भिजन लुम्बिनी उर्जाको लकइन अवधि आज सकिँदै
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको ९५ हजार ६ सय २५ कित्ता सेयरको लकइन अवधि आज सकिँदै छ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत निष्कासन गरेको साधारण सेयर गत मंसिर ५ गते बाँडफाँड गरिएको थियो । उक्त बाँडफाँट गरिएकोमध्ये सामूहिक लगानी कोषलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने ९५ लाख ६२ हजार ५ सय रुपैयाँबराबरको ९५ हजार ६२५ कित्ता सेयरको लकइन अवधि आज सकिन लागेको हो । म्यूचुअल फण्डका लागि छुट्टाइएको सेयरको लकइन अवधि सार्वजनिक निष्कासनको बाँडफाँड भएको मितिले ६ महिनासम्म रोक्का राख्ने प्रावधान छ ।
यी प्रदेशमा हावाहुरीसहित पानी पर्ने
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश र मधेश प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ। त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने बुलेटिनमा उल्लेख छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ/ हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज भएको छ । रिट खारेजीसँगै दीर्घ सोडारी नेतृत्वको सरकारले वैधता पाएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना, कुमार चुडाल र सुनिलकुमार पोखरेलको पूर्ण इजलासले निर्देशनात्मक आदेश जारी गर्दै रिट खारेज हुने फैसला सुनाएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी नियुक्ति भएपछि गत वैशाख ९ गते रिट दायर भएको थियो । सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए ।
निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आज नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उनले निगमको सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । पर्यटनमन्त्री तामाङले निगमको हितमा हुने हरेक कार्यमा आफ्नो सहयोग रहने र कर्मचारीले आफ्नो दायित्व परिपालनामा सचेत रहन आग्रहसमेत गरे । ‘निगमको हितमा हुने हरेक काममा म तपाईंहरूसँगै छु, तपाईंहरूले पनि आफ्नो विभाग र आफूले गर्नुपर्ने कार्यमा दत्तचित्त भएर लाग्नुहोला, ढिलासुस्ती र निगमलाई नोक्सानी हुने कुरामा सचेत रहनुहोला,’ उनले भने । त्यसअवसरमा पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले निगमको प्रगतिका लागि सबै कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने र मन्त्रालयस्तरबाट गर्नुपर्ने कार्यमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । यसैबीच मन्त्री तामाङले निगमको चालु आव २०८०/८१ को समीक्षा र आगामी आव २०८१÷८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटनसमेत गरेको निगमले जनाएको छ । बैठकमा निगमका कार्यकारी अध्यक्षलगायत नायब महाप्रबन्धक (प्रा), निगमका सम्पूर्ण विभागीय प्रमुख, निगमका दसवटै अन्तर्राष्ट्रिय स्टेशनका प्रमुख, सम्बन्धित महाशाखा तथा शाखा प्रमुख र निगममा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरूको उपस्थिति रहेको थियो । बैठकमा कार्यकारी अध्यक्ष अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए भने बजार व्यवस्थापन विभागका निर्देशक टङ्कनिधि दाहालले निगमको बजारस्थिति र बजारीकरणको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए । भोलि शुक्रबारसम्म चल्ने बैठकले निगमको आगामी योजना, कार्यक्रम र बजेट तयार गर्ने जनाइएको छ ।
संसदमा धकेलाधकेलपछि बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको छ । धकेलाधकेलपछि सभामुख देवराज घिमिरेले बैठक शुक्रबार ११ बजेसम्मकन लागि स्थगित गरेका छन् । सभामुख घिमिरेले कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि धकेलाधकेलको अवस्था आएको हो । सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेस सांसदहरूले वेल घेराउ गरेका हुन् । कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जानबाट रोक्दै नाराबाजी गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरूले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरेपछि विवाद उत्पन्न भएको थियो । त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरेका थिए ।
प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी सम्बन्धी संसदीय छानबिन समितिको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ । नाराबाजीकै बीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यलयबाट आएको पत्र पढेर सुनाएका थिए । प्रमुख प्रतिपक्षी दलका सांसदको नाराबाजीका कारण सभामुख देवराज घिमिरेले बैठक सहज बनाउन सकेका छैनन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेससँग सहमति गर्नेगरी अपरान्ह ४ बजेका लागि बोलाइएको थियो । यो बीचमा समय समयमा सत्तापक्ष र प्रतिपक्षले छलफल गरे पनि टुंगोमा नपुगेको हो । ४ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको हो ।
नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्यसम्पादन गरेका छन् । घिमिरेले एफसीसीए साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट इएमबीए पनि गरेका छन् । घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सञ्चालनमा विज्ञता रहेको छ ।
डा. गोविन्द केसीले तोडे अनसन
काठमाडौं । डा. गोविन्द केसीले ६ दिनपछि आमरण अनसन तोडेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका चारबुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन बसेका डा.केसीले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ औं अनसन तोडेको बताएका हुन् । द्वन्द्व पीडित भानुप्रताप शाह लगायतले जुस खुवाएर डा. केसीको अनसन तोडाएका हुन् । अनसनरत केसीको मुटुको चालमा समस्या र रगतमा सुगरको मात्रामा कमी देखिएपछि उनलाई बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शासकहरूको नियतलाई दृष्टिगत गरी अनसन तोड्न सहमत भएको डा. केसीले बताएका छन् । हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभूमिमा रहेकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सम्बोधन गर्छन् भन्ने सोच्नु मुर्खता हुने भन्दै हाललाई अनसन तोडेको डा. केसीले बताएका छन् ।