विकासन्युज

एमजी ४ इभीले पायो २०२४ को उत्कृष्ट कारको उपाधि

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै एमजी कारले विश्व बजारमा पनि एक पछि अर्काे सफलता हात पार्दै आएको छ । यही क्रममा एमजी ४ इभीले हालै २०२४ को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको छ । अवार्ड समारोहको निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, ‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं । एमजी ४को यो न्यूजील्याण्डमा मात्रै नवौं पुरस्कार जित हो ।’ गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरुपमा विद्युतिय कार एमजी ४ इभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ । २०२२मा बजारमा आएको एमजी ४ इभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘ बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरु हासिल गर्दै आएको छ । सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्राण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको छ । ३०० भन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजिका सवारी साधनहरु यूरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजि सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलायतका प्रख्यात डिजाईनर तथा इन्जिनियरहरुले गर्छन् । एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले हाल नेपालमा एमजि४ ईभि, एमजि जेडएस ईभि, एमजि कोमेट ईभि गरी ३ वटा मोडेलका विद्युतिय र एमजि हेक्टर, एमजि एचएस, र एमजि एसटर गरी ३ वटा मोडेलका ईन्धन गाडीहरु बिक्रि वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।

सामाजिक-लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ : अब्दुल खान

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले मुलुकमा सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक रहेको बताएका छन् । पार्टीले यस वर्ष गणतन्त्र दिवसका अवसरमा आगामी जेठ १५ गते काठमाडौंमा बृहत्सभा गर्न लागेको उनले जानकारी दिए । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिसमेत रहेका  खाँनले पार्टी सुदृढीकरण गर्दै देशलाई नयाँ निकास दिने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रममार्फत नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको आगामी मार्गको शङ्खघोष गरिने बताए । उनले भने, ‘नौलो गणतन्त्र भनेको संविधान र व्यवस्थाभित्र अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई समयमै सुधार गर्दै लैजानु हो ।’ वरिष्ठ उपाध्यक्ष खाँनले संविधानमा आर्थिक नीतिमा समाजवाद लेखिएको उल्लेख गर्दै त्यो प्रावधानले सबै कलकारखानादेखि उद्योगधन्दा राज्यले नै सञ्चालन गर्ने, नियन्त्रण र स्वामित्व ग्रहण गर्ने भन्ने बुझाउने उल्लेख गरे। ‘समाजवाद धेरै व्यापक विषय हो । नेपालमा हालसम्म पुँजीवादको अवस्था आएको र पुँजीवादी क्रान्ति भएकै छैन । त्यो नभई समाजवाद कसरी सम्भव छ’, उनले भने । हाल अभ्यासमा रहेको समाजावादसम्बन्धी आर्थिक नीति परिवर्तन गरी सामाजिक–लोकतान्त्रिक अवधारणा ल्याउन आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष खाँनले बताए । अमेरिका र युरोपका केही मुलुकले आत्मसात् गरेको समाजवाद र पुँजीवाद मिश्रित अर्थव्यवस्था नेपालका लागि उपयुक्त हुनसक्ने उल्लेख गर्दै उनले देशको आर्थिक विकास र समृद्धि हासिल गर्न त्यो बाटोबाट जान सकिने तर्क गरे। रासससँगको कुराकानीमा वरिष्ठ उपाध्यक्ष खाँनले सामाजिक लोकतान्त्रिक अर्थ नीति आत्मसात् गरिएको खण्डमा वैदेशिक लगानी बढ्ने दाबी गरे । मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको राजनीतिक अस्थिरताको अन्त्य गर्न प्रधानमन्त्रीसहित देशका सबै महत्वपूर्ण पदमा रहने व्यक्तिको चयन प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने आवश्यकतामा उनले जोड दिए । आर्थिक समृद्धि हासिल नहुँदा संसद् सञ्चालनदेखि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अवरोध झेल्न परिरहेको जिकिर गर्दै वरिष्ठ उपाध्यक्ष खाँनले आफ्नो पार्टीले सार्वजनिक गर्ने नीति र सिद्धान्तलाई स्थानीय तहसम्म बहस र छलफलका लागि लैजाने जानकारी दिए ।

