पर्यटक बढ्दा होटल क्षेत्र नाफामा, ३९ प्रतिशतसम्मको ग्रोथ

<p>काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटक संख्या बढ्दै गएपछि समग्र पर्यटन उद्योगमा थप आशाको सञ्चार भइरहेको छ । कोरोना महामारीले थिलथिलो बनेको पर्यटन उद्योगले पछिल्लो पटक त्राण पाएको छ भन्दा दुई मत नहोला । कोरोना महामारीका कारण दुई वर्षभन्दा बढी अवधि लगभग शून्यको अवस्थाबाट गुज्रिएको मुलुकको पर्यटन उद्योग केही समययता बिस्तारै गुल्जार बन्दै गएको [&hellip;]</p>


काठमाडौं । नेपाल घुम्न आउने विदेशी पर्यटक संख्या बढ्दै गएपछि समग्र पर्यटन उद्योगमा थप आशाको सञ्चार भइरहेको छ ।

कोरोना महामारीले थिलथिलो बनेको पर्यटन उद्योगले पछिल्लो पटक त्राण पाएको छ भन्दा दुई मत नहोला ।

कोरोना महामारीका कारण दुई वर्षभन्दा बढी अवधि लगभग शून्यको अवस्थाबाट गुज्रिएको मुलुकको पर्यटन उद्योग केही समययता बिस्तारै गुल्जार बन्दै गएको छ ।

नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार विदेशी पर्यटक आगमन संख्या कोरोना भाइरसको वैश्विक महामारी आउनुभन्दा अघि सन् २०१९ कै हाराहारीमा पुग्ने देखिएको छ ।

सन् २०२४ सुरुवातदेखि नै नेपाल घुम्न आउने पर्यटक संख्या आशातित रूपमा बढेको छ । पर्यटन बोर्डका अनुसार सन्  २०२४ जनवरीदेखि अप्रिल चार महिननामा ४ लाभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् ।

यसको अर्थ पछिल्लो पटक नेपाल आउने पर्यटक संख्या मासिक १ लाखभन्दा बढी हुन थालेको छ । यसले पर्यटन उद्योग एक हदसम्म उचाइतिर लम्किरहेको पुष्टि हुन्छ ।

यही हिसाबमा अगाडि जाने हो भने २०२४ मा नेपाल घुम्न आउने पर्यटक संख्या १२ लाख नाघ्ने अनुमान सहजै लगाउन सकिन्छ ।

विदेशी पर्यटक बढ्दै गएका कारण नेपालका होटल, एयरलाइन्स, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ, पर्वतारोहण लगायत क्षेत्रले राम्रै आम्दानी गरिरहेका छन् ।

तीमध्ये होटल र केबुलकार कम्पनीहरूले उल्लेख्य नाफा गरेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेकामध्ये आधा दर्जन पर्यटकीय होटल पब्लिक लिमिटेड हुन् । उनीहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन् ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बढ्दा उनीहरूले यहाँ गर्ने खर्च र बसाइ दर पनि बढिरहेको छ । पर्यटक जति धेरै आउँछन् र यहाँ बस्छन्, नेपालले त्यति नै धेरै आम्दानी गर्छ ।

विदेशी पर्यटक संख्या बढ्दै जाँदा होटलहरू तथा केबुलकार कम्पनीले पनि नाफा बढाएका छन् ।

नेप्सेमा सूचीकृत पर्यटन तथा होटल समूहका ६ कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

तीमध्ये चार कम्पनी ठूला होटल हुन् भने दुइटा चाहिँ केबुलकार कम्पनी हुन् । होटलतर्फका तीनवटा पाँचतारे होटलले तेस्रो त्रैमासिकमा राम्रो नाफा कमाएका छन् भने एउटा होटल नोक्सानीमा छ ।

