९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो । होटलले नौ महिनामा १२ करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष होटलले ११ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल होटलको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ छ । हाल होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा छ । गत आर्थिक वर्षको सोही अवधिमा होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा मात्रै थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ सय ३८ रुपैयाँ ४२ पैसा छ । कालिञ्चोक दर्शनकाे नाफा साढे २ कराेड दोलखास्थित कालिञ्चोक दर्शन लिमिटेडले चाुल आव तेस्रो त्रैमासमा ६.९१ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो । वित्तीय विवरणअनुसार कालिञ्चोक दर्शनले पछिल्लो नौ महिनामा २ कराेड ४७ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी बढेसँगै यसको नाफा बढेको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पछिल्लो समय वाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार भएसँगै केबुलकारको तृतीय त्रैमासिक अवधिमा अकुपेन्सी दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ । एक वर्ष अवधिमा सञ्चालन आम्दानी ३०.४१ प्रतिशतले बढेर ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन नाफा ५८.२७ प्रतिशतले बढेर ३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ करोड ४३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ४ रुपैयाँ २० पैसा कायम छ । गत वर्ष प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा थियो । कालिञ्चोकको प्रतिसेयर नेटवर्थ १ सय १ रुपैयाँ २ पैसा छ । चन्द्रागिरि हिल्सकाे नाफा ३८.८१ प्रतिशत बढ्याे काठमाडौं चन्द्रागिरिमा सञ्चालित चन्द्रागिरि हिल्स लिमिटेडले चालु आव तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चन्द्रागिरि हिल्सले सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाणमा नाफा आर्जन गरेको जनाएको हो । यो गत वर्षको यसै अवधिको तुलनामा ३८.८१ प्रतिशतले बढी हो । अघिल्लो आव तेस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटक संख्यामा वृद्धि भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा सञ्चालन आम्दानी बढ्दा नाफामा वृद्धि भएको उल्लेख छ । यसकारण समीक्षा अवधिमा चन्द्रागिरि होटलको आम्दानी पनि ६२ करोड ९० लाख रुपैयाँबाट बढेर ६९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी पनि ४४ लाख रुपैयाँबाट बढेर ८६ लाख पुगेको छ । चन्द्रागिरि हिल्सले केबुलकार, होटल तथा रेस्टुरेन्टसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्छ । हाल कम्पनीको वित्तीय खर्च पनि २० करोड ६६ लाखबाट घटेर १८ करोड २९ लाख रुपैयाँ कायम भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । गत वर्ष यस अवधिसम्म चन्द्रागिरि हिल्सको ५ रुपैयाँ ७ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष ७ रुपैयाँ ३ पैसा कायम भएको छ । यस वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ३ पैसा कायम छ । सोल्टीकाे ४१ करोड २३ लाख नाफा काठमाडौं ताहाचलस्थित पाँचतारे होटल सोल्टीले चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । होटलले सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाणमा नाफा आर्जन गरेको जनाएको हो । यो रकम अघिल्लो आव सोही अवधिको तुलनामा ११.०८ प्रतिशतले बढी हो । अघिल्लो आव तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । अघिल्लो आव तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो । चालु आव तेस्रो त्रैमासमा होटलले १ अर्ब ३५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । गत आव यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब ३ करोड थियो । कम्पनीको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष ४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा कायम छ । ह्यातको नाफा ३९ प्रतिशत बढ्याे काठमाडौं बौद्धस्थित