नेपाल टेलिकमको खुद नाफा ५ अर्ब ५९ करोड

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको जनाएको हो । टेलिकमको यो नाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा ३.३५ प्रतिशतले बढी हो । गत वर्ष टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी भने घटेको छ । टेलिकमले गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको थियो । हाल कम्पनीको सञ्चालन आम्दानी घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यस्तै, वित्तीय आम्दानी पनि ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ । टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी भने बढेको छ । उक्त आम्दानी १६ करोड ११ लाख रुपैयाँबाट बढेर ५३ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ सय १२ रुपैयाँ ९९ पैसा छ ।

१५ करोड ३७ लाख नोक्सानीमा सिटी होटल, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । सिटी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । होटलले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत १५ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा होटलको नोक्सानी घटेको हो । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २१ करोड २१ लाख रुपैयाँ नोक्सनी व्यहोरेको थियो । चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो । एक वर्षको अवधिमा सञ्चालन आम्दानी भने १३.५२ प्रतिशतले बढेर ३७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्ष होटलको सञ्चान आम्दानी ३२ करोड ७२ लाख रुपैयाँ थियो । हाल होटलको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ३६ पैसा छ ।

चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर

चितवन । चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो । ‘विपन्नलाई सपनाको घर’ कार्यक्रमअन्तर्गत घर बनाउनै नसक्ने आर्थिक अवस्था कमजोर भएका परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । उनका अनुसार रत्ननगर, खैरहनी र राप्तीमा घर निर्माण गरिएको हो । रत्ननगर–७ राउत टोलमा चार घर निर्माण गरी आइतबार चार परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए । वडा कार्यालय र सपना भिलेजको संयुक्त लगानीमा घर निर्माण गरिएको हो । झुप्रोमा बस्दै आएका सुदमिया राउत, केसिया महतो, इतोरिया महतो र सुष्मा राउतलाई घर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष सजना महतो र सपना भिलेजका अध्यक्ष गिरीले चार जनालाई घरको चाबी हस्तान्तरण गरेका हुन् । सो अवसरमा वडाध्यक्ष महतोले आर्थिक अभावका कारण घर बनाउन सक्ने अवस्थामा नरहेका समुदायलाई सपना भिलेजसँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरिएको बताए । प्रतिघर निर्माण गर्न सात लाख ५० हजार खर्च भएको सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । भिलेजले प्रतिघर सात लाख र वडा कार्यालयले प्रतिघर ५० हजार रुपैयाँ लगानी गरेका छन् । सपना भिलेजका अध्यक्ष गिरीका अनुसार २०६९ सालदेखि विपन्नका लागि आवास निर्माण थालिएको हो । सीमान्तकृत मुसहर समुदायका लागि २१ घर पुनःनिर्माणसहित जिल्लाका विभिन्न पालिकाका अतिविपन्न परिवारको पहिचान गरी सुरक्षित आवास निर्माण गरिएको उनको भनाइ छ । सपना भिलेजले अहिले इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायका लागि काम गरिरहेको छ । चेपाङ समुदायका लागि जीविकोपार्जनको आधार तयार गर्न, विद्यालय खाजा कार्यक्रम, विद्यालय भवन निर्माण, चेपाङ समुदायकै सहभागितामा कफी खेती, तरकारी खेतीलगायत काम भइरहेको छ । इच्छाकामना–१ स्थित राष्ट्रिय आधारभूत विद्यालय भाराङ्मा आवाससहितको पक्की भवन निर्माण भइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।

