दुसित प्रिन्सेसमा सिटिजन्स बैंकका ग्राहकलाई छुट
काठमाडौं । दुसित प्रिन्सेस काठमाडौंमा सिटिजन्स बैंकका ग्राहकलाई छुट हुने भएको छ । बैंक र लाजिम्पाट, काठमाडौं स्थित दुसित प्रिन्सेस काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
ठमेलमा ८ कराेड लगानीकाे रियल थेरापी तथा ब्युटी प्वाइन्ट सञ्चालन
काठमाडौं । व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीले विशेष गरी सहरी जीवन अस्तव्यस्त बनिरहेको छ । काम विषेशले मानिसले शरीरको ख्याल गर्नसमेत नभ्याउने अवस्था छ । यसैबीच शारीरिक र मानसिक तनाव कम गराउने उद्देश्यले मुलुकको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ८ करोड रुपैयाँ लागतमा रियल थेरापी तथा ब्यूटी प्वाइन्ट सञ्चालनमा आएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी भविश्वर शर्माले अत्याधुनिक सुविधा सम्पन्न रियल थेरापी सञ्चालनमा ल्याएका हुन् । ठमेलमा विगत २२ वर्षदेखि रियल थेरापी सञ्चालन गरेका शर्माले आधुनिक संरचनासहित थप सुविधासहित रियल थेरापी सुरु गरेका हुन् । चारतले सुविधायुक्त भवनमा सञ्चालित रियल थेरापीको आज एक कार्यक्रमकाबीच कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, स्वस्तिमा खड्का, निर्मल शर्मा र काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले संयुक्तरूपमा उद्घाटन गरे । अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भएको रियल थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको कलाकारहरूले बताए । व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन रियल थेरापी सान्दर्भिक हुने उनीहरूको बुझाइ छ । कलाकार दीपाश्री निरौलाले रियल थेरापी तनाव विसर्जन गर्ने उपयुक्त ठाउँ भएको उल्लेख गरिन् । ‘रियल थेरापी तनाव विसर्जन गर्ने ठाउँ हो, यहाँ महिला, पुरुष र जोडी तथा परिवारका सदस्यका लागि छुट्टै व्यवस्था भएकाले यसको महत्व र सान्दर्भिकता बढेको छ,’ उनले भनिन् । शारीरिक थकान र तनाव कम गर्न रियल थेरापीजस्ता गन्तव्य उपयुक्त हुने कलाकार दीपकराज गिरीले बताए । ‘रियल थेरापीजस्ता आयुर्वेदिक उपचार पद्धतिमा आधारित सेवाले मानिसलाई स्वस्थ्यकर बनाउन मद्दत पुग्छ,’ उनले भने । हास्य कलाकार मनोज गजुरेलले सभ्य र भव्यरूपमा पारिवारिक वातावरणमा खुलेको रियल थेरापी पर्यटकको गन्तव्यका रूपमा विकास हुने विश्वास व्यक्त गरे । ‘हामीले बेच्न सक्ने भनेको पर्यटन, कला र संस्कृति नै हो,’ उनले भने, ‘हामी पनि हास्य थेरापीमै काम गछौँ, हास्य थेरापीले मानिसको मनलाई सन्तुलित, आनिन्दत र स्वस्थ्य बनाउछ ।’ नायिक स्वस्तिमा खड्काले स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि रियल थेरापी अपरिहार्य भएको बताइन् । रियल थेरापीका सञ्चालक शर्माले विगत २२ वर्षदेखि पारिवारिक वातावरणमा सञ्चालन हुदैँ आएको पहिलो स्पा भएको दाबी गरे । फ्यामेली स्पा, महिला र पुरुष स्पा छुट्टाछुट्टै रहेको छ । अन्तर्राष्ट्रियस्तरको आधुनिक सेवा सुरु गरिएको व्यवसायी शर्माले बताए । स्पा पछिल्लो समय वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको छ । नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रूपमा लिइन्छ । आयुर्वेद चिकित्साको निगरानीमा सबैखालका मानिसलाई मध्यनजर गरेर ‘हेल्ट प्याकेज’ बनाइने शर्माको भनाइ छ । रियल थेरापीमा साउना, स्टिम, जाकुजी, युनिसेक्स सलुनलगायत सेवा पाइन्छ । एक पटकमा ४५ महिला र ६५ पुरुषलाई सेवा दिनेगरी रियल थेरापीको संरचना विस्तार गरिएको छ । रियल थेरापीलाई आगमी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको शर्माको भनाइ छ ।
इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता
काठमाडौं । इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर- अटोमेटेड बजेटिङ्ग सोलुसन प्रयोगमा ल्याउने सम्झौता भएको छ । प्राइम कमर्सियल बैंकको कमलपोखरीस्थित प्रधान कार्यालयमा भएको सम्झौतामा प्राइम कमर्सियल बैंकको तर्फबाट महा प्रबन्धक अमृत चरण श्रेष्ठ र इन्फोडभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रविण सुवेदीले हस्ताक्षर गरेका हुन् । बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गर्दै सरल, अनुकूल र गतिशील बजेटिङ्ग अनुभव प्रदान गर्ने उदेश्यका साथ इन्फोडेभलपर्सले ल्याएको बजेट ३६० सफ्टवेयरले बजेटिङ्ग गर्ने प्रक्रियालाई सहज बनाउँदै स्वचालित रुपमा त्रुटिहरुलाई कम गरी बजेटको निर्माण, बाँडफाँड, अनुगमन तथा रिपोर्टहरू तयार गर्न सहज हुने इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रविण सुवेदीले बताए । बैंक तथा वित्तीय संस्थाको बजेट निर्माण, तर्जुमा, कार्यान्वयन, अनुगमन र नियन्त्रण गर्न सहयोग पुर्याउने बजेट ३६० स्वचालित बजेटिङ्ग प्रणाली हो । जसको माध्यमबाट गत वर्षको तथ्याङ्कमा आधारित रहेर आगामी आर्थिक वर्षको लागि बजेट निर्माणको सबै प्रक्रिया गर्न सकिन्छ । बजेट ३६० को कार्यान्वयनले बजेट निर्माण प्रक्रियामा सहजता, झन्झट रहित र प्रयोगकर्ता मैत्री इन्टरफेसका साथ स्वचालित प्रक्रियामा वित्तीय अन्तरदृष्टि तथा रिपोर्टहरू प्रदान गर्नका साथै नियमित अनुगमन र कार्यान्वयनमा समेत सहयोग पुर्याउने विश्वास लिएको र उत्कृष्टताको खोजीमा पाएकोमा इन्फोडभलपर्सको उत्पादन बजेट ३६० प्रयोगमा ल्याउन पाएकोमा हर्षित भएको प्राइम कमर्सियल बैंकका महाप्रबन्धक अमृत चरण श्रेष्ठले बताएका छन् । सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स सहकारी, बैंक तथा वित्तीय संस्थाहरूको लागि कोर बैंकिङ्ग प्रणाली, मोबाइल बैंकिङ्ग प्रणाली, स्वचालित कार्य सञ्चालन प्रणाली, बजेट ३६०, रिकन्सिलेसन सिस्टम, मानव संसाधन विकास प्रणाली लगायतका सफ्टवेर तथा प्रोडक्टहरू विकास गर्ने अग्रणी फिनटेक कम्पनी हो । नेपाल सरकार बैंक तथा वित्तीय संस्था, गैर सरकारी संस्था, सहकारी र बैंक तथा वित्तीय संस्थाहरूको विभिन्न प्रोडक्ट परियोजना र सेवा दिने इन्फोडेभलपर्समा हाल ३५० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।
राष्ट्रिय सभामा कांग्रेसको विरोध कायमै, शुक्रबारसम्मका लागि बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसले विरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रबार सम्मका लागि स्थगित गरेका हुन् । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महशुस भएको बताए । राष्ट्रिय सभामा विरोध गर्नेकुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा सुरु भएको जानकारी दिए । ‘राष्ट्रिय सभाको ६ वर्ष पूरा भएर ७ औं वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थाल्यो । यसले अलि अफ्ठ्यारो पनि भइरहेको छ । सबैलाई यो अफ्ठ्यारो भइरहेको छ । नेपालको सिंगो संसदीय इतिहासमा स्म्माननीय राष्ट्रपतज्यिुले सम्बोधन गरेको विषयलाई त्यसकै सानो अंश धन्यवाद दिनुपर्ने कुरा पनि दिन पाएका छैनौँ । यसले बाहिर सन्देश कस्तो गएको छ, त्यो अनुमान गर्नुभएकै छ । यसले गम्भीर बनाएको छ’, उनले भने । अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भुमिका खेल्न पनि आग्रह गरे ।