पाँचतारे होटल ह्यातको नाफा ३९ प्रतिशत बढेको छ । ह्यात सञ्चालक कम्पनीले सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो । वित्तीय विवरणअनुसार ह्यातले पछिल्लो नौ महिनामा ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत आव तेस्रो त्रैमाससम्ममा भने ह्यातले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटक संख्यामा वृद्धि भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा अकुपेन्सी (कोठा भराइ दर) अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ । यस कारण समीक्षा अवधिमा होटलको आम्दानी १२ प्रतिशत बढेको छ । चालु आव तेस्रो त्रैमासमा होटलले १ अर्ब १३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आव यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब १ करोड रुपैयाँ थियो । होटलको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष यस अवधिसम्म १२ रुपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष १६ रुपैयाँ ९९ पैसा कायम छ । गत वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २७ रूपैयाँ २४ पैसा रहेकोमा यस वर्ष १ सय ३७ रुपैयाँ १९ पैसा कायम छ । सिटी होटल (ह्यात प्लेस) काठमाडौं ताहाचलस्थित होटल ह्यात प्लेसले चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । होटलले सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाणमा नोक्सानी बेहोरेको जनाएको हो । अघिल्लो आव तेस्रो त्रैमाससम्मको तुलनामा होटलको नोक्सानी घटेको हो । अघिल्लो आव तेस्रो त्रैमाससम्म कम्पनीले २१ करोड २१ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो । एक वर्ष अवधिमा सञ्चालन आम्दानी भने १३.५२ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष होटलको सञ्चालन आम्दानी ३२ करोड ७२ लाख रुपैयाँ थियो । हाल होटलको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा छ ।
छानबिन समिति गठन नभए कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने निष्कर्ष निकालेको छ। सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबने सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने निचोड निकालेको हो । कांग्रेसले पूर्ववत आफ्नो अडानलाई यथावत् राख्ने जनाएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ । यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।
सदनमा कुरा त राख्छु, सम्बोधन हुँदैन : सांसद सिंह
काठमाडौं । राजनीतिमा होमिन आमरुपमा महिलाका लागि त्यति सहज छैन । पछिल्लो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले भने राजनीतिमा महिला समावेशीतालाई बाध्यकारी बनाइदिएको छ । फलस्वरुप चाहेर वा नचाहेर घुम्टो पन्छाउँदै घरदेखि सदनसम्म आउन मधेसका महिला तयार छिन् । परिवारभित्रको जिम्मेवारी, राजनीतिक शक्तिको सङ्घर्ष र संसदसम्मको भूमिकामा एक महिला कसरी आफूलाई तयार बनाउँछिन् ? यसबीचका चुनौतीहरु के कस्ता खेप्नु पर्छ र घरदेखि सदनसम्मको अनुभवमा के फरक छ ? पहिलो पटक प्रतिनिधिसभामा सदस्य निर्वाचित भएकी जनमत पार्टीकी सांसद बिनिताकुमारी सिंहसँग परिवार र संसदको सङ्घर्ष अनुभव रोचक छ । मधेसको किसान आन्दोलनबाट राजनीतिमा सक्रिय भएकी सिंह सिराह क्षेत्र नं. २ बाट आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै समानुपातिक सांसदमा चुनिएकी हुन् । सांसद सिंहले सदनको अनुभव यसरी राखेकी छन् : राजनीतिमा आउनुअघिको दिनचर्या कस्तो थियो ? राजनीतिमा आउनुअघि घरपरिवार सम्हाल्नमै व्यस्त थिएँ । हामी महिलाले घरपरिवार सम्हाल्नु पर्छ । अनि मात्रै अरु क्षेत्रमा सक्रिय हुनुपर्छ । सबै रोजाइ महिलाले पछि छान्नुपर्छ । पहिला परिवार नै हेर्नुपर्छ, परिवार नै सम्हाल्नु मुख्य दायित्व हुन्छ । परिवार सम्हाल्दै राजनीति गर्दा के कस्ता चुनौती आउँदा रहेछन् नि ? पहिलो कुरो त मधेसका महिला घुम्टो उठाउँदै अघि बढ्नु पर्ने मुख्य चुनौती छ । म पनि त्यहि माटोकी हुँ । म त्यो घुम्टोबाट अछुतो कसरी हुन सक्छु ? तर, मलाई राजनीतिक चेत छ । त्यसैले परिवारमा मात्रै रुमलिएर हुँदैन, देश