विकासन्युज

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै थिए । परिवारसँग उब्जनीका लागि पर्याप्त जग्गा छैन, न रोजगारीका लागि अर्को भरपर्दो विकल्प थियो । त्यसैले ज्यालामजदुरी गरेर उनको जीविको चल्यो तर पछिल्लो तीन वर्षयता भने उनको काम बदलिएको छ । त्यसले ‘दाम’ पनि राम्रै कमाई भइरहेको छ । त्यो काम हो—ब्याण्डबाजा बजाउने । उनीमात्रै होइन सो शिविरका नौजना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्याण्डबाजा बजाएर जीविको चलाइरहेका छन् । ‘स्थानीयस्तरमा विवाह हुने तर ब्याण्डबाजा बजाउने मान्छे नपाएर टाढाटाढाबाट महङ्ग रकम तिरेर बोलाउनुपर्ने अवस्था थियो’, रानाले भने, ‘त्यो समस्या टार्न हामीले सीप सिक्यौ, पछि स्थानीय युवा मिलेर ब्याण्डबाजा बजाउने काम गरिरहेका छौँँ । त्यसबाट राम्रै आम्दानी भइरहेको छ ।’ उनका अनुसार सो समूहले एउटा विवाहमा ब्याण्डबाजा बजाएबापत २० हजारदेखि ३० हजार रुपैयाँसम्म ज्याला लिने गरेका छन् । प्रत्येक वर्ष सिजनमा औषतमा २० भन्दा बढी विवाहलगायतका समारोहमा बाजा बजाउने माग आउने गरेको छ । सोही समूहका अर्का सदस्य रामप्रवेश रानाले अहिले ब्याण्डबजा बजाएर जोहो गरेको आम्दानीले परिवारको लालनपालन र बच्चाहरूको पठनपाठनमा निकै सघाउ पुगेको बताए । केही वर्षअघि हातमा सीप भए पनि पर्याप्त बाजा नहुँदा धेरैले आफ्नो समूहलाई काम नदिने गरेकामा स्थानीय तहले बाजा खरिदका लागि सहयोग गरेपछि अहिले भने भ्याइनभ्याइँ भएको उनको भनाइ छ । ‘पहिलो थोरै बाजा हुँदा धेरै माग आउँदैनथ्यो । वडा कार्यालयले बाजा उपलव्ध गराएपछि माग पनि बढेको छ र हाम्रो आम्दानी पनि’, रानाले भने । ब्याण्डबाजा बजाउने समूहका वीरा रानाले पनि ब्याण्डबाजा बजाउन थालेपछि आफ्नो परिवारका लागि हातमुखजोर्ने समस्या टर्दै गएको बताए । वडा कार्यालयबाट बाजा पाएपछि त काम गर्न सहज हुनुका साथै माग धेरै आउन थालेकाले आम्दानी पनि बढ्न थालेको उनले बताए । ‘रानाथारु समुदायमात्रै होइन पहाडीलगायतका गीत बाजामार्फत गाउन जान्ने र बाजागाजा पनि भएकाले अहिले धेरै ठाउँबाट माग आउन थालेको छ । त्यसैले विवाहको समयमा माग धौधौ हुने गरेको छ’, वीराले भने । छङ्गा राना बाजाको व्यवस्था गरिदिन वडा कार्यालयलाई माग गरेपछि सुनुवाइ भएकामा निकै खुसी छन् । ‘बजाउने सीप भए पनि बाजा थिएनन् । त्यसैले माग पनि आउँथेन’, रानाले भने, ‘वडा कार्यालयले ५० हजार रुपैयाँमा बाजा खरिद गरिदिएपछि हामी नौजनालाई नै सहज भएको छ ।’ वडा अध्यक्ष अर्जुन साउदले मुक्तकमैया युवालाई स्वरोजगार बनाउन आवश्यक रकमको व्यवस्था मिलाई बैण्डबाजा खरिद गरिएको बताए । ‘गत वर्ष सालघारी मुक्तकमैया बस्तीका युवाका लागि वडाकै रकम खर्चेर बैण्डबाजा खरिद गर्यौंँ’, उनले भने, ‘यस वर्षको बजेटबाट बाणिका मुक्तकमैया युवाका लागि बैण्डबाजा खरिद गरेका हौँ । यसपछि बंकका युवाको मागअनुसार पञ्चेबाजा उपलब्ध गराउने योजना छ ।’ हाल बाणी मुक्तकमैया शिविरका बैण्डबाजा बजाउने युवासँग ट्रम्पट, ओवाउ, ब्रास, सहनाई, तम्बुर, ड्रम, झुनझुनालगायतका बाजा छन् । विवाहको समयमा ब्याण्डबाजा बजाउने युवाहरूले अरु बेला कपाल काट्ने, राजमिस्त्री, किराना पसल, तरकारी खेतीलगायतका काम गरी आम्दानी गर्दै आएका रामनाथ रानाले बताए । ‘विवाहको समयमा बाजा बजाएर आउने रकमले घरखर्च चल्ने गरेको छ’, उनले भने, ‘अन्य व्यवसाय गरी आएको आम्दानी बैंक, समूह र सहकारीमा बचत गर्दै आएका छौँ ।’ बैण्डबाजा बजाउने कार्य भने ति युवाले घरमै अभ्यास गरेर सिकेका हुन् । ‘सुरूमा अरुले बजाएको देखेर हामीले सिकेको थियौँ, त्यसपछि भारतीय बजारबाट बाजा खरिद गरेर घरमै अभ्यास गर्यौँ । आखिर इच्छाशक्ति भयो भने त हुँदो रहेछ नि !’, रामप्रसादले भने । धेरै युवाहरूले काम पाइएन भनेर गुनासो गरिरहेका हुन्छन् । पहिलेदेखि नै बाजा बजाने काम गर्दै आएका कतिपय समुदायका युवाहरूसमेत यो पेशाबाट पलाएन भइरहेका छन् तर यहाँका मुक्तकमैया युवाहरू भने ब्याण्डबाजा बजाएर राम्रो आम्दानी गरिरहेका छन् । यस कार्यको यहाँ निकै प्रशंसा भइरहेको छ । रासस

