गोल्यान ग्रुपले शहीद परिवारलाई अध्ययनका लागि वार्षिक डेढ करोड खर्च गर्ने
काठमाडौं । गोल्यान ग्रुपले जेनजी आन्दोलनका शहीद परिवारलाई वार्षिक डेढ करोड खर्च गर्ने भएको छ । ग्रुपले सहिदका बालबालिकालाई अध्ययनको लागि खर्च गर्ने भएको हो । शहीद परिवारका बालबालिकालाई अध्ययनको लागि गोल्यान ग्रुप, विद्यालय र अभिभावकबीच त्रिपक्षीय सम्झौता भएको छ । गोल्याणले गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको हो । पहिलो चरणमा मंगलबार गोल्याण टावरमा आयोजित कार्यक्रममा ६ जना सहिदका ९ बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गर्ने गरि सम्झौता भएको छ । सम्झौता अनुसार गोल्याण ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ खर्च व्यहोर्नेछ । ‘उक्त छात्रवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, विद्यालयको पोशाक शुल्कलगायत विद्यालयको बिल–बिजकमा उल्लिखित सम्पूर्ण शुल्कहरू समावेश रहनेछ,’ त्रिपक्षीय सम्झौतामा भनिएको छ, ‘छात्रवृत्ति रकम विद्यालयले समय–समयमा जारी गरेको बिल–विजक बमोजिम गोल्याण ग्रुपद्वारा सोझै विद्यालयलाई भुक्तानी गरिनेछ ।’ गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर विद्यार्थीलाई उनीहरुको रुचिअनुसार अतिरिक्त क्रियाकलापमा खर्चसमेत व्यहोर्नेछ । विद्यालयले अतिरक्त क्रियाकलाप प्रदान नगरेको खण्डमा विद्यार्थीले उक्त क्रियाकलाप अन्य संस्था/संगठनबाट सिक्न सक्ने र सो वापतको रकम गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर भुक्तानी गर्ने सम्झौतामा भनिएको छ । सहिद अनिष पराजुलीका दुई छोरामध्ये जेठो छोरा नर्थ पोल एकाडेमी, मनमैजु (कक्षा ८) र कान्छो छोरा काठमाडौं यूरो स्कुल बानियाटार (प्ले ग्रुप) मा अध्ययन गर्ने गरी सम्झौता भएको छ । त्यसैगरी सहिद अभिषेक चौलागाइँकी बहिनी जागृती विद्या सदन इंलिस स्कुल भक्तपुर (कक्षा १०), सहिद बुद्धिबहादुर तामाङका छोरा कश्यप एकाडेमी कलंकी (कक्षा ८), सहिद सौरन किशोर श्रेष्ठका छोरा यूरो स्कुल छाउनी (कक्षा १), सहिद सन्तोष विश्वकर्माका छोरा र छोरी क्याम्ब्रिज पब्लिक हाइस्कुल वानेश्वर (क्रमशः कक्षा ३ र २) तथा सहिद साजनकुमार राईका दुई छोरा त्रि–ज्योती सेकेन्डरी स्कुल कपन (कक्षा ७ र यूकेजी) मा अध्ययनन गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा सामेल बालबालिकाको कक्षा १२ सम्मको शैक्षिक खर्च घोषित आर्थिक प्याकेजको सीमाभित्र रहेर व्यहोरिनेछ । सम्झौतापत्रमा गोल्याण ग्रुपको तर्फबाट कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रे, बालबालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक र बालबालिकाका संरक्षक (अभिभावक) ले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिद परिवारका बालबालिकाहरुको शिक्षाको दायित्व लिने प्रतिवद्धता कार्यान्वयनको महत्वपूर्ण चरण सुरु भएको बताए । जेनजी आन्दोलनका सहिदहरुको योगदानको कदर स्वरुप उनीहरुमा आश्रित बालबालिकाको शिक्षाको जिम्मेवारी लिइएको उनको भनाइ थियो । ‘हामीले व्यवसायलाई प्रवद्र्धन गर्न वा कुनै मार्केटिङको लागि नभई मन–मुटुबाटै भावनात्मक रुपमा बालबालिकाको शिक्षाको जिम्मेवारी लिएका हौं,’ उनले भने, ‘यो सम्झौताले प्रत्येक बच्चाले गुणस्तरीय शिक्षा पाउने मात्र नभई कक्षाकोठाभन्दा बाहिर उनीहरूको प्रतिभा र क्षमता विकास हुने अवसरको पनि सुनिश्चित गर्दछ ।’ बालबालिकाले गुणस्तरीय शिक्षा र असल संस्कार पाउँदा त्यसबाट सिंगो देशको भविष्यमा सकारात्मक प्रभाव पार्ने उनले बताए । बालबालिकाको शिक्षा र उनीहरुको उज्वल भविष्यको लागि गोल्याण ग्रुप सधैं साथमा रहने उनले प्रतिवद्धता व्यक्त गरे । गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रेले २४ परिवारका ३२ जना बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गरिने जानकारी दिइन । तीमध्ये मंगलबार ९ बालबालिकाको त्रिपक्षीय सम्झौता भएको हो । अन्य बालबालिकाहरुको पनि छात्रवृत्ति सम्झौताको तयारी भइरहेको उनले बताइन् । उनका अनुसार गोल्याण ग्रुपले शैक्षिक वृत्तिको लागि वार्षिक करिब १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘शैक्षिक वृत्तिमा नसमेटिएका सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ,’ उनले भनिन्, ‘हरेक सहिद परिवार शिक्षा वा स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वित हुनुहनेछ ।’
सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनी लायन्सको हारको ह्याट्रिक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित रहेको टोली सुदूरपश्चिम रोयल्सले चौथो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको छ । सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा लुम्बिनीको यो लगातार तेस्रो हार हो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९।४ ओभरमा १ सय ४३ रन जोड्दा अलआउट भएको थियो । जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पूरा गर्यो । सुदूरपश्चिमको प्रभावशाली जितमा ओपनर विनोद भण्डारीले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले आरिफ शेखसँग चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । शेख ३९ रनमा आउट भएका थिए । यी दुईबाहेक क्रिस लिनले १६ रन बनाउँदा जोश ब्राउनले ९ रन बनाएका थिए । लुम्बिनीका लागि रुवेन ट्रम्पलमेन र अभिशेष गौतमले १(१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा दिलिप नाथले ३१ रन बनाए । त्यस्तै, ड्’यार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाएका थिए । त्यस्तै, थप दोहोरो स्कोरका रुपमा गुल्बदिन नाइबको ११ रन रह्यो । लुम्बिनीले पहिलो खेलमा जित निकालेयता लगातार पराजय भोगिरहेको छ । सुदूरपश्चिम ४ खेलबाट ८ अङ्क बनाई शीर्ष स्थानमा कायम रहँदा पराजित लुम्बिनीको समान खेलबाट २ अंक मात्र रहेको छ ।
जाडोमा घुँडा, ढाड र काँध दुख्ने समस्या छ ? अपनाउनुहोस् यी पाँच उपाय
काठमाडौं । जाडोमा घुँडा, ढाड र काँध दुख्ने समस्या बढ्ने गर्छ । चिसो मौसमले मांसपेशीहरू साँघुरो बनाउँछ, जसले गर्दा शरीर कडा महसुस हुन्छ र जोर्नीहरूमा बढी दबाब पर्छ । जसकारण जोर्नी वरिपरि सुन्निने र दुखाइ बढ्ने हुन्छ । के तपाईंको पनि जोर्नीहरू जाडोमा कडा हुने र दुखाइ बढ्ने हुन्छ ? आउनूहोस जाडोमा चिसोबाट बच्न र दुखाइबाट राहत दिन सक्ने यी ५ सजिला उपायहरूको बारेमा जानौं । आफूलाई न्यानो राख्नूहोस् चिसो हावाले व्यक्तिकोे मांसपेशी र जोर्नीहरूलाई सिधै कडा बनाउँछ । घर भित्र होस् वा बाहिर आफ्नो शरीरलाई न्यानो राख्ने प्रयास गर्नुपर्छ । शरीरलाई न्यानो बनाउन न्यानो लुगा लगाउनुपर्छ । तातोपानीले नुहाउँदा मांसपेशीहरूले