र जनताका लागि पनि केही गर्नुपर्छ भन्ने भावना सङ्गालेकी छु । त्यही भावनाले गर्दा नै म घुम्टो खेलेर सदनमा पुग्न सफल भएकी हुँ । मधेसमा अत्यन्त सीमित महिला राजनीतिमा आउने अवसर पाउँछन् । जुन मैले पाएकी छु । यसको श्रेय परिवार र श्रीमानलाई जान्छ । चुनौतीचाहिँ के रहेछन् त ? चुनौती थुप्रै छन् । दुई वर्षअघि प्रतिनिधिसभाको सांसदको शपथ लिँदा मेरो छोरो चार वर्षको थियो । अहिले छ वर्ष पुगेको छ । स्कुल जान्छ । तपाईंले अनुमान पनि लगाउन सक्नुहुन्न मेरो दैनिकीको व्यस्तता कति छ भनेर । बिहान उठेदेखि बेलुकासम्म कामले फुर्सद पाउँदिन । छोरालाई खाना पकाएर खुवाऊ, स्कुल पुर्याऊ, परिवारको सेवा गर अनि फेरि संसदमा जाऊ । राति परिवार मस्त निदाउँछन्, म संसदको विधेयक पढ्न थाल्छु । म संसदको शिक्षा स्वास्थ्य समितिमा पनि सदस्य छु । समितिको दैनिकजसो बैठक हुन्छ । त्यसको लागि अध्ययन गर्नुपर्छ । परिवार र जनताको सेवा एक साथ गर्दै आएकी छु । परिवारको अनुभव त सबै महिलाको सन्दर्भमा लगभग उस्तै हो । सांसदको चाहिँ अनुभव कस्तो हुँदो रहेछ ? दुई वर्ष अघि संसद बैठकमा पहिलो पटक पस्दा रमाइलो लाग्यो । तर, पछि बुझ्दै गएँ यहाँ रमाइलो होइन, गम्भीर हुनुपर्दो रहेछ । जनताप्रति जिम्मवार हुने क्षेत्र रहेछ । जनताकै लागि बोल्ने थलोमा पुगेकी रहेछु । संसदको दोस्रो वर्ष मात्रै यहाँको भाव बुझ्न थालेँ र मैले खासगरी जहाँबाट निर्वाचित भएकी थिएँ त्यहाँका जनतासँग भेट्न थालेँ । उहाँहरुको समस्या सुनेर, देखेर, बुझेर संसदको बैठकमा उठाउँदै आएकी छु । कस्ता समस्या राख्दा रहेछन् जनता ? सिरहा जिल्ला शिक्षा, स्वास्थ्य, रोजगार सबै हिसाबले पछि परेको ठाउँ हो । खासगरी यहाँका महिलाको स्थिति अझै दर्दनाक छ । मधेसी दलितको स्थिति उस्तै पीडादायी छ । भोक, गरिबी, अभाव र असुरक्षा लगायत जनताका थुप्रै समस्या छन् । म एउटा सांसदले उहाँहरुको कुरा धैर्यपूर्वक सुनिदिए मात्रै पनि धेरै राहत मिल्छ जस्तो लाग्छ । त्यसैले म गाउँमै जान्छु र उहाँहरुको कुरा सुन्छु । म महिला सांसद भएर पनि होला, धेरै गुनासो महिला दिदीबहिनीले मसँग खुलेर गर्नुहुन्छ । सिरहाका महिलाका कस्ता गुनासा छन् नि ? सिरहाका महिलाहरुका गुनासा थुप्रै छन् । अति सूक्ष्म र महत्वपूर्ण छन् । त्यहाँका महिलाहरु पछिल्लो समय आत्मनिर्भर बन्न चाहनुहुन्छ । आफ्नै खुट्टामा उभिन चाहनुहुन्छ । त्यही अपेक्षाले होला सायद, कपडा सिलाउने मेसिन, धुप बनाउने सामग्री, व्यापार गर्ने लगानी दिनु पर्यो सांसद ज्यु भन्दै अनुरोध गर्नुहुन्छ । अनि तपाईंले पूरा गर्नु भएको छ त उनीहरुका माग ? यो प्रश्न तपाईंले गर्नुभन्दा पहिला मैले म आफैँलाई धेरै पटक सोध्ने गरेकी छु । के साँच्चिकै मैले मेरा मतदाताको समस्या सम्बोधन गर्न सकेकी छु त ? उत्तर पनि आफैँले पाउँछु, ‘छैन’ । थुप्रै नेताले जनताको माग पुरा गरेकै छौँ भनेर ठोकुवा गर्छन् । तपाईंले त गरेको छैन भन्नुभयो नि । म झुटो बोल्न सक्दिनँ । मैले जे गरेकी छु, त्यो गरेकी छु भन्छु । जे गरेको छैन छैन नै भन्छु । मेरा जनतालाई मैले वास्तवमै केही गर्न सकेको छैन । प्रयास भने निरन्तर गरिरहेको छु । नतिजा आउने प्रतीक्षामा छु । तर, सांसद एक्लैले मात्रै जनताको आवश्यकता पुरा गर्न सक्दैन । हामी जनताको कुरा सदनमा पुर्याउँछौँ । सरकारले सुन्दैन, कसरी माग पुरा हुन्छ ? सांसदको कुरा सरकारले सुन्दैन ? सुन्छ मात्रै सम्बोधन हुँदैन । यो मेरो नितान्त व्यक्तिगत अनुभव हो । अरुसँग मेल नखान सक्छ । मधेस जस्तो पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्ने महिला हुँ । मैले धेरै पटक सदनमा मधेसका जनताको आवाज उठाएको छु । चाहे त्यो मधेसको शिक्षाको क्षेत्रमा होस्, चाहे स्वास्थ्य तथा रोगारको क्षेत्रमा होस् । विशेषगरी सिरहामा स्नातक तहको इन्जिनियर विश्वविद्यालय खोल्नुपर्ने मेरो जोडदार माग रहेको छ । किनकी यहाँका अधिकांश युवा पढ्नकै लागि भारत पुग्छन् । साथै पुल, सडकजस्ता पूर्वाधार निर्माणका कुरा उठाएको छु । सिरहामा चिस्यानकेन्द्र जरुरी छ, त्यो पनि अर्को महत्वपूर्ण विषय हो । तपाईं आफैँले भन्नुभयो, जनतालाई सहयोग गर्न पाइनँ भनेर । के ले रोक्यो सहयोग गर्न ? सबैभन्दा ठुलो अवरोध भनेकै आर्थिक रहेछ । सांसद जनतासँग प्रत्यक्ष ठोक्किन्छन् । एका अर्थले सांसद जनताको गुनासो पेटीका हो । केही सहयोग गरिहाल्यौं भन्यो भने आफूसँग बजेट छैन । मैले धेरै पटक रकम (फन्ड) जुटाउनका लागि अर्थ मन्त्रालय, गृह मन्त्रालय, महिला मन्त्रालय लगायत विभिन्न मन्त्रालय धाएको छु । सबैबाट एउटै उत्तर आउँछ, ‘माननीयज्यू, सहयोग गर्न त हुन्थ्यो । के गर्ने बजेटै छैन ।’ अहिले त सदनमा जनताको पीडा थाँती राखेर सत्ताको लडाईं मात्रै भइरहेको देख्छु । रासस
योग र ध्यानमा जोड दिनु आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने धारणा राखेका छन् । यहाँ सोमबार सुरु स्वास्थ्य सम्मेलनको दोस्रो संस्करणको उद्घाटन सत्रमा प्रमुख अतिथी उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘योग र ध्यान पूर्वीय चिन्तन र संस्कृतिको पक्ष हो, यो हाम्रो जीवनशैली पनि हो । यसमा जोड दिनु आवश्यक छ ।’ उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास आवश्यक रहेको भन्दै विकासको गति बढाउनुपर्ने धारणा राखे । उनले रोगको उपचारसँगै रोगको रोगथामतर्फ दिनुपर्ने आवश्यक रहेको समेत बताए । उनले भने, ‘अस्पताल, उपकरण र औषधिका लागि बजेट छुट्याउने चलन छ तर हामीले रोगथामका पक्षमा बढी ध्यान दिन सकियो भने स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुनेछ ।’ उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा योग र ध्यानलाई विशेष प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । त्यस अवसरमा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष एव् वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालाले स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादनका साथै तालिम र प्रोत्साहन जरुरी भएको बताए । उनले कोही व्यक्ति अकालमा मन नपरोस् भन्दै गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन सक्नुपर्नेमा जोड दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । उनले भने, ‘गएराति फ्लाई दुबईबाट काठमाडौं आएका दुई जना भारतीयले आफूले लगाएको लुगामा सुन जस्तो देखिने पहेँलो रङको धातु लेपन/पेष्ट गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ ।’ पक्राउ परेकामध्ये सुरेश कुमारको लुगासहितको उक्त सुन जस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम तथा मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको विमानस्थल सुरक्षा प्रमुख शर्माले जानकारी दिए । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए । रासस
शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक-कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ । शिक्षक-कर्मचारीले राजनीतिक दलको सदस्यता लिई जिल्ला तहमा दलको कार्यकारिणी समिति सदस्यसमेत भएको भन्ने गुनासोपछि शिक्षामन्त्री सुमना श्रेष्ठको यही वैशाख ४ गतेको निर्णयबाट मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत दलीय राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएको थियो । केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक र कर्मचारीलाई कारबाही गर्न सबै जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको थियो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिई कार्यकारिणी समिति र महाधिवेशन प्रतिनिधि भई काम गरेको उजुरी र गुनासो प्राप्त आएपछि मन्त्रालयले विद्यमान कानुनी व्यवस्थाले सो कार्यलाई निषेध गरेकाले कानुनको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । शिक्षकहरूले पढाइ हुने समयमा समेत दलीय राजनीतिमा लागेर शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिएको गुनासो आएपछि मन्त्रालयले कानुनी व्यवस्थालाई पालना गर्न निर्देशन दिएको थियो । साथै शिक्षक संगठनका नेताहरूले आफूहरूको राजनीतिक आस्था हुन पाउने अधिकारलाई वञ्चित नगर्न आग्रह गर्दै आएका थिए । शिक्षा ऐन २०२८ (नवौँ संशोधन), राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र