 कोशी प्रदेश सभा बैठकमा कांग्रेस अनुपस्थित

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सुरु भएको छ । तर, प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू उपस्थित भएका छैनन् । कांग्रेस उपस्थित नभए पनि सभामुखले बैठक भने अगाडि बढाएका छन् । प्रदेशसभा चलिरहेकै बेला कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । अदालतमा मुद्दा चलिरहेको बेला विश्वासको मत लिएको भन्दै कांग्रेसले त्यसको विरोध गरिरहेको छ ।

वर्षाका कारण मुग्लिन-पोखरा सडक आवागमनमा सास्ती

दमौली । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् । मुग्लिन-पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पुलगायत ठाउँमा सवारीसाधन तथा पैदल यात्रामा समस्या बढेको स्थानीय बताउँछन् । ‘दुईपाङ्ग्रे सवारीसाधनलाई निकै सास्ती हुने गरेको छ । हिलोका कारण चिप्लिएर दुर्घटनासमेत हुने गरेको छ’, म्याग्दे–४ मनहरिका गौरवराज रानाले भने । पानी परेपछि म्याग्देका विभिन्न ठाउँमा आवागमनमा निकै सास्ती हुने गरेको भन्दै निर्माणमा ढिलासुस्ती हुँदा नागरिकलाई सास्ती भएको उनको भनाइ छ । रानाका अनुसार थर्पु बजारबाट अकला मन्दिरसम्मको भागमा काम नहुँदा समस्या भएको छ । अधिकांश ठाउँमा एकतर्फी कालोपत्र भए पनि थर्पु बजारबाट अकलासम्मको भागमा कामको गति शून्य रहेको उनको भनाइ छ । उनले भने, ‘म्याग्देको रिठ्ठेपानीमा सडक नै जलमग्न छ । साना सवारीसाधन आवतजावतमा समस्या हुँदै आएको छ ।’ मुग्लिन–पोखरा सडक प्रयोग गर्दै पोखरातर्फ जानेले भने वैकल्पिक सडक प्रयोग गर्न सकन्छन् । यो सडकमा धुलो र हिलोले सास्ती खेप्न थालेपछि सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् । सदरमुकाम दमौलीको भोर्लेटारचोकबाट कलेस्ती, लमजुङको मध्य नेपालको दुइपिप्ले, न्यौपानेवेशी, कास्कीको रुपा गाउँपालिकाको पोल्याङ, देउराली, राजाको चौतारा, पोखरा महानगरपालिकाको शिशुवा हुँदै पोखरा निस्कन सकिन्छ । यो सडक पूरै कालोपत्र गरिएको छ । धुलो र हिलोको सास्ती रहेकाले आफू यही मार्ग हुँदै पोखरा आवतजावत गर्ने गरेको दमौलीका सुदीप मोहम्मदले बताए । उनले भने, ‘अहिलेको अवस्थामा पृथ्वीराजमार्ग हुँदै पोखरा जानसक्ने अवस्था छैन । वैकल्पिक सडक प्रयोग गरी पोखरा जाने गरेको छु । बाटो सफा छ, कालोपत्र छ । धुवाँधुलो केही छैन ।’ पृथ्वीराजमार्गको अवस्थाका कारण आजभोलि धेरैजसो साना तथा निजी सवारीसाधन यही बाटो हुँदै आवजावत गर्नेक्रम बढेको छ । पर्यटक बससमेत यही बाटो हुँदै पोखरा पुग्ने र पोखराबाट दमौली हुँदै काठमाडौ जाने गरेका छन् । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै पोखरा जाँदा ४९ किलोमिटर दूरी छ भने दमौलीबाट पोल्याङ हुँदै पोखरा पुग्न ५९ किलोमिटर पर्दछ । मुग्लिन-पोखरा सडकको पूर्वी खण्डमा केही प्रगति भए पनि पश्चिम खण्डमा प्रगति निराशाजनक छ । पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म ५६ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २३ प्रतिशत प्रगति भएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्वी खण्डको म्याद अवधि वैशाख २ गतेदेखि सकिएको छ भने पश्चिम खण्डको म्याद चार महिना बाँकी छ । पूर्वी खण्डको म्याद सकिए पनि कामलाई निरन्तरता दिइएको पाण्डेले बताए । यो खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको थियो । पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । रासस

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो । सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । भारत सरकारले तीन सय शय्याको श्वासप्रश्वास र नेपाल सरकारले सात सय शय्याको जनरल अस्पताल बनाएर एक हजार शय्या क्षमताको बनाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ । ‘स्वास्थ्य मन्त्रलायले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको छ’, कार्यकारी निर्देशक डा श्रेष्ठले भने, ‘एक हजार शय्या अस्पतालका लागि भौतिक संरचना निर्माण गर्न भवन विभागबाट विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।’ उनका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई केन्द्रीय अस्पतालका रूपमा स्थापना गरी पचास शय्याको जनरल अस्पताल सञ्चालनमा ल्याइएको छ । केन्द्रले विशेषज्ञसहितका चिकित्सकबाट श्वासप्रश्वाससम्बन्धी उपचार सेवा दिन सुरु गरिसकेको डा श्रेष्ठले जानकारी दिए । हाल श्वासप्रश्वाससहित ५० शय्या क्षमताको जनरल अस्पताल सञ्चालन भइरहेको उनको भनाइ छ । ‘केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी एसियाकै ठूलो अस्पताल बनाउने योजनामा लागेका छौँ’, डा श्रेष्ठले भने, ‘यसले देशको स्वास्थ्य क्षेत्रमा अग्रणी फड्को मार्न सक्ने श्विास लिइएको छ ।’ उनका अनुसार केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ र नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । ‘उपचारका लागि आउनेमध्ये करिब ८० प्रतिशत बिरामी बीमा गराएका हुन्छन्’, कार्यकारी निर्देशक डा श्रेष्ठले भने । उनका अनुसार हाल केन्द्रमा एक सय दुई जना जनशक्ति कार्यरत छन् । साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रुपमा सञ्चालन हुँदै आएकामा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि विसं २०७३ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई उच्च मूल्याङ्कन गर्दै सरकारले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो । केन्द्रले सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया, हाडजोर्नी, नाक, कान र घाँटी, एक्से–रे, भिडियो एक्स–रे, ल्याब, श्वासप्रश्वासलगायत क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको जनाएको छ । रासस