खुल्छन् र दुखाइ कम हुन्छ । तपाईंको शरीर जति न्यानो हुन्छ यो समस्याबाट पनि बच्न सकिन्छ । हरेक दिन थोरै हिँडिरहनूहोस् जाडोमा हामी कम हिँडडुल गर्छौं, जसले गर्दा जोर्नीहरू कडा हुन सक्छन् । हिँड्ने, तन्काउने वा हल्का व्यायाम गर्नाले जोर्नीहरू लचिलो राख्न मद्दत गर्न सक्छ । घरमा योग गर्दा, साधारण व्यायाम वा हल्का हिँडाइ पनि धेरै फाइदाजनक हुन सक्छ । व्यक्तिको शरीर जति धेरै चल्छ, त्यति नै कम कडा हुनुहुन्छ । आफ्नो तौल नियन्त्रणमा राख्नूहोस् जाडोमा व्यक्तिको तौल पनि बढ्छ । धेरै खानपान, कम गतिविधि हुँदा तौल बढ्ने गरेको हो । बढ्दो तौलले जोर्नीहरूमा प्रत्यक्ष दबाब दिन्छ । त्यसैले सन्तुलित आहार खाने प्रयास गर्नूहोस् । आफ्नो आहारमा सलाद, फलफूल, तरकारी, दाल र हल्का प्रोटिन समावेश गर्नूहोस् । यसका साथै जामुन, सुख्खा फलफूल, माछा, लसुन आदिले पनि सूजन कम गर्न मद्दत गर्छ । पानी पिइराख्नूहोस् चिसोमा तिर्खा कम लाग्छ, तर शरीरलाई अझै पनि पानी चाहिन्छ । पानीको कमीले जोर्नीको दुखाइ बढाउन सक्छ । पानी, हर्बल चिया, सुप वा ताजा जुसले शरीरलाई हाइड्रेटेड राख्छ र जोर्नीहरूमा लचिलोपन कायम राख्छ । यो समस्याबाट बच्न झोलिलो खानेकुरा र पर्याप्त पानी पिउनूहोस् । दुखाइ हुनेबित्तिकै तुरुन्तै उपचार गर्नूहोस् यदि दुखाइ सुरु भयो भने यसलाई बेवास्ता नगर्नूहोस् । तातो कम्प्रेस वा तताउने प्याडले राहत प्रदान गर्न सक्छ । यदि हल्का सुन्निएको छ भने डाक्टरले तोकेको औषधी पनि लिन सकिन्छ । यदि दुखाइ बारम्बार हुन्छ वा धेरै बढ्छ भने डाक्टरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ । तपाईं चिसो मौसम रोक्न सक्नुहुन्न । तर जोर्नी दुखाइलाई निश्चित रूपमा नियन्त्रण गर्न सक्नुहुन्छ । थोरै सावधानी र केही साधारण बानीहरूले सम्पूर्ण जाडो मौसमलाई आरामदायी बनाउन सक्छ ।
सिन्धुलीको आदर्शनगरमा कजारियाको नयाँ टाइल शोरूम उद्घाटन
काठमाडौं । टाइल ब्रान्ड कजारियाले सिन्धुलीको आदर्शनगरमा नयाँ तथा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । यो शोरूमलाई शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सले सञ्चालन गर्ने कम्पनीले जनाएको छ । उद्घाटन समारोह शाह आइरन एन्ड इलेक्ट्रोनिक स्टोर्सका मालिक करिराम शाह, स्थानीय सम्मानित अतिथि तथा शुभेच्छुकहरूको उपस्थितिमा सम्पन्न भयो । कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले रिबन काटेर औपचारिक गरे । समारोहलाई सम्बोधन गर्दै डिलर तथा मालिक करिराम शाहले कजारियासँगको साझेदारीलाई गौरवको विषय भएको बताउँदै भने, 'हामी कजारियासँग जोडिन पाउँदा अत्यन्त खुसी छौँ । गुणस्तर र नवप्रवर्तनको पर्याय बनेका प्रिमियम टाइल तथा उत्कृष्ट डिजाइनहरू अब सिन्धुलीमै सहज रूपमा उपलब्ध हुनेछन् ।' त्यसैगरी, कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले भने, 'कजारिया सधैँ उत्कृष्टता प्रदान गर्न कटिबद्ध छ । यो नयाँ शोरूममार्फत हामी ग्राहकहरूसँग अझ नजिक हुँदैछौँ । नेपालमा निर्माण तथा भित्री सजावट क्षेत्र तीव्र रूपमा विकसित भइरहेका छन्, र हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई टेवा दिन उत्साहित छौँ ।' सिन्धुलीको आदर्शनगरस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ । जसले ग्राहकलाई सहज पहुँच, विकल्पको विविधता तथा