कोरियामा बन्ने सबै प्रकारका हुण्डाई गाडी नेपालमा बनाउँछौं : अन्जन श्रेष्ठ

लक्ष्मी ग्रुपअन्तर्गत लक्ष्मी मोटर्स कर्पोरेशनले नवलपरासीकाे परासीस्थित रामग्राममा हुण्डाई ब्राण्डमा कार एसेम्ब्ली प्लान्ट सञ्चालनमा ल्याएको छ । १० बिगाहा जमिनमा स्थापना भएको यो प्लान्टबाट तत्काल भेन्यू उत्पादन सुरु भएको छ । केही महिनामा आईटेन र क्रेटा उत्पादन गरिने र एक वर्षभित्र हुण्डाईका इलेक्ट्रिक कार पनि उत्पादन हुने जनाइएको छ । प्रारम्भिक लगानी करिब साढे २ अर्ब रुपैयाँ छ भने प्लान्टको एसेम्ब्ली क्षमता वार्षिक पाँच हजार यूनिट रहेको छ । यो उद्योगमा हुण्डाई मोटर्सको पनि लगानी हुने र त्यसमा ३० अर्ब रुपैयाँ लगानी हुन सक्ने लक्ष्मी मोटर्स कर्पोरेशनका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले बताएका छन् । प्रस्तुत छ आर्थिक मन्दीका बीच यति ठूलो परियोजना अगाडि बढाउँदै गरेका नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसमेत रहेका लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठसँग विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलले गरेको विकास वहस: नेपालमा कार उत्पादन जस्तो अत्यन्तै साहसिक र प्रशंसनीय कार्य थाल्नुभयो । कसरी सम्भव भयो ? हामीले सन् २००९ बाट हुण्डाईको आधिकारिक बिक्रेताका रूपमा नेपालमा काम गर्दै आएका छौं । त्यतिबेलै कुनै दिन एसेम्ब्ली प्लान्ट सञ्चालन गर्ने मनमा थियो । त्यो उत्साह र कुतकुती सधैं रहिरह्यो । १५ वर्षपछि आज हामी सफल भएका छौं । हण्डाई कम्पनीको कार एसेम्ब्ली हुनु भनेको नेपालमा उद्यमीहरूको उत्कृष्ट नमुना हो । किनभने छोटो अवधिमा प्लान्ट तयार पार्नु आफैंमा चुनौतीको विषय हो । लक्ष्मी समूह ५० वर्ष पुग्दा एसेम्ब्ली प्लान्टको स्थापना भएको छ । ३ सय रुपैयाँ पुँजीबाट सुरु भएको लक्ष्मी समूहकाे व्यवसाय ५० वर्षमा एसेम्ब्ली प्लान्ट बनाउन सफल भएको छ । अथवा अटोमोबाइल बनाउने उद्योगमा पुगेको छ । साथै, नेपाल-कोरिया दौत्य सम्बन्ध ५० वर्ष पुगेकै वर्ष र लक्ष्मी समूह पनि ५० वर्ष पुगेको सुखद क्षणमा हुण्डाई गाडी स्वेदशमै उत्पादन सुरु भएको छ । नेपालमा सीयो पनि उत्पादन हुँदैन भनिन्थ्यो । तर, अहिले गाडी उत्पादन भइरहेका छन् । प्रविधि र अटोमोबाइल क्षेत्रमा नेपालले ठूलो फड्को मारेको छ । नेपाल सरकारले औद्योगिकीकरणको ४.० (औद्योगिकीरणका विभिन्न चरण मध्ये एउटा चरण) सुरुवात गरेको छ । अहिले विश्व औद्योगीकीकरणको चौथो चरणमा आइपुग्दा सरकारले घोषणा गरेबमोजिम हुण्डाई गाडी स्वदेशमै एसेम्ब्ली हुनु नेपालमा पनि ४.० सुरु भएको छ । अब अन्य उद्योग स्थापना गर्ने वातावरण सुरु भएकाले नेपालमा औद्योगीकरणको नयाँ आयाम थपिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग उद्घाटन तथा अवलोकन गर्नुभयो, चारैतिरबाट बधाई तथा शुभकामना पाइरहनुभएको छ । कस्तो अनुभूति भइरहेको छ ? राष्ट्र र समाजका लागि योगदान पुग्ने काम गरेको हुँदा मनमा छुट्टै किसिमको अनुभूति भइरहेको छ । मनमा उर्जा, उत्साह छाएको छ । ठूलो उपलब्धि प्राप्ति गरे सरह गर्व लागेको