
काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न दलहबीचमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ ।
आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरूका बीचमा सहमतिको प्रयास भएको भए पनि कांग्रेसले भने अनुरूपको संसदीय छानबिन समिति बनाउन सत्तारुढ दलहरू (सरकार) तयार नभएपछि अवरोध कायम राख्ने भएको हाे ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन् ।
उनले भनिन्, ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकिएन, तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ, केही कुराहरू अपुग भयो, विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन, हामीले राखेको सरोकार भनेको संसदीय छानबिन समिति गठन हुनुपर्छ, संसदीय छानविन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने, अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट सुरु गर्न खोजेको हो यो चाहीँ मिलेको छैन, सरकारमा संलग्न दलहरूको कारणले अड्किएको हो ।’
कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार भए पनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानिबन गर्न तयार नभएको बताए । उनले गृहमन्त्री लामिाछाने केन्द्रित छानबिन गर्नुपर्ने आफूहरूको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताए ।
उनले सरकारले गृहमन्त्री लामिछानेको विषयलाई सामान्यीकरण गरेर छानबिन समिति बनाउन खोजेको भन्दै सो कुरा कांग्रेसलाई मान्य नहुने बताए ।