निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवले हाले सर्वोच्चमा रिट
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन आयोगले दलको न्यूनतम सर्त र प्रक्रिया पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरेको भन्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । यादव विदेश भ्रमणमा रहेका बेला अशोक राईको नेतृत्वमा सात जना सांसदले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन निवेदन दिएका थिए । उक्त निवेदन आयोगले दर्ता गरेको थियो । आयोगले राई नेतृत्वको समूहलाई जनता समाजवादी पार्टीको नामसहित दलीय मान्यता दिएको छ । यादवको रिटमा सर्वोच्चले आगामी जेठ २ गते पेसी तोकेको छ । यादवले कानुन नै नभएको समयमा दल विभाजन हुन नसक्ने दाबी सर्वोच्चमा गरेका छन् ।
माछापुच्छ्रे बैंकले ग्राहकलाई दियो दुर्घटना बीमाको १० लाख रकम
काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलब खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा अन्तर्गतको १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । बैंकको आर्दशनगर विरगञ्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादबको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार आइतबार उक्त बिमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो । बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरेका हुन् । बैंकल न्यू स्मार्ट तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाख सम्म अस्पताल भर्ना एंव औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिए । सुदुरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बागमति प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ । साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । साथै न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ ।
जलविद्युत् छ तर बत्ती बल्दैन
बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा बस्न बाध्य छन् । वर्षौंदेखि यहाँस्थित लघु जलविद्युत्को भरमा रहेका स्थानीय पछिल्लो समय खोलामा पानीको मात्रा घटेपछि अन्धकारमा बस्न बाध्य हुन् । पानीको बहान कम हुँदै गएपछि विद्युत् उत्पादन कम पनि घटेको बताइएको छ । यतिबेला स्थानीयलाई एउटा चिम (बल्ब) बल्न पनि मुस्किल परेको छ । साथै वडा कार्यालयबाट सेवा प्रवाहमासमेत समस्या हुँदै आएको छ । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसक्ने र बर्खामा बाढीले नहर बगाइदिँदा स्थानीय मारमा पर्दै आएका छन् । विद्युत् नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित बन्दै आएको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए । जलविद्युत् भए पनि रातमा अन्धकारमा बस्नुपर्ने बाध्यता यहाँका स्थानीयको रहेको उनको भनाइ छ । ‘वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यब सबै इलेक्ट्रोनिक सामान छन् तर विद्युत् आपूर्ति नहुँदा हस्तलिखित सेवा प्रवाह गर्नु पर्ने बाध्यता छ’, वडाध्यक्ष छन्त्यालले भने, ‘आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो र छरितो बनाए पनि विद्युत्को समस्याका कारण प्रविधिदेखि टाढा हुनु परेको छ ।’ जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नपुग्दा सयौँ नागरिकले समस्या खेप्नु परेको वडध्यक्ष छन्त्यालले बताए । ‘यस वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीन वटै बस्तीमा तीन वटा साना लघु जलविद्युत् छन् । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तिसमेत बाल्न गाह्रो हुने गरेको छ’, उनले भने । नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाटको खालीखोला लघु जलविद्युत् आयोजना र भित्री वनमा छ किलोवाटको बराहथानखोला लघु जल विद्युत् आयोजना सञ्चालनमा रहेका वडध्यक्ष छन्त्यालले जानकारी दिए । यी सबै आयोजनामा दिनभरि ट्याङ्कीमा पानी जम्मा गर्ने र बिहान बेलुका बत्ती मात्रै बाल्ने गरी व्यवस्थापन गरिएको उनले बताए । ‘अहिले एक घण्टा ड्याममा पानी जम्मा गर्ने, एक घण्टा विद्युत् बाल्ने गरिरहेका छौँ । यसरी काम गर्दा सेवाग्रही निकै मर्कामा परेका छन् । बर्खामा खोला उर्लेर आउँछ, नहर र ‘पावर हाउस’ बगाएन भने बत्ती बाल्ने हो नत्र अन्धकारमै बस्नुपर्छ । हिउँदमा खोला ह्वात्तै घट्ने हुँदा पानी पुग्दैन’, वडध्यक्ष छन्त्यालले भने, ‘सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने, घटना दर्ता गर्नुपर्ने हुन्छ । बिजुली नआएपछि हस्तलिखितमार्फत काम गरिरहेका छौँ । प्रविधिको विकास भए पनि केन्द्रीय प्रसारण लाइन नपुग्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।’ अति आवश्यक काम कम्प्युटरमार्फत गर्नु परे विद्युत् गृहमा फोन गरेर एकरदुई घण्टा लाइन मागेर छिटोछिटो काम गर्नुपर्ने स्थिति रहेको वडध्यक्ष छन्त्यालको भनाइ छ । यस वडामा २५० घरधुरीका करिब पन्ध्र सय जनसङ्ख्या रहेको उनले जानकारी दिए । यहाँ रहेको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने सोलार जडान गरिएको वडध्यक्ष छन्त्यालले बताए । विद्युत् आपूर्ति नहुँदा विद्यालयमा रहेका कम्प्युटर र प्रोजेक्टर यतिकै थन्क्याउनु परेको उनको भनाइ छ । हिउँदमा बिहान एक घण्टा र बेलुकी तीन घण्टा बत्ती मात्रै बाल्न सकिने छन्त्यालले बताए । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले नर्जाखानी गाउँमा अघिल्लो वर्ष नै म्याग्दीबाट केन्द्रीय प्रसारण लाइन ल्याउने योजना बनाइएको भन्दै बजेट अभावका कारण कार्यान्वयन नभएको बताए । यस वर्ष नर्जाखानीसहित तमानखोलाका सबै वडामा लाइन पुर्याउनका लागि ठेक्का आह्वान प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । आगामी असोजरकात्तिकसम्म नर्जाखानीमा केन्द्रीय लाइन पुर्याउने गरी काम भइरहेको प्रमुख पौडेलले जानकारी दिए । ‘अहिले ठेक्का आह्वान प्रक्रियाको काम भइरहेको छ । अघिल्लो वर्षको बजेटले धेरै काम भए पनि नर्जाखानीसम्म केन्द्री लाइन पुर्याउन सकिएन’, उनले भने, ‘सो ठाउँमा म्याग्दीबाट ल्याउने योजना बनाइएकामा विविध कारणले कार्यान्वयन भएन । यस वर्ष बागलुङबाट लैजाने गरी काम भइरहेको छ । नयाँ ठेक्का लागेसँगै असोजरकात्तिकसम्ममा विद्युत् पुग्छ ।’ रासस
पुरै गाउँको १५० बिगाहा जग्गा आफ्नो भएको प्रमाण मालपोतमा पेस गरेपछि…
काठमाडौं । काठमाडौंका एक स्थानीयले कैलालीको धनगढी उपमहागरपालिको वडा नं. १८ को विभिन्न ठाउँमा रहेको जग्गा आफ्नो भएको भन्दै दाबी गरेका छन् । काठमाडौं महानगरपालिका वडा नं. ३३ का प्रद्युम्न पाण्डेयको वारिसले कैलालीको धनगढी उपमहानगरपालिका ५ का पदमबहादुर चन्द र कल्याणराज पाण्डेयको वारेसले दिलिप सापकोटाले वडा नं. १८ को विभिन्न ठाउँमा रहेको जग्गा आफ्नो भन्दै प्रमाणसहित भूमिसुधार तथा मालपोत कार्यालय धनगढीमा निवेदन पेस गरेका छन् । स्व. गुरु पुरोहित पण्डित जनकराज पाण्डेयले वि.सं १९९३ मा लालमोहरबाट प्राप्त गरेको जग्गा वि.