केबुलकारतर्फ दुइटै कम्पनीले तेस्रो त्रैमासिकमा नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यसले नेपाल घुम्न आउने विदेशी पर्यटक संख्याका साथै आन्तरिक पर्यटक संख्या पनि उल्लेख्य बढ्दै गएको प्रमाणित गर्छ ।

हाल नेप्सेमा पाँचतारे होटलहरू सोल्टी, तरागाउँ रिजेन्सी (ह्यात) र ओरेन्टल होटल्स (र्‍याडिसन) तथा सिटी होटल (ह्यात प्लेस) एवम् केबुलकार कम्पनीहरू चन्द्रागिरि हिल्स र दोलखाको कालिञ्चोक दर्शन लिमिटेड छन् ।

यीमध्ये सिटी होटलमात्र नोक्सानीमा छ भने बाँकी अरु सबै कम्पनीले चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

होटलहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटक संख्या बढेका कारण आम्दानीमा सकारात्मक योगदान पुग्न गई नाफा बढेको उल्लेख छ ।

अब, सेयर बजारमा सूचीकृत पर्यटन तथा होटल समूहका कम्पनीले चालू आर्थिक वर्ष तेस्रो त्रैमासिकमा के कति नाफा कमाए र कुन के कति नोक्सानीमा गयो भन्ने चर्चा गरौं ।

होटल र्‍याडिसनकाे नाफा साढे ६ कराेड

काठमाडौं लाजिम्पाटस्थित ओरेन्टल होटल्स लिमिटेड (पाँचतारे होल र्‍याडिसन) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा ६ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ ।

होटलले सार्वजनिक गरेको चालु आव तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाणमा खुद नाफा कमाएको जनाएको हो ।

अघिल्लो आव तेस्रो त्रैमाससम्मको तुलनामा यो नाफा १० प्रतिशत बढी हो । अघिल्लो आवतेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

होटलले चैतसम्म ८१ करोड ९६ लाख रुपैयाँबराबर आम्दानी गरेको छ । गत आव यसै अवधिमा होटलले ६९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

होटलले नौ महिनामा १२ करोड ९२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष होटलले ११ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल होटलको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ छ ।

हाल होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा छ । गत आर्थिक वर्षको सोही अवधिमा होटलको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३२ पैसा मात्रै थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ३ सय ३८ रुपैयाँ ४२ पैसा छ ।

कालिञ्चोक दर्शनकाे नाफा साढे २ कराेड 

दोलखास्थित कालिञ्चोक दर्शन लिमिटेडले चाुल आव तेस्रो त्रैमासमा ६.९१ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो ।

वित्तीय विवरणअनुसार कालिञ्चोक दर्शनले पछिल्लो नौ महिनामा २ कराेड ४७ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी बढेसँगै यसको नाफा बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पछिल्लो समय वाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार भएसँगै केबुलकारको तृतीय त्रैमासिक अवधिमा अकुपेन्सी दर अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ ।

एक वर्ष अवधिमा सञ्चालन आम्दानी ३०.४१ प्रतिशतले बढेर ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै सञ्चालन नाफा ५८.२७ प्रतिशतले बढेर ३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ करोड ४३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर ४ रुपैयाँ २० पैसा कायम छ । गत वर्ष प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा थियो । कालिञ्चोकको प्रतिसेयर नेटवर्थ १ सय १ रुपैयाँ २ पैसा छ ।

चन्द्रागिरि हिल्सकाे नाफा ३८.८१ प्रतिशत बढ्याे 

काठमाडौं चन्द्रागिरिमा सञ्चालित चन्द्रागिरि हिल्स लिमिटेडले चालु आव तेस्रो त्रैमाससम्म १० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

चन्द्रागिरि हिल्सले सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाणमा नाफा आर्जन गरेको जनाएको हो ।

यो गत वर्षको यसै अवधिको तुलनामा ३८.८१ प्रतिशतले बढी हो । अघिल्लो आव तेस्रो त्रैमाससम्म कम्पनीले ७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटक संख्यामा वृद्धि भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा सञ्चालन आम्दानी बढ्दा नाफामा वृद्धि भएको उल्लेख छ ।

