सोमबार घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ३८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन आइतबार एक लाख ३७ हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार चार सय ५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको छ ।
उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । ‘आज बिहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु’, उनले भने । यादवले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवादसमेत दिएका छन् ।
बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए । ‘पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो,’ प्रधानमन्त्री दाहालले भने, ‘यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीसम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।’ सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशव्यापीरूपमा सडक सञ्जालको विस्तार भएसँगै आगामी दिनमा गुणस्तरता एवं दिगोपनलाई विशेष प्राथमिकता दिने बताए । यातायात सेवालाई सहज तुल्याउने गरी काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका निम्ति पूर्वाधार, सवारीसाधन र ट्राफिक प्रणालीमा सुधारलगायतका क्षेत्रमा ध्यान दिनुपर्ने बताए । प्रधानमन्त्री दाहालले यातायात पूर्वाधारले बहुर्राष्ट्रिय कम्पनीबाट उत्पादित वस्तुहरू दूरदराजमा पुर्याउने तर दूरदराजको उत्पादन प्रणाली कमजोर भई ग्रामीण अर्थतन्त्र शिथिल हुने चुनौतीलाई समेत सम्बोधन गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे । ‘देशभित्रै सम्भव छ, गरे सकिन्छ,’ उनले भने । प्रधानमन्त्री दाहालले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताए । ‘विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ,’ उनले भने, ‘नेपालको पछिल्लो विकासलाई ठीक ढंगले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरुरी छ ।’ पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट एक घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताए । ‘राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ–२५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ,’ प्रधानमन्त्री दाहालले भने, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारितालगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।’ सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षमा मात्र १ सय ४९ भन्दा बढी पुल निर्माण गरिसकेको बताए । ‘नागढुंगा सडकको सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ, त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरै मात्र ‘ब्रेक थ्रु’ गरिएको छ,’ उनले भने, ‘यसले देश सुरुङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पुर्याएको छ ।’ अहिले सडक विभागअन्तर्गत काठमाडौंको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्री दाहालको भनाइ छ । पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे । ‘सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,’ उनले भने, ‘यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवद्र्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।’
मुक्तिनाथ विकास बैंकले वितरण गर्यो विद्याथीलाई स्टेशनरी सामान
काठमाडौं । मुक्तिनाथ विकास बैंकले विद्याथीलाई स्टेशनरी सामान वितरण गरेको छ । बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले धादिङ स्थित बद्री विशाल मा. वि. र स्वर्णिम एकाडेमीमा १८२ विधार्थीहरुलाई चाहिने स्टेशनरी सामानहरु (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि ) हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीको उपस्थिति रहेको थियो । यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुमा शिक्षा प्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