‘ग्रीन मोबिलिटी फर टुरिज्म प्रोस्पेरिटी’ विषयक अन्तर्क्रिया गर्दै स्पार्क कार
काठमाडौं । स्पार्क कारले शुक्रबार ‘ग्रीन मोबिलिटी फर टुरिज्म प्रोस्पेरिटी’ विषयक अन्तर्क्रिया आयोजना गर्ने भएको छ । कम्पनीले पर्यापर्यटनमा विश्वको अवस्था, पर्यापर्यटन तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले गरेका काम, यसको चुनौती र सम्भावना लगायतमा छलफल हुने स्पार्क कारका कार्यक्रम संयोजक अमरदीप भट्टराईले बताए । स्पार्क कारले आयोजना गरेको यस कार्यक्रममा विशेष गरी नेपाल विश्वमा कार्बन कम उत्सर्जन गर्ने मुलुकका रूपमा रहेकाले अझै यसलाई बढाउनका लागि नवीकरणीय ऊर्जा र यसको सम्भावनाबारे बृहत अन्तर्क्रिया गर्न लागिएको हो । अन्तर्क्रियामा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, गभर्नर महाप्रसाद अधिकारी, साइमेक्स इंक प्रालिका सीईओ साहिल श्रेष्ठ, वातावरणविद् भुषण तुलाधरबीच छलफल हुनेछ । जसको संयोजन पत्रकार जगदिश खरेलले गर्नेछन् । कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरू, सरकारी, गैरसरकारी, कुटनीतिक नियोग, बहुराष्ट्रिय कम्पनी, कर्पोरेट तथा वातावरणविद् लगायतका प्रतिनिधि सहित २ सय जना सहभागी रहनेछन् । अन्तर्क्रिया कार्यक्रममा नविकरणीय ऊर्जाको पूर्वाधार विकास कुन अवस्थामा छ, यसको सामाजिक अवस्था, नेपालमा यसको चुनौतिलाई कसरी चिर्ने, चुनौतीलाई पार लगाउन निजी क्षेत्र, सरकार, विज्ञ वा सरोकारवालाहरूको भूमिका कस्तो आवश्यक हुन्छ भन्ने बारे छलफल हुने भट्टराईले बताए । स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा कम्पनीको सबै सेवाका लागि विद्युतीय सवारी मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारले आयोजना गरेको यस कार्यक्रमलाई विवाईडी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु बैंक तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले सहयोग गरेको छ ।
संसदीय समिति बनाउन सहमति जुटेन, कांग्रेसले संसद बैठक अवरोध गर्ने
काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहबीचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ । आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरूका बीचमा सहमतिको प्रयास भएको भए पनि कांग्रेसले भने अनुरूपको संसदीय छानबिन समिति बनाउन सत्तारुढ दलहरू (सरकार) तयार नभएपछि अवरोध कायम राख्ने भएको हाे । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन् । उनले भनिन्, ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकिएन, तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ, केही कुराहरू अपुग भयो, विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन, हामीले राखेको सरोकार भनेको संसदीय छानबिन समिति गठन हुनुपर्छ, संसदीय छानविन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने, अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट सुरु गर्न खोजेको हो यो चाहीँ मिलेको छैन, सरकारमा संलग्न दलहरूको कारणले अड्किएको हो ।’ कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार भए पनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानिबन गर्न तयार नभएको बताए । उनले गृहमन्त्री लामिाछाने केन्द्रित छानबिन गर्नुपर्ने आफूहरूको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताए । उनले सरकारले गृहमन्त्री लामिछानेको विषयलाई सामान्यीकरण गरेर छानबिन समिति बनाउन खोजेको भन्दै सो कुरा कांग्रेसलाई मान्य नहुने बताए ।
जाजरकोटका भूकम्पपीडितलाई बेलायतले गर्यो २ अर्ब १८ करोड सहयोग