छ । लक्ष्मी समूह ५० वर्ष पुग्दा एसेम्ब्ली सञ्चालनमा सफल हुँदा गौरवको अनुभूति भइरहेको छ । सँगसँगै गाडी उत्पादन जस्तो ठूलो र निकै प्रतिस्पर्धात्मक उद्योगमा लगानी गर्दा मनमा डर पनि होला नि ? गाडी एसेम्ब्लीका विभिन्न चरणहरू हुन्छन् । जसमध्ये अहिले हुण्डाईको एसकेडी प्लान्ट बनेको छ । एसकेडीबाट सीकेडी चरणमा जान्छौं । त्यसपछि सीबीयू (कम्पिलिट व्यूल्ट युनिट) प्लान्ट स्थापना गर्नेछौं । त्यसका लागि हुण्डाई कम्पनी पनि लगानी गर्न तयार छ । सीबीयू प्लान्ट स्थापना गर्ने चरणमा पुग्दासम्म करिब ३० अर्ब रुपैयाँ लगानी आवश्यक हुन्छ । ठूलो लगानी गर्न प्रोत्साहन गर्ने काम राज्यले गर्नुपर्ने हुन्छ । हाम्रो राज्यले बनाएका कानुनहरू कार्यान्वयन गर्दा विभिन्न कोणबाट व्याख्या गर्ने, त्यसको स्पष्टता र निरन्तरता नहुने, प्रक्षेपणयुक्त नहुने समस्याका कारण अलिकति मनमा शंका लाग्छ । तर, यतिको लगानी भएको वा अझै योभन्दा बढी लगानी हुन सक्ने गरी अगाडि बढिरहेको उद्योगलाई राज्यले पक्कै पनि सहयोग गर्छ भन्ने अपेक्षा छ । त्यसका लागि हामीले राज्यसँग पनि अनुरोध गरिसकेका छौं । राज्यप्रति विश्वास लिएर अगाडि बढिरहेका छौं । नेपालका व्यवसायीहरू ट्रेडिङ र सेवा व्यवसायमा बढी केन्द्रित छन् । ट्रेडिङ र सेवा व्यवसायमा जस्तो छिटो र उच्च दरको नाफा उत्पादन मुलक उद्योगमा हुँदैन भनिन्छ । तपाईंहरू हुण्डाईको आधिकारिक बिक्रेताका रूपमा काम गरिरहनुभएको छ । उद्योग सञ्चालन गर्नुपर्छ भनेर किन सोच्नुभयो ? लक्ष्मी समूहको सुरुवात भनेको उत्पादनमुलक उद्योगबाट नै भएको हो, व्यापारमा हामीले पछि हात हालेका हौं । त्यसकारण उत्पादनमुलक उद्योगमा हाम्रो इच्छा बढी छ । हाम्रो धेरैभन्दा धेरै लगानी उत्पादनमुलक उद्योगमा नै छ । तर, अटोमोबाइल क्षेत्र ग्ल्यामर भएकाले यसले लक्ष्मी ग्रुपलाई बढी चिनायो । तै पनि हामी उत्पादनमुलक उद्योगमा काम गरिरहेका छौं । फूड प्रोसेसिङ, डेरी, प्लास्टिङ, प्याकेजिङ, स्टिल उद्योग अहिले पनि सञ्चालनमा छन् । त्यसमा अर्को नयाँ उद्योग कार एसेम्ब्ली प्लान्ट थपेका छौं । उद्योगको सुरुवात व्यापारबाटै हुने हो । किनभने, व्यवसाय ठूलो आकारमा हुन थाल्यो भने उद्योगमा रूपान्तरण हुने चाहना सबैको हुन्छ । तर, सरकारले औद्योगिकीकरणका लागि व्यापारको भन्दा फरक वातावरण बनाउनुपर्छ । अहिले व्यापार र उद्योगलाई हेर्ने नजर एउटै छ । यसलाई परिवर्तन गर्न जरुरी छ । र, फरक दृष्टिबाट हेर्नुपर्छ । सरकार, कर्मचारीतन्त्र, समाजले उद्योगलाई सकारात्मक कोणबाट हेर्नुपर्छ । उद्योग र व्यापारलाई दिने सहुलियत फरक हुनुपर्छ । उद्योग सञ्चालन गर्न लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ । किनभने, विगतमा उद्यमशीलता मर्ने गरी व्यवहार भएका प्रशस्त उदाहरण छन् । सरकारले उद्योगहरूका लागि बनाएको विशेष आर्थिक क्षेत्र घाम पानी खाएर बसिरहेको छ । तर, तपाईंले १० विगाहा जमिन किनेर प्लान्ट लगाउनुभएको छ । नेपालमा जग्गा महँगो भएकाले लगानी जुटाउन गाह्रो छ । जमिन टुक्राटुक्रा भएकाले फराकिलो क्षेत्रफलको जग्गा पाउन पनि