सं २०२१ मा नाप नक्सा हुँदा छुट्न गएकोले सो जग्गा आफ्नो नाममा दर्ता गरिदिन मालपोत कार्यालय धनगढीमा निवेदन दिएका हुन् । उनीहरूले धनगढी उपमहानगरपालिका वडा नं. १८ को सिट नं. ०२७/१०९६ को कित्ता नं. १, ८,९, ६२, ११९,१०, ११, १२, १६, १७, २१ र २२३ क्षेत्रफल क्रमशः २१२६६०.५७, १०२९७६.९६, ४९९१४२.१५, ३७०७७९.९८, २०९९५.०६, ३३८६.३०, ५८२२७.२७, २८६१४.४८, १२८६७.९४, ३३०३३३.५६ छुट जग्गा दर्ता अन्तर्गत निवेदकका नाउँमा दर्ता गरी पाउँ भनी मालपोत कार्यालयमा निवेदन पेस गरेका छन् । मालपोत कार्यालयले पनि प्लट रजिष्टर, फिल्डबुक, स्थानीय तहको सिफारिस समेत संलग्न राखी निवेदन दिएकोले निवेदकको माग अनुसारका कित्ता जग्गाहरू दर्ता गरी दिँदा साध संधियारको जग्गालाई असर पर्ने भए वा गर्नु नपर्ने भए आफूसँग भएको प्रमाणसहित ३५ दिन भित्र हकदाबी गर्न आव्हान गरेको छ । उनीहरूले आफ्नो हो भनेर निवेदन पेस गरेको जग्गामा अहिले डेढ सय बढी घर छन् । स्थानीयका अनुसार उनीहरूले डेढ बिगाहा बढी जग्गा आफन्नो भएको दाबी गरेका छन् । दाबी गरेको जग्गामा बसोबास गरिरहेका स्थानीयहरूसँग पनि लालपुर्जा भएको बुझिएको छ । ८८ वर्षपछि सो जग्गा आफ्नो हो भन्दै दाबी गरेपछि अहिले धनगढी उपमहानगरपालिकाको वडा नं. १८ सशंकित बनेको छ । स्थानीयहरूले आफूहरू लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा समेत हुँदा अर्कैले हक दाबी गर्दा त्रासको वातावरण सिर्जना भएको बताएका छन् । एक स्थानीयले आफूहरूसँग जग्गाको लालपुर्जा भएको कुनै हालतमा जग्गा नछोड्ने बताए । मालपोत कार्यलयबाट बैशाख पहिलो साता नै सूचना सार्वजनिक हुँदा पनि वडा कार्यालयले त्यसको जानकारी आफूहरूलाई नगराको बताउँदै वडा कार्यालयको जिम्मेवारी र भूमिकामाथि पनि प्रश्न गर्नु पर्ने अवस्था सिर्जना भएको ती स्थानीयले बताए । विभिन्न समयमा नापी भएर लालपुर्जा पाइसकेको अवस्थामा अहिले अर्कै व्यक्ति आएर दाबी गर्न नमिल्ने उनी बताउँछन् । धनगढी उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष भुवन रिजालले यो घटनाले स्थानीयमा असुरक्षित र भयको वातावरण सिर्जना गरेको बताएका छन् । उनले अब सबै पक्ष बसेर समस्याको समाधान गर्ने पनि बताएका छन् । भूमिसुधार तथा मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले यस विषयलाई लिएर स्थानीयले त्रसित हुनु पर्ने अवस्था नरहेको धारणा राखे । उनले आफूहरूले पनि अनौपचारिकरूपमा अधिकांश जग्गाको लालपुर्जा भएको जानकारी पाएको बताए । फूलबारी क्षेत्र । ‘हामीलाई जग्गा नाममा गरिपाउँ भनेर आएको जग्गाकै लालपुर्जा अर्को व्यक्तिको नाममा छ भन्ने जानकारी आएको छ, धेरैले दाबी पनि गरिरहेका छन्, लालपुर्जा नै छ भने फरक पर्दैन, त्यसको पनि प्रक्रिया हुन्छ, लालपुर्जा पाउनुभन्दा पहिले धेरै प्रक्रिया हुन्छ, जोसँग लालपुर्जा छ, उहाँहरूले डराउनु पर्दैन,’ उनले भने ।
मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै थिए । परिवारसँग उब्जनीका लागि पर्याप्त जग्गा छैन, न रोजगारीका लागि अर्को भरपर्दो विकल्प थियो । त्यसैले ज्यालामजदुरी गरेर उनको जीविको चल्यो तर पछिल्लो तीन वर्षयता भने उनको काम बदलिएको छ । त्यसले ‘दाम’ पनि राम्रै कमाई भइरहेको छ । त्यो काम हो—ब्याण्डबाजा बजाउने । उनीमात्रै होइन सो शिविरका नौजना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्याण्डबाजा बजाएर जीविको चलाइरहेका छन् । ‘स्थानीयस्तरमा विवाह हुने तर ब्याण्डबाजा बजाउने मान्छे नपाएर टाढाटाढाबाट महङ्ग रकम तिरेर बोलाउनुपर्ने अवस्था थियो’, रानाले भने, ‘त्यो समस्या टार्न हामीले सीप सिक्यौ, पछि स्थानीय युवा मिलेर ब्याण्डबाजा बजाउने काम गरिरहेका छौँँ । त्यसबाट राम्रै आम्दानी भइरहेको छ ।’ उनका अनुसार सो समूहले एउटा विवाहमा ब्याण्डबाजा बजाएबापत २० हजारदेखि ३० हजार रुपैयाँसम्म ज्याला लिने गरेका छन् । प्रत्येक वर्ष सिजनमा औषतमा २० भन्दा बढी विवाहलगायतका समारोहमा बाजा बजाउने माग आउने गरेको छ । सोही समूहका अर्का सदस्य रामप्रवेश रानाले अहिले ब्याण्डबजा बजाएर जोहो गरेको आम्दानीले परिवारको लालनपालन र बच्चाहरूको पठनपाठनमा निकै सघाउ पुगेको बताए । केही वर्षअघि हातमा सीप भए पनि पर्याप्त बाजा नहुँदा धेरैले आफ्नो समूहलाई काम नदिने गरेकामा स्थानीय तहले बाजा खरिदका लागि सहयोग गरेपछि अहिले भने भ्याइनभ्याइँ भएको उनको भनाइ छ । ‘पहिलो थोरै बाजा हुँदा धेरै माग आउँदैनथ्यो । वडा कार्यालयले बाजा उपलव्ध गराएपछि माग पनि बढेको छ र हाम्रो आम्दानी पनि’, रानाले भने । ब्याण्डबाजा बजाउने समूहका वीरा रानाले पनि ब्याण्डबाजा बजाउन थालेपछि आफ्नो परिवारका लागि हातमुखजोर्ने समस्या टर्दै गएको बताए । वडा कार्यालयबाट बाजा पाएपछि त काम गर्न सहज हुनुका साथै माग धेरै आउन थालेकाले आम्दानी पनि बढ्न थालेको उनले बताए । ‘रानाथारु समुदायमात्रै होइन पहाडीलगायतका गीत बाजामार्फत गाउन जान्ने र बाजागाजा पनि भएकाले अहिले धेरै ठाउँबाट माग आउन थालेको छ । त्यसैले विवाहको समयमा माग धौधौ हुने गरेको छ’, वीराले भने । छङ्गा राना बाजाको व्यवस्था गरिदिन वडा कार्यालयलाई माग गरेपछि सुनुवाइ भएकामा निकै खुसी छन् । ‘बजाउने सीप भए पनि बाजा थिएनन् । त्यसैले माग पनि आउँथेन’, रानाले भने, ‘वडा कार्यालयले ५० हजार रुपैयाँमा बाजा खरिद गरिदिएपछि हामी नौजनालाई नै सहज भएको छ ।’ वडा अध्यक्ष अर्जुन साउदले मुक्तकमैया युवालाई स्वरोजगार बनाउन आवश्यक रकमको व्यवस्था मिलाई बैण्डबाजा खरिद गरिएको बताए । ‘गत वर्ष सालघारी मुक्तकमैया बस्तीका युवाका लागि वडाकै रकम खर्चेर बैण्डबाजा खरिद गर्यौंँ’, उनले भने, ‘यस वर्षको बजेटबाट बाणिका मुक्तकमैया युवाका लागि बैण्डबाजा खरिद गरेका हौँ । यसपछि बंकका युवाको मागअनुसार पञ्चेबाजा उपलब्ध गराउने योजना छ ।’ हाल बाणी मुक्तकमैया शिविरका बैण्डबाजा बजाउने युवासँग ट्रम्पट, ओवाउ, ब्रास, सहनाई, तम्बुर, ड्रम, झुनझुनालगायतका बाजा छन् । विवाहको समयमा ब्याण्डबाजा बजाउने युवाहरूले अरु बेला कपाल काट्ने, राजमिस्त्री, किराना पसल, तरकारी खेतीलगायतका काम गरी आम्दानी गर्दै आएका रामनाथ रानाले बताए । ‘विवाहको समयमा बाजा बजाएर आउने रकमले घरखर्च चल्ने गरेको छ’, उनले भने, ‘अन्य व्यवसाय गरी आएको आम्दानी बैंक, समूह र सहकारीमा बचत गर्दै आएका छौँ ।’ बैण्डबाजा बजाउने कार्य भने ति युवाले घरमै अभ्यास गरेर सिकेका हुन् । ‘सुरूमा अरुले बजाएको देखेर हामीले सिकेको थियौँ, त्यसपछि भारतीय बजारबाट बाजा खरिद गरेर घरमै अभ्यास गर्यौँ । आखिर इच्छाशक्ति भयो भने त हुँदो रहेछ नि !’, रामप्रसादले भने । धेरै युवाहरूले काम पाइएन भनेर गुनासो गरिरहेका हुन्छन् । पहिलेदेखि नै बाजा बजाने काम गर्दै आएका कतिपय समुदायका युवाहरूसमेत यो पेशाबाट पलाएन भइरहेका छन् तर यहाँका मुक्तकमैया युवाहरू भने ब्याण्डबाजा बजाएर राम्रो आम्दानी गरिरहेका छन् । यस कार्यको यहाँ निकै प्रशंसा भइरहेको छ । रासस