इन्टेरियर आवश्यकताअनुसार उपयुक्त उत्पादन छनोट गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नेकपा संयुक्तमा प्रवेश गरे एकीकृत समाजवादीका महासचिव भुसाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबाट गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा समाहित नभएका समाजवादीका महासचिव घनश्याम भुसाल नेकपा संयुक्तमा प्रवेश गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रममार्फत महासचिव भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान औपचारिक रूपमा नेकपा संयुक्तमा समाहित भएको घोषणा गरेका हुन्। कम्युनिस्ट आन्दोलनका पुराना नेता विष्णुबहादुर मानन्धरले स्थापना गरेको नेकपा मानन्धर नै अहिलेको नेकपा संयुक्तको आधार हो । २०४८ को आम निर्वाचनताका उक्त पार्टीको नाम परिवर्तन गरी नेकपा प्रजातन्त्रवादी राखिएको थियो । २०४७ को अन्तरिम सरकारमा कानुनमन्त्रीका रूपमा समावेश भएका निलाम्बर आचार्य त्यतिबेला यही दलका प्रतिनिधि थिए । यस दलले २०४८ को आम निर्वाचनमा ३ सिट जितेको इतिहास छ । पछि २०४९ मा नेकपा प्रजातन्त्रवादी, बर्मा समूह र अमात्य समूह एकीकृत भएर नेकपा संयुक्त बनेको थियो । अब एमालेका पूर्वउपमहासचिव तथा नेकपा समाजवादीका महासचिव रहेका भुसालसहित उनको समूह यस पार्टीको नेता बन्नेछन् । भुसालको नेकपा संयुक्त प्रवेशलाई राजनीतिक रूपमा निकै चासोका साथ हेरिएको छ । भुसाल समूहले नेकपा संयुक्तकै निर्वाचन चिन्ह हँसिया स्वीकृत गरेको भुसाल निकटस्थ एक नेताले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोगमा विधिवत दर्ता भएको दल भएकै कारण उनीहरू संयुक्तमा समाहित हुने निर्णयमा पुगेका हुन् ।
सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले सलिको गल्फ प्रतियोगिता आयोजना गर्दै
काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले विगत वर्षझैँ यस वर्ष पनि सलिको गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । ईन्स्योरेन्सले मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब, त्रिभुवन विमानस्थल क्षेत्र, काठमाडौंमा सलिको गल्फ प्रतियोगिता २०२५ आयोजना गर्ने भएको हो । उक्त प्रतियोगितामा १७ विधाका खेलहरू सञ्चालन गरिनेछन्, जहाँ विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आयोजना गर्नुको उद्देश्य गल्फ खेलमा रुचि राख्ने खेलाडीहरूको सीपलाई अभिव्यक्त गराउनु तथा यो खेलबारे रुचि राख्ने सबैलाई प्रत्यक्ष आनन्द लिन सक्ने वातावरण निर्माण गर्नु रहेको कम्पनीले उल्लेख गरेको छ । विश्वमा अत्यधिक लोकप्रिय खेलमध्ये गल्फ पनि एक भए तापनि नेपालको सन्दर्भमा यसको विकास पर्याप्त रूपमा हुन नसकेको पृष्ठभूमिमा, यस प्रतियोगिताले खेलको विस्तार र प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा राखिएको छ । प्रतियोगितामा समावेश १७ विधामध्ये ‘होल इन वान’ विधाको पुरस्कारका लागि सिप्रदी ट्रेडिङ प्रालिद्वारा टाटा नेक्सन के३ विद्युतीय सवारी, अन्य विधामा सिम्रिक वायु सेवाद्वारा २ जनालाई आकाश उडान (स्काइ डाइभिङ) अनुभव, तथा कैलाश हेलिकोप्टर सेवाबाट १ जनालाई गोसाइँकुण्डको हेलिकोप्टर यात्रा उपलब्ध गराइनेछ । साथै अन्य आकर्षक पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ । यसै अवसरमा सलिकोले निर्जीवन बीमाको महत्त्वबारे प्रकाश पार्दै, विभिन्न प्रकारका जोखिमबाट सुरक्षा प्रदान गर्ने बीमाको आवश्यकता तीव्र रूपमा बढ्दै गएको जनाएको छ । वर्तमान परिवेशमा जोखिम व्यवस्थापन र सुरक्षाप्रति नागरिकको चासो बढिरहेकाले खेलकुद गतिविधिमा संलग्न व्यक्तिहरूमाझ निर्जीवन बीमाबारे सचेतना फैलाउने उद्देश्य पनि रहेको कम्पनीले स्पष्ट पारेको छ ।