कठिन छ । तपाईंहरूले निजी जग्गा किनेर प्लान्ट बनाउनुपर्ने अवस्था किन आयो ? भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) १८/२० वर्ष अगाडि स्थापना भएको हो । सेजको आकार सानो छ भने अहिले पनि पर्याप्त पूर्वाधार छैनन् । अहिले पनि त्यस क्षेत्रमा पर्खाल लगाइएको छैन । उद्योगका लागि सामान्य घेरबार हुनुपर्छ । २० वर्ष हुँदा पनि अहिलेसम्म जग्गा घेरबार भएको छैन । र, विद्युतको सप्लाइ गर्न भरपर्दो माध्यम पनि बनिसकेको छैन । उद्योगलाई प्रोत्साहन कसरी गर्ने भन्ने पनि थाहा छैन । सेजले राज्यलाई कर संकलन र रोजगारी दिने हो । तर, भाडा संकलन गरेर नाफा मात्रै गर्ने मानसिकतामा सेज चलिरहेको छ । साथै, सेजका धेरै प्रावधानहरू निजी क्षेत्रका लागि परिवर्तन गर्नुपर्ने छन् । म सेजको बोर्डमा हुँदा दिएका सुझाव अहिले पनि लागु हुन सकेका छैनन् । त्यसकारण उद्योगहरू सेजमा जान नचाहेका हुन् । त्यस्तै, हामीलाई जग्गा बढी चाहिने भएकाले आफैं व्यवस्था गरेका हौं । आगामी दिनमा उद्योगको विस्तार गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले अहिले नै बढी जग्गा लिएका हौं । केही उद्योगलाई सेजमा स्पेस नदिएका घटनाहरू पनि छन् । उद्योग सञ्चालन गर्दा ऋण लिनुपर्ने हुन्छ । तर, सेजको जग्गा सरकारी भएकाले उद्योग लगाउन बैंकबाट कर्जा पाउन पनि सहज छैन, किनकी जग्गा धितो राख्न मिल्दैन । औद्योगिक क्षेत्रमा कर्जा दिने व्यवस्थालाई सहजीकरण गर्नुपर्छ । एउटा मेसिन राख्न पनि लगानी गर्न गाह्रो छ । यस्तो अवस्थामा कसरी सेजभित्र उद्योग सञ्चालन गर्ने ? यसमा सेजले सहजीकरण वा ग्यारेन्टी बस्नुपर्छ । कर्जाका लागि ग्यारेन्टी बस्ने होइन कि कर्जा पाउने गरी व्यवस्थामा सहजीकरण गर्नुपर्छ । बङ्गलादेश, भारतको तुलनामा नेपालका सेजलाई धेरै सुधार गर्नुपर्ने छ । अहिले हाम्रो उत्पादन निर्यात गर्नको लागि होइन । तर, सेजमा सञ्चालन भएका उद्योगले ६० प्रतिशत निर्यात गर्नुपर्छ । पहिला ७५ प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था थियो । उद्योग सञ्चालन गर्ने बित्तिकै सुरुमै नै निर्यात हुँदैन । यसलाई सजिलो बनाउनुपर्छ । विगत २ वर्षमा बैंकको ब्याजदर उच्च बिन्दुमा थियो । बैंकबाट कर्जा लिन कठिन थियो । आर्थिक मन्दीका कारण कारोबार ठप्प थियो । उद्योगी व्यवसायीहरूले कर्जा लिएनन्, नयाँ व्यवसाय सुरु गरेनन् भन्ने सुनिन्थ्यो । यस्तो कठिन समयमा कसरी स्टिल उद्योग स्तरवृद्धि र कार एसेम्ब्ली युनिट स्थापाना गर्नुभयो ? स्टिल उद्योगमा त बाध्यात्मक रूपमा लगानी गर्नुपरेको हो । कसरी लगानी गरेको र कसरी जोहो गरेको हो भन्ने विषय हामीलाई मात्रै थाहा छ । एसेम्ब्लीमा बैंकहरूले सहयोग गरेका छन् । स्टिल उद्योगमा बैंकहरूले सहयोग गरेका हुन् । तर, कर्जाको ब्याज उच्च छ । यो उद्योग दगो बनाउन असहज स्थिति छ । अहिले बैंकको ब्याज एकल अंकमा झरेको छ । नयाँ कर्जा मात्र सस्तो छ । आधार दर पनि ८ प्रतिशतमा झरिसकेको छ । तर, पुरानो कर्जामा ब्याज अझै महँगो परेको छ । यसमा राष्ट्र बैंकले नीति ल्याएर सहज व्यवस्था गर्नुपर्छ । किनभने