काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसले विरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रबार सम्मका लागि स्थगित गरेका हुन् ।
सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महशुस भएको बताए । राष्ट्रिय सभामा विरोध गर्नेकुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा सुरु भएको जानकारी दिए ।
‘राष्ट्रिय सभाको ६ वर्ष पूरा भएर ७ औं वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थाल्यो । यसले अलि अफ्ठ्यारो पनि भइरहेको छ । सबैलाई यो अफ्ठ्यारो भइरहेको छ । नेपालको सिंगो संसदीय इतिहासमा स्म्माननीय राष्ट्रपतज्यिुले सम्बोधन गरेको विषयलाई त्यसकै सानो अंश धन्यवाद दिनुपर्ने कुरा पनि दिन पाएका छैनौँ । यसले बाहिर सन्देश कस्तो गएको छ, त्यो अनुमान गर्नुभएकै छ । यसले गम्भीर बनाएको छ’, उनले भने ।
अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भुमिका खेल्न पनि आग्रह गरे ।