यसकारण समीक्षा अवधिमा चन्द्रागिरि होटलको आम्दानी पनि ६२ करोड ९० लाख रुपैयाँबाट बढेर ६९ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी पनि ४४ लाख रुपैयाँबाट बढेर ८६ लाख पुगेको छ ।

चन्द्रागिरि हिल्सले केबुलकार, होटल तथा रेस्टुरेन्टसहित अन्य पर्यटन व्यवसाय सञ्चालन गर्छ । हाल कम्पनीको वित्तीय खर्च पनि २० करोड ६६ लाखबाट घटेर १८ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । गत वर्ष यस अवधिसम्म चन्द्रागिरि हिल्सको ५ रुपैयाँ ७ पैसा रहेको प्रतिसेयर आम्दानी यस वर्ष ७ रुपैयाँ ३ पैसा कायम भएको छ । यस वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ३ पैसा कायम छ ।

सोल्टीकाे ४१ करोड २३ लाख नाफा

काठमाडौं ताहाचलस्थित पाँचतारे होटल सोल्टीले चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

होटलले सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाणमा नाफा आर्जन गरेको जनाएको हो ।

यो रकम अघिल्लो आव सोही अवधिको तुलनामा ११.०८ प्रतिशतले बढी हो । अघिल्लो आव तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आव सोही अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । अघिल्लो आव तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।

चालु आव तेस्रो त्रैमासमा होटलले १ अर्ब ३५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । गत आव यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब ३ करोड थियो । कम्पनीको चुक्ता पुँजी ९२ करोड ८९ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष ४ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ५८ पैसा कायम छ ।

ह्यातको नाफा ३९ प्रतिशत बढ्याे

काठमाडौं बौद्धस्थित पाँचतारे होटल ह्यातको नाफा ३९ प्रतिशत बढेको छ । ह्यात सञ्चालक कम्पनीले सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत नाफा बढेको जनाएको हो ।

वित्तीय विवरणअनुसार ह्यातले पछिल्लो नौ महिनामा ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत आव तेस्रो त्रैमाससम्ममा भने ह्यातले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पर्यटक संख्यामा वृद्धि भएसँगै होटलको तृतीय त्रैमासिक अवधिमा अकुपेन्सी (कोठा भराइ दर) अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको उल्लेख गरिएको छ । यस कारण समीक्षा अवधिमा होटलको आम्दानी १२ प्रतिशत बढेको छ ।

चालु आव तेस्रो त्रैमासमा होटलले १ अर्ब १३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत आव यसै अवधिमा होटलको यस्तो आम्दानी १ अर्ब १ करोड रुपैयाँ थियो ।

होटलको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष यस अवधिसम्म १२ रुपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी यस वर्ष १६ रुपैयाँ ९९ पैसा कायम छ ।

गत वर्ष कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २७ रूपैयाँ २४ पैसा रहेकोमा यस वर्ष १ सय ३७ रुपैयाँ १९ पैसा कायम छ ।

सिटी होटल (ह्यात प्लेस)

काठमाडौं ताहाचलस्थित होटल ह्यात प्लेसले चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ ।

होटलले सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत उक्त परिमाणमा नोक्सानी बेहोरेको जनाएको हो ।

अघिल्लो आव तेस्रो त्रैमाससम्मको तुलनामा होटलको नोक्सानी घटेको हो । अघिल्लो आव तेस्रो त्रैमाससम्म कम्पनीले २१ करोड २१ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो ।

चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो । एक वर्ष अवधिमा सञ्चालन आम्दानी भने १३.५२ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष होटलको सञ्चालन आम्दानी ३२ करोड ७२ लाख रुपैयाँ थियो ।

हाल होटलको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा छ ।

Share News