कोशी प्रदेश सभा बैठकमा कांग्रेस अनुपस्थित
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सुरु भएको छ । तर, प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उपस्थित भएका छैनन् । कांग्रेस उपस्थित नभए पनि सभामुखले बैठक भने अगाडि बढाएका छन् । प्रदेशसभा चलिरहेकै बेला कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । अदालतमा मुद्दा चलिरहेको बेला विश्वासको मत लिएको भन्दै कांग्रेसले त्यसको विरोध गरिरहेको छ ।
वर्षाका कारण मुग्लिन-पोखरा सडक आवागमनमा सास्ती
दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् । मुग्लिन-पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पुलगायत ठाउँमा सवारीसाधन तथा पैदल यात्रामा समस्या बढेको स्थानीय बताउँछन् । ‘दुईपाङ्ग्रे सवारीसाधनलाई निकै सास्ती हुने गरेको छ । हिलोका कारण चिप्लिएर दुर्घटनासमेत हुने गरेको छ’, म्याग्दे–४ मनहरिका गौरवराज रानाले भने । पानी परेपछि म्याग्देका विभिन्न ठाउँमा आवागमनमा निकै सास्ती हुने गरेको भन्दै निर्माणमा ढिलासुस्ती हुँदा नागरिकलाई सास्ती भएको उनको भनाइ छ । रानाका अनुसार थर्पु बजारबाट अकला मन्दिरसम्मको भागमा काम नहुँदा समस्या भएको छ । अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भए पनि थर्पु बजारबाट अकलासम्मको भागमा कामको गति शून्य रहेको उनको भनाइ छ । उनले भने, ‘म्याग्देको रिठ्ठेपानीमा सडक नै जलमग्न छ । साना सवारीसाधन आवतजावतमा समस्या हुँदै आएको छ ।’ मुग्लिन–पोखरा सडक प्रयोग गर्दै पोखरातर्फ जानेले भने वैकल्पिक सडक प्रयोग गर्न सकन्छन् । यो सडकमा धुलो र हिलोले सास्ती खेप्न थालेपछि सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् । सदरमुकाम दमौलीको भोर्लेटारचोकबाट कलेस्ती, लमजुङको मध्य नेपालको दुइपिप्ले, न्यौपानेवेशी, कास्कीको रुपा गाउँपालिकाको पोल्याङ, देउराली, राजाको चौतारा, पोखरा महानगरपालिकाको शिशुवा हुँदै पोखरा निस्कन सकिन्छ । यो सडक पूरै कालोपत्र गरिएको छ । धुलो र हिलोको सास्ती रहेकाले आफू यही मार्ग हुँदै पोखरा आवतजावत गर्ने गरेको दमौलीका सुदीप मोहम्मदले बताए । उनले भने, ‘अहिलेको अवस्थामा पृथ्वीराजमार्ग हुँदै पोखरा जानसक्ने अवस्था छैन । वैकल्पिक सडक प्रयोग गरी पोखरा जाने गरेको छु । बाटो सफा छ, कालोपत्र छ । धुवाँधुलो केही छैन ।’ पृथ्वीराजमार्गको अवस्थाका कारण आजभोलि धेरैजसो साना तथा निजी सवारीसाधन यही बाटो हुँदै आवजावत गर्नेक्रम बढेको छ । पर्यटक बससमेत यही बाटो हुँदै पोखरा पुग्ने र पोखराबाट दमौली हुँदै काठमाडौ जाने गरेका छन् । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै पोखरा जाँदा ४९ किलोमिटर दूरी छ भने दमौलीबाट पोल्याङ हुँदै पोखरा पुग्न ५९ किलोमिटर पर्दछ । मुग्लिन-पोखरा सडकको पूर्वी खण्डमा केही प्रगति भए पनि पश्चिम खण्डमा प्रगति निराशाजनक छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म ५६ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २३ प्रतिशत प्रगति भएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्वी खण्डको म्याद अवधि वैशाख २ गतेदेखि सकिएको छ भने पश्चिम खण्डको म्याद चार महिना बाँकी छ । पूर्वी खण्डको म्याद सकिए पनि कामलाई निरन्तरता दिइएको पाण्डेले बताए । यो खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको थियो । पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । रासस