सासु कोषमा जम्मा भएको अर्बौं बढी रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरौं : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा (सासु) कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरूमा परिचालन गर्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएको र त्यो रकम सही रुपमा सदुपयोग नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । उनकाअनुसार लगानी गर्नका लागि कार्यविधि बाधक भए त्यसलाई सच्चाउनुपर्छ । कोषले उत्पादनमूलक क्षेत्रमा लगानी नगरेसम्म त्यसको अर्थ नरहने ढकालको भनाइ रहेको छ । ढकालले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरू अझै पनि धेरै सामाजिक सुरक्षाको दायरामा रहेको भन्दै तिनलाई तत्काल समेट्न आग्रह गरे । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । ढकालकाअनुसार साना तथा मझौला उद्योगहरुलाई सरकारको तर्फबाट सहुलियत दिएर त्यहाँ काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याए । महासंघ अध्यक्ष ढकालले भने–‘अहिले वास्तवमा सबै पैसा चाहे फिक्समा भनौं चाहे विभिन्न बन्डमा राख्ने गरिएको छ । यसलाई रोजगारी सिर्जना गर्ने र अवसर भएको उत्पादनमुलक क्षेत्रमा लगानी गरेर आम्दानी बढाउनुपर्छ । अहिलेको पोलिसि जुन छ, त्यो बाधक पनि रहेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’ औद्योगिक क्षेत्र, ट्रेड युनियन मजदुरबीचमा असल श्रम सम्बन्ध कायम गर्दै औद्योगिक वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालकाअनुसार श्रमिकको कल्याणका लागि कोषसँग निजी क्षेत्र सहकार्यका लागि तयार रहेको छ । असल सुमधुर सम्बन्ध कायम गर्न उद्योग वाणिज्य महासंघ तयार रहेको उनको भनाइ छ ।
सामाजिक सुरक्षा कोषले गर्यो १२६ अर्ब रकम लगानी
काठमाडौं । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिए । आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उनले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताए । कार्यकारी निर्देशक अधिकारीकाअनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतीमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेञ्चरमा, १ अर्ब ९५ करोड म्याचुयल फण्डमा लगानी गरेको जानकारी दिए । त्यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ । योगदानकर्ता सापटि अन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी अधिकारीले बताए । कार्यकारी निर्देशक अधिकारीले भने– ‘योगदानकर्ता सापटि अन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिने गरेको छ । कोषको योजनाको प्रभावकारी कार्यान्वयन मार्फत वार्षिक १ खर्बसम्म संकलन गर्नसक्ने र त्यो रकमलाई राज्यको पूर्वाधार निर्माणमा लगाउन सकिने सम्भावना छ ।’ अधिकारीकाअनुसार कोषमा श्रमिकहरुको आवद्धताका लागि ११४ ओटा पालिकासँग एमओयू गरिसकिएको बताए । केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उनको भनाइ छ ।