काठमाडौं । बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ दुई अर्ब १८ करोड ४० रुपैयाँ प्रदान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले संयुक्त रुपमा आज जारी गरेको विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रका ५० हजार मानिसलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायत आवश्यकता सम्बोधन गर्न उक्त रकम प्रदान गरिएको हो । बहुसाझेदार कोषमार्फत प्राप्त उक्त सहायता राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक एवं मानवीय समन्वयकर्ता हाना सिङ्गर हाम्दी नेतृत्वको टोलीले परिचालन गर्नेछ । गत कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको कम्पन हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो । भूकम्पलगत्तै बेलायत सरकारले आठ करोड ४० रुपैयाँ प्रदान गरेको थियो ।
यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि
काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीका अनुसार हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । हाल उपलब्ध गराइरहेको एफटीटीएच प्रविधिको एनटी फाइबर सेवा, मोबाइलमा उपलब्ध हुने फोरजी सेवा र नमस्ते वाइफाई सेवा सेवाग्राहीका लागि रुचिकर बनेको छ । एनटी फाइबर टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी ग्राहकको आवश्यकता अनुसार दैनिक रुपमा मोबाइलमा समेत डाटा उपलब्ध हुन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ । नेपाल टेलिकमले ५०, ७५, १००, १५० र २०० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीका सेवाग्राहीहरूले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउछन् । कम्पनीले तोके बमोजिमकै ब्यान्डविथ उपलब्ध गराइरहेको छ । एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीले १९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवाका बारेमा जानकारी पाउनुका साथै डिमान्ड रजिस्ट्रेसन पनि गर्न सक्नेछन् । आकर्षक मोबाइल डाटा नेपाल टेलिकमले प्रिपेड तथा पोस्टपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने मोबाइल डाटा उपलब्ध गराइरहेको जनाएको छ । ग्राहकले आवश्यकता अनुसार कम वा धेरै मूल्यको डाटा प्रयोग गर्न सक्ने गरी प्याकेज निर्धारण गरिएकाे कम्पनीले जनाएको छ । हाल कम्पनीले स्प्रिङ अफर अन्तर्गत विभिन्न दरका आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ । यस अन्तर्गत अनलिमिटेड डाटा प्रयोग गर्न सकिने सुविधा समेत छ । त्यसैगरी पोस्टपेड प्याक, फोरजी प्याक, डे प्याक, नाइट प्याक, स्टे कनेक्टेड प्याक, पपुलर प्याक आदि उपलब्ध छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले एस्ट्र१४१५ह्याजकी डायल गर्नुपर्छ । नमस्ते वाइफाई यस्तै टेलिकमले फोरजी एलटीई प्रविधिमा आधारित नमस्ते वाइफाई सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले एफटीटीएच सेवा उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो सेवा विस्तार गरेको हो । टेलिकमले नमस्ते वाइफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ । नमस्ते वाइफाई अन्तर्गत डाटा मात्र चलाउन चाहने ग्राहकका लागि ‘अनलिमिटेड डाटा वान्ली’ र ‘अनलिमिटेड डाटा विथ भ्वाइस’ प्याकेज उपलब्ध छ । यस अनुसार डाटा मात्र चलाउनका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियम प्याकेज उपलब्ध छन् भने भ्वाइस सहितको डाटा चलाउनका लागि पनि बेसिक र प्रिमियम प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।