शिक्षा नियमावली २०५९ ले शिक्षकलाई राजनीतिक दलमा आबद्धता हुन नपाइने व्यवस्था गरेको छ । सो सम्बन्धमा पाटन उच्च अदालतले २०७९ जेठ ४ मा उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न/गराउन सरकारका नाममा परमादेश जारी गरेको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंशबहादुर शाहीका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७, शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ९५० को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको स्पष्ट उल्लेखसहित जिल्ला तहमा पत्राचार भएपछि दलीय आबद्धतामा रहेका शिक्षकले राजीनामा दिन थालेका छन् । कतिपय शिक्षकले भने सम्बन्धित दललाई भनेर आफ्नो सदस्यतालाई नाम परिवर्तन गरेर अभिलेखीकरण गरिदिन आग्रह गरेको पाइएको छ । शिक्षामन्त्री श्रेष्ठ र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच शनिबार भएको भेटवार्तामा मन्त्रालयको निर्देशन कार्यान्वयनका विषयमा छलफल भएको थियो । शिक्षक नेताहरू बाह्यरूपमा विरोध गरे पनि कानुनी बाध्यताका कारण मन्त्री र मन्त्रालयका अधिकारीका सामु निर्देशन पालनाका पक्षमा रहेको जनाउन विवश छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारीका सेवासुविधा र पेसागत मागमुद्दाको सम्बोधनका लागि आफूहरू निरन्तर लागिरहने उल्लेख गर्दै ट्रेड युनियन अधिकार कानुनी अधिकार भएकाले यसबाट भने कसैलाई वञ्चित गर्न नसकिने जिकिर गरे । महासंघ विद्यमान कानुनी व्यवस्थाबाटै स्थापित भएकाले मन्त्रालयले निर्देशनले शिक्षक-कर्मचारीका पेसागत संस्थालाई कुनै असर नपर्ने बताए । नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलले पनि कानुनमै भएको व्यवस्था कार्यान्वयनका लागि आफूहरु तयार नहुनुपर्ने कारण नभएको भन्दै तर शिक्षामन्त्री वा उच्च कर्मचारीले यसलाई ‘स्टन्ड’ का रुपमा बढी प्रचार गर्न नहुने जनाए । शिक्षामन्त्री श्रेष्ठ र नेपाल शिक्षक महासंघ प्रतिनिधिबीच शनिबार भएको भेटवार्तामा उक्त निर्देशनका यही विषयमा छलफल भएको रावलले जानकारी दिए । ‘हामी शिक्षक सक्रिय राजननीमिा लाग्न हुँदैन भन्नेमा स्पष्ट छौँ, सङ्घका कुनै पनि सदस्यलाई हामीले सक्रिय राजनीतिमा लाग्न भनेका छैनौँ । कुनै दल विशेषमा व्यक्तिगतरूपमा कोही शिक्षक सदस्य छन् भने त्यसलाई सम्बन्धित दल र शिक्षकले कानुनतः मिलाउनुपर्ने हुन्छ,’ शिक्षक नेता रावलले भने, ‘तर, शिक्षक र कर्मचारीको राजनीतिक आस्था हुनसक्छ, त्यसलाई भने रोक्न पाइँदैन ।’ नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले एकाधबाहेक अधिकांश विद्यालय कर्मचारी राजनीतिक दलको सदस्य र कार्यकारिणी सदस्य नरहेको जनाउँदै कानुनी व्यवस्थाको पालनामा शिक्षक पनि सकारात्मक हुनुको विकल्प नभएको बताए । शिक्षामन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीति अन्त्यका लागि निर्ममरूपमा प्रस्तुत हुने बताउँदै आएका छन् । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालको एकमहिने अवधिमा भएका सुधारका थालनीबारे जानकारी गत चैत २३ गते सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्राध्यापक, शिक्षक वा कर्मचारीले दलीय राजनीति गरेको प्रमाण भेटिएमा उजुरी दिन आग्रह गर्दै उजुरीलाई कानुनबमोजिम सम्बन्धित निकायमार्फत कारबाही गराइने दृढता व्यक्त गरेकी थिइन् । हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सममका स्थायी, अस्थायी, राहत, करारलगायत गरी करिब तीन लाख ५० हजार शिक्षक कार्यरत छन् ।
सोमबार घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ३८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन आइतबार एक लाख ३७ हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार चार सय ५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको छ ।
उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । ‘आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’, उनले भने । यादवले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवादसमेत दिएका छन् ।