पुराना व्यवसायहरू धस्सिएका छन् । उनीहरू तंग्रिन सकिरहेका छैनन् । विगतमा बजारको डिमाण्ड र सप्लाइको कारण ब्याजदर उच्च नभई राष्ट्र बैंकको नीतिका कारण बढेको हो भन्ने त सबैलाई छर्लङ्ग छ । बैंकले ब्याज घटाउनेभन्दा पनि उद्योगलाई दिगो हुने गरी कायम गर्नुपर्छ । किनभने, पुरानो कर्जाहरू सस्टेन हुन सक्ने स्थितिमा छैनन् । त्यसकारण पुराना कर्जाहरू बारम्बार रिस्ट्रक्चरिङ गर्नुपरेको छ । पुस र चैतमा रिस्ट्रक्चरिङ भयो । र, अब असारमा पनि गर्नुपर्ने अवस्था छ । त्यसकारण एक्जिस्टिङ कर्जामा पनि ब्याजदर घट्नुपर्छ । नेपालको पहिलो कार उत्पादन प्लान्ट सञ्चालन गर्दै गर्दा उद्घाटनको दिन प्रधानमन्त्रीले कुनै प्रोत्साहन दिने, सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ? हामीले ४ बुँदामा माग राखेका छौं । प्रधानमन्त्रीले यस विषयमा छलफल गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । के छन् ती बुँदामा ? उद्योगलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने नै हो । उद्योगमैत्री वातावरण हुनुपर्यो । सरकारको नीति स्थिर हुनुपर्यो । व्यापार घाटा कसरी कम गर्न सकिन्छ भनेर सरकारले पनि सोच्नुपर्यो । नेपालमा एसेम्ब्ली भइसकेपछि कारको मूल्य घट्छ भन्ने धेरैको अपेक्षा छ । मूल्य कति घट्छ ? लागतको विषयमा हिसाबकिताब भइरहेको छ । एक/दुई दिनमा मूल्य सार्वजनिक हुन्छ । मूल्य सार्वजनिकसँगै हामी सकारात्मक सन्देश दिनेछौं । अबका योजना के-के छन् ? अब आइटेन क्रेटा एसेम्ब्ली गर्ने तयारी छ । अर्को वर्षदेखि हुण्डाईको इलेक्ट्रिक कार पनि एसेम्ब्ली गर्छौं । त्यो हुण्डाई डेडिकेडेट प्लान्ट हो । हुण्डाइका कोरिया, भारतमा बन्ने गाडीहरू सबै निर्माण हुन्छन् । अहिलेसम्म हामीले मात्रै लगानी गरेका छौं । हुण्डाई मोटर्स पनि लगानी गर्न इच्छुक छ । प्लान्टलाई अर्को चरणमा लैजाने विषयमा छलफल भइरहेको छ । अहिले एसकेडी प्लान्ट हो । एसकेडीबाट सीकेडी प्लान्ट गर्ने र सीकेडी प्लान्टबाट सिबियू (कम्प्लिट व्यूल्ट युनिट) प्लान्ट बनाउने लक्ष्य छ । सीबीयू प्लान्ट बनाउन करिब ३० अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ । अहिलेसम्म साढे २ अर्बदेखि ३ अर्ब रुपैयाँ मात्रै लगानी भएको छ ।

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को यही वैशाख २७ को निर्णयबाट बढुवा भएका दुई एआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाल तथा दुई प्राविधिक डिआइजी डा. देउती गुरुङ र इन्जिनियर नविन्द अर्याललाई आइतबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदोन्नति भएका अधिकृतले पदोन्नतिसँगै जिम्मेवारी बोध गरी सङ्गठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामूहिक प्रयाससहित सङ्गठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्वास र थप कर्तव्य बोधका साथ पूरा गर्ने बताए । पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आ–आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानमा साथै तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।