टर्की पठाउने भन्दै १२४ जनाबाट ४ करोड बढी ठगी गर्ने एक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १२४जनाबाट ४ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट ४ करोड ३४ लाख उठाएर फरार रहेका कास्की पोखरा महानगरपालिका-५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईका अनुसार श्रेष्ठलाई काठमाडौं-७ चाबहिलबाट पक्राउ गरिएको हो । त्यस्तै, अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिका-२ का वर्ष ४६ का विष्णुबहादुर बराली र तनहुँ ऋषिङ गाउँपालिका-२ का जंगबहादुर विक (बराल) छन् । उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी तथा डल खोसी ९ महिनासम्म अलपत्र पारी राखेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडजंगस्थित होटलमा बसी संगठित रूपमा मानव तस्करीमा संलग्न रहेको थिए ।

नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवमा प्रभातफेरी कार्यक्रम (फोटो फिचर)

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा आज (सोमबार) बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरू भएको प्रभातफेरी र्‍याालीमा बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू सहभागि भएका थिए । साथै, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक संघ, नेपाल बीमक संघ, बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघ लगायतको सहभागिता रहेको थियो । सभालाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए । उनका अनुसार बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न वर्गलाई लक्षित गरी गाउँगाउँमा सेवा विस्तार गर्नुपर्छ । बीमा कम्पनीका राम्रा काममा प्राधिकरणको सधैं साथ र समर्थन रहने र निर्देशिका, मार्गदर्शन जारी गर्नुभन्दा अगाडि बीमकहरूको सुझाव लिने गरेको उनको भनाइ छ । ‘नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरूले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरूका बारेमा आमरूपमा जानकारी गराउनुपर्छ,’ उनले भने । सरकारका नीति, रणनीति र पञ्चवर्षीय योजनामा बीमा प्रवद्र्धनका विषय समावेश हुनु आवश्यक छ, भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिम विरूद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारहरू लगायत सबै सरकारी सम्पत्तिको बीमा गर्न सरकारबाट पहल हुने उनको भनाइ छ । बीमा प्राधिकरणका संचालक समितिका सदस्य कपिल देव ओलीले प्राधिकरण, बीमक लगायत सम्बद्ध सबैको प्रयासमा बीमा व्यवसाय व्यवस्थित, विकसित र समृद्ध हुँदै अगाडि बढिरहेको बताए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्न तथा न्यून आय भएका र विपन्न वर्गलाई बीमाको दायरामा ल्याउन जोड दिनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले प्राधिकरणको ५६औँ वार्षिकोत्सवको सुभकामना दिँदै बीमा क्षेत्रलाई अझ विश्वासिलो र गर्विलो बनाउनुपर्ने बताए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमाको पहुँच बढाउन गाउँघरसम्म पुग्नु पर्ने बताए ।       

सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा सांगीतिक कार्यक्रम गर्दै

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही आउदो मे १९ तारिख युएईस्थित बरदुबईको एसके ७ क्लबमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रस्तुती दिने छन् । चर्चित हास्य कलाकार तथा सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल, चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती परियार र कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुती दिने भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर युएई बाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुखको कमाइ पठाउन सकिरहेका छन् । आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरनञ्जन दिलाउने हेतुले कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जानकारी दिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

५६ वटा बैंकमा खाता खोली क्रिप्टोमा २ अर्ब बढीको कारोबार, अनिल परे जेलमा

काठमाडौं । विभिन्न अनलाइन ब्याटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे मण्डनदेउपुर ८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगानालाई प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा इसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको छ । त्यसैगरी बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टो करेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोबार गरेको भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ढुंगानालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही गरिनेछ ।