गोदार । जनकपुरमा सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये १४ लाख ५३ हजार रुपैयाँ बरामद गरेको उनले बताए । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका-१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला-१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो । सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट ८० लाख रुपैयाँ रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जेठमा पनि घट्यो बैंकहरूको ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेपतर्फमा ब्याजरद घटाएका छन् । जेठ महिनाका लागि विभिन्न सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरूले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका हुन् । जेठमा १९ वटा बैंकहरूको ब्याजदर ०.०७ प्रतिशत घटेर व्यत्तिगततर्फ ७.०७ प्रतिशत र संस्थागततर्फ ५.८९ प्रतिशतमा झरेको छ । बैशाखको तुलनामा जेठमा ८ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने दुई बैंकले बढाएका छन् । एनएमबि बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले जेठमा ब्याजदर बढाएका हुन् । तर, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले जेठमा ब्याजदर बढाएका छन् । साथै, जेठमा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेका छन् ।
बुद्धिजीवी परिषद् भेलाको निष्कर्ष : विकास र समृद्धिलाई प्राथमिकता
काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को दुई दिने राष्ट्रिय परिषद् भेलाले वर्तमान सत्ता समीकरणले जनतामा आशा र विश्वास जगाउने गरी राजनीतिक स्थिरता, सुशासन, विकास तथा समृद्धिलाई प्राथामिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । भेलाबाट पारित १६बुँदे समसामयिक प्रस्तावमा सरकारलाई राजनीतिक शुद्धीकरण, पारदर्शिता, जवाफदेहितासहितको समाजवादको आधार निर्माण गर्ने दिशामा प्रभावकारी रूपमा अगाडि बढ्न आग्रह गरेको हो । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट यही वैशाख २९ गते उद्घाटन र वैशाख ३० गते एमालेका वरिठ उपाध्यक्ष ईश्वर पोखरेलबाट समापन भएको उक्त भेलाले लघुवित्त र मिटरब्याजीको समस्यासँगै पछिल्लो समयमा सहकारी समस्या विकराल बन्दै गएकाले दलीय स्वार्थबाट माथि उठेर व्यक्तिकेन्द्रित नभई समग्र समस्याको समाधान हुने गरी छानबिन गर्न माग गरेको छ । परिषद्का उपमहासचिव सुशील विकेका अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक पर्ने महत्वपूर्ण विधेयक छिटो पारित गर्न, गणतन्त्रात्मक व्यवस्था विरोधी गतिविधिप्रति सचेत हुन र बैंकिङ तथा वित्तीय क्षेत्रको सङ्कट समाधान गर्न ध्यान दिन पनि आग्रह गरेको छ । रासस
नेपाल मेडिकल कलेजद्वारा नर्सहरू सम्मानित
काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरूलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई सम्मान गरेको हो । नर्सहरुलाई सम्मान गर्दै कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मानवीय सेवामा समर्पित नर्सहरु सम्मानको हकदार भएको बताए । कुनैपनि बिरामी पूर्णरुपमा निको हुन नर्सहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले कलेज परिवार नर्सिङ पेशामा समर्पितहरुको हक अधिकार र सम्मानका लागि सदैव सकारात्मक रहेको बताए । ‘तपाईहरुको कारण नै अस्पताल चल्छ । तपाईहरुको सेवाबाट नै बिरामी पूर्ण निको हुन्छन् । मानवीय सेवामा समर्पित तपाईहरु सम्मानको हकदार हुनुहुन्छ ।’ उनले भने । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्रीले नर्सिङ सेवालाई मर्यादित, सम्मानीत बनाउँदै लैजानु पर्ने औंल्याए । कलेज प्रशासन नर्सिङ सेवालाई प्रभावकारी बनाउन र नर्सिङ क्षेत्रका जनशक्तिहरुको व्यवस्थापनमा सदैव सकारात्मक रहेको बताए। मुलुकमा दिनप्रतिदिन दक्ष स्वास्थ्यकर्मी सँगै नर्सहरुको खाँचो बढ्दै गइरहेको भन्दै उनले कलेज दक्ष जनशक्ति उत्पादनमा सक्रिय रहेको जिकीर गरे । कार्यक्रममा भाइस–प्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा.डा. मोदनाथ मरहट्ठा, डाइरेक्टर डा. साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का, नर्सिङ स्टाफ लगायतको सहभागीता रहेको थियो । सो अवसरमा कलेजले १० वर्षदेखि नर्सिङ पेशामा सक्रिय स्टाफ नर्सहरूलाई सम्मान गरेको छ । कलेजले १४ जना इन्चार्ज सहित मेट्रोन लगायतलाई समेत सम्मान गरेको छ । बिरामीको रातदिन सेवा गर्न समर्पित नर्सहरुलाई उत्प्रेरणा दिने अभिप्रायले सम्मान गरिएको हो । कार्यक्रममा कलेजका नर्सहरूले सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । साथै, नर्सिङ दिवसकै अवसरमा नर्सहरुको तर्फबाट अस्पतालमा उपचारत करिब १३० जना बिरामीहरूलाई फलफुल समेत वितरण गरिएको थियो । हरेक वर्ष मे १२ का दिन अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइने गरिन्छ । इन्टरनेशनल काउन्सिल अफ नर्सेसले सन् १९६५ देखि नर्सिङ पेशामा समर्पित नर्सहरूको सम्मानमा नर्सिङ दिवस मनाउन थालेको हो । फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा हरेक वर्ष उनको जन्मदिनको अवसरमा नर्सिङ डे मनाइन थालिएको हो ।